• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राधिका कल्पित
२०७७ असार २७ शनिबार ०७:४६:००
साहित्य

डिजिटल युग

२०७७ असार २७ शनिबार ०७:४६:००
राधिका कल्पित

 

म, यात्री स्वयं ऊभिन्छु क्यामेराअगाडि 
तैपनि एयरपोर्ट इमिग्रेसनले भन्छ-
‘पासपोर्ट देखाउनुस्’

 

आफ्नै खातामा जम्मा भएको 
आफ्नै पसिनाको कमाइ झिक्न
एटिएम अगाडि ऊभिन्छु
एटिएम मेसिनले अर्डर गर्छ-
‘पिनकोड हान्नुस्’

 

ट्राफिकले रोक्छ
हेलमेट खोलेर देखाउँछु सक्कली अनुहार 
तैपनि थर्काउँछ फेरि-
‘अनुहार होइन, लाइसेन्स देखाउनुस्’

 

पानी र बिजुलीको बिल तिर्न अड्डा जान्छु
झ्यालमा नाक ठोसेर सक्कल देखाउँछु
उपेक्षित दृष्टि फ्याँक्दै कर्मचारीले भन्छ-
‘उपभोक्ता कार्ड दिनुस्’

 

आफ्नै देशको नागरिक हुँ भनेर छाती फुलाउँदै
भोट हाल्ने लाइनमा बस्छु
मतदान अधिकृतले सोध्छ-
‘मतदाता परिचयपत्र देखाउनुस्’

 

अहो ! यो ‘डिजिटल’ युगमा
मान्छे पनि ‘डिजिट’मा रूपान्तरित भइसकेछ
कति याद गर्नु ?
के-के याद गर्नु ?
-पासपोर्ट नम्बर
-नागरिकता नम्बर
-घरधनी नम्बर
-लाइसेन्स नम्बर
-प्यान नम्बर
अन्य कति कति... !

 

सिंगै मानवीय भौतिक अस्तित्व
‘पासवर्ड’ले विस्थापित गरिरहेछ
पासवर्ड पनि के-के मात्रै याद गर्नु ?
-वाइफाइको पासवर्ड
-एटिएमको पासवर्ड
-फेसबुकको पासवर्ड
-इमेलको पासवर्ड
-मोबाइलको पासवर्ड
आदि र इत्यादि...

 

बकाइदा बाले सोचीसोची राखिदिएको
सक्कली खानदानी नाम बताउँदा कसैले चिन्दैन 
रामबहादुर धामी
वीरबहादुर कामी
गोपाल गौडेल
श्रीधर पौडेल
विष्णु क्षेत्री 
कमला खत्री...
अहँ कतै भेटिँदैन नाम 
अब ‘फलानो’ होइन
डिजिटल नम्बर बताउनुस् 

 

कुनै जमाना थियो
घरले चिनिन्थ्यो
तल्लाघरे-वल्लाघरे
माझघरे-पल्लाघरे 
पँधेरे-पल्तिरे
यस्तै यस्तै...

 

अहिले न घर काफी छ
न थर काफी छ 
न नाम काफी छ
न काम काफी छ 
चाहियो त केवल नम्बर !

 

अब त झन् यस्तो युगले संघार टेकिरहेछ
जसले मेटाइदिनेछ- 
व्यक्तिगत परिचयको नामोनिसान 
हामी रूपान्तरित हुनेछौँ फगत नम्बरमा
हामी गनिनेछौँ केवल ग्राहक र उपभोक्तामा
अंगहरू दान दिनेछौँ र लिनेछौँ
मिर्गौला नम्बर र आँखा नम्बर
वीर्य नम्बर र पाठेघर नम्बर
माया नम्बर र पार्टनर नम्बर
बा नम्बर र आमा नम्बर
‘इन्फ्यान्ट’ नम्बर र ‘चाइल्ड’ नम्बर ।

 

कसैले सोध्ने छैन
उसलाई जन्मदिने आमा को हुन् ?
उसको कोखको बच्चाको बाउ को हो ?
ऊ कुन देशको नागरिक हो ?

 

उसलाई भिराइनेछ एउटा
‘डिजिटल ट्याग’
ऊ बन्ने छ केवल ‘डिजिटल म्यान’ ।