• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनोज पण्डित
२०७७ असार २७ शनिबार ०४:१५:००
समाज

आत्महत्या या आत्ममृत्यु ?

आत्महत्याको जिम्मेवारी उक्त व्यक्तिले होइन, राज्य र समाजले लिनुपर्छ

२०७७ असार २७ शनिबार ०४:१५:००
मनोज पण्डित

 

आत्महत्या गर्नु पाप हो भन्ने मनोविज्ञानमा हुर्केको समाजमा मानिसको आत्महत्या गर्ने क्रम बढ्दो छ । के मानिस पापी हुने क्रम बढ्दै हो वा आत्महत्या गर्नु कुनै पाप होइन ? पहिलो प्रश्नमा सबैको सहमत होला, किनकि यो जीवन एउटा उपलब्धि हो र यसलाई समाप्त गर्ने अधिकार कसैसँग छैन । खुद मानिस आफैँलाई पनि छैन भन्ने अवधारणामै हामी शिक्षित भएर हुर्केका हौँ । तर, दोस्रो प्रश्नमा हाम्रो समाज प्रवेश गर्न चाहँदैन । किनकि दोस्रो प्रश्नले आत्महत्यालाई समर्थन गरेको दृष्टिबाट ऊ हेर्दछ । 

 

‘के आत्महत्या गर्नु गलत हो ?’ भनेर प्रश्न सोध्नु भनेको आत्महत्या गर्नु गलत होइन भन्ने अवधारणालाई आत्मसात् गर्नु हो भन्ने हाम्रो समाज ठान्दछ । यसरी सोच्नु भनेको आत्महत्यालाई प्रोत्साहन गर्नु हो भन्ने समाज मान्दछ । र, त्यतातर्फको विषयमा ऊ विष्लेषण नै गर्न चाहँदैन । यसकारण उसको छलफलको परिधि आत्महत्या गर्नु पाप हो भन्ने परिधिमा सीमित छ । त्यसैले समाज आत्महत्या किन बढ्दै छ भन्ने चिन्ता बोकेर छलफलमा जुट्छ र आत्महत्याको कारण गरिबी, बेरोजगारी, विछोडजस्ता कारण हुने तनाव हुन् भन्ने निष्कर्ष निकाल्छ । त्यस्ता तनावका कारण मानिसले आत्महत्या गर्ने हो भने विश्वमा जनसंख्याका आधा मानिसले आत्महत्या गरिसक्नुपर्ने हो ।

 

अभाव, दुःख र एक्लोपनका कारण आत्महत्या गर्ने हो भने त्यस्तो तथ्यांकमा धनी, बौद्धिक, सम्पन्न र चर्चित मानिस तथा विकसित देशका मानिस ज्यादा किन हुन्थे र ? उनीहरू आफ्नो आवश्यकता पूरा गर्न जे पनि गर्न सक्ने अवस्थामा हुन्छन् । जब कि गरिबीमा बाँचिरहेका मान्छेसँग सधैँ अभाव हँुदाहँुदै पनि सम्पन्नहरूजस्तो आत्महत्यामा उत्प्रेरित भइहाल्दैनन् । 

 

त्यसैले आत्महत्याको विषयमा हाम्रो समाजले बनाएको अवधारणाभित्रबाट मात्र अब बुझ्न खोजेर पुग्दैन । माथि प्रस्तुत दोस्रो प्रश्नमा प्रवेश नगरीकन अब हामीसँग आत्महत्याको स्रोतसम्म पुग्ने मार्ग उपलब्ध हुनेछैन । आत्महत्यालाई केवल गलत हो भनेर पन्छाएर मात्रै पुग्दैन । सिर्जनात्मक बहसमा हाम्रो समाज प्रवेश गर्नैपर्छ । जुन तत्काल पचाउन गाह्रो भए पनि समस्या समाधानतर्फ उन्मुख पक्कै गराउनेछ ।

 

००००

 

