• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा.तारालाल श्रेष्ठ
२०७७ असार २७ शनिबार ०४:००:००
रिपाेर्ट

खुसी छैन खोकना

२०७७ असार २७ शनिबार ०४:००:००
डा.तारालाल श्रेष्ठ

 

खोकना विद्रोहको लहरा

 

यस वर्ष पनि सुकिलामुकिलाले गमला रोपाइँ नाटक मञ्चन गरिरहँदा ललितपुरको प्राचीन बस्ती खोकनाका खेतमा कल्पनै नगरिएको दृश्य थपियो । रोपाइँभूमि ‘रणभूमि’मा परिणत भइदियो । खोकनावासी परम्परादेखि कमाइआएको आफ्नो खेतमा रोपाइँ गर्न चाहन्थे । प्रहरीको ठूलो हुलले कृषकलाई लखेट्न, दपेट्न खोज्यो । कृषक र कृषकका समर्थक एकढिक्का भएर उभिए । खेतमै झडप भयो । द्रुतमार्गको प्रस्थानबिन्दु जिरोप्वाइन्ट नाममा जबरजस्ती राज्यले पुख्र्यौली थातथलो कब्जा गरेको खोकनावासीको आरोप छ । प्रहरी ‘माथिको आदेशअनुसार’ रोपाइँ रोक्न चाहन्थ्यो । खोकनावासी हरहालतमा खेत रोप्न चाहन्थे । प्रकृतिले स्वतः कृषकलाई खेत रोप्न आह्वान गर्दै थियो । सिमसिम पानी परिरहेको थियो । खेत जोत्नेहरू जोतिरहेकै थिए । रोपारेहरू रोपिरहेकै थिए । 

 

खोकना खेतमा शसस्त्र प्रहरीको हुल पस्यो । लाठीचार्जसहित अश्रुग्यास प्रहार ग¥यो । एकपटक होइन, पटकपटक । छातीमै अश्रुग्यासको गोली लाग्दा पनि कृषक तथा कृषकका समर्थक पछि हटेनन् । आइलागेका ठूलो जत्था प्रहरीसँग खोकनावासी जाइलागे । अश्रुग्यास टिपेर प्रहरीतिरै मिल्क्याइदिएको दृश्य पनि देखियो । अश्रुग्यासको प्रहरी आफँै पनि सिकार बने । खोकनावासी आफ्नो शक्तिले भ्याएसम्म प्रतिरोधमा उत्रिए । प्रहरीमाथि हमला हुँदा र प्रहरीले दमन गर्दा ‘प्रहरी हाम्रो साथी हो’ भन्ने नारा घन्काए, अन्य नाराबीच । अभियन्ताहरूका अनुसार उनीहरूको लडाइँ जारी छ । खेत रोपाइँ पनि जारी छ । भलै हिजोकोझैँ रहेन आजको खोकना । भोलिको खोकना आजको जस्तो अझ रहनेवाला छैन । 

 

रोपाइँभूमि रणभूमिमा परिणत भएको दृश्यले बिचौलियालाई पक्कै झस्काएको हुनुपर्छ । किनकि खोकनामा भएको झडप अब केवल ‘रोपाइँ आन्दोलन’मा मात्रै सीमित बन्नेवाला छैन । ‘लहरा तान्दा पहरा फुटाए’झैँ खोकना झडपले विशाल प्रभाव पार्दै छ । यो किसान आन्दोलन हो, आदिवासी आन्दोलन पनि हो । यो विकासको बिप्ल्याटो मोडलविरुद्धको आन्दोलन उत्तिकै हो । राष्ट्रिय भूमि ऐनदेखि स्थानीय सम्पदा संरक्षणसम्म मात्रै पनि खोकना सीमित बन्नेवाला छैन । आदिवासी मानवअधिकार हननदेखि विश्व पर्यावरणीय दोहनसम्म खोकना

 

आन्दोलनको सम्बन्ध जोडिन्छ । निर्मम पुँजीवादी विकास मोडलविरुद्धको आन्दोलनको उद्घोष पनि यसभित्र जीवित देखिन्छ । अन्तोनियो ग्राम्सीले औल्याएझैँ ‘पर्मानेन्ट परश्वेडर’ खोजिँदै छ । जसले सन्तुलित सहअस्तित्व खोज्दै छ । विकासको रूपान्तरणकारी नमुना बन्न सक्छ, खोकना विद्रोह । मुलुकभरका ‘ओपन स्पेस’लाई सकेसम्म अहिल्यै सलहलेझैँ लुच्दै सिध्याउन उद्यतहरूविरुद्ध खोकना विद्रोह मियो बन्न सक्छ । स्वपरिचालित अभियानमा स्थानीय अभियन्ताकै अगुवा अपरिहार्य हुन्छ । स्थानीय युवा नायकहरू सिर्जनात्मक अभियानमा जुटनुपर्छ । अन्यथा ‘ज्यापुको जमिन’ हडप्न उद्यत बिचौलियाको बिगबिगीबीच पानीको फोकाझैँ बिलाउन सक्छ, सिर्जनात्मक सबाल्टर्न विद्रोह । सबाल्टर्नको सामूहिक विद्रोह बचाउनु चानचुने कर्म होइन । खोकना विद्रोहले सामूहिक बौद्धिक अभियानलाई आह्वान गर्दै छ ।  

