• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मदनमणि दीक्षित
२०७७ श्रावण ३ शनिबार ०९:३०:००
इतिहास

के रामायण नेपालमै लेखिएको थियो ?

२०७७ श्रावण ३ शनिबार ०९:३०:००
मदनमणि दीक्षित

राम इतिहासका व्यक्तित्व हुन् कि मिथकीय पात्र ? रामायण आख्यान हो कि इतिहास ? यस्ता विवादित प्रश्नहरू कायमै रहेका वेला राम र अयोध्या साहित्य र इतिहासबाट द्विदेशीय कूटनीतिक-राजनीतिक अखडामा पनि प्रवेश भएको छ । नेपालमा यस्तो विवाद नयाँ होइन । ‘वाल्मीकि रामायण भक्तपुरमा लेखिएको’ र ‘वाल्मीकिको आश्रम नवलपरासीको भैँसालोटनमा रहेको’ दाबी-विरोध पहिले पनि भएको थियो । पटक-पटक उठेको यस विषयमा अध्येता मदनमणि दीक्षितले साढे तीन दशकअघि लेखेको महत्वपूर्ण लेख आज पनि सान्दर्भिक ठानी यहाँ प्रस्तुत गरेका छौँ । लेखको शीर्षक मात्रै परिवर्तन गरिएको छ । यस लेखको संकलन-सम्पादनका लागि राजेन्द्र महर्जनसँगै मदन पुरस्कार पुस्तकालयका दीपक अर्याललाई धन्यवाद : 

..............................

 

दयाराम श्रेष्ठ ‘सम्भव’द्वारा लेखिएको ‘रामकथा’ (प्रकाशक सञ्चार मन्त्रालय, सूचना विभाग, फागुन २०४१) पढ्दा ‘वाल्मीकिले नेपालमै रामायणको रचना गरेका थिए’ भनी पृष्ठ ७ मा लेखेको देखियो । उक्त कथनको पुष्टिमा ‘नेपाल माहात्म्य’को तेस्रो अध्यायको श्लोक १–१२ उद्धृत गरिएको रहेछ । दयारामले सबभन्दा रमाइलो के गरे भने ती १२ श्लोकमा ‘नेपाल’ र ‘भक्तपुर’ वा कुनै अन्य त्यस्ता ठाउँ नै प्रयोग नहुँदा पनि निष्कर्षचाहिँ गजबको झिके !


तैपनि ती श्लोकबाट लेखकले ‘भक्तपुर जिल्लाको उत्तरपट्टि पर्ने दोलागिरी (जहाँ चाँगुनारायणको मन्दिर छ) को दक्षिण–पूर्वी दिशामा बहेका वीरभद्रा नामका दुई नदीको दोभानमा बसेर वाल्मीकिले रामायणको रचना गरेका थिए’ भन्ने निष्कर्ष झिकेको देखियो । त्यस निष्कर्षलाई दयारामले ‘भाषा वंशावली’बाट उद्धरणसमेत दिएर पुष्टि गरेका छन् । 


उपर्युक्त लेखेपछि ‘यस विषयमा अरू प्रामाणिक तथ्यको अनुसन्धान हुनु आवश्यक छ’ भनी दयारामज्यूले भने तापनि ‘नेपाल माहात्म्य’मा तमसा नदीको उल्लेख भएको कुराको उद्धरण दिएर त्यो नदी नवलपरासीको भैँसालोटनमा रहेको स्वीकार गरेका छन् । त्यसपछि– ‘वाल्मीकिले काठमाडौं उपत्यकामा आफ्नो अमरग्रन्थ रामायणको रचना गरेका थिए भन्ने विश्वास हुन्छ’ भनेर ‘अनुसन्धान हुनु आवश्यक छ’ भन्ने आफ्नै सुरुको विचारको परिपूर्तिलाई पर्खिन जरुरी देखेनन् । 


यही स्थितिलाई दयारामले पृष्ठ १७ मा ‘वाल्मीकिकृत रामायण नेपालमै लेखिएको कुरालाई पुराणादिले पुष्टि गरिसकेको कुराको चर्चा माथि नै भइसकेको छ’ तथा पृष्ठ २१ मा ‘हिमवत्खण्ड नेपालमा नै आदि रामायणको सिर्जना भएको थियो भन्ने पौराणिक विश्वास अमान्य छैन’ भनेर दोहोर्‍याइ–तेहोर्‍याई भनेका छन् । 


