साढे तीन हजार वर्षदेखि
नित्य मौसमझैँ चलिरहेछ यहाँ
वर्णाश्रमको नयाँ रामायण
जहाँ हरेकपटक
छलपूर्व मारिन्छ शूद्र शम्बुक
तर, कसैलाई लाग्दैन हत्याको बात ।
साढे तीन हजार वर्ष
पुरानो छ उसको दलन
त्यत्तिकै पुरानो छ उसको आक्रोश
दुस्मनले एउटा गाला चड्काउँदा
अर्को गाला थाप्ने गान्धीझैँ
अब त फेरि फेरि आँखा चिम्लेर
चुपचाप बस्ने मुडमा छैन दलित युवक
एकलव्यले झैँ दिने छैन
उसले औँला दान
(अब त दान-दक्षिणामै छैन उसलाई विश्वास)
बरु भइजान्छ सहिद
तर, शिर निहुराएर
फर्कने छैन प्रेमको मत्स्यवेदबाट
सह्य हुने छैन रङ्गभूमिको तिरस्कार
उसलाई बारम्बार ।
साढे तीन हजार वर्ष पुरानो
धर्मशास्त्रका पानाबाट
अश्वमेध यज्ञको घोडाजस्तै
संसार जित्न निस्केको
यो त्यही अत्याचारको तरबार हो
जसले भारतवर्षमा गरेको थियो
अनगिन्ती शूद्र कालीगढको हत्या
र, वर्णाश्रमको नयाँ महाभारतमा
फेरि पनि मारिन सक्छन्
नवराज विक र अजित मिजार
जसरी कुरुक्षेत्रमा मारिएका थिए कर्ण
तर, महाभारत हुन्छ भने
अभिमन्यू र द्रोणाचार्यको
पनि वध हुन्छ हुन्छ
मारिने छन् पाण्डव पुत्र र सेना पनि
ढिलोचाँडो, यदुवंशको पनि विनाश हुन्छ, हुन्छ ।
साढे तीन हजार वर्षदेखि
मारिनेहरूका नाममा
दुनियाँमा धेरै बग्यो आँसुको महासागर
आँसुसँगै बगिरहे दुःखीहरू
तर, बगेन तिनको दुःख ।
साढे तीन हजार वर्षदेखि गुम्सिएको
तिम्रो आक्रोशको आगोलाई
बाहिर निकाल दलित र शोषित मान्छे !
म दिन्छु अलिकति मेरो रगत
तिमीहरू थप तिम्रा रगत
यसरी थप कि
फेरि-फेरि कसैले बगाउनु नपरोस् रगत
जलाएर धर्मशास्त्रका पानाहरू
च्यातेर वर्णाश्रमका विधानहरू
संरचना र पुस्तकका पानाबाट
रगतको कण-कणबाट
बगाउनु छ सारा कसिङ्गर
उखेल्नु छ दिमागको दलदलबाट
अहम्का जराहरू
फोड्नु छ पुरानो ढोका ।
साढे तीन हजार वर्ष पुरानो
तिम्रो आक्रोशको आकाशमै हुनेछ
मुक्तिको नयाँ सूर्योदय ।