कुनै एक क्षणको मृत्यु अकाट्य सत्य हो । कुरो यति मात्रै हो कि त्यो क्षण उसले आफैँले छनोट ग¥यो । समाज के भन्छ भने उसको मृत्यु समयभन्दा अगाडि नै भयो । मानौँ मानिसको मृत्युको समय र प्रक्रिया पहिल्यै नै निर्धारित छ । के सबैको मृत्यु एकै तरिकाले हुनुपर्छ भन्ने रहन्छ र ? के जीवनको अवधि निर्धारण गरिएको छ ? जन्मनुअघि उसको जीवन कुण्डली कसैले लेखिदिएको र त्यसमा मृत्युको दिन पनि तोकिदिएको अनि मानिसले त्यो लेखिदिएको पटकथालाई च्यातिदिएर आफूअनुकूलको अन्त्य गरेर कुण्डली लेखिदिनेलाई अपमान गरेजस्तो गरेर आत्महत्या गर्नेलाई हेयको दृष्टिले समाज हेर्छ । मृत्यु अनिश्चित छ । जुनसुकै रूपमा पनि हुन सक्छ । उसको मृत्यु आत्महत्याका रूपमा भयो । जसको कारण उसको अस्तित्वलाई दुत्काउनु पर्ने आवश्यकता नै छैन । अरू जीवनका लागि डराउँछन् । ऊ मृत्युसँग डराएन । र, मृत्युलाई आत्मसात् ग-यो । वास्तवमा भन्ने हो भने उक्त घटनालाई हत्या शब्दावलीसँग जोड्नुपर्ने आवश्यकता नै छैन ।

 

खाना नखानुको दुई रूप हुन्छ । पहिलो भोकै रहनु र दोस्रो व्रत लिनु । खाना उपलब्ध नभएर खाना नखानुचाहिँ भोकको हिंसा भयो । तर, खाना उपलब्ध हुँदाहँुदै खाना नखाएर बस्नु व्रतको धर्म भयो । ऊसँग जीवन जिउने विकल्प हुँदाहुँदै पनि मर्ने निर्णय लियो । त्यसैले यो आत्ममृत्यु हो । हत्या त दोस्रो पक्षकोे गरिन्छ । र, यहाँ ऊबाट दोस्रो पक्षको हत्या भएको होइन । त्यसैले यस घटनालाई आत्महत्याको आरोप लगाएर अपराधको परिधिभित्र सीमित गराइदिनु मानव मनोविज्ञान र चरित्रलाई पूर्ण बेवास्था गर्नु मात्रै हो ।

 

यो अपराध होइन । समस्या हो, मानवीय समस्या । तसर्थ यसलाई अपराध समाधान गर्न अपनाउने मार्गबाट समाधान गर्न सकिँदैन । यो यसकारण मानवीय समस्या हो, किनकि यो उसको छनोट प्रक्रियासँग आबद्ध छ । उसले आफ्नो परिस्थितिबीच आफ्ना लागि के गर्दा ठीक हुन्छ भनेर लिएको निर्णय हो । र, हरेकलाई आफ्नोबारेमा निर्णय लिने अधिकार छ । जसले उसलाई उसको हितमा निर्णय लिनबाट बन्देज नलगाओस् ।

 

मानवअधिकार, प्रजातन्त्रजस्ता अवधारणाहरू मानिसको यही निर्णय प्रक्रियासँग सम्बन्धित छ, जहाँ ऊसँग हरेक सम्भावनाको अवसर उपलब्ध होस् । यसर्थ उसले यो संसारबाट आफ्नो जीवनलाई बिदा दिने निर्णय गर्न ऊ पूर्णत जायज छ । तर, मूल समस्या ऊ त्यस्तो निर्णय लिन किन अग्रसर हुन्छ ? जब उसलाई आफ्नो निर्णयको परिणाम के हुन्छ भन्ने थाहा हुँदाहुँदै ऊ त्यस्तो निर्णय लिन नै किन बाध्य हुन्छ ? जीवन त्यस दौरान उसका लागि भारी भएको हो ? भारी भएको हो भने उसले त्यसलाई विश्राम दिनुमा कहाँ अपराध भयो त ? समस्या त जीवन पनि त्यस्तो बोक्नै नसक्ने भारी हुनुुमा हो ।

