• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम फ्याक
२०७७ जेठ १७ शनिबार ०७:३०:००
समाज

सामाजिक महामारी नहोस्

‘भाडावाला’लाई सहर छाड्न बाध्य बनाउनुमा ‘घरवाला’को ‘अमानवीय’ संस्कार पनि दोषी छ

२०७७ जेठ १७ शनिबार ०७:३०:००
प्रेम फ्याक


महामारीले हाम्रो सामाजिक संरचना, चिन्तन र काल्पनिकीलाई बुझ्ने मौका दिएको छ । यसले नयाँ र फरक संकेत, भाष्य, चिन्तन र काल्पनिकीहरूको सिर्जना गरेको छ । महामारीले निर्माण गरेको सोसल सिमिअटिक्सले हाम्रो समाजका शक्ति संरचना र व्यक्तिका भोगाइ र पहिचानहरू बुझ्ने ढोकाको रूपमा काम गर्छ । मुख्य गरेर यसले निर्माण गरेका संकेत, सञ्चारको तरिका र भाष्यहरूले हाम्रा सामाजिक चिन्तनहरूलाई बोकेको छ । 

 

निषेधित सडक र वाला भाष्य 


बन्दाबन्दीमा देखिएका सडक, गल्ली र समग्र सार्वजनिक वृत्तलाई सोसल सिमिअटिक्सको दृष्टिले हेर्दा केही महत्वपूर्ण तर्कहरू गर्न सकिन्छ । पहिलो, ‘अपरिचित’, ‘विदेशबाट आएका’ र ‘भाडावाला’हरूलाई महामारीको स्रोतको रूपमा चित्रित गरिएको छ । बाँस, तार र फलामे डन्डीहरूले धेरै ठाउँमा सडक र गल्ली छेकिएका छन् ।

 

फ्लेक्स र कागजमा हातेलेखन वा कम्प्युटर प्रिन्टमा ‘अपरिचित र विदेशबाट आएका व्यक्तिलाई प्रवेश निषेध’, ‘घरभाडामा बस्ने व्यक्तिहरूले अन्य कुनै व्यक्तिहरू नल्याउनुहोला’, ‘अनावश्यक व्यक्तिहरूलाई प्रवेश निषेध’ र ‘यो गाउँबाहेकका व्यक्ति हिँडेमा कारबाही गरिनेछ’ जस्ता सूचना टाँसिएका छन् । यस्ता सूचना र छेकबारले हाम्रो सामाजिक चिन्तन बोकेका छन् । ‘भाडा’मा बस्ने व्यक्तिहरूको पहिचानलाई अमानवीकृत गरेका छन् ।


काठमाडौंजस्ता सहरमा डेरावालाहरूको संख्या ‘घरवाला’हरूको भन्दा बढी छ । धेरै किसिमले ‘भाडावाला’हरूले सहर निर्माण र यसको जीवन भर्न योगदान दिएका छन् । तर, महामारीले बनाएको ‘वाला भाष्य’ले ‘भाडावाला’हरूलाई पराईकरण गरेको छ । कतै त ‘भाडावालाहरूलाई कोठाबाट बाहिर ननिस्किन’ उर्दी नै जारी गरिएको छ । यसको मतलब यो महामारीले यस्तो ‘वाला भाष्य’को सिर्जना ग-यो, जसले ‘घरवाला’, ‘पासवाला’, ‘नेतावाला’, ‘धनवाला’, ‘हाकिमवाला’, ‘शक्तिवाला’हरू मात्र कोरोनादेखि सचेत छन् र भाडावाला, गरिब र शक्तिहीनहरू सचेत छैनन् भन्ने गलत सामाजिक सन्देश दिन खोजेको छ । 

 

कोरोना कुनै दिन नियन्त्रण होला । तर, महामारीको अवधिमा कुनै निश्चित समुदाय र समूहलाई दोषारोपण गर्ने, आत्मसम्मानमा ठेस पुर्‍याउने जुन भाषाको प्रयोग भइरहेको छ, त्यसले गहिरो सामाजिक महामारी निम्त्याउन सक्छ।

 

यस्ता भाष्यले हाम्रो संरचनागत असमानतालाई झन् मलजल गर्छ । यस्ता सूचनामा प्रयोग गरिएका भाषाले सहरमा बस्ने ‘भाडावाला’ र ‘घरवाला’बीचको असमान शक्ति सम्बन्धलाई देखाउँछ । भाडावालाहरू सहरका मुख्य आर्थिक स्रोत हुन् । तर, उनीहरूलाई थोरै ‘घरवाला’हरूले मात्रै राम्रो व्यवहार गरेको पाइन्छ । आफूले मन नलागेका वेला घर छोड्न दबाब दिने, पानीको सुविधा नदिने तथा पाहुना ल्याउँदा किचकिच गर्ने ‘घरवाला’हरू थुप्रै भेटिन्छन् ।

 