त्यसरी आफ्नो विश्वासको ढकलाई तराजुको एकातिर पूरै राखेतापनि दयारामले ‘यो एक अनुसन्धानको विषय हो तापनि ‘नेपाल माहात्म्य’प्रति हामी पूर्ण अनास्थाशील पनि हुन सक्दैनौ’ भन्ने सबैतिर अर्थ लाग्ने गरी आफू जोगिन सक्ने वाक्यको आश्रय लिन नछाडेको पनि देखियो । अनुसन्धानको आवश्यकता स्वीकार गरिसकेको विषयलाई त्यसरी किटानका साथ एकोहोर्‍याउनु सके वैज्ञानिक शोध निम्ति चेतना ठहर्दैन ।

 

वाल्मीकिले लेखेका भनिएको ‘सीता विजय’को कथा झन् विचित्रको छ, त्यसमा सीताले नै युद्धमा रावणलाई मार्छिन् । दक्षिण भारत, जाभा र थाइल्यान्डका झन् फरक र आफ्नै रामकथा र रामायणहरू छन् ।

 

दयारामले प्रस्तुत गरेकोजस्तो गम्भीर निर्णय दिँदा सन्दर्भगत बाह्य सूचना (यहाँ नेपाल माहात्म्य)– स्रोतको उल्लेख गरेर मात्र पुग्दैन कि पहिले प्रत्यक्ष सूचनालाई केलाएर त्यसलाई खण्डन गर्ने होइन कि समर्थन गर्ने भए मात्र बाह्य सूचनामाथि भर पर्नुपर्छ । ‘सम्भव’ले उठाएको प्रश्नबारे वाल्मीकि रामायण आफू के भन्छ ?


वाल्मीकिको परिचयबारे उपलब्ध प्राचीन पौराणिक कथाहरूबाट कुनै पनि भरपर्दो चित्र पाइँदैन । तमसा नदीमा नुहाउन त्यो मुनि जाँदा एउटा व्याधाले वाण हानेर क्रौञ्च (करेङ–कुरुङ) मारेकोबाट रामायण लेख्न प्रेरणा भयो । त्यो तमसा नदी कुन हो ? 


इतिहासमा नदीहरूका नाउँ हेरफेर भएको देखिन्छ । साना नदीका नाउँमा त झन् कम स्थिरता पाइएको छ । दयारामले उल्लेख गरेको भैँसालोटन त्रिवेणीमा खस्ने तमसा त्यस्तै एउटा सानो नदीको भागको नाउँ हो, यद्यपि त्यहाँ कुनै तमसा नदी भएको विश्वास पनि बलियो छैन । भारतको एउटा ठाउँमा तमसा नाउँको नदी थियो । 


वायु पुराण, मत्स्य पुराण, ब्रह्माण्ड पुराणमा भनिएको तमसा नदी भारतको बुन्देलदण्ड क्षेत्रमा अचेल ‘तौँसा’को नाउँबाट परिचित छ । 


वाल्मीकिले निषादले क्रोञ्च मार्दा तमसा भन्ने नदीबारे ‘जगाम तमसातीरं जाह्नव्यास्त्वविदूरतः’(१।२।३।) भनी उल्लेख गर्दा ‘जाह्नवीबाट त्यति टाढा नरहेको’ भने । यहाँ जाह्नवी नभनेर वाल्मीकिले गंगा भनेका भए शंका गर्ने निकै ठाउँ हुने थियो । किनभने ठूला र पवित्र मानिएका नदीहरूलाई ‘गंगा’समेत भन्ने चलन आजसम्म पनि छ । तर, ती आदिकविले जाह्नवी नै भन्न रुचाए । त्यो जाह्नवी नजिकको भनेर भैँसालोटनको तमसालाई भन्न कदापि मिल्दैन । वाल्मीकिको त्यो तमसा जाह्नवीको नजिकै दखिनतिर बुन्देलखण्डकै तमसा हो भन्ने अनुमान गर्न बलिया ठाउँ छन् । 


वाल्मीकिले आफ्नो रचनाभित्रै आफ्नो आश्रमबारे गरेका अर्को चर्चा अयोध्याकाण्डको ५६औँ सर्ग, श्लोक १६ मा पाइन्छ । वनबासमा हिँडेका राम, सीता, लक्ष्मणले यमुना पार गरेर चित्रकुटतिर हिँडेपछि त्यहाँ वाल्मीकिलाई भेटेका छन् र वाल्मीकिका सल्लाहबाट छेउमै आफ्नो पर्णशाला बनाई केही महिना बसेका छन् । 