 

के हाम्रो समाजले कहिल्यै सोचेको छ कि कसैकसैका लागि जीवन पनि त्यस्तो कठोर बोझ पनि हुन सक्छ भनेर ? यदि त्यो पीडातर्फ सोच्दैन भने समाजलाई के अधिकार छ कि उसलाई हत्यारा भन्ने ? अनि अर्कोतर्फ व्यक्तिलाई समाजले निर्माण गर्छ, सामूहिकता, इतिहास र शक्तिले निर्माण गर्न भने उसले लिएको यो कठिन निर्णय पनि यी तिनै पक्षले निर्माण गरेको हो । तसर्थ हत्याको जिम्मेवारी उक्त व्यक्तिले होइन, राज्य र समाजले लिनुपर्छ । मानिसले आत्महत्या ग¥यो भन्ने समाचारको सट्टा राज्य र समाजले एउटा मानिसको हत्या ग-यो भनेर लेखिनुपर्छ । यो तिनीहरूको असफलता हो । त्यसैले आफ्नो अपराध लुकाउन राज्य उक्त व्यक्तिलाई नै अपराधी घोषणा गरेर हत्याको ट्याग भिराउँछ ।

 

समग्रमा राज्य मानिसलाई न आफूखुसी बाँच्न दिन्छ न आफूखुसी मर्न दिन्छ । मार्न जायज ठान्ने राज्यसत्ता मानिसले आफूखुसी मर्न हुन्न भन्ने नीति बनाउँछ । तर, उसका लागि जो पनि मर्न तयार भयो भने त्यसलाई ऊ सहिद र महान बनाउँछ । सत्ताले मानिसको मृत्युसँग आफ्नो स्वार्थअनुसार खेल खेलिरहेको हुन्छ । यदि मानिसँग आफ्नो मृत्यु छनोटको हकसम्मको अधिकार प्रत्याभूत भयो भने मानिस राज्यसत्तालाई विलिन गराउन सक्छ । त्यसैले ऊ त्यसलाई अराजकताको नाम दिएर मानिसलाई आफ्नो नियन्त्रणभित्र उकुसमुकुस बनाएर राख्न सफल भइरहेछ, र उसैको दृष्टिकोणबाट मात्रै यस विषयलाई समाजभित्र छलफलमा ल्याउन सफल भइरहेछ ।

 

अभाव, दुःख र एक्लोपनका कारण आत्महत्या गर्ने हो भने त्यस्तो तथ्यांकमा धनी, बौद्धिक, सम्पन्न र चर्चित मानिस तथा विकसित देशका मानिस ज्यादा किन हुन्थे र ?

 

राज्यसत्ताको आँखाबाट होइन, मानिसकै आँखाबाट यस विषयलाई हेरौँ । मानिसले आत्ममृत्युको निर्णय कतिखेर गर्छ ? जब उसलाई आफ्नो जीवनको कुनै अर्थ छैन जस्तो लाग्छ, वा आफ्नो जीवनमा उसले कुनै अर्थ भेट्टाउँदैन तब ऊ त्यस्तो निर्णय लिन पुग्छ । यो घटना मानव सभ्यताका लागि सबैभन्दा गम्भीर र जटिल दार्शनिक समस्या हो । जब भुइँमा लडिरहेको ढुंगामा हामी देवताको अर्थ देख्छौँ तब त्यस ढुंगालाई पुज्छौँ र होइन भने त्यसलाई हामी पन्छाउँछौँ । त्यो ढुंगामा हामीले देवताको अर्थ देख्नका लागि देवताको अर्थ दिएका हुन्छौँ । अर्थ पूर्णतः मानवीय उत्पादन हो । र, जेलाई पनि हामी अर्थ दिन र हटाउन सक्छौँ । हामीले हाम्रो जीवनलाई पनि त्यही गरेका हौँ । जीवनमा हामी अर्थ भेट्टाउँछौँ र त्यही अर्थको सहारामा जीवन बाँच्ने अवधारणा बनाउँछौँ ।

