• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रवि नेपाली
२०७७ असार २० शनिबार ०८:५८:००
रिपाेर्ट

मार्सी धान उत्पत्तिको कथा

२०७७ असार २० शनिबार ०८:५८:००
रवि नेपाली

‘चैता बाह्र गते घर नआयाको जुम्ली मर्‍यो भुनि जान्नु ।’ हाम्रो भेगतिरको प्रचलित यो भनाइले जुम्ली जनजीवनमा कृषिकर्मको विशेष अर्थ प्रस्ट्याउँछ । संसारकै सबैभन्दा अग्लो स्थान छुमचौरलगायत जिल्लाभरि धान फलाउनु भनेको संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्नुसमान लाग्छ, हामीलाई । यहाँ धान फलाउन पहाड र तराईका मान्छेले गर्नेभन्दा कैयौँ गुना बढी श्रम गर्नुपर्छ । त्यसैले जुम्ली पहाड, मधेस जहाँ भए पनि चैता बाह्र (चैत बाह्र) सम्झेर घर आइपुग्नु जरुरी हुन्छ । 

 

बर्खे बाली धान, सिमी भित्र्याइसकेर हिउँदे बाली जौ, गहुँ लगाइसक्यो भने फुर्सद हुन्छ । यसरी फुर्सदिला बनेका जुम्लीहरू हिउँदमा आयआर्जनका लागि व्यापार तथा ज्याला मजदुरी गर्न देशका विभिन्न स्थान र भारतमा समेत जान्छन् । हिउँदभरि कमाइ गरी बर्खे बाली लगाउन घर आउनुपर्छ । यहाँको भरपर्दाे बर्खे बालीमा धान मुख्य हो । हिउँदमा साम्राज्य जमाएको हिउँले हिउँदे बालीलाई टाउको उठाउन दिँदैन, हिउँद गएपछि मात्र ती बाली बौरिन्छन् । त्यसरी उठेका बाली जसोतसो पाक्छन् ।

 

हिजो राजा, राणाहरूलाई भात खुवाउन जुम्लाले करस्वरूप मार्सी चामल दरबारमा पठाउँथ्यो । जंगबहादुर राणादेखि मोहन शमशेरसम्मको जिउनारका लागि हुलाकमार्फत मार्सी चामल दरबारमा पठाइन्थ्यो । जुम्लाबाट मार्सी धान लिनकै लागि हुलाकको स्थापना गरिएको थियो ।

जुम्लाको धानखेतीको आफ्नै क्यालेन्डर छ । त्यसकारण चैत १२ गते धान बत्ताएर घरनजिकको खोला, पानीको खाडल वा घरकै ठूलो भाँडोमा भिजाउने गरिन्छ । पूरै चार दिनसम्म भिजेको धान चैत १६ गते उतारेर बिहानको घाममा हल्का सुकाइन्छ । त्यसरी सुक्नै आँटेको धान भान्सामा न्यानो गरी भोजपत्र र राडीपाखीले छोपेर राखिन्छ । हरेक बिहान-साँझ चिसो मूलको पानी छर्केर बिउ उम्रनलाई अनुकूल बनाइन्छ । यो चक्र चार दिनसम्म चलाउँदा बिउ अंकुराउँछ र २० गते बेर्नामा लगेर छरिन्छ ।

 

उल्लेखित चैत १२, १६ र २० गते क्रमशः बारुवा, सोरुवा र बिउसा नामले पुकारिने जुम्लीहरूका ठूला पर्व हुन् । सोरुवाको दिनमा धानको चिउरा कुट्ने र ती चिउरा जेठको रोपाइँसम्म खाने गरिन्छ । बिउ बेर्नामा लगेको खुसियालीमा महिलाहरू नजिकैको चौर वा रोपाइँ हुने खेतनजिक जम्मा भई देउडा गाउने, साँझ मिठो–मसिनो गरी छोरीचेलीसमेत बोलाएर खुवाउने गर्छन् । भेटघाटको यस्तो अवसर जुराइदिने भएकाले पनि धानखेती महत्वपूर्ण मानिन्छ । 

 

क्यालेन्डरको समग्र प्रक्रियामा महिला, पुरुष दुवैको प्रत्यक्ष सहभागिता रहन्छ । तर, बिउ राख्ने बेर्ना बनाउन जोत्ने, हिलो बनाउनेलगायत काम पुरुषले नै गर्ने हुनाले पुरुषको सहभागिता अनिवार्य बनेको छ । त्यसैले पनि हिउँदमा कमाउन गएको जुम्ली-पुरुष मार्सी धानको चक्र पूरा गर्न चैत १२ गते जताकताबाट आइपुग्नुपर्ने हुन्छ । कथंकदाचित आइपुगेन भने मधेस हुँदै हिमाल चढ्ने जुम्ली मधेसमा औलो लागेर उतै म¥यो होला भनी अनुमान लगाइन्छ ।

