• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयनराज पाण्डे
२०७७ श्रावण १० शनिबार ०९:१५:००
साहित्य

सलमा सितारा 

‘बाप महतारीलाई बिटियाले जति पिरिम कुनै बेटवाले पनि गर्दैन’

२०७७ श्रावण १० शनिबार ०९:१५:००
नयनराज पाण्डे


।।१।।


लबरु हतारिँदै आए र आँगनको अरगनीमा भर्खरै धोएको गम्छा सुकाइरहेका रामधनसित स्याँस्याँ गर्दै सोधिहाले, ‘अरे, रामधन भैया, यो बताऊ, तिम्रो बिटिया सपनाको उम्र कति भयो ?’


हरेक दिन छोरीको उमेरको हिसाब गरिरहने रामधनलाई यो प्रश्नको उत्तर दिन के गाह्रो हुन्थ्यो ! तुरुन्तै जवाफ दिए, ‘आसौं साउनमा इक्किस पूरा हुन्छे । अब बियाहको ठीक टेम भयो । कौनो अच्छा लरिका कहीँ देखेका छौ भने जरुर बताउनू ।’


लबरुको अनुहार उज्यालो भइहाल्यो । रामधनले बिहेको कुरा चुहाउनेबित्तिकै उनले भनिहाले, ‘म तिमीकहाँ अहिले किन बेकहे बुलाए आएँ भनेर तिम्रो माथा ठन्क्यो होला । खासमखास बात के हो भने, मैले एउटा लरिका देखेर आएको छु । अम्बापुरका शिवदासको बेटा । नाम लछमन हो । तिमीले आँख मुदेर बिटियालाई त्यो घरमा दिए पनि कौनो फरक पर्दैन ।

 

लरिकाका बाप महतारी पनि भलमानस छन् । शिवदास त माछमसली पनि नखाने कण्ठीधारी हुन् । महतारी लीलावतीमा बस्, एकै कसर छ । पारसाल उनको आँखामा गुहेरीको दाना आएको थियो । बजार गएर ठीकसित दबाईउवाइ गरेको भए ठीक भैहाल्थ्यो । तर, गाउँमा कच्चा निम हकिमको चक्करमा फसेर आँखमा अन्टसन्ट दबाई लगाइन् । ओकर बाद उनको आँखको रोशनी पनि बुतिहाल्यो । पहिला दायाँ आँखको बत्ती गुल भयो, बादमा बायाँमा पनि बादल लागिहाल्यो ।

ढुक्क भए रामधन । बाहिरबाटै बिटियालाई जिस्काए, ‘एई सपना, बिदाइको वेलामा पनि यसरी नै खुस भइरहनू । म तँ रोएको देख्न सक्दिनँ । तेरो आँसु त मेरा लागि तेजाब हो । त्यसले त मेरो हियामा आग लगाउँछ ।’

 

आजकल दिनभर ओसारामा सुत कातेर बसिरहन्छिन् । तर, सुत भने बहुत अच्छा कात्छिन् । बजारमा उनले कातेको सुतको बहुत डिमान्ड छ । बडा बेटा कमासुत छ । मुन्सिपाल्टीमा मेहतरको परमानेन्ट नुकरी गर्छ । उसको पार साल सोनारी गाउँको रामनरेशकी बिटियासित बिहाव भइसक्यो । छोटकुको पनि उडरापुरमा बिहाव फिक्स भइसकेको छ । बस्, मझला लरिकाको बात सल्टियो भने आगे साल उसको पनि बिहाव गरिदिन्छन् । मैले मझला बेटाको लागि तिम्रो बिटियाको बात चलाएर आएको छु । त्यो घरमा तिम्रो बिटियाले सौ फिसदी शान्ति पाउँछे । ना–नुकुर केही नगरेर, आँख मुदेर बिटिया बिदा गरिदिए फरक पर्दैन ।’


लबरुले निकै आत्मविश्वाससाथ यति बेलिविस्तार लगाएपछि रामधन गम्भीर भए । ‘अच्छा तो रामधन भैया, मैले आफ्नो डिप्टी निभाएँ । अब तिम्रो मर्जी । घरमा भौजीसित सलाह मसबिरा गरेर नरसों बिहानसम्म मलाई जवाफ दिनू । त्यो दिन दोपहरीमा मेरो अम्बापुर जाने काम पनि छ । लगे हात सपनाको बियाहको कुरा पनि फैनल गरेर आउँछु ।’ यति भनेर लबरुले गम्छाले निधारको पसिना पुछे । रामराम भने र गइहाले ।


०००


रामधनले जस्तो छोरीलाई माया गर्ने गाउँमा अरू को थियो र ! गाउँमा अरूहरूले छोरीहरूलाई पराइ धन ठान्ने गरे पनि उनले त्यस्तो कहिल्यै पनि ठानेनन् । गाउँमा उनले कसैकी छोरीलाई पनि सम्मानसहित हुर्किएको देखेकै थिएनन् । छोरी जन्मिँदा गाउँमा कोही पनि हाँसेको थाहा छैन उनलाई । दाइजोको पिरले छोरी जन्मनासाथ सबैको हियामा पीडा हुन थालिहाल्थ्यो । यस्तोमा छोराछोरीमा भेद गर्नु हुँदैन भनेर खै कसरी रामधनको दिमागमा स्थापित भएको थियो कुन्नि ! 