 

मानिसको विवेक, चिन्तन र चेतना प्रणालीको आधारभूत प्रक्रिया हो अर्थ । जसले मानिसका हरेक छनोट र निर्णयको प्रमुख स्रोतको भूमिका खेल्दछ कहिलेकाहीँ कोही कसैले आफ्नो जीवनमा अर्थ भेट्टाउँदैन वा जीवनलाई अर्थ दिन सक्दैन, तब उसका लागि जीवन उही ढुंगाजस्तै हुन्छ अनि ऊ त्यसलाई हटाउने निर्णय गर्दछ । हामीसँग जीवनका अर्थहरू छन्, त्यसकारण रमाइरहेका छौँ । दुःखी भइरहेछौँ, संघर्ष गरिरहेछौँ । तर, कहिलेकाहीँ एक्कासि आफूले दिएको अर्थहरूमा अर्थ देखिँदैन अनि तत्काल त्यसको विकल्पमा नयाँ अर्थहरू पनि दिन सकिँदैन । तब हामीभित्र पनि आत्ममृत्युको निर्णय लिने सम्भावना जागेर आउँछ । तर, फेरि कुनै अर्थ हात परिहाल्छ र त्यसले जीवन मायामा बाँधिहाल्छ । अर्थको धागो टुटिरह्यो भने न मृत्युको डर हुन्छ, न जीवनको मोह । अनि शून्यतातर्फको यात्रा प्रारम्भ हुन्छ । 

 

मानिस सधैँ बाँच्नका लागि संघर्ष गरिरहन्छ भन्ने सिद्धान्त र दर्शनहरूलाई यही आत्ममृत्युको विषयले चुनौती दिएको छ । मानिस बाँच्न मात्रै होइन, मर्न पनि चाहन्छ भन्ने यथार्थलाई मर्न डराउने समाजको आँखाले कसरी बुझ्न सक्छ ? त्यसकारण यस विषयलाई समाधान गर्न समाजले दार्शनिकहरूलाई जिम्मा दिए हुन्छ । दार्शनिकहरूले समाधानको मार्ग पत्ता लगाएका छन् र भनेका छन्, मानिसको जीवनको कुनै अर्थ छैन । अर्थात् जे–जति अर्थहरूलाई हामी जीवन भनिरहेका छौँ ती सबै हामीले नै दिएका अर्थ हुन् र जीवनलाई त्यही अर्थविहीनतामा नै स्वीकार गरौँ ।

 

जीवनको पूर्वनिर्धारित अर्थ नभएको अवस्थामा मानिस आफैँले दिने अर्थहरूको दायित्व र जिम्मेवारी आफैँले लिन पाउँछ । यसले मानिसलाई स्वतन्त्र बनाउँछ । यस अवस्थामा मात्रै अर्थहरू एक्कासि गायब हुँदा पनि उसले अर्थहरूका बारेमा तनाव लिँदैन । जीवन अर्थहरूमा मात्रै सीमित छैन भन्ने अवधारणा आत्मसात् गरेको छ भने अर्थविहीनतामा ऊ आत्ममृत्युको मार्ग अपनाउँदैन । बरु जीवनलाई पूर्ण रूपले अनुभूति गर्न सक्दछ । अर्थहरूमा बाँटिएको जीवन अर्थहरूबाट मुक्त अवस्थामा जीवनको स्रोत आत्मसात् गर्न सक्दछ । तब ऊ बुद्धत्व अनुभूति गर्न सक्दछ । 

 

