कविजी !
तिम्रा नाममा थाती छ
एउटा अश्लील गाली
हजारौँ वर्षदेखि तिमी त
झुटो
नक्कली
र, जालसाज प्रेमगीत लेखिरहेका रहेछौ
पृथ्वीभन्दा विशाल, आकाशभन्दा विस्तृत
समुद्रभन्दा गहिरो, हिमालभन्दा उँचो
घामभन्दा न्यानो, जूनभन्दा शीतल
फूलभन्दा सुन्दर, महभन्दा मीठो
सबैभन्दा महान्, सबैभन्दा पवित्र...
प्रेम यति भव्य हुन्छ भन्यौ
प्रेम यति दिव्य हुन्छ भन्यौ
र, झुटको पराकाष्ठामा पुगेर भनिदियौ–
प्रेमले जातभात भन्दैन
अनि एक दिन संविधानले पनि आँखा सन्काउँदै
पाल्सी भाषामा भन्योे–
जात सबै बराबर !
म त प्रेमी थिएँ
पत्याइदिएँ
प्रेमीहरू साह्रै सीधा हुन्छन्
धेरै पछि पो थाहा पाएँ–
प्रेमलाई जसले महान् र विशाल भनेका थिए
‘माथिल्लो सिँढीका मान्छे’ थिए ती
जसले प्रेमलाई
सानो, साँघुरो, छिपछिपे, होचो, ठिहि¥याउँदो, पोल्दो, कुरूप,
तीतो, तुच्छ र अपवित्र तुल्याइदिएका थिए
प्रेम त हुनुपथ्र्याे साधारण
एक साथ, एक भरोसा, एक सपना,
एक चुम्बन, एक आलिंगन, एक सम्भोग,
एक रोमाञ्च, एक तृप्ति, एक आनन्द...
धोकेबाजहरूले
यति कञ्चन प्रेममा
मिसाइदिए मैलो
र, प्रेमको इतिहासभरि
छरिएका छन् एक–एक बित्ताका बीचमा
काटिएका गलाहरू
छुरी, डोरी र विषहरू
म त आफ्नै वेदना तगेर
प्रेमलोक सिइरहेको थिएँ एउटा
आफ्नै दुःख पोलेर, खारेर, पिटेर
पिरतीको देश बनाइरहेको थिएँ एउटा
मेरो प्रेम अधुरो क्रान्ति हो
संसारको कुनै न कुनै कुनामा
एउटा न एउटा अतृप्त प्रेमीले
पिरतीको मसाल त बोक्ने नै छ
आहत मुटुको रगतले मात्र होइन
यदाकदा प्रेमपत्र बन्दुकले पनि लेखिनेछ
म मर्नुअघि
मेरो प्रेम असाध्यै भोकाएको थियो
मेरो प्रेम अचाक्ली तिर्खाएको थियो
सम्मानको भोक–तिर्खामा छटपटाइरहेको प्रेमलाई हेर्नु
मर्नुभन्दा गाह्रो हुँदो रहेछ
मेरो खुनले जकडिएकी
लज्जित र अवाक् भेरी
एकछिन रोकिएकी थिइन् टक्क
दलित मायालुका शवमाथि रुँदारुँदा
यो देशका नदीहरूसँग अब बाँकी छैन आँसु
तिमी व्यस्त रह्यौ
संगमर्मरका दरबारका प्रेमगाथा गाउन
भुइँमा पोखिएर हाँसीखुसी माटोमा मिलिजाने
पिरतीको गीत
तिम्रो दिमागमा आएन झिलिक्क कहिल्यै
हजारौँ वर्षदेखि तिमी त
झुटो
नक्कली
र, जालसाज प्रेमगीत लेखिरहेका रहेछौ
कविजी !
अब अन्त्यमा
एउटा अश्लील गाली दिन्छु तिमीलाई ।