• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किशोर नेपाल
२०७७ जेठ २४ शनिबार ०६:३५:००
साहित्य

तालाबन्दीको चमक

२०७७ जेठ २४ शनिबार ०६:३५:००
किशोर नेपाल


सहरमा तालाबन्दी चम्केको छ । प्रवेशमान आफ्नो बढेको दाह्री मुसार्छ । सैलुनहरू बन्द छन् । उसले दाह्री काट्न पाएको छैन । काठमाडौं सहरमा मध्यरातमा साथीभाइसँग आवारागर्दी गर्दा पनि ऊ कहिल्यै डराएन । तालाबन्दीले उसलाई कमजोर बनाएको छ । अस्ति मात्रै हो, ऊ अस्पताल जाँदै थियो । सडक चकमन्न थियो । एउटा फुटपाथमा ऊ लम्किँदै थियो र अर्को फुटपाथमा अर्को कोही । घाम चहकिलो थियो । चर्को थिएन । दुई फुटपाथबीचको सडकमा घामका छाया भौँतारिइरहेका थिए ।

 

उसलाई डरलाग्यो : त्यो समानान्तर फुटपाथबाट हिँड्ने मृत्यु हो । मृत्युले पनि मास्क लगाएको थियो । प्रवेशलाई भाउन्न भयो । अचानक ऊ खोक्न लाग्यो । उसले खोकेको सुनेर कोही देखापर्ला भन्ने आशा थियो उसलाई । प्रवेशलाई लाग्यो, एकअर्काको साथ नपाए मानिस ओइलाउँछ । यो कोरोना महामारीमा भने मानिसलाई ‘आइसोलेटेड’ बनाउनैपर्ने । बन्द कोठामा पनि एक्लै बस्नुपर्ने । क्वारेन्टाइन रे क्या, क्वारेन्टाइन । 

तालाबन्दीसँगै सहरमा छलछाम र ठगी खुब चम्केको छ । पुलिसहरू उसै पनि जनताको खल्ती छाम्न र टकटक्याउन माहिर छन् । अहिले त सरकारले जनताको खानतलासी लिने पूरै अधिकार दिएको छ पुलिसलाई । 

 

कलेज पढ्दा प्रवेशमान निकै फुर्तिलो थियो- क्रान्तिकारी भाषण गर्न पोख्त । भाषणमा उसको थेगो नै बनेको थियो, ‘दरबारले सुनोस् ।’ हुन पनि त्यतिवेला कुरा दरबारलाई सुनाउनु पर्थ्याे । अरूलाई सुनाउनुको केही मतलब थिएन । दरबारको आँट र ओत नपाएसम्म देशमा एउटा पत्तासम्म पनि हल्लिँदैनथ्यो, त्यो समयमा ।


चारैतिर क्रान्तिको समय थियो त्यो । दुनियाँ बेचैन थियो । नेपाल त पृथ्वीको सानो हिस्सा । ठुल्ठूला पहाड र हिमालयको गर्भमा आफ्नो बेचैनी, भोक र असन्तोष लुकाउने मानिसको देश । त्यतिवेला, दुनियाँमा फैलिएको बेचैनीको एक थोपा काठमाडौं सहरमा पनि छिट्याएको थियो । सधँै साइकिल चढेर हिँड्ने काठमाडौंको नेता प्रयागराज मन्त्री भएका थिए । उनको मोटरमा आन्दोलनकारीले बम हिर्काएको समाचार सुनेपछि काठमाडौं उत्तेजित भएको थियो र प्रवेशमान जोसिएको थियो ।

 