मिहिरा शारीरिक रूपले निकै कमजोर पनि थिइन् । उनलाई मुटु दुख्ने रोग थियो । दिन बिराएर झारफुक गरिरहनु पथ्र्यो । कागतीमा ल्वाङ गाडेर सात चोटी शिरमा उल्टो घुमाउनु पथ्र्यो । त्यसैले रामधनले सन्तान थप्ने रहरै गरेनन् । गाउँघरमा भने यो कुरा पनि चर्चाको विषय भएको थियो । 


‘सायद रामधनको हतियारमै दम छैन । पहिलो बच्चा पनि बिटिया भयो । ओकरबाद अरू बच्चा हुँदै भएन ।’ गाउँमा अझै पनि वेलाबखत यस्तो चर्चा हुनेगर्छ । धेरैले चाहिँ सारा दोष रामधनकी जनानी मिहिरामाथि नै थोपर्छन् ।


‘रामधन त ठीकठाक देखिन्छ । बरु भौजीमै खोट हुनुपर्छ । बेटा पैदा गर्न नसक्ने जनानी त बझिनिया बराबर हो । विनाबेटाको गिरहस्थी कसरी चल्छ ? बुढौतीमा बहुतै दुःख पाउँछ रामधनले । जस्तो भए पनि एक अदद कमासुत बेटवा त जरुर चाहिन्छ । मिरतुपछि लहासमा माटी दिने पनि त कोही चाहियो । विनाबेटा त रामको भजन गाउन पनि मजा हुन्न ।’


तर यी यावत् कुराहरू रामधनले सुनेको नसुन्यै गरिदिए । मिहिरालाई पनि सम्झाए, ‘अब सन्तानको इच्छा नगर् । बिटियालाई नै माया गरेर लालनपालन गर्नु पर्छ । एउटै सन्तान भयो भने बिटियालाई राम्रो इस्कुलमा पढाउन पनि सक्छौँ । बाप महतारीलाई बिटियाले जति पिरिम कुनै बेटवाले पनि गर्दैन ।’


यसरी उनीहरूले छोरीलाई मुटुकै टुक्राजसरी हुर्काउने भए । नाम पनि सपना राखे र आफ्ना सबै सपनाहरू छोरीको आँखामा थपक्क राखिदिए । सायद त्यसैले चहकिला थिए सपनाका आँखाहरू ।

 

।।२।।


कृष्णविक्रम अनेक–अनेक सपना देख्छन् । एकसेएक डरलाग्दा सपनाहरू । वर्षौंअघि सुरु भएको डरलाग्दो सपनाको यस्तो शृङ्खला आजपर्यन्त जारी छ । मानौँ सपनाले साँप भएर उनको निरन्तर पिछा गरिरहेछ र उनलाई डसेरै छाड्ने निश्चय गरेको छ ।


भयावह सपनाहरूबाट पिछा छुटाउनकै लागि उनी मधेस छाडेर काठमाडांै आए । उताको घरखेत बेचेर यतै जमे । तर, सपनामा उनले बनाएको नयाँ घर पनि डरलाग्दो सुरुङमा परिणत हुन्थ्यो । अँध्यारो र आतङ्कित पार्ने सन्नाटाले भरिएको सुरुङ । अचानक सुरुङभित्रको सन्नाटालाई चरक्क चिर्दै कुनै अबोध बालिकाको चिच्याहट सुनिन्थ्यो । त्यो आवाजको आतङ्क उनको मस्तिष्कमा गाडिएको वर्षौं भयो । उनको मस्तिष्कमा बसेर चिच्याइरहेको त्यो बालस्वर उनको सपनाबाट कहिल्यै गायब हुन सकेन । त्यो आतङ्क अनेक अमूर्त आवाज र अनेक डरलाग्दा आख्यानका रूपमा उनका सपनामा प्रकट भइ नै रह्यो ।


अस्ति सपनामै उनले अँध्यारो सुरुङमा बलियो शरीर र कठोर हेराइ भएको एउटा युवकलाई देखे । ऊ पूरै नग्न थियो । उसको लिङ्ग उत्तेजित अवस्थामा थियो र ऊ नग्न अवस्थामै नृत्य गरिरहेको थियो । पाश्र्वबाट डमरु बजिरहेको थियो र डमरुकै तालमा मन्त्रोच्चारण पनि भइरहेको थियो ।

 

जटा टवी गलज्जल प्रवाहपावितस्थले
गलेवलम्ब्य लम्बिताम् भुजङ्गतुङ्ग मालिकाम् ।
डमड्डमड्डमड्डमड्न्निनाद वड्डमर्वयम्
चकार चण्ड ताण्डवम् तनोतु नः शिवः शिवम् ।।

 

ताण्डव नृत्य गरिरहेको त्यो सर्वाङ्ग नग्न युवकका अगाडि टुसुक्क बसेकी थिई एउटी छ–सात वर्षकी अबोध बालिका । उसले नृत्य हेर्न सकिरहेकी थिइन । ऊ डराएकी थिई र उसका आँखाबाट आँसु बगिरहेका थिए । उसका ओठहरू बोल्नै नसकेर काँपिरहेका थिए । ऊ हात जोडेर याचनामय मुद्रामा बसेकी थिई । उसलाई थाहा थिएन, उसको अगाडि यसरी ताण्डव देखाउने भगवान् शिव हुन् या दैत्यराज रावण । ऊ रुँदै निरन्तर याचना गरिरहेकी थिई, ‘मलाई डरलाग्यो । म घर जान्छु ।’

