• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हरि अधिकारी
२०७७ असार २७ शनिबार ०८:०९:००
साहित्य

रामभरोसेको घरफिर्ती 

२०७७ असार २७ शनिबार ०८:०९:००
हरि अधिकारी

 

यसै वर्षको अप्रिल महिनाको एक साँझ । दैनिक ज्यालामा काम गर्ने मजदुर रामभरोसे पासवानले डेरा गरेको धारावी, मुम्बईको ८ फिट चौडाइ र १० फिट लम्बाइको खोलीमा त्यस दिन राति अबेरसम्म पनि बत्ती बलेको थिएन । अन्धकारको धमिलो जलप लागेको त्यस खोलीको ढोका बन्द थियो तर त्यसमा ताल्चा नलगाइएकाले त्यसमा बस्नेहरू त्यहाँबाट हिँडिसकेका छैनन् कि भन्ने अनुमान गर्नु गलत नहुन सक्थ्यो । 

 

कोभिड–१९ को महामारीलाई रोक्न भनी लगाइएको महिनौँ लामो लकडाउनका कारण रोजगारी गुमाएका विहार, उत्तर प्रदेश, झारखण्ड र उडिसा आदि राज्यबाट आएका लाखौँ प्रवासी मजदुरहरूले मुम्बई छोड्दै गरेको समय थियो त्यो । त्यसैले, मुख्य रूपमा तिनै गरिबहरूले बसोवास गरेको धारावी स्लमको कुन बस्तीको, कुन घरको, कुन कोठामा, कुन दिन बत्ती बल्न छोड्छ पत्तै हुँदैनथ्यो । सहरमै बसिरहने हो भने छिट्टै नै भोकमरीको चपेटामा परिने डरले आक्रान्त भएका, एकैनासका साँघुरा कोठाहरूमा बस्ने प्रवासी मजदुरहरूका हज्जारौँ परिवार मुम्बईको डेरा छाडेर आ–आफ्ना ‘देश’तिर हिँडिसकेका थिए । रामभरोसेले डेरा गरेको धारावी इस्टको गनपतराव विनायकराव अचरेकर लेनका सबै उस्तै–उस्तै लाग्ने, धमिलो भइसकेको सेतो इनामेल पोतिएका घरहरूमध्ये धेरैजसोका ढोकामा पनि थरी–थरीका ताल्चा झुन्डिएका थिए ।  

 

रामभरोसेको परिवारले भने त्यो डेराघर छाडिसकेको थिएन । अहिले पनि रामभरोसे, उसकी पत्नी सुनरीदेवी र तिनका दुई केटाकेटी त्यहीँ, कोठाभित्रै थिए । अन्धकारको बाक्लो पर्दा खसुन्जेलसम्म बिजुलीबत्तीको स्विच थिचेर कोठाबाट अन्धकारको बाक्लो पर्दा उठाउने जाँगर निकाल्न नसकिरहेका रामभरोसे र उसकी पत्नी सुनरीदेवी केही बेर चुपचाप अँध्यारोमा बसेर मनमा उठिरहेका केही सवालको जवाफ खोज्ने प्रयास गरिरहेका थिए सायद । त्यस गरिब दम्पतीका सामुन्ने सवाल थिए अनेक, जसमध्ये मुख्य र जटिल सवाल त्यही एउटा थियो– ‘आफूलाई विगत ८ वर्षदेखि आश्रय दिइरहेको महानगरी मुम्बईलाई छोड्ने कि नछोड्ने ? छोड्ने हो भने कहिले र कसरी छोड्ने ? नछोड्ने हो भने भोकमरीबाट कुन उपायले बच्ने र दुइटा लालाबालालाई बचाउँने ?’

 

झन्डै चार घन्टा त्यो खोली र आफ्नो मन, दुवैतिर फैलिएको अन्धकारको जुगुप्सामय धापमा पौडिँदै उत्रिँदै गरेको रामभरोसे बसिरहेको ठाउँबाट बिस्तारै उठ्यो र सुनरी पल्टिरहेको ठाउँमा गयो । आँसु र पसिनाको सगुन दिँदै सकी–नसकी उसको निरर्थकझैँ लाग्ने जीवन–संघर्षमा साथ दिइरहेकी त्यस सरल हृदया स्त्रीप्रति हृदयबाट अचानक उठेर उफानमा आएको करुणाको ज्वारलाई बलैले दबाउँदै उसले आफ्ना खस्रा हातले सुनरीको कपाल मुसारेको र स्वरलाई कोमलतम बिन्दुमा लगेर सोधेको थियो, ‘परतापकी माई ! साँच्चै जाने हो त देश ?’
 

