• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युग पाठक
२०७७ असार १३ शनिबार ०९:४२:००
समाज

राजु सदाहरूको दुस्मन

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ?

२०७७ असार १३ शनिबार ०९:४२:००
युग पाठक


यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका मेरा आँखा फर्किएकै थिएनन् । नवराज विकसहित ६ जना झरिला युवाहरूको हत्या गरेर फालिएको नीलो प्रवाह । तीन हप्तापछि पनि मान्छे यहाँ पौडिन डराइरहेका थिए । माछा मार्न जाने हिम्मत परेको थिएन कसैलाई । यतिवेला फेरि उधारिँदै छ यो लेख र राजु सदाको छटपटी आँखामा तारन्तार बगिरहेको छ । लेखक सिर्जना ढकालले भर्खरै ट्विट गरिन् : राजु सदाहरूले यो देशलाई देश किन भन्ने ? चिहान किन नभन्ने ? सोचनीय छ– राष्ट्रियताको भ्रम छरेर एकपछि अर्को मान्छे मार्ने देश साँच्चै देश हुन्छ कि चिहान ?


कलाकार रवि मिश्रले ‘मानवता निषेधित क्षेत्र’ शीर्षकको चित्र सार्वजनिक गर्दै लेखिसके : यो मेरो देशको वास्तविक नक्सा हो, जो बुच्चे वा चुच्चे कुनै पनि संस्करणमा अटाउँदैन । सिंहदरबारमा बेसारे प्रवचन दिएर बाँच्ने उपाय सिकाइरहँदा प्रवचकको सिस्टमले आइसोलेसनमा गरेको जघन्य हत्या हो यो । राजु सदा जीवनजलसमेत नपाएर मारिनुलाई यो सिस्टमले जायज ठह-याउला तर मानवताले ठह-याउँदैन । गम्भीर विषयको जवाफ टार्न सदनमा गरिने ठट्टाले बिर्सेला तर इतिहासले बिर्सने छैन । माफ गर्नेछैन ।


यहीँबाट उधारिएको लेख फेरि बुनिन्छ । इतिहासले माफ नगर्ला, तर त्यो इतिहास कसले लेख्छ ? राजु सदाका आँखाबाट बग्यो भने इतिहास कसरी बग्छ ? हो, त्यो इतिहास यसरी बग्नेछ कि नाजायज ‘सिस्टम’लाई पक्कै बगाउनेछ । झन् कसिलो मुट्ठी बाट्नु छ, संघर्ष झनै सघन बनाउनु छ । हो, यसपटक यो लेख बुनिसक्नुपर्नेछ र थाहा पाउनुपर्नेछ– राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? यसको अनुहार र विचार कस्तो देखिन्छ ?

 

दुस्मन विचार
मेरो एउटा दुस्मन छ
जो मलाई फोहोरजत्तिकै घृणा गर्छ
तर म उसलाई फूलजत्तिकै मन पराउँछु ।
–मनु मञ्जिल

 

अनि ऐँठन गर्छ मनुको दुस्मनले । त्यो दुस्मन कस्तो हुन्छ जसलाई फूलजत्तिकै मन पराउन सकिन्छ ? राजुको दुस्मनलाई मन पराउन मिल्छ कि मिल्दैन ? मलर सदा, सूर्यबहादुर तामाङ र जोद्धी गोडियालाई भोकभोकै तड्पाएर मार्ने दुस्मनलाई मन पराउन खोजेर म हैरान हुन्छु । अचानक संसद्को रोष्ट्रममा एउटा आकृति प्रकट हुन्छ । म उसको आँखामा समवेदना खोजेर पनि हैरान हुन्छु । ती बिरामी आँखाहरूमा गरिब, पददलित जनता भकाभक मारिएको यथार्थप्रति झिनो जिज्ञासासम्म पनि छैन । हत्यारा भोक थियो कि संसद् ? हत्यारा रोग थियो कि सरकार ?

मलर सदासँग एक खिल्ली बिँडी बाँडेर चिनजान गर्ने अवसर कहिल्यै मिलेन । तैपनि लकडाउन–निद्रा बिथोल्दै उनी सपनामा आइरहन्छन् । नवराज र उनका साथीहरूसँग भेरीकिनारको चउरमा एक गेम फुटबल खेल्ने सन्ध्या पनि आएन । शोकधुन मात्र भेरीमा सुसाउँदै नजिकनजिक आइरहन्छ ।

 