राजनीतिमा आफ्नै स्व–प्रेरणाले लागेको थियो, प्रवेशमान । बमको समाचार आएपछि ऊ पहिलो जन–आन्दोलन अघिसम्म राजनीतिको ‘इपिसेन्टर’ मानिने न्युरोड पीपलबोट पुगेको थियो, साथीहरूलाई भेटेर विरोध प्रदर्शन गर्न । त्यसपछि उसको जीवनमा बडो नाटकीय मोड आयो । प्रदर्शनका क्रममा ऊ समातियो । सरकारले उसलाई सुरक्षा कानुनअन्तर्गत जेल पठायो । जेलमा सात महिना बिताएपछि ऊ अचानक बिरामी पर्‍यो । उसलाई पनि सधैँ आउँ पर्न थाल्यो, जुन त्यो जेलमा बस्ने अधिकांशको नियति बनेको थियो । ऊ दिनहुँ दुब्लाउँदै गयो । जेलको डाक्टरले उपचार नगरेको होइन । निकै उपचार गर्‍यो । वीर अस्पताल पनि पठायो । तैपनि, निको नभएपछि डाक्टरले निचोड निकाल्यो, पानी नै खराब छ यो जेलको । 


प्रवेशमान सिकिस्त बिरामीको अवस्थामा पुग्न लाग्यो । केही नलागेपछि उसको परिवारले उसको मामालाई गुहा¥यो । मामा सात सालका नेता थिए । अहिलेसम्म इज्जत धानेर बसेका थिए उनी । उनैको ग्यारेन्टीमा छुट्यो प्रवेशमान जेलबाट । छुट्नुअघि अञ्चलाधीशले उसलाई एउटा कागजमा सही गराए । त्यो कागजमा लेखिएको थियो, ‘म नेपाल अधिराज्यका सार्वभौम शक्तिका स्रोत श्री ५ महाराजाधिराज सरकार तथा मौसुफका उत्तराधिकारीप्रति सदैव इमानदार तथा बफादार रहनेछु । मौसुफको नेतृत्वमा चलेको पञ्चायत व्यवस्थाको समर्थन गर्दै पञ्चायत व्यवस्थाबाटै देश र जनताको उन्नति हुने विश्वास गर्छु ।’ 


प्रवेशमानले त्यो वक्तव्य पढ्दै नपढी सही ग-यो । सही गरेको केहीबेरपछि उसले त्यहाँ लेखिएका कुरा सम्झियो । उसलाई घोर ग्लानि भयो । उसको पूरै शरीर पसिनाले निथ्रुक्क भिज्यो ।


‘ओहो !’ कोरोना महामारीको यो समयमा प्रवेशमान पुरानो समयको यात्रामा निस्किएछ । ऊ आफैँसँग प्रश्न गर्छ र आफैँलाई जवाफ दिन्छ ‘समय कति बलवान् !’ ऊ आफ्ना कुरा आफैँ बुझ्दैन । भर्खरै के भने मैंले ? ऊ आफैँसँग प्रश्न गर्छ । कोरोनाको बारेमा उसले पढेको थियो, लामो समय तालाबन्दी र एकान्तवासमा बसेको मानिसको मानसिक अवस्था नाजुक हुन्छ । 


जेलबाट छुटेपछि उपचारका लागि ऊ टिचिङ अस्पताल भर्ना भएको थियो । अञ्चलाधीशले उसले सही गरेको वक्तव्य गोरखापत्रमा छपाइ दिएका थिए । त्यो वक्तव्यको प्रकाशनपछि साथीहरूले उसलाई राजनीतिको पोस्टबाट आउट गरेका थिए । धमिलो भइसकेका यस्ता सम्झनाले प्रवेशमानको मुटु कटक्क काट्छ । उसको मुटु काम्न थाल्छ । त्यसपछि ऊ पारिवारिक व्यापारमा लाग्यो । उसको परिवार पहाडबाट आएका किसानलाई उधारोमा लत्ता–कपडा दिन्थे । उधारो असुल गर्न धान पाकेपछि खलोमा नै पुग्थे । व्यापारमा लागेपछि प्रवेशमा नुवाकोट–धादिङका धेरै गाउँ घुम्यो । अहिले ऊ सम्पन्न व्यापारीमा गनिन्छ । 


तालाबन्दीमा ऊ कतै जाँदै छ । कता जाँदै छ ? सम्झिँदै निस्किन्छ प्रवेश । घरको दैलो नाघ्नेबित्तिकै उसको मोबाइलको घन्टी बज्छ । ऊ सम्झन छाडेर बोल्न थाल्छ फोनमा, हलो – स्वरलाई सकेसम्म नरम बनाएर, बोल्छ उ, -‘हलो !’ 