 

खोकनाभित्रको खोकना

 

अनगिन्ती पटक जन्मथलो हेटौँडा आवतजावत गर्दा खोकनाको मनोरम कृषि फाँट र झुरुप्प बस्ती नियाल्दै मोहित हुन्थेँ । यसपटक खोकना विद्रोहबारे बुझ्न विद्रोही भूमिभित्रै पसेँ, खोकनाभित्रको खोकनाहरू बुझ्न । परबाट देख्दाझैँ खोकना प्रशान्तीमा सुतेको रहेनछ । खोकना बस्तीभित्र ज्वालामुखी सलबलाइरहेको देखेँ । कुनै पनि वेला ज्वालामुखी विस्फोट हुन सक्छ । यसर्थ खोकना विद्रोह सामान्य कृषक आन्दोलन होइन । केही पीडित कृषकको बिलौनामा मात्रै खोकना विद्रोह सीमित छैन ।

राज्यलाई राष्ट्रिय गौरवको योजना जतिसक्दो छिटै सकाउनु छ । तर, खोकनालाई प्रकृति र संस्कृतिमारा विकास स्वीकार्य छैन । स्मार्टसिटीको सपनामा आधुनिक दैनिकीदेखि परै बस्न चाहन्छ, खोकना ।

 

‘आइभोरी टावर’को टुप्पोबाट हेर्दा खोकना विद्रोहमा केही कृषकको बिलौना देखिएला । पिँधबाटै खोकना नियाल्दा विद्रोहको गहन गहिराइ देख्न सकिन्छ । खोकना विद्रोह एक थोपा पानी होइन, समुद्र बन्नेवाला छ । यस विद्रोहको पृष्ठभूमिभित्र इतिहासदेखि थेग्रिदै गएको घात, प्रतिघात, भ्रष्टाचार, कमिसनले उब्जाएका निराशा र आक्रोशका ज्वारभाटा स्पष्टै देख्न सकिन्छ । सहजै विद्रोही छालहरू लाभाझैँ सलबलाइरहेको देखिन्छ । यसले निम्त्याउने विद्रोहलाई सिर्जनात्मक फर्मामा ढाल्ने नेतृत्वको अभाव भने खड्किएको छ । भद्रगोलमा गोल हान्न खोज्ने बिचौलियाको विकल्प खोज्दै छन्, स्थानीय अभियन्ता । 

 

खोकनालाई काठमाडौंको रमझमसँग धेरै लिनु–दिनु रहेनछ । अन्यत्रको जस्तो मौलिकतामारा विकास खोकनालाई चाहिएको होइन रहेछ । खोकनालाई प्रकृति र संस्कृतिमारा विकास स्विकार्य छैन । राज्यलाई राष्ट्रिय गौरवको योजना जतिसक्दो छिटै धेरै हुत्याउनु छ । स्मार्टसिटीको सपनामा आधुनिक दैनिकीदेखि परै बस्न चाहन्छ, खोकना । टुडिँखेल, खुलामञ्च, रत्नपार्कलगायत खुला सम्पदाका मुटु नै बिचौलियालाई जिम्मा दिनेसँग हिसाब खोज्नेवाला छ, खोकना । राज्य कृषियोग्य भूमि खोस्दै आदिवासीलाई उठीवास गर्न उद्दत देखिन्छ । द्रुतमार्ग, बाहिरी चक्रपथ, प्रसारण लाइन, बागमती कोरिडोर, ढलनल, खानेपानी, ट्याङ्की, प्याराग्लाइडिङ अनेक बोझ खोकनाले बोक्न बाध्य बन्नेवाला अब देखिन्न ।

 

उपत्यकाभरि नेवार समुदायले लाखौँ रोपनी जमिन छाडिसके । अझै कति छाड्ने, बरु राजधानी सार्ने कि ? गौरवको विकास योजनालाई सम्पन्न गर्न जनताले त्याग गर्नैपर्छ । तर, खोकनावासीका लागि यो विकास होइन, विनाश हो । खोकनावासीलाई आफ्नो आदिम जीवनशैली प्यारो छ । दलाललाई बाहेक अधिकांश खोकनावासीलाई आफ्नो आदिम जमिन सर्वस्व हो । खोकना बस्तीको आधारस्तम्भै भत्काउने विकास पाप हो । यसर्थ उनीहरू प्रतिरोधमा उत्रिएका हुन् । खोकनावासी फुटैफुटका बीच जुट्दै छन् । इतिहासका धेरै मारहरू खेपेर पनि उठ्दै छन् । सम्पदा संरक्षणार्थ सामूहिक विद्रोहको तयारी गर्दै छन्, खोकनावासी । 