‘कुन्नि त आफूले के भन्या हो ? अब घर फर्केर जाने कुरा पनि साँच्ची कि खेलाँची भन्ने हुन्छ र ?’ सुनरीले अलि तिखो आवाजमा जवाफ दिएकी थिई । 

 

त्यसपछि रामभरोसे एकदम चुप भएको थियो । एउटा कुरा फ्याट्ट भनिदिएर त्यसपछि सामुन्ने भएको मान्छेलाई बोल्न मौका दिएझैँ एकछिनसम्म चुप्प लाग्ने अनौठो बानी थियो उसको । 

 

‘नगएर पनि के गर्ने ? यस्तै चाला हो भने यहाँ भोकभोकै मर्ने पक्का छ । आफू मात्र भए त जे होला होला भन्नुहुन्थ्यो, नानीहरूको अपहत्तेलाई पो कसरी टुलुटुलु हेरिरहनु !’ लोग्ने र आफ्नाबीच चुपचाप आएर बसेको मौनको ढिक्कालाई फुटाउँन खोजेझैँ त्यो सरल–हृदया गृहिणीले आत्मालाप गरेको हो कि लोग्नेलाई सुनाएको हो नछुट्टिने किसिमले भनेकी थिई । ऊ यी शब्दहरूको माध्यमबाट धेरै दिनदेखि आफ्नो मनमा हुँडलिइरहेको व्याकुलतालाई निकास दिन चाहन्थी सायद ।  

 

‘ठीक भनिस् सुनरी तैँले । माँ कसम अब यहाँबाट जाने । यो सिमन्टीको जंगलमा हरदिन अधमरो अवस्थामा घिच्चिँदै गर्नुभन्दा त बाउ–बाजेकै जमिनमा गएर मिट्टी बिसाउँनु बेस हो नि, होइन र परतापकी माई तैँ भन् त ?’ रामभरोसेले त्यस्तो गम्भीर कुरोलाई यसरी हलुका पारेर भन्न सकेकोमा आफैँलाई स्याबासी दिएझैँ फिस्स हाँस्दै भनेको थियो ।

 

सुनरीसँग त्यस अबोध प्रश्नको कुनै जवाफ थिएन । छोराको घँुघुरिएको कपाल भएको टाउको मुसार्दै उसले सुस्तरी भनी, ‘पहिला देशको घर त पुग बाबु । त्यहीँ रमाइलो लाग्यो भने मुम्बईको घरमा फर्किनु पनि किन पर्‍यो र ?’

सुनरीले कुनै जवाफ दिएकी थिइन । उसको मनलाई त, घर फर्किने निर्णय त लिइयो तर पर्याप्त बाटाखर्च र आवश्यक साधनविना कसरी त्यति लामो बाटो पार गरेर केटाकेटीलाई देशघरसम्म पु-याउने भन्ने चिन्ताले अत्याइरहेको थियो ।

 

‘जान त जाने, तर कुन उपायले, कसरी पुग्ने त्यति टाढाको देश ? न रेल न बस, सडकमा कुनै पनि साधन चलेका छैनन् । फेरि हामीसँग बाटाखर्चका लागि पुग्ने मनग्ये पैसो पनि त छैन,’ सुनरीको हतासाले भरिएको मसिनो स्वर सुनिएको थियो । 

 

पत्नीको त्यस कुराले रामभरोसेलाई भित्रैदेखि हल्लाएर छोडिदिएको थियो । त्यतिवेला उसलाई आजसम्म उसले गरेको परिश्रम र उद्यम, बगाएको खुन–पसिना र आँसु, बाँडेको खुसी र प्रेम, देखाएको धैर्य र इमानदारी, सबै नै एक कौडीको पनि मूल्य नभएका निरर्थक कुराहरू मात्रै रहेछन् भन्ने अप्रिय यथार्थको तीव्र अनुभूति भएको थियो । 

 

‘हो त नि मसँग त केही पनि पो रहेनछ हगि ! आफ्नो देश छाडेर मुम्बईको कंक्रिटको जंगलमा ८ वर्ष हाड घोटेर के कमाएछु मैले ? उही गरिबी ? उही अभाव ? २ महिना काम छुट्दा केटाकेटीहरू भोकभोकै मर्ने अवस्था ! मैले त मेरो जीवनलाई बेकम्मा बनाएर पो फालिरहेको रहेछु,’ हृदयबाट गहिरो पीडाको ज्वार उठेपछि त्यसको दंशबाट रन्थनिएको रामभरोसे सुनरी पल्टिरहेको लोबेडमा थुचुक्क बस्यो र हिक्का छोडेर रुन थाल्यो । 

 

आफ्नो खसम भोकले अत्तालिएको सानो बालकझैँ रोएको देखेपछि सुनरी हतप्रभ भई । तर एक्कै निमेषमा सम्हालिई पनि । ऊ थिई– उत्तरी विहारमा कोसी नदीले बर्सेनि देखाउँने ताण्डव देख्दै, व्यहोर्दै, मर्दै, बाँच्दै हुर्केकी त्यहाँको चिम्ट्याइलो माटो जस्तै कडा आइमाई । उसले काखकी बच्चीलाई बिछ्यौनामा सुताइदिई, जुरुक्क उठी र रामभरोसेका दुवै काँधमा आफ्ना कोमल हत्केला राख्दै स्थिर र धीर–गम्भीर आवाजमा भनी, ‘लोग्नेमान्छे यसरी केटाकेटी जस्तो रोएको साह्रै नमीठो सुनिने रहेछ । रुन छोड र मेरो कुरा ध्यान दिएर सुन । हामी ‘देश’ जाने भनेपछि जाने हो । तुरुन्तै, भोलि नै र पैदलै कूच गर्ने हो । जाँदै गर्दा बाटोमा गाडीहरू पाए चढ्ने, नपाए बटेश्वर भगवान्ले दिएका दुइटा गोडा त छन् नि हामीसँग ।’