प्राचीन भारतीय भूगोलबारे वायु, मत्स्य र ब्रह्माण्ड पुराणहरूबाट अपेक्षाकृत बढी थाहा हुने गरेको छ । वाल्मीकिको रामायणमा पनि प्राचीन भूगोलबारे निकै वर्णन छ । सीताजी खोज्न बानर सेनाहरूलाई चार दिशा निम्ति चार खण्डमा विभाजन गरेर युथपतिहरूलाई खटाउँदा सुग्रीवले पृथ्वीको चारै दिशाको वर्णन दिएका छन् । त्यो वर्णनमा उत्तर दिशामा हिमालयको उल्लेख गर्नुबाहेक काठमाडौं उपत्यकाका सम्बन्धमा कुनै संकेतसम्म भएको छैन । त्यस ठाउँमा उल्लेख भएको हिमालय पनि पश्चिमतिरको शक, दरद, काम्बोज जनजातिहरूको बसोवासको हिमाल हो । प्रकृति वर्णनमा विख्याति प्राप्त रामायणले हिमाली भेगका पर्वतको सौन्दर्यलाई छुँदै छोएका छैनन् । भक्तपुरको पूर्वोत्तरमा बसेर रामायण लेखिएको थियो भने त्यहाँबाट देखिने मणिचूर, त्यसको उत्तरमा हरिया पर्वत र सेता हिमवान्का सौन्दर्यबाट वाल्मीकि रामायण अप्रभावित रहन कदापि सक्दैनथ्यो । तथापि त्यस्तो कुनै पनि प्रभाव रामायणमा किञ्चित परेको छैन । 


रामायण किस्किन्धाकाण्डमा रहेका ती चार दिशाका वर्णनमा सबभन्दा बढी गल्ती र भौगोलिक अज्ञान झन् उत्तर दिशाबारे नै भएको छ– अन्य तीन दिशाका वर्णनको तुलनामा । काठमाडौं उपत्यकामा बसेर रामायण लेखेको भए त्यस्तो हुने थिएन । रामायणमा दक्षिण भारतबारे बढी शुद्ध वर्णन रहेकोबाट वाल्मीकिलाई उत्तरतिर राख्ने अधिकार प्राप्त हुँदैन । 


दयारामले ‘नेपाल माहात्म्य’का श्लोकहरूको उल्लेख त गरे, तर त्यसैमा प्रस्ट देखापरेका त्रुटिहरूतिर भने ध्यान थिएनन् । त्यो श्लोकमाथि विश्वास गर्ने हो भने नरिवल, खजुर, आँप, कटहर, मौलसरीहरूका रूख भएको रमणीय प्रकृतिबीच बसेर रामायणको रचना भयो । तर, काठमाडौं उपत्यकाभित्र ती पाँचैथरीका रूखहरू प्रायः हुँदैनन्, तिनको बगैँचाजस्तै हुने कुरा परै रहोस् । 


दयारामले काठमाडौं उपत्यकामा रामायण रचिएको देखाउने अति उत्साह गर्दा वैष्णव धर्मको नेपाल प्रवेशका सम्बन्धमा भने आफ्नै कथनविरुद्ध चुकेको हो कि ?


पुस्तकको पृष्ठ २ मा ‘यस कृतिको रचना ई.पू. ३०० मा भएको मानिएको छ’ भनियो । अर्कोतिर पृष्ठ १० मा ‘नेपालमा ईशाको प्रथम शताब्दीतिर नै वैष्णव धर्मको प्रवेश भइसकेको थियो’ भनिएको छ । 