 

सञ्चारको गतिलो साधन नभएको समयमा बालीनाली लगाउन घर नआएको जुम्ली मर्‍यो होला भनी काजकिरियासमेत गर्ने हुनाले नै माथिको भनाइ जुम्लीको जनजिब्रोले आज पनि भजाइरहन्छन् । पहिलेदेखि नै जुम्लीहरू व्यापार तथा कामको सिलसिलामा भोट-मधेस गरिरहन्थे । त्यसैले जुम्लीहरू आज पनि घुम्ती व्यापारमा माहिर मानिन्छन् ।

 

०००

 

चैत २० गते बेर्नामा राखेको बिउको वैशाख १ गते पूजा गरिन्छ, जसलाई जुम्लीहरू तागा लाउने भन्छन् । वैशाखभरिमा हुर्केको बिउ जेठको पहिलो हप्ता रोप्ने भइसक्छ । जुम्ली रोपाइँको संस्कृति पनि आफ्नै खालको छ । बिउ सबैले एकै दिन उमारे पनि रोपाइँ भने सबैले एकै दिन गर्दैनन् । आलोपालो गर्ने परम्परा छ । 

 

धान रोप्ने जमिन दुई भागमा विभाजन गरिएको हुन्छ । धान मात्र रोप्न मिल्ने खेतलाई च्युटे खेत भनिन्छ भने धान र जौ गरी दुई बाली फल्ने खेतलाई ज्वाडे । यी खेतलाई रोपनी वा मुरीभन्दा पनि ‘भारी’ एकाइमा नापिन्छ । भारी भन्नाले एकजनाले अधिकतम बोक्न सक्ने धान उत्पादन हुने खेत हो ।

 

 

एकजनाको न्यूनतम एकदेखि १५-२० भारी खेत हुन्छन् । त्यसैले उसको कम्तीमा १ देखि ४ वटासम्म रोपाइँ हुन्छ । यी प्रत्येक रोपाइँहरूको मिति पनि पूर्वनिर्धारित हुन्छन् । एक रोपाइँका लागि कम्तीमा पनि १० देखि १५ जनासम्म रोप्नेरी (धान रोप्ने महिला) को आवश्यकता पर्छ । सबैको घरमा १० देखि १५ जना महिला हुँदैनन् । यसका लागि परिम अर्थात् आलोपालो लगाउने गरिन्छ । जुम्लामा प्रचलित श्रम सहकार्यको यो नमुना निरन्तर चलिरहेको छ ।

 

महिलाहरू जेठभरि रोपाइँमा व्यस्त रहन्छन्-कहिले आफ्नो त कहिले छरछिमेककोमा । जेठमा महिलाहरूले बेस्मारी दुःख पाउने भए पनि सामूहिक रूपमा गरिने काम भएकाले यसले उनीहरूको दुःख भुलाउँछ । यी सुखदुःखका पनि आफ्नै गीत र लय छन् । 

 

ऋतुको रानाय, ऋतु, ऋतु आइर गयो, ऋतु रानाय 

इल्छा पाती पलैगयो (बोटबिरुवा पलाए), ऋतु रानाय

डिल लस्कै, घाडी छप्कै, मार्सी धानय, 

बोबैका जिउनारी लाग्यै, मार्सी धानय,

जियैका (आमा) औसर लाग्यै मार्सी धानय,

बाबैका जिउनारी लाग्यै...काका, काकी ...।

 

यी गीतका पंक्तिहरूले जुम्लामा मार्सी धान रोप्ने समयलाई रोपाइँ गर्ने ऋतु भन्ने बुझाउँछ । ६ वटा ऋतुभन्दा रोपाइँ गर्ने ऋतु फरक हो । यो संसारको सबैभन्दा अग्लो ठाउँमा धान फलाउन गरिने मिहिनेतको ऋतु हो । संसारले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्दासम्म पनि यत्तिको उचाइमा धान फलाउन सकेको छैन । तर, जुम्लीहरूले युगौँदेखि धान फलाउँदै आएका छन् । त्यसैले रोपाइँ गर्ने ऋतु विशिष्ट खालको ऋतु हो । 

 