मलर सदासँग एक खिल्ली बिँडी बाँडेर चिनजान गर्ने अवसर कहिल्यै मिलेन । तैपनि लकडाउन निद्रा बिथोल्दै उनी सपनामा आइरहन्छन् । सूर्यबहादुर तामाङसँग आस्याङको साइनो लाउँदै छ्याङ खाने साइत पनि कहिल्यै जुरेन । तथापि उनी विपना झस्काउँदै झल्याकझुलुक आँखा अघिल्तिर झुल्किरहन्छन् । साँफेबगरबाट लकडाउनमा पैदल पाइला मिलाउँदै जोद्धी गोडियासँग बर्दिया फर्किने मौका पनि मैले पाइनँ । तर पनि उनका आँखाले पछ्याउन छाडेका छैनन् । अंगिरा पासीले गाएको बर्खा गीत सुन्ने मौसम कहिल्यै आएन । फगत उनको चिच्याहट रूखका हाँगाहरूमा प्रतिध्वनित हुँदै आइरहेछन् वरिपरि । नवराज र उनका साथीहरूसँग भेरीकिनारको चउरमा एक गेम फुटबल खेल्ने सन्ध्या पनि आएन । शोकधुन मात्र भेरीमा सुसाउँदै नजिकनजिक आइरह्यो ।


अनुहारहरू यिनै त हुन् जसको कोलाजबाट यो मुलुकको राष्ट्रियता बन्छ । लाखौँलाख श्रमिक उनै हुन्, शिल्पी सिपालु उनै । उनीहरूकै श्रम र पसिनाले सिर्जेको सहर–गाउँमा हाम्रो बसेरा छ । उनीहरूले नै देशको भार थामेर मेरो हातमा अक्षर थमाइदिएका हुन् । उनै कर्मीमौरीहरूले उबारेर दिएको पलपल समयले मलाई शब्दहरूसँग खेल्ने चौडा मैदान दिएको छ । घृणा, भोक, अपमान, हेला र अकाल मृत्युको उपहारजति उनैको पोल्टामा हालिदिने दुस्मनलाई फूलजत्तिकै मन पराउँ म कसरी ? उनीहरूको इतिहास लेख्ने कलमलाई नै हतकडी लगाउने यो व्यवस्थालाई म मन पराउँ कसरी ?


सिंहदरबारले लकडाउनको आदेश दियो । सिंहदरबारले नै क्वारेन्टाइन बनायो । सेना लगाएर औषधि सिंहदरबारले नै झिकायो । आफ्नो बखानमा किताबै छाप्यो । सिंहदरबारलाई जुन विचारले चलाउँछ, त्यो चैँ त्यहाँ छापिएको छैन । जुन विचारले प्रधानमन्त्रीलाई निर्लज्ज रोष्ट्रममा बोल्न हिम्मत दिन्छ, केही थाहै नभएझैँ विवेक पचाएर हिँड्न मन्त्रीहरूलाई मास्क र मौका दिन्छ, नक्कली टेस्ट उपकरण ल्याएर अर्बौं उडाउने तागत दिन्छ, त्यो विचार छापिएको छैन । जुन विचारले मृत्युशालाजस्ता क्वारेन्टाइन चलाउन र निर्ममतापूर्वक जनता मारेर सुकिलै फरार हुन अनुमति दिन्छ, त्यो विचार वास्तवमा छाप्नै पर्दैन ।

लोकतन्त्रका सिद्धान्त होस् कि माक्र्सवाद, ती सब मञ्चमा उक्लेर भट्याउनका लागि हुन् । किनभने ती भट्याउन मात्र काम लाग्छन् । जसरी पण्डितले पाण्डालमुन्तिर एकत्रित भक्तजनलाई काम, क्रोध, लोभ, मोह गर्न नहुने प्रवचन दिन्छ र ओठबाट प्रवचन खसिसक्न नपाउँदै लाख रुपैयाँ टकार्ने भ्रष्टाचारीलाई दोसल्ला ओढाउँछ, त्यसैगरी ग्रन्थ केवल भट्याउनका लागि हुन् । जीवन चलाउने दर्शन त छताछुल्लै छ, चिन्तन र अम्मल गर्न केको दरकार ? समाज चलाउन जात व्यवस्था छँदै छ, विकल्प सोचिरहनै परेन । नवराजहरू मारिने क्रम वेलावेला चलिरहन्छ । जात व्यवस्थाले रचेको सबैभन्दा पावन, पवित्र र शुद्ध हत्या ! यतातिर चिन्ता गरेर सिंहदरबारमा ‘जंगी निशान’को सान कसरी जोगिन्छ र ?