कृष्णविक्रम नदीबाट बाहिर आउन खोज्छन् । तर, जताततै आँसु नै आँसु । उनी आँसुको नदीबाट बाहिर निस्कनै सक्दैनन् । उनी आत्तिँदै यता र उता तैरिइरहन्छन् । तैरिँदातैरिँदै उनको हातमा अल्झिन्छ, सलमा सिताराले भरेको रातो कपडा ।

 

बालिकाको आँखाबाट बगिरहेको आँसु बिस्तारै नदी बनेको थियो । सपनामै कृष्णविक्रम त्यो नदीको बीचमा उभिएका थिए । उनको पाउमा आँसुले भतभत पोलिरहेको थियो । उनलाई आँसु हैन, आगोको नदीमा उभिएको आभास भइरहेको थियो । उनले आगोको पीडा सहन सकेनन् र हठात् आत्तिँदै सपनाबाट ब्युँझिए ।


छेउमै सुतिरहेकी उनकी श्रीमती सरला पनि ब्युँझिइन् । उनलाई श्रीमान्ले फेरि कुनै डरलाग्दो सपना देखे भन्ने थाहा भइहाल्यो । उनी हरेक दिन यसरी नै त अत्ताल्लिँदै ब्युँझिन्छन् । बिहे गरेर आएदेखि नै उनी सपनाको यस्तो आतङ्क व्यहोर्दै आइरहेकी छिन् । अब भने उनी अभ्यस्त पनि भइसकेकी छिन् । सरलालाई भने यतिका वर्षमा कुन सपना देख्दा कृष्णविक्रमको शरीर कसरी काँप्छ, उनको घाँटीबाट कस्तो खालको आवाज निस्कन्छ र उनी कसरी ब्युँझिन्छन् भन्ने थाहा भइसकेको छ । 


उनले सरल किसिमले सोधिन्, ‘आज पनि ताण्डव नृत्य देख्नुभयो ?’ कृष्णविक्रमलाई सरलाको प्रश्न पनि व्यङ्ग्यजस्तो लाग्यो । उनले केही जवाफ दिएनन् । 


सुरुसुरुमा कृष्णविक्रमलाई आफ्नै सपनाले यसरी वर्षौंसम्म अत्याइरहला भन्ने थाहा थिएन । उनलाई लाग्थ्यो, केही अन्तरालपछि उनी यस्ता सपनाबाट मुक्त भइहाल्नेछन् र फेरि मीठा सपनाहरूको आनन्दमा उनको निद्रा गाढा हुनेछ । तर, त्यो दिन भने आजसम्म पनि आएको छैन । स्वप्न आतङ्कको समय–सीमा निरन्तर बढ्दै छ । अब त उनलाई लाग्न थालेको छ, यस्तो सपनाले उनलाई जीवनपर्यन्त छाड्नेछैन ।


बिहानपख उनी हल्का झकाउन मात्र के लागेका थिए, आफ्नो निधारमा पानीका थोपाहरूको स्पर्शले ब्युँझिहाले । भर्खर नुहाएर आएकी सरला पलङनिर उभिएकी थिइन् । उनको अनुहार खुसीले धपक्क बलेको थियो । उनलाई आभास भइहाल्यो, आज सरला कुनै नयाँ र सुखद कुरा सुनाउने तरखरमा छिन् । 


‘के पार्टी अध्यक्षले म मन्त्री बन्दै छु भनेर फोन गरे ?’ कृष्णविक्रमले अल्छी आवाजमा सोधे । मन्त्री त उनी पहिला पनि भइरहेकै हुन् । यो उनका लागि कुनै नयाँ कुरा पनि होइन । तर, यसपटक उनले चाहेको मन्त्रालय नपाउँदासम्म मन्त्री नबन्ने धारणा पार्टी अध्यक्षसमक्ष व्यक्त गरिसकेका छन् । उनलाई थाहा छ, ढिलोचाँडो त्यो मौका अवश्य आउँछ । राजनीतिको यो खेलमा कुन गोटीले कतिवेला र कसरी काम गर्छ भन्ने उनलाई राम्ररी थाहा छ । अस्ति भारतीय राजदूतले पनि एउटा पार्टीमा उनलाई हाँस्दै भनेका थिए, ‘मिस्टर कृष्णविक्रम, तपाईं तगडा खेलाडी हुनुहुन्छ । राजनीतिमा तपाईंको भविष्य उज्ज्वल छ ।’