महामारीमा ‘गल्ली’ र ‘सडक’हरूमा ‘भाडावाला’हरूलाई पराईकृत गर्ने भाष्यले तीनै ‘घरवाला’हरूको चाहना र उद्देश्य पूरा गर्छ । ‘भाडावाला’हरूलाई सहर छोड्न बाध्य बनाउनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ‘घरवाला’हरूको ‘अमानवीय’ संस्कार पनि दोषी छ । संस्कार शक्ति सम्बन्धसँग जोडिन्छ । पानी बढी चलाउँदा, भाडा ढिलो हुँदा चेतावनी आउनु ‘घरवाला’ भाष्यको मुख्य पक्ष हो । यस्ता भाष्यले सहरलाई अमानवीय र असुरक्षित स्पेसको रूपमा चित्रित गर्छन् । 


‘वाला’ भाष्य निर्माणमा ‘बर्दीवाला’ र ‘पासवाला’हरूको भूमिकाले सार्वजानिक वृत्तमा विभिन्न प्रश्न उब्जाए । लकडाउनको सुरुवाती दिनमा बर्दीवालाहरूले सडकमा बाध्यताले हिड्नुपर्नेहरूलाई पनि ‘लठ्ठी’ बसौए । ‘लठ्ठी’ एउटा निर्जीव वस्तु होइन, यो राज्यसत्ता र शक्तिको भाषा बोल्ने माध्यम हो । यसले ‘हाकिम’को भाषा बोल्छ र अह्राएको काम गर्छ । ‘लठ्ठी’ भाष्यको दुई मुख्य सामाजिक अर्थहरू छन् ।

 

पहिलो, यसले सोझा, निमुखा र शक्तिहीनलाई तह लगाउने तरिका भौतिक शक्ति मात्र हो भन्ने अर्थ दिन्छ । ‘लठ्ठी’ पहुँचवालामाथि बज्रिँदैन । त्यसैले ‘लठ्ठी’ले हाम्रो असमान संरचनालाई प्रतिबिम्बित गर्छ । दोस्रो, ‘लठ्ठी’को भाष्यले नागरिकलाई सुरक्षा दिने हाम्रो प्रहरी संरचनाको कमजोर कार्यकुशलता झल्काउँछ । यसले पुलिसिङ लठ्ठी ठोकेर मात्र गर्न सकिन्छ भन्ने राज्यको ‘हुकुमी’ चिन्तन बोक्छ । 

 

नश्लवाद र कमेडी 


महामारीमा प्रयोग गरिएका भाष्यले नश्लीय चिन्तनलाई मलजल गरेको देखिन्छ । कुनै समुदाय, वर्ग, लिंग र क्षेत्र विशेषलाई होच्याउने, लज्जित बनाउने र नकारात्मक पहिचान दिने काम नश्लीय सोच हो । केही दिनअघि ‘कोरोना बिर्साउने गफगाफ’ भन्ने कृषि टिभी कार्यक्रममा समग्र मधेसी समुदायलाई ‘भैया’ पात्रको माध्यमबाट होच्याउने काम भयो । 


यस्ता ‘गफगाफ’लाई सामान्य ठट्टाको रूपमा मात्र लिन सकिन्न । कुनै समुदायको भाषिक लवज, शरीरको बनावट, अनुहारको रङ, र खानपानलाई स्टिरियोटाइप गर्दै सार्वजनिक रूपमा ठट्टा गर्नु कमेडी हुन सक्दैन । उक्त कार्यक्रममा बोलिएका भाषाले मधेसी समुदायको पहिचानलाई स्टिगमाटाइज गरेको छ । कुनै समुदायप्रति लक्षित यस्ता भाष्य ‘कोरोना बिर्साउने’ कमेडी होइनन् । प्रसिद्ध समाजशास्त्री पियर बोर्डयुले भनेझैँ यस्ता भाष्यले लक्षित समुदायलाई कलंकित गर्दै उनीहरूमाथि प्रतीकात्मक हिंसा गर्छन् । 
 
कमजोर समाजभाषाशास्त्रीय चेत 


स्थानीय सरकारहरूले कोरोना नियन्त्रणमा, राहत वितरण, क्वारेन्टाइन निर्माण र जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेका छन् । तर, स्थानीय जनप्रतिनिधिले जारी गरेका सूचनाका भाषा हेर्दा उनीहरूमा भाषाले राख्ने सामाजिक, राजनीतिक र मानवीय अर्थहरूका बारेमा चेतना नभएको देखिन्छ । स्थानीय सरकारहरूले जारी गरेका सूचनाले आमनागरिकलाई सम्बोधन गर्नेभन्दा पनि कुनै निश्चित समूहलाई लक्षित गरेका छन् ।

 

केही दिनअघि बाँकेको एउटा गाउँपालिकाले कोरोना नियन्त्रणका लागि थप सुरक्षाकर्मी माग गर्न जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रले ‘मुस्लिम’ र ‘मधेसी’ समुदायलाई लेबलिङ र अमानवीकृत ग-यो । उनीहरूलाई ‘पिछडिएको’ र ‘चेतनाको स्तर निकै कम भएको’ समुदायको रूपमा चित्रित गर्दै थप सुरक्षाकर्मीको आवश्यकतालाई पुष्टि गर्न खोजिएको छ । यति मात्र होइन, उनीहरूलाई कोरोनाका बारेमा ‘अन्धविश्वासी’, ‘भ्रम सिर्जना गर्ने’, ‘सुरक्षाकर्मीहरूलाई असहयोग गर्ने र मनोबल कमजोर पार्ने’ तथा ‘संक्रमित भगाउने’ जस्ता अपहेलित हुने पहिचान दिइन्छ ।