 

दमनविरुद्ध विद्रोह

 

इतिहासदेखि राज्यसत्ता आदिवासीको अस्तित्वप्रति निर्मम रहँदै आएकै हो । यसप्रति सचेत भएर खोकनावासी सङ्गठित बन्दै छन् । अन्य उत्पीडित समुदायबाट कति सहयोग प्राप्त हुन्छ, लेखाजोखा इतिहासमा लिपिबद्ध होलान् । खोकनावासी निरन्तर सडक प्रदर्शन, सार्वजनिक कार्यक्रम तथा विविध सभाहरू सञ्चालनमा वर्षौंदेखि सक्रिय छन् । खाली खुट्टा काठमाडौंमा विशाल -याली, झाँकी प्रदर्शन, नाराजुलुसदेखि कानुनी बाटो तथा राजनीतिक लबिङ केही बाँकी राखेका छैनन् । यति लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका खोकनावासीमाथि रोपाइँभूमिमै रणभूमिझैँ प्रहरी दमनले राज्यको निर्ममता थप छचल्काएको छ । यसले खोकना विद्रोहलाई थप बलियो बनाएको छ । अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराएको छ । आफ्नो सभ्यता रक्षार्थ सङ्गठित हुनु नागरिकको अधिकार हो । खोकनावासी कुनै भूमाफियाको सीमित स्वार्थपूर्तिका लागि जम्मा भएको जमात वा ट्रेड युनियन होइन ।

 

हरेक ठूलो परियोजनाले सानो संसारमा रमाएर बसेका आदिवासी जनमासलाई बढी विस्थापित बनाएको छ । गौरवको योजना परिकल्पनाकै चरणदेखि बिचौलियाले निमुखाको जमिन हडप्ने दीर्घकालीन रणनीति प्रयोग गर्ने गर्छ । भविष्यमा प्राप्त हुन सक्ने लाभबारे पत्तै नपाई भुइँमान्छेहरू आफ्नो भूमिबाट विस्थापित बनिसक्छन् । ‘ठूलो परियोजना’ले ‘साना मानिस’लाई सिध्याइदिँदो रहेछ । विशाल वैदेशिक सहायताले अझ राष्ट्रिय सार्वभौमिकतालाई नै सिध्याउन सक्ने रहेछ । अरुन्धती रोयको दाबी सत्य सावित भएको छ । उनी भन्छिन्, ‘प्रत्येक क्षण महान् नायकको प्रशस्तिगान गर्नेहरूले साना नायकहरूलाई सिध्याइरहेको हुन्छ ।’

 

हामी स्मार्टसिटी, चुच्चे रेलजस्ता मायाजालमा रुमल्लियौँ । कुनै ‘ठूलो नेता’को अल्पकालीन पद बचाउनका लागि सडकमा उत्रिएका छौँ । एउटा पदमा यतिधेरै पीडाबोध छ । आदिमकालदेखि भोगचलन गर्दै आएको थातथलोबाटै विस्थापितको कस्तो कत्रो पीडा बोध होला ? आदिमकालदेखि मानिआएको सम्पदा नै संकटमा परेको दृश्य देख्दा कति पोल्दो होला ? एउटालाई खाने बाघले भोलि अर्कोलाई पनि पक्कै खान्छ । आदिवासी जनजातिको राज्यसत्तामा पहुँच कम छ । उनीहरू मूलधारमा कमजोर छन् । उनीहरूबीच फुट होला, तिकडम गर्ने ताकत कम होला । यसर्थ पनि उनीहरूको सभ्यतामाथि मार हान्ने क्रम तीव्र छ । 

 

कमजोर वर्गको सम्पदामाथि मार हान्दै जाँदा अन्ततः मुलुक नै कमजोर बन्नेछ । यसर्थ खोकनावासी मुलुक नै जोगाउन प्रदर्शनीमा उत्रिएका छन् ।

 

जसरी राज्यसत्ताले विकासका नाममा आफ्नै सभ्यतालाई कालोमोसो पोतिरहेकै छ । बाटो साधन हो, साध्य होइन । बाटोबाट मात्रै विकास सम्भव हुन्न भन्ने प्रमाण पृथ्वीराजमार्ग नै नमुना हो । केवल बाटोबाट मात्रै जनजातिको जीवनस्तर उठेन । 

 

अन्ततः खोकनाको खेतबाट उदाउँदो आन्दोलन केवल रोपाइँ विद्रोहमा सीमित छैन । विकासको राष्ट्रिय चिन्तन र स्थानीय जनजातिलाई जोड्ने जर्तीको खोजी हो, खोकना विद्रोह । जसले लयविहीन विकासे राष्ट्रगानलाई मौलिक सङ्गीतले समायोजन गर्न सक्छ । सीमित बिचौलिया व्यापारीको विकासलाई विकास मान्न सकिन्न । दमनविरुद्ध विद्रोही झिल्को जोगाउनुको विकल्प छैन ।