‘मन्त्री बन्ने त ठेगान छैन । तर, अब चाँडै तपाईं बाउ भने बन्दै हुनुहुन्छ ।’ सरलाको जवाफले जिल्ल परे कृष्णविक्रम । यो त उनले वर्षौंदेखि सुन्न चाहेको कुरा थियो । बाबु बन्नका लागि उनले के–के उपाय गरेनन् ! आफ्नो र सरलाका अनेक उपचार गरे । धेरैपल्ट धामीझाँक्री लगाएर झारफुक पनि गराए । सन्तानेश्वर महादेवमा पूजापाठ पनि लगाए । अब भने बिहे गरेको पन्ध्र वर्षपछि बल्ल उनी बाबु बन्न लागेका थिए । मन्त्री त यसअघि नै बनिसकेका थिए । अब भने उनलाई आफू यो पृथ्वीकै चक्रवर्ती सम्राट् बनेको आभास भइरहेको थियो । शिरमा सूर्य धारण गरेर सातवटा घोडाहरूको रथमा अन्तरीक्षभरि हर्षपूर्वक विचरण गरिरहेको पनि आभास भइरहेको थियो । उनले तत्काल सपनाको आतङ्क बिर्सिहाले । सरलालाई भावावेशमा जोडले आफ्नो छातीमा टाँसे र गालामा गाढा चुम्बन गर्दै भने, ‘धन्यवाद सरला, अब मेरा जीवनका बाँकी सपनाहरू मेरो छोरोले पूरा गर्नेछ ।’ 


सरलाको अनुहारको रौनक अलिकति कम भयो । उनी श्रीमान्को छातीबाट हटिन् र सोधिन्, ‘के छोरीले तपाईंका सपनाहरू पूरा गर्दिनन् ?’


कृष्णविक्रमले प्रश्नको जवाफ दिएनन् । वास्तवमा उनले सरलाको प्रश्न नै सुनेका थिएनन् । त्यसैले सरलाको प्रश्न, एउटा अग्लो प्रश्नचिह्न भएर उनकै मनभित्र बस्यो र बसिरह्यो । बिस्तारै प्रश्नचिह्न ठूलो हुँदै गयो र सरलाको व्यक्तित्व क्रमशः होचो र मसिनो हुँदै गयो ।

 

।।३।।

 

‘अब हाम्री छोरी सपनाले हामीलाई छाडेर जाने भई’ शिवदासको माहिलो छोरासित सपनाको बिहेबारी पक्कापक्की गरेर आएको दिनदेखि यही कुरा रामधनले मन्त्रजस्तै पटक–पटक मिहिराका सामु दोह-याइरहन्थे । मिहिरा पनि सपनाको अनुपस्थितिको कल्पना गर्दै उदास हुन थालेकी थिइन् । यति हुँदा पनि उनीहरूले ‘छोरो भइदिएको भए हामी यसरी एक्लाएक्लै हुने थिएनौँ’ भन्ने कुरा सोचेनन् । 


‘अम्बापुर कति टाढा हो र ! एक घण्टामा आउन सकिन्छ । बियाह गरेर गए पनि म वेलाबखत बिहान आफैँ त्यहाँ गएर सपनालाई यहाँ लिएर आउँछु । दिनभरि यहीँ राखेर साँझको टेममा फेरि अम्बापुरमै पु-याइदिन्छु । दुई–अढाई कोसको दूरी पनि कौनो दूरी हो ?’


रामधनले यति भनेपछि मिहिराको पनि चित्त शान्त भयो । बिहान रामधनले सुटुक्क मिहिरासित सोधे, ‘हामीले बिटियाको बियाह त तय गरिदियौँ । तर ऊ खुस छ कि छैन ? कोही अरू नै लरिकासित उसको पिरिमउरिम छ कि ? सोध् ऊसित । बियाह भन्ने कुरा सन्तानको मर्जीअनुसार गर्नु पर्छ । नत्र जीवनभर पछतावा रहन्छ । न लछुमनले सुख पाउँछ, न सपनाले ।’


‘चिन्ता नलेऊ, सपना खुस छ’, मिहिराले रामधनलाई ढुक्क पार्ने प्रयास गरिन् । ‘सपना खुस छ भनेर तँलाई कसरी पता लाग्यो ? तँ कौनो अन्तरजामी थोडै होस् ?’ रामधनले संशय प्रकट गरे ।


‘अरे, सपना ककडीको बेल थोडै हो ? ऊ त मेरो गोदीमा खेली–खेली बडवार भएकी चँदरमा हो । उसको उनहारको रौनक देखेरै ऊ खुस छ कि छैन भनेर मलाई पता चलिहाल्छ । मेरो विसुवास छैन भने, झ्यालबाट झाँकेर हेर । सपना कोठामा कसरी मुस्कुराएर बसिरहेकी छ । दुःखी भएर कोही त्यसरी मुस्कुराउन सक्छ ?’


अझै पनि मिहिराको कुरामा संशय नै थियो उनलाई । उनी झ्यालनेर गए । भित्र हेरे । नभन्दै डेहरीनिरको भित्तामा अडेस लागेर उनकी प्राणप्यारी बिटिया मुस्कुराइरहेकी थिई । उसको मुस्कानले कोठा नै जगमगाइरहेको थियो । ढुक्क भए रामधन । बाहिरबाटै बिटियालाई जिस्काए, ‘एई सपना, बिदाइको वेलामा पनि यसरी नै खुस भइरहनू । म तँ रोएको देख्न सक्दिनँ । तेरो आँसु त मेरो लागि तेजाब हो । त्यसले त मेरो हियामा आग लगाउँछ ।’ 


सपनाले केही जवाफ दिइनन् । बस्, एकनासले मुस्कुराइरहिन् । ‘बियाहको दिन अब बहुत टाढा छैन । भोलि घरको दिवालमा चित्र बनाउनु पर्छ ।’, मिहिराले यति भनेपछि रामधन घरबाट हिँडिहाले । साँझसम्म उनले चित्र बनाउन गेरु, गाईको गोबर, हल्दी र अरू रङहरू पनि ल्याइसकेका थिए । 