खेतका आलीहरूमा स-साना झारपात पलाउँदा मार्सी धान रोप्ने ऋतुको सुरु भएको संकेत गरेको कुरा धानसम्बन्धी लोकसाहित्यबाट बुझ्न सकिन्छ । जसरी चैत १२ गते जुम्लीहरू रोपाइँ सम्झी घर फर्किन्छन्, त्यसरी नै खेतका आली र खोलाकिनारमा पलाएको पालुवाले जुम्ली मार्सी रोप्ने ऋतुको संकेत गर्छ । 

 

भूगोलका हिसाबले तराईको भन्दा फरक भएको हिमालमा पूर्व चुच्चो, पश्चिम चाक्लो वा त्यस्ता खालका खेत हुन्छन् । तीमध्ये ठूलोलाई पुल्ती डाब भनिन्छ । कुनै पनि खेतको बीच भागमा चार कुना मिलाएर फरक शैलीमा ठूला मुठा रोपेर आकर्षक देखिने गरी बिउको बेग्लै आकृति बनाइन्छ भने त्यसको बिचमा झन्डाजस्तो राखिन्छ । त्यसैलाई स्थानीय भाषामा पुल्ती भनिन्छ । यसबाट धेरै धान हुने खेतलाई सम्मान गरिएको बुढापाकाहरू सुनाउँछन् । 

 

असारदेखि वैशाखसम्म कसैको घरमा छोरो भए, छोराको बिहे भए, वा कसैको ८४ पूजा भए, सोही उपलक्ष्यमा पुल्ती डाबमा ‘चोपाइँ’ उत्सव मनाउने गरिन्छ । तर, यिनै कुरा छोरीको हकमा भने लागू हुँदैनन् । हली र रोप्नेरीलाई हिलोमा चोप्ने भएकाले यसलाई चोपाइँ भनिएको भाषा र संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य बताउँछन् । 

 

छोरीको बिहे र जन्ममा उत्सव नमनाइनुले जुम्ली मार्सी धान उत्पादन परम्परामा पनि पितृसत्ताको प्रभाव रहेको बुझ्न कुनै अप्ठेरो छैन । महिनाभरि रोप्ने, गोड्ने काममा महिलाहरूको बढी सहभागिता रहने भए पनि उनीहरूलाई नै बेवास्ता गर्ने गरिँदा मार्सी धानको गरिमा जति उँचो छ, उत्ति नै यससँग जोडिएको विभेदले परम्परालाई अमिलो बनाएको छ । 

 

०००

 

जुम्ली मार्सी धानको पहिचान जति नै फरकपन यसको उत्पत्तिको कथामा पनि छ । यसबारे हालसम्म एक मत पाइएको छैन । बुढापाकाहरूबाट फरक–फरक धारणा सुनिन्छन् । पहिलो, बाबा चन्दननाथको दीर्घकालीन तपस्याको परिणाम बिउ पत्ता लागेको र विस्तार भएको भन्ने सुनिन्छ । दीर्घ तपस्या भनेको अन्वेषण भनी बुझ्नुपर्छ । उनले बिउ पत्ता लगाएपछि धानको खेती प्रणालीबारे लछालकृति पैकेलोलाई प्रशिक्षण दिएका थिए । पैकेलो त्यस समयको बलशाली व्यक्ति रहेको बताइन्छ । दन्त्यकथाहरूमा पैकेलोको वीरगाथा गाइएका छन् । चन्दननाथ बाबाको प्रशिक्षणपश्चात् लछालकृति पैकेलोले मार्सी धान खेतीको पहिलो प्रयोग लाछु जिउलाको गुरुफोक्टोमा (जुम्लाको लाछु भन्ने ठाउँमा बनाइएको सबैभन्दा पहिलो खेत) गरेका थिए । 

 

दोस्रो, मार्सीको बिउ भारतको कुमाउँ आउजाउको क्रममा भित्रिएको भन्ने छ । सिञ्जा राज्यको सिमाना भारतको कुमाउसम्म विस्तार भएको हुनाले बिहेबारी, व्यापारलगायत सम्बन्ध रहेको हुँदा आउजाउ भइरहन्थ्यो । त्यसै क्रममा मार्सी भित्रिएको प्रचलित लोकगीतमा पाइन्छ । उक्त लोकगीत यस्तो छ :

 

कुमाउकी तुलछाया जुम्ला माइत आइछुन् । 

जाडो मास्र्या नासो ल्याइछुन् ।

धोदी हाली, पोको पाडी नासो ल्याइछुन् ।

 