एकदिन विद्वान् नेता घनश्याम भुसाल भन्थे– इतिहास नभत्काउँ ! सूर्यबहादुर तामाङहरूले वर्तमानमा सम्मानपूर्वक बाँच्ने ठाउँ खोज्दा उनको इतिहास भत्किँदोरहेछ । राजु, मलर र जोद्धीको इतिहास त उहिल्यै भत्काइसकेको हो, यो भुसालहरूलाई मनपरेको सत्ताले । हुर्किनै बाँकी रहेकी अंगिरालाई के थाहा, भुसालकै प्रधानमन्त्रीले बडेबडे नाम भएका नारी नेताहरूलाई कसरी धम्क्याएका थिए । नारीको पनि कुनै इतिहास हुन्छ यो पृथ्वीनारायणले आर्जेको मुलुकमा ? आखिर कुन इतिहास जोगाउन खोजेका थिए भुसालहरूले ? अजित मिजारलाई प्रेम गरेबापत मारेर गाडिदिने मुलुकी ऐनको विरासत ? अंगिराहरूलाई बलात्कार गरेर रूखमा झुन्ड्याइदिने विचारको पुरुषत्वको इतिहास ?


दुस्मन विचारले पनि तेस्रो आँखा त दिन्छ, तर हेर्ने र चिन्ने होइन, नहेर्ने र नचिन्ने आँखा । नेपाली समाजमा सद्भाव छ, सहिष्णुता छ भन्ने शिक्षाले जुन आँखा दिन्छ, त्यसले यी तमाम हत्याहरू किन भए भनेर ठम्याउनै सक्दैन । त्यसो भनिरहँदा कुनै इतिहास भत्किँदैन, चेतनामा ज्वार पनि उठ्दैन । जब नेपाली समाजमा विभेद र असहिष्णुता छ भन्ने तथ्य देख्ने आँखा खुल्छ, तब इतिहासका भित्ताहरू भत्किन थाल्छन् । अनि दैनिक जीवनमा गति उत्पन्न हुनै नदिने अनेकन बाधाहरू देख्न थालिन्छ । राजु सदाको हत्या क्वारेन्टाइनले होइन, क्वारेन्टाइन कसका लागि कस्तो बनाउने भन्ने विचारले गरेको तथ्य देख्न थालिन्छ । राष्ट्रपतिको ऐयासी र भ्रष्टाचारका महानतम् रेकर्ड कायम गर्न कुनै कसर नछाड्ने सिंहदरबारले श्रमिक जनताका निम्ति बनाएको क्वारेन्टाइन किन यातनागृह जस्तो ? किनभने दुस्मन विचारले ठीक त्यही गर्न लगाउँछ ।

 

अविरल महामारी


लोककथाको कछुवाले झैँ काँधमा समाज, देश र संसार धान्ने श्रमिकहरू अविरल महामारी बेहोरिरहेका हुन्छन् । नेपालमा त झन् प्रस्ट के देखियो भने कोरोना विश्वव्याधीको बहानामा गरिएको लकडाउन केवल मुठ्ठीभर शासक र हुनेखानेहरूको सुरक्षाका लागि पो रहेछ । जसको जीवन सधैँ महामारीजस्तै छ, उसलाई लकडाउनको सुरुदेखि नै कुनै परवाह थिएन । आमजनताका निम्ति त यहाँको सत्ता सधैँ बेपत्तै थियो । गोर्खालीले हनुमानढोकामा स्थापना गरेदेखि नै यहाँको सत्ताको चरित्र त्यस्तै छ ।


विगत अढाई सय वर्षमा यो सत्ताले निरन्तर आफूलाई चाहिनेजति कुलीन उत्पादन गर्ने र फन्का मारिरहने चरित्र निर्वाह गरेको छ । मलेरिया उन्मूलन कार्यक्रमसँगै किसान उन्मूलन कार्यक्रम पनि सुरु गरेको यो सत्ताले पछिल्ला दिनमा एकतिहाई श्रमशक्ति निर्यात गरेर कुलीनतन्त्र टिकाइरहेको छ । कांग्रेस, कम्युनिस्ट, पञ्च जो-जो पछिल्ला सत्तरी वर्षमा यो सत्तामा प्रवेश गरे, ती सबैलाई किसान उन्मूलन कसरी गर्ने र श्रमनिर्यातको दलालीमा कसरी चैन काट्ने भन्ने राम्रोसँग थाहा भयो । किसान, शिल्पी र सीपालु मानिसहरूको ज्ञानमाथि विजय हासिल गरेर किताबी ज्ञानको झन्डा फहराएपछि यिनको जालझेलको कागजी खेल चल्ने भैहाल्यो ।


आजपर्यन्त गोर्खालीले हनुमानढोकामा स्थापना गरेको शासनको त्यही व्याकरणमा देश चलिरहेकै छ । कुन कांग्रेस, कुन कम्युनिस्ट, भट्याउने ग्रन्थ फरक छन्, कर्मको व्याकरण उही हो ।

 