भोलिपल्ट बिहानै मिहिराले घरभित्रको पूर्वी भित्तामा गेरुले चौकोर आकार बनाइन् र त्यसभित्र विभिन्न रङहरूले कमलको पात, बाँस र केराको रूख, माछा, नागनागिन, चन्द्रसूर्य र हात्तीघोडाका चित्रहरू पनि बनाइन् । ती सबै चित्र अखण्ड सौभाग्यका प्रतीक थिए । चौकोर चित्रको ठीक बीच भागमा छोरीले सात जन्मसम्मै असल वर पाओस् भन्ने कामनाका साथ मिहिराले गोबरका सातवटा ससाना थुम्का पनि बनाइन् । 


चित्र साह्रै सुन्दर थियो । रामधन त हेरेका हे-यै भए । उनलाई आफ्नो छाप्रो पनि विशाल महलजस्तै लाग्यो । उनले मख्ख पर्दै छोरीतिर हेरे । सपना उसैगरी भित्तामा अडेर लागेर मुस्कुराइरहेकी थिइन् । उनको अनुहार झनै उज्यालो देखे रामधनले । सोचे, छोरीको उज्यालो मुहार देख्न पाउनुभन्दा ठूलो कुरा आमाबाबुका लागि केही नहुने रहेछ । उनले सपनासित भने, ‘बिटिया, तँ हामी गरिबको घरमा आएकी साक्षात् देवी होस् ।’


सपना केही बोलिनन् । उसैगरी मुस्काइरहिन् । रामधन र मिहिराले सपनाको मुस्कानसँगै कोठाको आकाशभरि सलमा सिताराहरू झलमल्ल टल्किरहेको देखे । 

 

।।४।।


सुरुङमाथिको चट्टानहरूको एउटा मसिनो कापबाट छिरेको एक धर्सो उज्यालोमा देखिन्छ– अँध्यारो सुरुङभित्र बालिका मुस्कुराइरहेकी छिन् । बिस्तारै उनको मुस्कान हाँसोमा परिणत हुन्छ । हाँसो अट्टहास भएर सुरुङभित्र गुञ्जिन थाल्छ । बलियो र कठोर हेराइ भएको सर्वाङ्ग नग्न युवकले उनको हाँसो सहन सक्दैन । ऊ चिच्याउँछ, ‘स्त्रीहरू पुरुषको भोगका लागि बनेका वस्तु हुन् । ती हाँस्नका लागि बनेकै होइनन् । त्यसैले ए बालिका, तँलाई पनि हाँस्न वर्जित छ ।’ तर, बालिकाले युवकको भाषा बुझ्दिनन् । उनी हाँसि नै रहन्छिन् ।


नग्न युवकले क्रुद्ध भएर बालिकाको मुख थुनिदिन्छ । मुस्कान, हाँसो, अट्टहास सबै युवकको बलिष्ठ हत्केलाभित्र गिरफ्तार हुन्छन् । उनी बोल्न खोज्छिन्, सक्दिनन् । उनी प्रतिकार गर्न खोज्छिन्, सक्दिनन् । बालिका निसास्सिन्छिन् । उनको पीडा आँसुमा अनुवाद भएर सुरुङभित्र बग्न थाल्छ ।


आँसु फेरि नदी बन्छ । कृष्णविक्रमका पाउहरू उसैगरी नदीमा डुब्छन् । आँसुको नदीमा आगो लाग्छ र कृष्णविक्रमको आत्मा आँसुको रापमा डढ्न थाल्छ ।


आत्मा डढेको अजिब गन्ध सुरुङभित्र व्याप्त हुन्छ । गन्धले अत्याउँछ कृष्णविक्रमलाई । अत्यासकै स्थितिमा उनले देख्छन्, बालिकाको मुख थुन्ने युवक क्रुद्ध भावमा उनैतिर हेरिरहेछ । 


कृष्णविक्रम आत्तिँदै ब्युँझिन्छन् । ब्युँझिएको धेरैबेरसम्म पनि उनी सपनासित डराइरहन्छन् । उनलाई लागिरहन्छ, त्यो कठोर युवक यही कोठाभित्रै कतै छ । उनले बत्ती बाल्छन्, कोठा वरिपरि हेर्छन् । युवक कतै छैन । छेउमा सरला निदाइरहेकी छिन् । 


अचानक उनको ध्यान कोठाको पूर्वी भित्तामा बनेको चित्रमा जान्छ । उनी चकित हुन्छन् । राति सुत्ने वेलासम्म उनले कोठामा त्यो चित्र देखेकै थिएनन् । के राति उनी सुतिरहेकै वेलामा सरलाले बनाएकी हुन् यो चित्र ?