तेस्रो, बाबा चन्दननाथले भारतको कस्मिरबाट बिउ ल्याएर जुम्लामा धानखेती गराएको भन्ने छ । यो सबैभन्दा बढी प्रचारित तथ्य भए पनि कस्मिरका कुनै पनि भागमा जुम्लामा हुने धान फल्ने गरेका तथ्य फेला परेका छैनन् । चौथो, मार्सी जंगली रैथाने जातको धान हो । बस्तीको विकाससँगै धानको घरेलुकरण भयो र यसको उत्पादनले व्यापकता पायो ।

 

माथिका चार कथनमध्ये चन्दननाथ बाबाले जुम्लामै तपस्या अर्थात् अनुसन्धान गरेर धानको बिउ उत्पादन गरेका केही प्रमाण भेटिन्छन् । संस्कृतमा भएका प्रमाण नेपाली अनुवाद गर्दा जुम्लामा रोपिने धानको चक्रसँग मिल्दोजुल्दो हुनाले मार्सी धान चन्दननाथ बाबाले जुम्लामै पत्ता लगाएको भन्ने कथ्य सत्यताको नजिक छ । मार्सी धानको उत्पत्ति कथाबारे संस्कृतमा लेखिएको लिखत हाल जुम्ला चन्दननाथ-५ का पूर्णसिंह कठायतसँग सुरक्षित छ ।

 

०००

 

अहिले असार १५ लाई धान दिवसको रूपमा मनाइन्छ । जेठमा रोपाइँ सकाइसकेका जुम्लीहरूका लागि असार १५ को धान दिवस पनि बासी नै लाग्छ । असारमा जुम्ली महिलाहरू धान गोडमेलमा लाग्छन् । धान रोपेको १ महिनापछि देशले धान दिवस मनाइरहँदा जुम्लीहरू अचम्म मान्छन् । हाम्रो लागि नमिलेको धान दिवसले जुम्लालगायत साबिकको कर्णालीलाई उपेक्षा गरेको भान हुन्छ । हुन त राज्यले कर्णालीलाई कहिले पो सम्मान गरेको थियो र ?

 

हिजो राजा, राणाहरूलाई भात खुवाउन जुम्लाले करस्वरूप मार्सी चामल दरबारमा पठाउँथ्यो । जंगबहादुर राणादेखि मोहन शमशेरसम्मको जिउनारका लागि हुलाकमार्फत मार्सी चामल दरबारमा पठाइन्थ्यो । जुम्लाबाट मार्सी धान लिनकै लागि हुलाकको स्थापना गरिएको थियो । 

 

संसारको अग्लो स्थानमा धान फल्ने ठाउँ जुम्ला भनेर हामी सामान्य ज्ञानमा पढ्छौँ । तर, जुम्लामा धान फल्छ भनेर धेरैले पत्याउँदैनन् । धान उत्पादनको फरक संस्कृति प्रवद्र्धनमा न राज्य अग्रसर छ, न त स्थानीय तह र अन्य सम्बन्धित निकाय नै । 

 

राणादेखि ओली र दाहालसम्मलाई रिझाउने मार्सीको संरक्षण र प्रवद्र्धनमा हामी लागेका छैनौँ । नयाँ पुस्ता कृषिकर्ममा रमाउन सकिरहेको छैन । कृषि पेसामार्फत उत्पादनमा लागेकाले उचित मूल्य भएको राम्रो बजार पाउन सकेका छैनन् । सरकार नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्न सक्दैन । आफ्नो उत्पादनमा बिचौलियाको रजाइँ चलिरहेको देखेर किसान दिग्दार छन् ।

 

जुम्ली मार्सी राष्ट्रिय अर्गानिक खाद्य बजारको चर्चित ब्रान्ड हो । यसको उत्पादन र बजारीकरणका लागि राज्यस्तरबाटै युवाहरूलाई उत्प्रेरित गर्न सकिएको खण्डमा बादलमा थोरै चाँदीको घेरा त देखिएला । तर, समुद्र सतहदेखि झन्डै तीन हजार ५० मिटर उचाइको संसारकै अग्लो ठाउँमा धान उमार्नु चानचुने चुनौती छैन । अहिले यहाँको गर्विलो साख गुम्ने खतरा बढेको छ । साथै कृषिमा आकर्षित हुन नसकेको नयाँ पुस्ताका कारण रैथाने मार्सीसमेत लोप हुने स्थिति नआउला भन्न सकिँदैन । संसारको अग्लो ठाउँमा फल्ने धानको प्रतिलिपि अधिकार (प्याटन राइट्स) लिनसमेत चुकिरहेको छ, राज्य ।