उत्तर भारतमा वैष्णव धर्मको प्रसारमा भगवत्गीता, वाल्मीकि रामायण (दुवै झन्डै समकालीन रचना) अनि विष्णु र भागवत् महापुराण (ई.सं. २००–४००) ले प्रमुख भूमिका सम्पन्न गरे । त्यस्तो वैष्णवी आदिकाव्य यो काठमाडौं उपत्यकामा बसेर लेखिएको केही शताब्दीपछि मात्र यहाँ वैष्णव धर्मको ‘प्रवेश’ भएको भन्न मिल्दैन । ई.पू. ३०० तिर भक्तपुरमा रामायणको रचना भएकोलाई नै नेपालमा वैष्णव धर्मको प्रवेश किन नमान्ने ? त्यस्तो विश्व महत्वको घटना भएको कम्तीमा तीन शताब्दीपछि मात्र नेपालमा वैष्णव धर्म आयो भन्न खोज्नुलाई शोधकार्यअनुरूप गम्भीर चिन्तन भन्न मिल्दैन कि ? अथवा त्योचाहिँ रामायणमा रामलाई ‘औतार’का रूपमा प्रस्तुत गरिएको थिएन भन्ने ? यो पछिल्लो दाबी दयारामको हुन सक्दैन । 


काठमाडौं उपत्यकाभित्र अहिलेसम्म भएका कुनै पनि उत्खनन्ले ई.पू. १०० भन्दा पहिलेका धातु, टेराकोटा, नवपाषण युगका ढुंगे औजार वा गृह निर्माणमा पाको इँटाका अस्तित्वलाई प्रकट गरेका छैनन् । रामायणमा भने धातु र ‘इस्टिका’ प्रयोग गरेर बनाइएका चारतले–पाँचतले घरका उल्लेख छन् । 


हो, अयोध्यामा देखेका भौतिक सम्पदाका विवरणबारे वाल्मीकिले यो अनकन्टारको वनजस्तो एकान्त ‘तपोभूमि’मा आएर लेखे भन्न नसकिने वा नहुने होइन, तर त्यस्तो कल्पना गर्नु किञ्चित चर्को ठहरिनेछ ।

 
यति सबै भनेपछि स्वयम् ‘हिमवत्खण्ड’ र ‘नेपाल माहात्म्य’को आधिकारिकतामाथि प्रश्न गर्नु त्यति साह्रो अनुचित हुनेछैन । ‘पुराणमित्येव न साधु सर्वम्’ (पुराण भन्दैमा सबै उत्तम ठहरिँदैनन्) भन्ने त प्राचीन लोकोक्ति नै थियो । ‘हिमवत्खण्ड’मा रहेको ‘नेपाल माहात्म्य’लाई विद्वान्हरूले केही शताब्दी पहिले मात्रको मल्लकालीन नेपालको मानेका छन् । 


वाल्मीकिले यो उपत्यकामा बसेर रामायण लेखे भन्नु एउटा कुरा हो, त्यो भनाइको पुष्टिमा वैज्ञानिक तर्क प्रस्तुत गर्नु एकदमै भिन्न कुरो । ‘गोरखापत्र’मा आफ्नो नाउँ छपाउने प्रलोभनले होला, एक सज्जनले दुई महिनाअघि ‘रावण नेपालको बाग्लुङ पर्वतमा जन्मिएको थियो’ भनी लेखे । ‘गोरखापत्र’ले पनि छापिदियो । दयाराम श्रेष्ठ ‘सम्भव’जस्ता योग्य र निष्णात विद्वान्ले (प्रस्तुत पुस्तकको बाँकी विषयवस्तुबाट समेत उनको गम्भीर अध्ययन प्रस्ट भएको छ) त्यस्तो महत्वपूर्ण पुस्तकबारे बाग्लुङमा रावण जन्मिएको गफको पूर्वरूप ठहरिने गरी यसरी सर्सर्ती लेख्न हुँदैनथ्यो । 


यो रामायणको इतिहासको सम्बन्धमा विचार गर्न थाल्नासाथ गम्भीर प्रश्नहरू उठ्ने गरेका छन् । वाल्मीकि को थिए, कहाँका र कहिलेका थिए भन्ने प्रश्नहरूको निराकरण गर्नु अत्यन्तै कठिन भएका मात्र होइन, यो रामायण सुरुमा कुन भाषामा लेखियो भन्नेबारेसमेत केही भारतीय विद्वान्ले प्रश्न गर्न थालेका छन् । 


महाभारतमा सभापर्व (७।१६), उद्योगपर्व (८३।२७), द्रोणपर्व (१४३।५७) र अनुशासनपर्व (१८।८)मा वाल्मीकिले विभिन्न भूमिकाहरू सम्पन्न गरेका छन् । उद्योगपर्व (१०१।११)मा गरुड–पुत्र अन्य कुनै वाल्मीकिको पनि उल्लेख भएको छ । 
यीमध्ये कुन वाल्मीकिले रामायणको रचना गरे ? यकिनसाथ भन्न सकिने स्थिति अहिलेसम्म छैन । 