उनले ध्यानपूर्वक चित्र हेर्छन् । गेरुले बनाइएको चौकोर कोठाभित्र कमलको पात, बाँस र केराको रूख, माछा, नाग, चन्द्रसूर्य र हात्तीघोडाका चित्रहरू बनेका छन् । चौकोर चित्रको ठीक बीच भागमा गोबरका सातवटा ससाना थुम्का पनि छन् ।


उनले सरलालाई झकझकाएर ब्युँझाउँछन् र सोध्छन्, ‘भित्तामा यो चित्र किन बनाएको तिमीले ? कति नराम्रो देखियो कोठा ।’ सरला अवाक् भएर कहिले रित्तो भित्तातिर र कहिले कृष्णविक्रमको त्रस्त अनुहारतिर हेर्न थाल्छिन् ।

 

।।५।।

 

वैशाख पूर्णिमाको दिन थियो । अघिल्लो दिन रातिसम्मै झमझम पानी परेको थियो । तर, बिहानदेखि भने घाम लागेको थियो । मिहिरा र सपना भर्खर पीपलको पूजा गरेर फर्केका थिए । आँगनमा पुग्नासाथ सपना खटियामा बसेर चिलिम तानिरहेको रामधनको काखमा बस्न आइन् र पीपलको पूजापछि दशवटा गाँठो पारेर मिहिराले उनको गलामा लगाइदिएको काँचो सूतको माला दङ्ग पर्दै देखाइन् । अचानक उनले केही सम्झिन् र काखबाट फुत्त ओर्लिएर घरभित्र पसिन् । एकैछिनमा उनले हातमा सलमा सिताराले भरिएको कपडाको सानो टुक्रा ल्याएर रामधनलाई देखाउँदै लाडे पल्टेर भनिन्, ‘म पनि बियाह गर्छु ।’

राति रामधन र मिहिरा निदाएनन् । छोरी बिदा गरेको रात कसरी निद्रा लागोस् ! उनीहरूले रातभरि आकाशतिर हेरिरहे । राति सुँक्कसुँक्क रोइरहेकी मिहिरालाई रामधनले सम्झाए, ‘किन रुन्छेस् मिहिरा ! हाम्रो समाजको संस्कार पनि यही हो ।’

 

अस्ति मात्रै कल्याणी दिदीको घरबाट सपनाले गुडियाको लेहँगा बनाउन त्यो कपडा ल्याएकी थिइन् । ‘बियाहमा कल्यानी दिदीले यही कपडाको लेहँगा लगाएकी थिइन् । म पनि आफ्नो बियाहमा यस्तै सलमा सितारा भरेको लाललाल लेहँगा लगाउँछु । अनि जरीवाला चोली पनि लगाउँछु ।’


६ वर्षे अबोध छोरीको कुरा सुनेर हाँसेका थिए रामधन र मिहिरा । केही दिनअघि छिमेकी कल्याणीको बिहेको रमझम देखेदेखि नै सपनाले यस्तो हठ गर्न थालेकी थिइन् । रामधनहरूलाई थाहा थियो, यो बालहठ हो र यसलाई फकाइफुल्याइ गरेरै शान्त पार्नु पर्छ ।


‘कोसित बियाह गर्छेस् सपना ?’ रामधनले जिस्काए । ‘राजकुमारसित गर्छु । बडाबडा आँखा भएको । मुछ पनि भएको । घोडामा चढेर गाउँमा आउँछ । म उसैसित बियाह गर्छु ।’ मिहिराले जिस्काइन्, ‘बियाह गरेपछि त तैंले हामीलाई छाडेर पिहर जानुपर्छ । तँलाई हामीहरूको याद आउन्न ?’


बस्, यसपछि भने सपना निकैबेर घोरिएकी थिइन् । उनलाई बाबुआमाको काखभन्दा प्रिय कुरा केही थिएन । धेरैबेर सोचेपछि भनिन्, ‘बियाह गरेर गए पनि म सुब्भेसुब्भे यहीँ नैहरमा आइहाल्छु । अनि दिनभर यहीँ बसेर फेरि पिहर जान्छु ।’


मिहिराले भर्खर मात्र नयाँ कुचोको पूजा सकेर घरको बाहिरी भित्तामा बेसारको छापा लगाउँदै थिइन् । त्यतिवेलै सपनाका गुइयाँहरू आएका थिए र उनी आफ्नो बिहेको कुरा बिर्सिएर साथीहरूसितै खेल्न गएकी थिइन् । सलमा सिताराले भरिएको एक टुक्रो कपडा उनकै हातमा थियो ।


सपना साँझ अबेरसम्म पनि घर नफर्किएपछि रामधन छोरीलाई खोज्न उसका साथीहरूका घरघरमा गए । तर, सलमा कसैका घरमा पनि थिइनन् । बिहानदेखि रोकिएको पानी फेरि झमझम दर्किन थालेको थियो । बादल पनि जोडजोडले गर्जिरहेको थियो । अलिक परको जङ्गलमा लगातार चट्याङ परिरहेको जस्तो देखिन्थ्योे ।


रामधनलाई यो मौसमले कुनै अनिष्टको सङ्केत गरिरहेको जस्तो लाग्न थालेको थियो । मानौँ अब यसरी नै उनीहरूको जीवनमा पनि विपत्तिको कालो बादल फाटेर चट्याङ पर्नेवाला थियो । 


अँध्यारो बढेसँगै रामधनको मन आत्तिन थालेको थियो । गाउँभरिका बेसर्मा र बयरका झाडीहरूमा उनले सपनालाई खोजे । रामधनको घर आउने बाटोमा एउटा सानो कुलो थियो । कुलोमाथि काठको सानो पुलिया थियो । हिजोदेखि रुकीरुकी भइरहेको वर्षाले गर्दा कुलो गडगडाएर बगिरहेको थियो । घर फर्किने वेलामा त्यही पुलियाबाट चिप्लिएर सपना कुलोमा पो खसिन् कि भन्ने शङ्का पनि लाग्यो रामधनलाई । उनले कुलोमै पसेर पनि निकै खोजे ।


