• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सञ्जिला तामाङ
२०७७ असार २० शनिबार ०८:३३:००
समाज

(अ)सामाजिक सञ्जालको लतमा युवा पुस्ता

२०७७ असार २० शनिबार ०८:३३:००
सञ्जिला तामाङ


नेपालमा इन्टरनेट भनेको नै फेसबुक चलाउन हो भन्ने धारणा व्याप्त छ । आयआर्जन राम्रो भएको परिवारले पनि इन्टरनेटलाई शैक्षिक, व्यापारिक र रोजगारीका लागि नभएर फेसबुक र मनोरञ्जनकै लागि बढी प्रयोग गरिरहेको केही अध्ययनहरूले देखाएको छ । यसको पछाडि नेपालको इन्टरनेटको गुणस्तर, सूचना प्रविधिसम्बन्धी नीति निर्देशिका, प्रयोगकर्ताको सामाजिक सन्दर्भ र इन्टरनेटबारे आमधारणा कारण हुन सक्छन् । 


सामाजिक सञ्जालले मानव जीवनलाई जति सहजता र सुविधा दिएको छ त्यति नै चुनौती र जटिलता पनि थपिदिएको छ । ‘भर्चुअल संसारले ‘वास्तविक सम्बन्धलाई भत्काउँदै छ । सामाजिक सञ्जालको अनावश्यक प्रयोगले परिवारका सदस्यबीच दूरी बढाउन ठूलो भूमिका खेलेको छ । हिजोआज हामी ‘बढी भर्चुअल, कम रियल’ हुँदै गएका छौँ । आफ्नो घरभित्र के हुँदै छ भन्ने थाहा हुँदैन, तर बाहिरी संसारमा के हुँदै छ भन्नेबारेमा जानकार हुन्छौँ ।

 

घरपरिवारबीचको सम्बन्ध पनि खुकुलो हुँदै गएको छ । समाज बढी व्यक्तिकृत र कम एकीकृत हुँदै छन् । परिवारका सदस्यबीच रमाउनुको साटो सामाजिक सञ्जाल ‘फेसबुक, इन्स्टाग्राम, भाइबर, मेसेन्जर, युट्युब, इमो आदिमा रमाउँछौँ । परिवारका सबै सदस्यसँगै बस्दा टिभी हेर्दा पनि ध्यान हातको मोबाइलमा हुन्छ । कसैलाई कसैसँग बोल्ने फुर्सदसमेत हुँदैन । भावनात्मक दूरी बढ्दो छ । विश्वसँग सम्बन्ध जोड्यौँ, तर आफ्नैलाई बिर्सियौँ ।

 

समाजका प्रायः सबै मानिस सामाजिक सञ्जालको लती भएका छन् । विशेष युवा पुस्ता यो लतबाट ग्रसित छ । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ । वास्तविक सम्बन्धहरू भत्काउँदै छ । सीमित दायराभित्र मानिसलाई खुम्च्याउँदै लगेको छ ।

साथी वा आफन्तकोमा जाँदा सबैभन्दा पहिले सन्चोबिसन्चो होइन, वाइफाईको पासवर्ड सोधिन्छ । कतै घुम्न जाँदा होस् वा फर्केर आउँदा होस् फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरिन्छ । खानेकुराको फोटोदेखि सेल्फीसम्म, शुभकामनादेखि श्रद्धाञ्जलीसम्म सामाजिक सञ्जालमा पोस्ट गछौँ । हामी लाइक, कमेन्ट, सेयरहरू गनेर बस्छौँ । यतिसम्म कि हामी आफू को हौँ भन्ने बिर्सन्छौँ र आफूलाई अरूको नजरबाट हेर्न र बुझ्न खोज्छौँ । 


समाजका प्रायः सबै मानिस सामाजिक सञ्जालको लती भएका छन् । विशेष युवापुस्ता यो लतबाट ग्रसित छ । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ । वास्तविक सम्बन्धहरू भत्काउँदै छ, सीमित दायराभित्र खुम्चाउँदै लगेको छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जाल पारिवारिक दरारको प्रमुख कारण पनि बनेको छ । गेममा रमाउने बालबालिका, किशोरकिशोरी र युवापुस्ताको संख्या ह्वातै बढेको छ । गेममा मस्त उनीहरू सामाजिक परिघटनाबाट बेखबर छन् । समाजमा के भइरहेको छ उनीहरूलाई मतलब छैन । समाजबाट कटेको यो पुस्ता असामाजिक बन्दै छ । जसले हाम्रो सामाजिकीकरणको प्रक्रियालाई नै चुनौती दिएको छ । हाम्रो जीवनशैली, व्यवहार, सोच्ने तरिका र अन्तक्र्रियाको प्रणालीलाई नै चुनौती दिइरहेको छ । 


सामाजिक सञ्जालले सामाजिक मुद्दाहरूलाई पनि प्रभाव पार्छ । सामाजिक सञ्जाल एक्टिभिजम गर्ने थलो पनि बनिरहेको छ, जुन नराम्रो होइन । तर, हामी एक्टिभिजमको नाममा लाइक, कमेन्ट र सेयरको बटम थिच्नमा केन्द्रित छौँ । हाम्रा अभियान एक लाइक ठोकेपछि पूरा भयो भन्ठान्छौँ । पीडितलाई सहयोग गरेजस्तो गर्छौँ अनि फेसबुकमा प्रचार गर्न थाल्छौँ । मानवीय संवेदना र गोपनियताको ख्यालै नगरी अर्काको पीडालाई दुनियाँभर फिँजाउने प्रवृत्ति बढेको छ । कुनै दुर्घटना भएको ठाउँमा सहयोग गर्ने हातभन्दा सेल्फी खिच्ने हात धेरै देखिन्छन् । 


यो विश्वव्यापी समस्या हो । विकसित मुलुकहरू सामाजिक सञ्जालको सम्भावित असरहरूबारे सचेत भइसकेका छन्, तर विकासोन्मुख मुलुकहरूमा यसको संक्रमण बढ्दै गएको छ । प्रविधि आफैँमा समस्या होइन, समस्या हामी आफैँ हौँ । हामी बिस्तारै यसको लतबाट लट्ठिँदै छौँ । प्रविधिको सही सदुपयोगभन्दा दुरुपयोग बढी गरिरहेका छौँ । सामाजिक सञ्जालभित्रका गसिप र ट्रेन्डिङको पछिपछि कुद्दाकुद्दै आफूभित्रकोे सिर्जनशीलताको चाहिँ आफँैले हत्या गरिरहेका छौँ । 


कोरोनाअघि सामाजिक सञ्जालको जसरी प्रयोग हुँदै आए पनि कोरोनामा भने यसको ट्रेन्डमा केही परिवर्तन आएको छ । विशेष गरी भर्चुअल मिटिङ, संवाद, अन्तक्र्रिया, कक्षा, आन्दोलन गर्ने बढिरहेको छ । यसले इन्टरनेट र सामाजिक सञ्जालको उचित प्रयोग र महत्व ह्वात्तै बढाइदिएको छ । अहिले धेरैको रोजगारी गुमेको छ, घरभित्रै सीमित हुनुपरेको छ, फुर्सद बढेको छ, जसको परिणाम ‘डिजिटल एडिक्सन हुने खतरा झन् बढेको छ । त्यसैले इन्टरनेटको सही सदुपयोग गरौँ । युवापुस्ता समाज बुझ्न सामाजिक सञ्जालमा होइन, समाजमै जाउँ ।