रामायणबारेसमेत कुनै अनुकूल ज्ञानको स्थिति छैन । आदिकाव्य भनिएको त्यो रचना आज जुन रूपमा ‘रामायण’ भनेर उपलब्ध छ, त्यसै रूपमा वाल्मीकिले त्यसको रचना गरेको हुन सक्दैन । रामायणभित्रै केलाएर हेर्दा त्यसको ‘बालकाण्ड’का केही अंश र ‘उत्तरकाण्ड’ पूरै पछि प्रक्षिप्त गरिएका देखिन्छन्, मूलमा तिनीहरू वाल्मीकि रचित मान्न नसकिने स्थिति छ । ‘बालकाण्ड’कै प्रथम र तृतीय सर्गहरूका पाठ–भेदहरू छन् । रामायणमा ठाउँ–ठाउँमा प्रक्षिप्त अंशहरू प्रशस्त रहेको मानिन्छन् । 


बालकाण्ड र उत्तरकाण्डले मात्र रामलाई विष्णुको औतार मानेकाबाट यीकाण्डहरू पछि थपिएका हुनुपर्छ भनी विद्वान्हरूले स्वाभाविक अनुमान गरेका छन् । 


वाल्मीकिको रामायणका काठमाडौं (सके सबभन्दा पुरानो)बाहेक पनि भारतमा तीनवटा प्राचीन पाण्डुलिपि पाइएका छन्– बम्बई पाठ, बंगाल पाठ र कास्मीर पाठ । यी तीनवटै पाठ यो उपमहादेशका पृथक् क्षेत्रहरूमा प्रसिद्ध रहे । प्रत्येक पाठमा झन्डै तृतीयांशजति भाग एक–अर्कोसित मिल्दैनन् । यस्तो अराजकतावादी स्थितिले गर्दा शोधकर्ताले रामायणको मूल रचना त्यसवेला प्रचलित प्राकृत भाषामा भएको थियो, त्यो पाठलाई घोक्दै गुरु–शिष्य मौखिक परम्पराबाट ज्यँुदो राखियो अनि कालान्तरमा प्राकृतबाट तीनजनाले संस्कृतमा आ–आफ्नो अनुवाद तयार पारे भन्ने ‘गम्भीर’ अनुमानसमेत गर्न पुगे । 


कुरा यत्तिमै टुंगिएको भए समस्या त्यति जेलिने थिएन । वाल्मीकिरचित भनिएको ‘वशिष्ठ रामायण’ (ज्ञान वाशिष्ठ) ‘वाशिष्ठोत्तर रामायण’, ‘सीता विजय’, ‘अद्भूत रामायण’, ‘अद्भूतोत्तर रामायण’ आदि रचनाहरू भारतका विभिन्न भागमा पाइएका छन् । 


स्कन्दपुराणको वैशाख माहात्म्यअनुसार जन्मान्तरमा वाल्मीकि ब्याधा थिए । सुरुमा ती आदिकविको नाउँ ‘अग्नि शर्मा’ (मतान्तरअनुसार रत्नाकर) थियो । यौवनमा त्यो अग्नि शर्मा भन्ने युवक रहजनीको अपराध गर्ने गथ्र्यो । र एक दिन, स्कन्धपुराणअनुसार, बाटो हिँडिरहेका सप्तर्षिहरूलाई त्यो अग्नि शर्माले लुट्यो । त्यो घटनामा सप्तर्षिका व्यवहारबाट त्यो युवकको जीवनमा परिवर्तन सुरु भएर वाल्मीकि हुनपुगेको हो । 


गोस्वामी तुलसीदासले वाल्मीकिको आश्रमलाई अहिलेको सीतामढीनजिकै वारीपुर–दीगपुरबीच (विलसति भूमि)मा राखे, ‘कल्याण’ पत्रिकाको रामायणाङ्कमा बी.एच. वडेरद्वारा अयोध्याकाण्ड (५६।१६)को वाल्मीकि आश्रमलाई वर्तमान प्रयागभन्दा ३२ किलोमिटर दक्षिणमा राखिएको छ । अर्का एक लेखकले ‘सम्मेलन’ पत्रिकामा वाल्मीकि आश्रमलाई प्रयाग–झाँसी रोड र राजापुर–कानिकपुर रोडको चौबाटोनिर राख्ने प्रयत्न गरे । वाल्मीकि रामायण उत्तरकाण्ड (६६।१ र ७१।१४) अनुसार ती आदिकवि विठुरमा पनि बसे । स्कन्दपुराण (१।२४)ले ‘नेपाल माहात्म्य’बाहिरको आफ्नै अर्को खण्डमा नै फेरि विदिशालाई वाल्मीकि आश्रम मानेको छ । भविष्य पुराण (प्रतिसर्ग पर्व, ४।१०।५४)ले विठुरमा आश्रम मानेर त्यो कानपुरनजिकै रहेको भनेको छ । 