 

कोरोना नियन्त्रणको नाममा जारी हुने सार्वजनिक सूचनामा प्रयोग हुने यस्ता भाषाले निश्चित समुदायको पहिचान र आत्मसम्मानमाथि धाबा बोलेका छन् । कोरोना त कुनै दिन नियन्त्रण होला । तर, महामारीको अवधिमा कुनै निश्चित समुदाय र समूहलाई दोषारोपण गर्ने, होच्याउने जुन भाष्यको प्रयोग भइरहेको छ, त्यसले गहिरो सामाजिक महामारी निम्त्याउन सक्छ ।


‘अपरिचित’, ‘नयाँ मानिस’, र ‘विदेशबाट फर्किएका’हरूलाई लक्षित यस्ता सूचनाले ‘निगरानी चिन्तन’लाई अझ बढाएको छ । दार्शनिक फुकोले ‘निगरानी’ (सर्भेलन्स)लाई शक्तिको रूपमा लिनुपर्ने तर्क गर्छन् । ‘निगरानी’ चिन्तनले कुनै पनि व्यक्ति र समूहलाई अपराधीकृत गर्छ । जनप्रतिनिधिहरूले जारी गरेका धेरै सूचना आमनागरिकलाई महामारीबारे चेतना जगाउने र सुरक्षित महसुस गराउनेभन्दा पनि केही निश्चित व्यक्ति र समूहका लागि डरको वातावरण निर्माण गरी ‘सूचना आतंक’ नै मच्चाएको देखिन्छ ।

 

बाहिर जिल्लाबाट र विदेशबाट आएकाहरूलाई ‘प्रवेश निषेध’ गर्ने र घरवालाहरूलाई ‘फोन सम्पर्क’ गर्न लगाएर अर्काे सूचना नआएसम्म भाडावालाहरूलाई आफ्नो ‘घरमा प्रवेश नदिन’ सूचना जारी गर्ने जनप्रतिनिधिले भाडावाला, बाहिर जिल्ला र विदेशबाट आएकाहरूलाई काठमाडाैं सहरमा बहिष्करण गरेका छन् । कसैले त्यस्ता व्यक्तिलाई आफ्नो घरमा राखेमा घरै ‘सिल’ गर्ने र ‘कोरोना पुष्टि भएमा सारा खर्च घरवालाले व्यहोर्नुपर्ने’ जस्ता भाषाले दम्भ र धम्कीलाई प्रश्रय दिएका छन् । 


महामारीमा आमजनतालाई कसरी सुरक्षित राख्ने भन्दा पनि स्थानीय सरकारको जोड भाडावालालाई निषेध गर्ने र उनीहरूमाथि निगरानी बढाउने जस्तो देखिन्छ । यस्ता भाष्यले मानवताभन्दा पनि शासकीय शक्ति लाद्छ । दार्शनिक फुकोले भनेझैँ निगरानीलाई केन्द्रमा राखिएका यस्ता सूचनाले भाडावालाहरू र अर्काे जिल्लाबाट सहरमा आउने नागरिकमाथि एक किसिमको हिंसा गरेको छ । उनीहरूलाई ‘कोरोनाको खानी’ र सहरका घरबेटीको टाउको दुखाइको रूपमा चित्रित गरिएको छ । यस्ता भाष्यले सहरको सुरक्षाका निम्ति भाडावालाहरू समस्या हुन् भन्ने गलत सन्देश दिन्छ । 

०००

महामारीको अवधि लम्बिँदै गर्दा आमनागरिकमा धैर्य गुम्ने डर हुन्छ । मानवीय भावना आवश्यक भएका वेला अमानवीय क्रियाकलाप बढ्ने सम्भावना बढी हुन्छ । यतिवेला डर–त्रासभन्दा पनि सबै समुदाय र वर्गले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न जरुरी छ । यसका लागि सार्वजनिक वृत्तमा प्रयोग हुने हाम्रा भाषा कुनै समुदाय र व्यक्ति विशेषलाई लक्षित हुनुहुँदैन ।

 

विशेष गरेर सरकारी संयन्त्रले प्रयोग गर्ने भाषाले कुनै पनि समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने र पराईकरण गर्नु हुँदैन । त्यस्ता भाषाले कोरोनाभन्दा पनि सामाजिक विद्वेष, घृणा र बहिष्करणजस्ता ठूला र दीर्घकालीन समस्या निम्त्याउन सक्छन् । तसर्थ सरकारी निकायले भाषा प्रयोग गर्दा समग्र सामाजिक र मानवीय पक्षप्रति सचेत हुन जरुरी छ ।