अधिकांशले जीवनलाई अर्थको परिधिभित्र मात्र अस्तित्व हुन्छ भन्ने ठान्दछन् । र अर्थको अभावमा आत्ममृत्युको मार्ग अपनाउँछन् । अर्थहरूको मृत्युको क्षण हो आत्ममृत्यु । केही आत्ममृत्युको छनोट गर्दछन्, केहीले आत्मज्ञानको । पहिलोमा शरीरको पनि अन्त्य हुन्छ । दोस्रोमा अवधारणाहरूको र बन्धनको अन्त्य । त्यसैले मानिसको निर्णयको स्रोतमाथि हाम्रो समाजले विशेष ध्यान पु¥याउन आवश्यक छ, जहाँ हामी हरक्षण जीवन र मृत्युको सूक्ष्म निर्णयहरू लिइरहेका हुन्छौँ । 

 

अर्थको यो संवेदनशीलतालाई बुझ्न दोस्रो विश्वयुद्धताका हिटलरले जिउजहरूलाई वंशविनाश गर्न बनाएका यातना शिविरबाट बाँचेर आएका भिक्टर फ्र्याङ्क अनुभव पढ्नुपर्दछ । आफ्नो आत्मकथा ‘म्यान सर्च फर मिनिङ’मा उनी लेख्छन्, ‘म त्यस्तो मानसिक तनावबीचबाट पनि बाँचे । किनकि मसँग बाँच्नुको अर्थ थियो । मलाई अर्थले बचायो । मैले बुझेँ जीवनलाई अर्थले नै निर्देशित गर्दो रहेछ ।’ 

 

उनको अनुभवबाट बुझ्न सकिन्छ, मानिस आफ्नो जीवनको अर्थ खोजिरहेको हुँदो रहेछ । जीवनलाई कसरी अर्थ दिने भन्ने प्रश्नमा संघर्ष गरिरहेको हँुदो रहेछ । तनाव, भय, पीडा, अभाव, एक्लोपन र निराशाको त्योभन्दा क्रूर अवस्था मानवीय जीवनमा के हुन सक्थ्यो र । तैपनि मान्छे बाँच्न खोजिरहे, आफ्नो जीवनलाई आफैँ समाप्त गर्ने निर्णय कहिल्यै लिएनन् । यसर्थ अर्थले नै जीवन पनि दिन्छ मृत्यु पनि । जिउनु पनि एउटा निर्णय नै हो र मृत्यु पनि । मूल कुरा अर्थ को हो । त्यसैले आत्महत्याको आरोप लगाइरहनुको सट्टा अब हाम्रा अर्थ निर्माण गर्ने प्रक्रिया र अर्थहरूका प्रकृति तथा त्यसका आधारमा निर्णय लिन प्रक्रियामाथि संवाद गरौँ । 

 

कतै हामी हाम्रो जीवनको अर्थ बजारले उत्पादन गरेको भौतिक र अभौतिक उपभोग्यतासँग जोडेर त बनाइरहेका छैनौँ ? जसले गर्दा ती तत्वहरूको उपलब्धिका आधारले प्रमुख निर्णयहरू लिन बाध्य त भइरहेका छैनौँ ? के मानव समाज हामीमा आफ्नो अर्थ र निर्णयहरू द्रष्टा बनेर त्योबाट मुक्त र मालिक बन्ने सामथ्र्यताको विकास गराउन क्रियाशील हुनुपर्ने समय भएको होइन र ? जीवनलाई अर्थहरूको बोझ बोकाएर अन्त्यहीन युद्धको मैदानमा धकेलिदिने पुरातन चिन्तन प्रणालीमाथि प्रश्न उठाएर बहस नगर्ने ? 