त्यही वेला बरसाती ओढेर आएका जगतलालले कुलोमा पसेका रामधनसित भने, ‘मैले साँझतिर बाबुसाहेबले सपनालाई चकलेट दिएको देखेको थिएँ । त्यसपछि उनले सपना बिटियालाई साइकलमा बसाएर आफ्नो कोठीतिर लगेका थिए ।’


रामधनको छिनिनै आँटेको सास फिर्ता आएजस्तो भयो । कोठीमै गएको भए त छोरी पक्कै सुरक्षित छ भनेर ढुक्क पनि भए । उनी गाउँदेखि अलिक पर एकलासमा बनेको विशाल कोठीतिर लागे । कोठीमा पुगेपछि उनी एकछिन बाहिरै रोकिए । उनलाई ठूलाबडाको घरमा विनाअनुमति पस्नुहुँदैन भन्ने थाहा थियो । त्यसैले फाटक खोलेर भित्र पस्ने आँट आएन । उनले बाहिरैबाट छोरीलाई बोलाए, ‘मेरी प्यारी बिटिया ! जुरतै आऊ ! म तिमीलाई घर लैजान आएको छु ।’


तर धेरै बेरसम्म बोलाउँदा पनि भित्रबाट कुनै प्रत्युत्तर आएन । उनको मनमा चिसो पस्यो । उनले बिस्तारै कोठीको फाटक धकेले । फाटक खुल्यो । उनी यसो भित्र पसेका मात्र के थिए, सलमा सिताराले भरिएको एक टुक्रा कपडा जमिनमा देखे । हावाले गर्दा त्यो कपडा कहिले यता, कहिले उता बत्तिइरहेको थियो । उनको खुट्टा ठामको ठाम रोकियो । उनको हंसले ठाउँ छाड्यो । उनले अगाडि बढ्ने हिम्मतै गरेनन् । 

 

।।६।।

 

फेरि उस्तै आतङ्कित पार्ने सपना र फेरि उस्तै अत्यासलाग्दो सुरुङ ।
के यो सपना नदेख्ने कुनै उपाय हुँदैन ?
अनेक विज्ञ र चिकित्सकसित परामर्श गरे कृष्णविक्रमले । कुनै उपाय र उपचार फेला पारेनन् । कृष्णविक्रम रातसित डराउन थाले । उनलाई निदाउनै नपरे हुन्थ्यो भन्ने लाग्न थाल्यो । तर, त्यसो हुन सकेन । निद्रालाई भगाउँदा–भगाउँदै पनि उनी निदाइहाल्थे र डरलाग्दो सपनाको शृङ्खला सुुरु भइहाल्थ्यो ।

 

अँध्यारो सुरुङमा पनि झमझम पानी परिरहेको थियो र पानीमा निथु्रक्क भिजिरहेको थियो एक नग्न युवक । त्यही युवक, जुन हरेक दिन उन्मत्त भएर उनको सपनामा आउँछ र तर्साउन थाल्छ, एउटी अबोध बालिकालाई ।


सुरुङबाहिर बादल गर्जिरहेको थियो । चट्याङ परिरहेको थियो र त्यसको उज्यालो वेला–वेलामा सुरुङभित्र पनि पसिरहेको थियो । त्यही उज्यालोमा देखिन्थ्यो सलमा सिताराले भरिभराउ लेहँगामा सजिएकी बालिका । उनी सम्भवतः आफ्नो राजकुमारलाई पर्खिरहेकी थिइन् । उनलाई विश्वास थियो, झमझम परिरहेको पानी थामिनासाथ उनको राजकुमार सातवटा घोडाको रथमा सवार भएर आउनेछन् र उनलाई उन्मत्त युवकको आतङ्कबाट मुक्त गराएर लैजानेछन् ।


तर, पानी रोकिएको छैन । चट्याङ थामिएको छैन र राजकुमारको आगमनमा विलम्ब भइरहेको छ । त्यसैले बालिकाको मनमा अत्यास बढ्दै गइरहेको छ ।


युवक उन्मत्त भैरवझैँ उनको नजिक–नजिक आउँदै छ । बालिका डराउँछिन् । उनलाई नग्न युवक देखेर घिन लाग्छ । दिगमिग हुन्छ । ठीक त्यही वेला उन्मत्त युवक उनको कलिलो शरीरभित्र प्रवेश गर्छ र उनको आत्माभित्र अश्लील किसिमले ताण्डव गर्न थाल्छ । 


बाहिरबाट बालिकाको पिताको आवाज आइरहेछ ।
‘सपना ! मेरी प्यारी बिटिया ! जुरतै आऊ ! म तिमीलाई घर लैजान आएको छु । तिम्री अम्मा पनि परेसान भइसकेकी छिन् । उनी तिमीलाई सम्झी–सम्झी रोइरहेकी छिन् । म आसौं तिमीले भनेकै जस्तो राजकुमारसित तिम्रो बिहाव गराइदिन्छु । तिमीलाई कल्याणी दिदीले लगाएजस्तै सलमा सिताराको लेहँगा पनि सिलाइदिन्छु । जरीवाला चोली पनि बनाइदिन्छु ।’