जवाफ आउँदैन । ‘कसैले छल गरेको छ’ उसलाई लाग्छ । कसैलाई फोन गर्ने ग्राहकले डायल गरेपछि आउने टोनको ठाउँमा ग्राहकको चेतनाको स्तर उकास्ने उद्देश्यका साथ सरकारले बडो मिहिनेतका साथ कोरियोग्राफी गर्न लगाएर निकालेको कोभिड-१९ को ‘विवर-संगीत’ लगातार आइरहन्छ । यसरी रिजिभ गरेको फोनमा आएको संगीतको अर्थ खोज्छ प्रवेश । ऊ आफैँसँग बोल्छ- यो छलबाहेक अरू केही हुनै सक्दैन । 


तालाबन्दीसँगै सहरमा छलछाम र ठगी खुब चम्केको छ । पुलिसहरू उसैपनि जनताको खल्ती छाम्न र टकटक्याउन माहिर छन् । अहिले त सरकारले जनताको खानतलासी लिने पूरै अधिकार दिएको छ पुलिसलाई । मानौँ कि, जनता कोभिड–१९ खल्तीमा हालेर हिँडेका छन् । जनयुद्धका वेला माओवादी लडाकुले बोकेको बमजस्तो । महा-नगरपालिकाले बिहान ६ बजेदेखि १० बजेसम्म दाल, चामल र तरकारी पसल खोल्न पाउने निर्णय गरे पनि तालाबन्दीको रखवाली गर्न बसेका पुलिसहरू बिहान ९ बजे नै पसल बन्द गराउन सक्रिय हुन्छन् । तालाबन्दीमा समयको पाबन्दी महानगरले होइन, पुलिसले लगाउने विषय हो ।

 

देशमा गणतन्त्र आए पनि समाज र राजनीतिको रूपान्तरण भएको छैन । त्यसैले हो, जनताका नाममा हुने हरेक निर्णयमा विषयान्तर हुने गरेको छ । देश बनेको छैन । बन्दा पनि बन्दैन । तालाबन्दीमा त देश बन्दै बन्दैन । पसलेले आफ्नो नियमित ग्राहकलाई खातामा उकालो लाग्दै गरेको उधारो रकम बताउनसम्म पाएको हुँदैन, पसल बन्द गर्ने निरंकुश आवाज घन्किई हाल्छ । 


प्रवेशलाई अफिस जानुपर्दैन । सरकारले कोरोनाकाललाई छुट्टी मनाउने अवसर बनाइदिएको छ । तलब सोझै बैंकखातामा भित्रिन्छ । सरकारले भनेको छ- घरबाट बाहिर ननिस्किनु । तलब सोझै खातामा जान्छ । प्रवेशलाई लाग्दछ : सरकारी जागिरको खास सुख भनेको नै सुविधा हो । तलब छँदै छ । त्यसपछिका नियमित भत्ता र भत्ताहरू छन् । दसैँखर्च, सुत्केरी खर्च, मर्दापर्दाका खर्च छन् । त्यसपछि पाइने अतिरिक्त कमाइको सुविधा । नियमले त हुनुपर्ने हो, जुत्ताको आकार जति ठूलो हुन्छ, पालिस त्यति नै बढी लाग्छ ।

 

सरकारको आकार बढ्दै जाँदा जुत्ताको आकार पनि बढ्छ । तर, कर्मचारीले धेरै पालिस किन्ने रकम निकासा गराउने धुनमा थोरै पालिस किनेर काम चलाउँछन् । कुन जुत्तामा कति पालिस लागेको छ ? कत्तिको चम्केको छ ? त्यो सोच्ने फुर्सद कसैलाई छैन । सबैका लागि समय महँगो छ ।