 

एउटा मानिसको निर्माणमा थुप्रै मानिसका जीवन भावना, सोच, संघर्ष, अपेक्षा, आवश्यकता र अवधारणाहरूको लगानी भएको हुन्छ । तसर्थ मृत्यु आखिर जसको भए पनि पीडादायक नै हुन्छ । पीडाबाट मुक्त हुनु नै मानवको मूल उद्देश्य हो । तसर्थ आत्ममृत्युको पीडालाई समाधान खोज्नु नै ज्ञानको मूल कर्म हो । 

 

समस्या विकल्पविहीनताको अवस्था हो । समाधान जहिल्यै पनि विकल्पहरूमा हुन्छ । विकल्पहरू असीमित भेटिन्छन् यदि विकल्पको खोजी गरेमा । अब त्यस्तो मानवको निर्माण गर्नुपर्छ जसले जहिले पनि सम्भावना र विकल्पहरू खोज्ने प्रयत्न गर्दछ । अब ऊ जीवनमा कुनै अर्थ नभेटाएर आत्ममृत्युको निर्णयको घडीमा पुग्छ, तब ऊ प्रकृतिले निर्माण गरेको प्राण र शरीरको समीक्षणयुक्त यो जीवनको विकासको विकल्पमा अर्को सम्भावना खोज्न सकोस् । अर्को सम्भावना जसले जीवनमा अर्को अवसरहरू उपलब्ध गराओस् । 

 

मृत्यु जीवनभन्दा सुन्दर र सहज हुने जानेर उसले आत्महत्याको मार्ग रोजेको होइन । जीवन अर्थविहीनतामा कुरूप र असहजता लादेकाले जीवनलाई त्याग्न चाहेको हो । त्यसैले जीवनका सबै सम्भावनाहरूका बारेमा हरेक मानिसलाई ज्ञात बनाउनु समाधानको पहिलो पाइला हो । अर्थहरूसहित र अर्थहरूविना जीवन के हो भन्ने विषयमा यो समाजले अब अध्ययन गर्न र गराउनतर्फ पाइला बढाउनैपर्छ । जीवन जिउनका लागि मृत्युको पनि ज्ञान हुन आवश्यक छ । जसले मृत्युलाई जान्दछ, उसले जीवनलाई पूर्ण रूपले जिउन सक्छ । त्यसले मृत्युलाई अब नलुकाउँ । नढाँटौँ । मृत्युका बारेमा सेक्सजस्तै ट्याबु नबनाऊँ । 

 

मृत्यु अत्यन्तै स्वाभाविक घटना हो । मृत्युलाई नबुझ्दा मानवीय समाज कुण्ठित, त्रसित र हिंस्रक भएको छ । तसर्थ, नयाँ पुस्तालाई कक्षाकोठामै यसबारे खुलेर पढाऔँ । बालबालिकाका अगाडि मृत्युको कुरा गर्नुहुन्न भन्ने आडम्बर र कुण्ठाको पर्दा हटाउँ । 

 

मृत्युजस्तो मानव जीवनको शाश्वत सत्यलाई नबुझ्ने र नबुझाउने हो भने, आत्ममृत्यु वा आत्महत्या निरन्तर चलिरहनेछ र यसको पीडाको बोझ मानव सभ्यताले बोकिनसक्नु हुन्छ । अब मानव समाज तयार हुनुपर्दछ, आत्ममृत्यु सिकाउनका लागि, तर शरीर र प्राणको होइन, अवधारणाहरूको, भ्रमहरूको, बन्धनहरूको । अब मानव समाज तयार हुनुपर्छ, हरेक मानिसले आत्ममृत्युको निर्णय गर्न सक्ने सम्भावनालाई स्वीकार गर्दै जीवन बोधको ज्ञान सबै मानिसलाई बाल्यकालदेखि नै उपलब्ध गराउन । अब समाज तयार हुनुपर्छ, त्यस्तो मानिस तयार पार्न जसले हरेक दबाब र असहजताहरूमा विकल्प र सम्भावनाहरू खोजेर अहिंसात्मक समाधान खोज्न सकोस् । अब समाज तयार हुनुपर्छ, त्यस्तो वार्तालाप गर्न, जहाँ एउटा मानिसले आफ्नो साथीलाई भन्न सकोस् ‘मलाई आत्महत्या-आत्ममृत्युको इच्छा जागेको छ । म के गरुँ ?’