वाल्मीकिले लेखेका भनिएको ‘सीता विजय’को कथा झन् विचित्रको छ, त्यसमा सीताले नै युद्धमा रावणलाई मार्छिन् । दक्षिण भारत, जाभा र थाइल्यान्डका झन् फरक र आफ्नै रामकथा र रामायणहरू छन् । 


तुलनात्मक अध्ययन र वैज्ञानिक शोधपद्धतिको यो बीसौँ शताब्दीमा त पाणिनी, कालिदास, दीर्घतमा आदि सबैलाई नेपाली र महाभारतका विराट राजाको राजधानीलाई नेपालको गोग्राहामा अथवा भीमफेदीमा भीमसेनको पाइलो देख्ने प्रयास भइरहेको छ भने ४–५ सय वर्षपहिलेको मल्लकालीन नेपाली मध्ययुगमा ‘नेपाल माहात्म्य’को कुन्नी कुन ठाउँका लेखकले के कस्ता कल्पना कसरी गरे इत्यादिबारे पो अध्ययन गर्नुपर्ने हो, त्यस्तालाई वैज्ञानिक कथन मान्नुहुँदैन । 

अनि एउटा अर्को कुरा पनि । वाल्मीकि आश्रमबारे भारत, चम्पारनका धनराजपुरी र त्यसवेला लुम्बिनी अञ्चलाधीश रहेका श्री ताराप्रसाद उपाध्यायले चमत्कार नै गर्दै भैँसालोटनमा त्यसको स्थापना गर्न सफल भए । दन्त्यकथाजस्तो सुनिने त्यो लामो घटनाबारे पनि यस प्रसंगमा उल्लेख गर्नु रोचक हुनेछ । 


२०१७ पुस १ पछि नेपालमा उर्लिएको राष्ट्रवादले भारतको विठुरमा रहेको वाल्मीकि आश्रमलाई त्यहाँबाट उडाएर ल्याई भैँसालोटनमा स्थापित गर्‍यो । गण्डक योजनामा सम्झौता भइसकेको थियो । नेपालमा विरोध चलिरहेको थियो । त्यो विरोधले भारतमा नयाँ शंका उत्पन्न गर्न थाल्यो । त्यस्तैमा २०१७ साल आयो । लुम्बिनी अञ्चलाधीशमा ताराप्रसाद उपाध्याय गए । नेपाल सीमापारि भारतको चम्पारनका ठूला महन्त जमिन्दार धनराजपुरी दुवै देशको सीमाको दुईतिर पखेटा हाली रात–बिहान उड्ने इच्छामा थिए ।

 

ताराप्रसाद र धनराजको कुरा मिल्यो र वाल्मीकि स्मृति समितिको गठनसमेत भयो । धनराजले भैँसालोटनमा वाल्मीकि आश्रम राखेर एउटा पुस्तक पनि १९६३ को अन्त्यतिर लेखे । वाल्मीकि स्मृति समितिको अध्यक्षमा त्यसवेलाका नेपाली मन्त्री नागेश्वरप्रसाद सिंह तथा उपाध्यक्षमा विहारका मन्त्री महेशप्रसाद सिंह तथा सचिवमा महन्त धनराजपुरी र सदस्यमा ताराप्रसाद उपाध्यायलगायत पुरातत्वविद् वासुदेवशरण अग्रवाल र परमेश्वरीलाल गुप्ता भन्ने पटना म्युजियमका क्युरेक्टरहरू बसे । 