उसको चिन्तनको घेरा त्यसवेला टुट्यो, जब कसैले उसको पाखुरामा बलियो गरी समात्यो । ‘यो पुलिसकै पकड हो, योभन्दा खराब तरिकाले अरू कसैले समात्दैन’ उसले अनुभव गर्‍यो । छड्के आँखा लगाएर पुलिसको बर्दी हेर्‍यो । त्यसपछि ऊ पर्‍यो तालाबन्दीभित्रको घेराबन्दीमा । उसलाई सडकछेउ, डोरीले घेरिएको ठाउँमा पुर्‍याइएको थियो । त्यहाँ एक दर्जन मानिस घेराबन्दीमा थिए । ती दर्जन मानिसमा केही व्यापारी जस्ता लाग्थे । कोही गुप्तचर विभागका कर्मचारी जस्ता । उसले सुनेको थियो- गृहमन्त्रीले देशको शान्ति सुरक्षालाई अक्षुण्ण राख्न गुप्तचरहरूको व्यापक प्रयोग गर्ने नीति अख्तियार गरेका छन् । देशको शान्ति सुरक्षाको नीतिमा आएको परिवर्तनले गृहमन्त्रीको नाता–सम्बन्धको घेरामा रहेका दर्जनौँ मानिस बेरोजगार सडकमा हिँड्नबाट जोगिएका छन् । उनीहरूको भाग्यमा लागेको बादल अचानक हटेको छ । 


थाहै नपाई घेराबन्दीमा फसेको थियो प्रवेश । उसको अगाडि-पछाडि, दायाँ-बायाँका मानिसका काखीबाट आएको दुर्गन्धमा लथपथिएको प्रवेश सरकारी पास देखाएर छुट्न सक्थ्यो होला । त्यो दुष्कर्म गर्न चाहेन उसले । आफुजत्तिको भलादमी मानिसलाई आँखा जुधाएरसम्म नहेरी पुलिसले पछाडिबाट पाखुरामा समातेकोमा ऊ मनैमन उत्तेजित थियो । पुलिसले त्यसरी चोरलाई जस्तो पाखुरामा समातेको उसलाई मन परेको थिएन । ऊ विरोध गर्न पनि चाहँदैन थियो । विरोध लाउड हुन्छ : चर्को । त्यसको परिणाम के के हुन्छ के के ! भन्न सकिँदैन । 


एकछिनपछि दृश्यमा पुलिसका एकतारे अफिसर देखिए । उनले सबैको मुखमा हेरे । त्यसपछि भने- तपाईंहरू सबै पढेलेखेका इज्जतदार मानिस हुनुहुन्छ । त्यसपछि उनी स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको प्रचार सामग्रीको बुँदागत व्याख्या गर्न थाले । पूरै निर्वस्त्र भयो कोभिड-१९ । घेराबन्दीमा परेका सबै मानिस छिटो मुक्तिको आशामा सायद मनमनै रमाइरहेका थिए । तीमध्ये एकजना भलादमी त सातपटक घेराबन्दीमा परिसकेका थिए । त्यो हिसाबले उनको मनमा प्रायश्चित्तको भाव हुनुपर्ने थियो । त्यो देखिएन । प्रवेशको मनमा कताकता पुलिसको एकतारेलाई चिनेको झल्को आइरहेको थियो । केही बेरमा उसको मुखबाट अलि चट्का स्वरमा फुत्त निस्कियो ‘युरेका !’ 


घेराबन्दीमा पारिएको एकजना भलादमीको चट्का आवाज सुनेर अरू छक्क परे । तै, प्रतिक्रियामा कोही बोलेन । यही मौका छोपेर पुलिसको एकतारेले कोभिड-१९ बाट मानिसमा पर्ने मानसिक आघातको कथा सुनाउने समय निकालिहाले । प्रवेशले सम्झियो, उसले मापसे गरेको अपराधको प्रायश्चित्त गर्दा एकपटक बग्गीखानामा पुग्दा एकतारेको भाषण सुन्न पाएको थियो । ‘मानिस बोल्न जान्ने हो’, मनमनै उसले सोच्यो, ‘मेरो जस्तो मिहिनेत नगरी जागिर खाएको होइन उसले ।’ 
अनि, प्रवेश आफैँ मुस्कायो । उसलाई चटारो थिएन, ‘तालाबन्दी कहिले खुल्ला ? जहिले खुले पनि एक दिन त खुल्नैपर्छ । सधैँका लागि तालाबन्दी सम्भव छैन ।’