‘प्रजातन्त्र ल्याउँछौँ ल्याउँछौँ,
वी वान्ट डेमोक्रेसी,
पञ्चायती व्यवस्था मुर्दावाद’
यी हाम्रा नारा थिए । राजाको विरुद्ध देश छाडेको नारा त झनै चर्को थियो । मानव सागरको लगभग अघिल्लो पंक्तिमा मजस्तै सयौँ युवा जोडजोडले नारा घन्काउँदै अगाडि बढिरहेका थिए ।
जोस र आक्रोशको ज्वाला दन्किरहेको थियो । त्यो मानव महासागरमा नारी–पुरुष सारामा एकै भाव थियो कि हामी विजयको नजिक आइपुगेका छाँै ।
त्रि—चन्द्र कलेजको अगाडि पूर्व र उत्तरतर्फ राजा महेन्द्रको सालिक नजिकै पुगिसक्यो जुलुस । सेना, कोही उठेर, कोही सुतेर, कोही सडकको पेटीलाई अडेस बनाएर गोली प्रहार गर्न तम्तयार देखिए । बन्दुक बोकेका सेनाहरूको ठूलो बार पनि सँगै थियो ।
गोजीमा राखेको कागज पढ्न मन लाग्यो, एकपटक । पेन्टको पछाडिको गोजीबाट निकालेर पढेँ ।
नाम ः नन्दु परिश्रमी, नन्दु उप्रेती, नन्दप्रसाद उप्रेती ।
ठेगाना : इलाम न. पा. ३, फूलगाछी
(हाल : कोटेश्वर)
जेठो दाजु : धर्मप्रसाद उप्रेती
गर्वले ढक्क छाती फुलेझैँ लाग्यो । सँगैका दुईजना क्रान्तिकारीहरूका काँधमा चढेर जोडले चिच्याए, ‘एकैछिन हामी यहीँ अडिऔँ, सडकमै बसौँ, अगाडि नबढौँ, सेना गोली हान्न तयार छ ।’
‘गोली खान तयार छौँ,
तयार छौँ ।
प्रजातन्त्र ल्याउँछौँ,
ल्याउँछौँ ।
जुलुसले यसरी दरबारअगाडिको त्यो आकाशलाई गुञ्जायमान तुल्यायो ।
मेरो सोचभन्दा भिन्न देखियो, जुलुसको मनोविज्ञान । म चुपचाप काँधबाट ओर्लिएर लुकेझैँ अलिकति पछाडि सरेँ ।
आफूजस्तै जुलुुसमा आएका मानिसहरूसँग डर लाग्यो । कसैले गलत मान्छे भनेका मात्र पनि भए मेरो शरीर त्यहीँ टुक्रा—टुक्रा हुन सक्थ्यो । घृणाले थुक्न सक्थे मलाई । रिस र आक्रोशले चितोर्थे, कोपर्थे, टोक्थे र धुलोपिठो हुने गरी चुट्थे । खुट्टाहरू तानेर च्यातिदिन्थे सायद ।
सायद छाती फुटाई मुटु निकालेर हु-याइदिन्थे आकाशतिर । रगतका छिटाहरू पथ्र्यो । क्रान्तिकारीहरूका शिरमाथि । यसरी म मर्थें प्रजातन्त्रविरुद्ध ्र मेरो घृणित अन्त्य हुन्थ्यो, यसरी म आत्तिएँ बेजोडले र प्रजातन्त्रको माग गर्दै अरूभन्दा जोडजोडले नारा चिच्याउनु आफ्नो कर्म ठानेँ ।
सरकारी कर्मचारीमा उग्र आक्रोश देखिन्थ्यो । परिचय–पत्रलाई हावामा घुमाउँदै नारा लगाउँथे उनीहरू । प्रजातन्त्रको पक्ष, पञ्चायत र राजाको विपक्षमा गीत गाउँदै नाच्दै पनि थिए उनीहरू ।
सरकारी कर्मचारीमा उग्र आक्रोश देखिन्थ्यो । परिचयपत्रलाई हावामा घुमाउँदै नारा लगाउँथे उनीहरू । प्रजातन्त्रको पक्ष, पञ्चायत र राजाको विपक्षमा गीत गाउँदै नाच्दै पनि थिए उनीहरू ।
ड्याङ... ड्याङ ... गोली चल्यो ।
महेन्द्रको सालिकबाट झ-यो एउटा क्रान्तिकारी । जुत्ताले सालिकको अनुहारमा हान्नै लाग्दा उसलाई गोली लागेको थियो ।
गोलीको वर्षा छोड्दै सेना अगाडि बढिसकेको थियो । पुलिसका कठबाँसका लठ्ठी जनताका टाउको, ढाड, खुट्टा जताततै बर्संदै थिए । गोलीको आवाज आइरहेको थियो । मानिसहरू प्रजातन्त्र जिन्दावाद भन्दै जताततै दौडिरहेका थिए ।
ऐया... मारिस्... जस्ता स्वरहरू सुनिन्थे ।
ठोक्... ठोक्... हान्... मार्दे ...
यस्ता आवाज पनि सँगसँगै सुनिन्थ्यो ।
म पनि दौडिरहेको थिएँ । पुलिसले भेटिहाल्यो र हान्यो दाहिने घुँडा खुस्कने गरी । दुखेर पनि भागेँ । ऐया, भन्दै चिच्यायो छेउमै दौडिरहेको साथी । उसको टाउकोबाट रगतको भल बग्न थाल्यो । उसको पाखुरामा समाएँ । हामी वीर अस्पताल लाग्यौँ । घाइतेहरूलाई बोकेर वीर अस्पतालतिर दौड्दै थिएँ । जोसिला मान्छेहरू इँटाका टुक्रा हानिरहेका थिए, लाठी र गोलीको प्रतिरोधमा । नपत्याउने वातावरण सिर्जना भएको थियो, करिब आधा घन्टाको समय अन्तरालमा ।
आफ्नै छेउमा पड्कियो गोली ड्याङ...।
प्रजातन्त्र जिन्दावाद भन्दै ढल्यो एउटा किशोर । गाउँमा सायद उसकी आमाको छातीमा पीडा भयो होला त्यसबखत । गोली लागेको मानिसलाई उठाउन हामीसँगसँगै दौडिरहेका
थिए मानिसहरू ।
अस्पतालको गेटमा उसलाई पु-याउँदा अरू पनि त्यस्तै घाइतेहरू ल्याइँदै थिए । मनमा लाग्यो, यसवेला तिनीहरूमध्ये एउटा म पनि हुन सक्थँे । भूपी शेरचनको कविता याद आयो–
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए
हामीले गोली लागेको त्यो सुकुमार किशोरलाई डाक्टरहरूका अगाडि लगेर राख्यौँ । २०४६ साल चैत्र २४ गतेको दिन ४ बजेतिर ।
सायद ऊ सहिद भइसकेको थियो ।
(उप्रेती नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हुन् ।)