 

‘त्यत्रो लामो बाटो पैदलै हिँडेर पार पाउँन सकिएला त ? यहाँ छ र कम्तीमा पनि हजार किलोमिटर होला’

 

‘सक्नै पर्दछ । यहाँ झोपडपट्टीको सानो कोठरीमा कैद भएर आफ्ना मुटुका टुक्राहरूलाई भोकले मरिरहेको हेर्नुभन्दा त मर्नु परे देशको बाटोमै पुगेर मर्ने नि,’ सुनरीले चट्टानी दृढताका साथ निर्णय सुनाएकी थिई । 

 

त्यस साँझ रामभरोसे र उसकी पत्नीले गरेको मुम्बईलाई छाडेर पुर्खाको झोपडीको बाटोमा कूच गर्ने त्यो महत्वपूर्ण निर्णयको कार्यान्वयन भोलिपल्ट बिहान नै सुरु भएको थियो । 

 

बिहान झिस्मिसेमै धारावी छाडेका रामभरोसेहरू ९ बजेतिर मुम्बई महानगरको परिधिभन्दा बाहिर एन्एच्–१६ भनिने मुम्बई–कोलकाता राजमार्गमा आइपुगेका थिए । रामभरोसे राजमार्गको फराकिलो र चिल्लो सडकको दाहिने छेउमा पांग्रा भएको एउटा मझ्यौला साइजको सुटकेस गुडाइरहेको थियो । पिठ्युँमा एउटा ठूलो पोको बोकेकी उसकी स्त्री सुनरीदेवी ऊभन्दा दुई कदम पछाडि हिँडिरहेकी थिई । सानो खिरिलो ज्यान, श्यामवर्णको मुहार र त्यसमा दुइटा ठुल्ठूला चम्किला आँखा भएकी त्यो विहारी बालाको देब्रे हात समाएर कदमचाल मिलाइरहेको थियो, उनीहरूको ७ वर्षको छोरो परताप पासवान । ऊ विस्मित र चकित नजरले आफूअगाडि लम्पसार परेको फराकिलो सडक र निलो धुवाँ उडिरहेको धमिलो र विस्तृत क्षितिजतिर हेर्ने कोसिस गरिरहेको थियो । तर, ऊ कुनै पनि वस्तुलाई राम्ररी ठम्याउँन सकिरहेको थिएन । 

 

बिहानको ९ बजेको समय भए पनि वातावरणमा भयानक गर्मी चढिसकेको थियो । राजमार्गमा यातायातका कुनै पनि साधन चलेका थिएनन् । तर, मानिसहरू साना–साना समूहमा मिलेर सुस्त गतिमा पैदलै अगाडि बढिरहेका थिए । सबैखाले सरकारी एजेन्सीहरूबाट चरम बेवास्ता गरिएका र महिनौँदेखि बेरोजगार भएका कारण भोकमरीको नजिक पुगेका प्रवासी मजदुरहरूले पैदलै आ–आफ्ना देशको बाटो समात्ने अठोट गरेका थिए । त्यसरी त्यो अनिश्चित यात्रामा निस्किएका ती हतभाग मानिसहरूमा सायद कोही पनि राम्रोसँग गन्तव्यसम्म पुग्ने कुरामा आश्वस्त थिएन । तर, उनीहरूलाई लगातार त्यस यात्रामा अगाडि धकेलिरहने कुनै एउटा तत्व अवश्य पनि हुँदो हो, जसका कारण उनीहरू मनको अन्योललाई मनभित्रै दबाएर अविचलित देखिने कोसिस गर्दै हिँडिरहेका थिए ।

 

छोरीको डाइपर फेरिदिन र एकपटक दूध पनि चुसाउन भनी सडकनजिकै रहेको एउटा छहारीदार रुखमुनि गएकी आमालाई पछ्याउँदै त्यहाँ पुगेको परतापले सुनरीको फरियाको फेर चोरऔँलाले बटार्दै सोध्यो, ‘माई हामी कहिले फर्किने देशबाट मुम्बई घरमा ?’

 

सुनरीसँग त्यस अबोध प्रश्नको कुनै जवाफ थिएन । छोराको घुँघुरिएको कपाल भएको टाउको मुसार्दै उसले सुस्तरी भनी, ‘पहिला देशको घर त पुग बाबु । त्यहीँ रमाइलो लाग्यो भने मुम्बईको घरमा फर्किनु पनि किन प-यो र ?’