यो कागजी खेललाई हिजो पनि मलर, सूर्यबहादुर र जोद्धीहरूले बुझेनन्, आज पनि बुझ्दैनन् । गोर्खाली सत्ताले किसान, शिल्पी, कालिगढ, कलाकारजस्ता उत्पादनका मसिहा निर्माण गर्ने सबै समुदायलाई उपनिवेश बनायो । सत्तामा जालझेल गर्नेको प्रतिष्ठा र उत्पादनका मसिहाको अपमान गर्ने शासन बनायो । कर्मीहरूको बुद्धि र श्रमको कमाइजति जम्मै लुटेर ऐसोआराममा खर्च ग-यो, बचेको विदेशतिर लगेर लुकायो । जालझेल, प्रपञ्च, लुट र शोषणको शासनमा उत्पादनका मसिहाहरू उन्मूलन गर्ने दीर्घकालीन परियोजना जारी रह्यो । आजपर्यन्त गोर्खालीले हनुमानढोकामा स्थापना गरेको शासनको त्यही व्याकरणमा देश चलिरहेकै छ । कुन कांग्रेस, कुन कम्युनिस्ट, भट्याउने ग्रन्थ फरक छन्, कर्मको व्याकरण उही हो ।

 

जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित आन्दोलन आदिमा राजु, मलर, सूर्यबहादुर र जोद्धीहरूले उत्साहका साथ भाग लिएका थिए । कुनै न कुनै कुनाबाट आफ्नो आत्मसम्मान फिर्ता आइरहेको ज्योति उनीहरूले देखेका थिए । परिवर्तनको बतास चल्नचल्न खोजेको पनि हो, तर फर्कियो सबथोक पुरानै धुनमा । किसान उन्मूलन कार्यक्रम पुनः अघि बढ्यो । शिल्पी, कलाकार, कालिगढहरूको सीप र सिर्जना उन्मूलन कार्यक्रम पनि पुरानै लयमा फर्कियो । त्यसैले नेताका निम्ति सय केजी फूलको माला सुझाउने दिमागले राजु सदाहरूका लागि मृत्युशालाजस्तो क्वारेन्टाइन बनायो ।

 

अगुवाको अभिशाप

 

कहिलेकाहीँ सोच्थेँ : ल मानियो, हिटलर त क्रूर तानाशाह थियो । सयौँ ग्यासच्याम्बरमा यहुदीहरूको कत्लेआम गर्ने तमाम अफिसरहरू एकैपटक उस्तैगरी हत्यारा किन भए होला ? यो सवालको जवाफ हिजोआज पुग्दो मिलेको छ । केपी ओली उट्पट्याङ कुरा गर्छन्, क्रूरतम ठट्टा गर्छन् । उनको पार्टीका नेता, कार्यकर्ता र सरकारका मन्त्रीले बरु ढाकछोप गर्दा हुन् भन्यो, उनीहरू पनि उस्तै बकबक गरिहिँड्छन् । अन्धवेग चल्यो भने अगुवा जति क्रूर र बेवकुफ भयो, बाँकी अनुयायीहरू पनि उस्तै हुन सक्दा रहेछन् । कसैले पनि अडिएर सोच्दोरैनछ, विवेक खल्तीमा राखेर रडाको गर्न चोकमा पुगिहाल्दोरहेछ ।

 

चार महिनादेखि जनता अभूतपूर्व संकटबाट गुज्रिरहेका छन् । भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको आर्थिक संकटले बिस्तारैबिस्तारै आमजनताको जीवन थप संकटग्रस्त हुने क्रम छ । कुनै एक दिन सरकारको कुनै सदस्य दुई मिनेट संवेदित भएको देख्न पाइएन । न त मलर सदाको मृत्युले छोयो, न नवराज विकको हत्याले । न अंगिरा पासीको चित्कारले ब्युँझियो न त राजु सदाकै हुँहुँकारले । छातीमा नाम्लो च्यापेर सूर्यबहादुर लम्पसार भेटिएका थिए । एउटा मजदुरको यो दर्दनाक मृत्युले सरकारलाई मात्र होइन, यो व्यवस्थालाई नै छोएन ।

 

व्यवस्थाको यो संरचना चलाउने दुस्मन विचार भाइरसजस्तो मनमनमा पसेको छ । यो त्यै दुस्मन विचार हो जसले परिवर्तनको बाटो छेकेर उल्टो पाइला हिँड्नेहरूलाई भोट हाल्न लगायो । फूल, चरा, पृथ्वीका छटा सबैलाई छाडेर यसले श्रमिक, किसान, शिल्पी, कालिगढ र कलाकारहरूलाई सम्झिरहन्छ । नक्कली सद्भाव र सक्कली भेदभावको व्यूहरचना गरिरहन्छ । चारैतिरबाट घेरेको छ यो दुस्मन विचारले । किसान मात्र होइन, उर्वराको हत्या गरिरहेछ । शिल्पीको मात्र होइन, सीपको चिहान खनिरहेछ । कालिगढ र कलाकारको मात्र होइन, कलाकै घाँटी थिचिरहेछ । अहँ, यो दुस्मन विचारलाई मन पराउन मिल्दै मिल्दैन ।