त्यत्रो माथिल्लो स्तरबाट काम भएपछि आफ्नो आश्रममा स्वयम् वाल्मीकि डग्मगाउन थाले होलान् । त्यत्तिकैमा ४ महिनापछि ४ अप्रिल १९६४ मा अर्थात् आफ्नो निधनको ६ सातापहिले श्री जवाहरलाल नेहरू भैँसालोटन आए । श्री इन्दिरा गान्धी पनि साथमा थिइन् । सो अवसरमा श्री ५ महेन्द्रको सवारी पनि भैँसालोटनमा भएको थियो । प्रधानमन्त्री डा. तुलसी गिरी पनि पुगे । 


मौका छोपेर धनराजपुरी महन्तले वाल्मीकिलाई भैँसालोटनमा नेहरूजीसामु उभ्याएर आदिकविको आश्रम भैँसालोटनमै रहेको ठहर हुने गरी नेहरूजीसँग माग गरे । त्यस्तो मागलाई सुनिदिँदा नेपाल–भारत सम्बन्ध सुध्रिने, तर ३३ सय वर्षपछि वाल्मीकिलाई केही नभै गण्डकबाट पानीको ठूलो भाग भारततिर बग्दै जानु झन् सजिलो हुने कुरा नेहरूजीलाई थाहा भयो, तर केही निर्णय गर्नुभन्दा पहिले २७ मे १९६४ मा उनको निधन भयो । 


त्यसको निकै समयपछि श्री इन्दिरा गान्धी प्रधानमन्त्री भएपछि धनराज महन्तले ‘तपाईंको सामुन्ने नै नेहरूज्यूमा सबै विवरण बताइएको’ भनिएपछि आफू साक्षी बस्न नचाही इन्दिरा गान्धीले भारतको पुरातत्व सर्वेक्षणलाई वाल्मीकि आश्रमसम्बन्धी जिम्मा लगाइन् । उक्त वैज्ञानिक संस्थाले एउटा शोधदल भैँसालोटन पठाएर अध्ययन गर्‍यो । त्यस दलमा नेपाललाई श्री जनकलाल शर्माले प्रतिनिधित्व गरे । 


उक्त शोध रिपोर्टले भैँसालोटनमा मध्यकालीन सेन अवधिको बाह्रौँ–तेह्रौँ शताब्दीका केही मूर्तिबाहेक वाल्मीकि आश्रमसम्बन्धी कुनै पनि पुरातात्विक अवशेष वा प्रमाण फेला पारेन । धनराजलाई गाह्रो भयो । तिनले बनारसका डा. वासुदेवशरण अग्रवालबाट फेरि सहायता मागे । तर, ती इमानदार वैज्ञानिकले भैँसालोटनमा वाल्मिकी आश्रमलाई प्रस्ट प्रमाणित गर्ने हस्ताक्षर गर्न मानेनन् । भारतको पुरातत्व सर्वेक्षणले पनि प्रमाणित गर्न चाहेन र महाभारतमा कृष्णले झैँ सुस्तरी ‘नरो वा कुञ्जरो वा’ र बेस्करी ‘अश्वस्थामा हतोहत’ भनेजस्तै गर्दै प्रमाणित नगरे तापनि इन्कारसमेत नगरी मौन बस्यो । त्यसो किनभने मामिला दुई राष्ट्रबीचको सवाल थियो र नेपालमा राष्ट्रवाद उर्लिरहेको थियो । 


दन्त्यकथा यही हो, मैले हालै श्री जनकलाल शर्माबाटै सुनेको । तैपनि त्यो दन्त्यकथा आहाल बसेको भैँसीझैँ भैँसालोटनमा वाल्मीकि आश्रमको रूप लिएर डम्म बसिरहेको छ । उता भारतले भने वाल्मीकि आश्रम भनी विठुरमा जयन्ती मनाउने गर्न थाल्यो भन्ने समाचारहरू छन् । यस परिस्थितिमा ‘सम्भव’को वीरभद्राको तिरको काठमाडौं उपत्यकाको वाल्मीकि आश्रम कहाँनिर घुस्रन पुग्ने ? 


दयारामको लेखमाथि यहाँ मैले केही प्रारम्भिक टिप्पणीहरू मात्र गरेको हुँ । यो मेरो आफ्नो स्वतन्त्र शोधकार्य भन्ने भ्रम नपरोस् । पहिले ठाउँ–ठाउँमा पढेका कुराहरूलाई यहाँ सम्झनामा ताजा पारेको मात्र हुँ । 

 

८ मार्ग २०४२

(नेपाली त्रैमासिक, २०४२, पूर्णांक १०५, पृ. १९–२९)