बालिका आफ्नो उद्धारका लागि पितालाई सुरुङभित्र बोलाउन चाहन्छिन् । तर, युवकले उसको घाँटी अँठ्याइदिन्छ । उनको आवाज घाँटीबाट बाहिर आउन पाउँदैन । उनी विनाआवाज रुन थाल्छिन् । उनको आँखाबाट आँसु बगिरहन्छ । 


फेरि त्यो आँसुको नदी बन्छ । कृष्णविक्रम फेरि त्यही नदीको माझमा उभिन पुग्छन् । नदीको आँसु भकभक उम्लिन थाल्छ । कृष्णविक्रमलाई आगोले पोलेको आभास हुन्छ । उनी नदीबाट बाहिर आउन खोज्छन् । तर, जताततै आँसु नै आँसु । उनी आँसुको नदीबाट बाहिर निस्कनै सक्दैनन् । उनी आत्तिँदै यता र उता तैरिइरहन्छन् । तैरिँदातैरिँदै उनको हातमा अल्झिन्छ, सलमा सिताराले भरेको रातो कपडा ।


कपडाबाट तपतप चुहिन थाल्छ, आलो रगत ।
कृष्णविक्रम रगतको आहलमा निसास्सिन्छन् र कहालिएर सपनाबाट ब्युँझिन्छन् । 
सरला छेउमै निदाइरहेकी छिन् । उनले सरलाको पुुटुक्क उक्सिएको पेटतिर हेर्छन् । पेटभित्र सायद उनको छोरो चलमलाइरहेको छ । तर, उनलाई लाग्छ, सरलाको पेटभित्र हुर्किरहेको शिशु उनको होइन । उनको सपनामा बारम्बार देखिने त्यही नग्न र क्रूर युवकको हो । 

 

।।७।।

सपनाको रक्तरञ्जित देहलाई आफ्नै हातले बोकेको पन्ध्र वर्ष पूरा भइसकेको छ । तर, आज पनि रामधनलाई सपनाको लास आफ्नै हातमा छ जस्तो लागिरहन्छ । मुस्किलले अठार–बीस किलोकी थिइन् । तर, उनलाई सय किलोको भारी बोकेको आभास भएको थियो । सायद सपनाको देहमा उनकै अबोध सपना र रहरहरूको भारी पनि थपिएको थियो । सपनाको देहलाई त उनले माटोमा गाडेका थिए । तर, बिटियाको आँखामा हरदम तैरिरहने अनेक–अनेक सपना र रहरहरूको भारीले आजपर्यन्त उनको मुटुलाई गरुङ्गो बनाएको छ ।


छोरी नरहे पनि उनका सपनाहरू शेष थिए । ती शेष सपनाहरूका कारण रामधनलाई उनकी छोरी अझै आफ्नै घरभित्र छिन् भन्ने आभास भइ नै रह्यो । मिहिरालाई पनि सधैँ त्यही आभास भइरहन्थ्यो ।


उनीहरूले सपनाको अकाल मृत्यु भइसक्यो भन्ने मान्दै मानेनन् । मिहिरालाई जहाँ जाँदा पनि छोरी पनि पछिपछि आएकी छिन् भन्ने आभास भइरहन्थ्यो । उनले हरेक पीपल पूर्णिमाको दिन दशवटा गाँठो बाँधेको काँचो सूतको माला छोरीका लागि पनि बनाउँथिन् । रामधनलाई पनि आँगनको खटियामा बसेर चिलिम तानिरहँदा कुनै पनि वेला सपना आएर उनको काखमा बस्छिन् भन्ने लागिरहन्थ्यो ।


मिहिराले सपनाको सम्झनामा उनकैजस्ता ठुल्ठूला आँखा भएको कपडाको गुडिया बनाएकी थिइन् । गुडियालाई सधैँ सलमा सिताराको लेहँगा लगाएर चिटिक्क पारिरहन्थिन् ।


ठीक पन्ध्र वर्षपछि लबरुले ल्याएका थिए, अम्बागाउँको लछमनसित सपनाको बिहाको प्रस्ताव । उनले भनेका थिए, ‘लछुमनको पनि साँपले टोकेर बच्चा वेलामै अकालमा मिरतु भएको थियो । सोरह–सतरह बरसअघि । बाँचेको भए बाइस–तेइसको लक्का जवान भइसक्थ्यो । मरिसके पनि अब उनीहरूको जातिको परम्पराअनुसार उसको पनि बियाह गर्नु पर्नेछ । त्यसैले शिवदासहरू बेटाका लागि अकालमा मिरतु भएकी आफ्नै बिरादरीको कुनै लड्की खोजिरहेका छन् । लछुमन र सपनाको बियाह गरिदियो भने जगत्मा भट्किरहेका दुई आत्माको मिलन हुन्छ । तिमीहरू पनि पितृ रिनबाट उरिन हुन्छौ ।’


यसरी शिवदास र रामधन दुवै परिवारले आआफ्नो सन्तान बालिग हुन्जेलसम्म प्रतीक्षा गरेका थिए । बालिग भएपछि पण्डित बोलाएर कुण्डली भिडाए । पूजापाठ गरेर वरवधूका गुणदोष निवारण पनि गरे र विवाहको मुहूर्त पनि निकाले ।


निर्धारित मितिमै बरियात आयो । बरियातसँगै जिउमा शेरवानी र शिरमा पगडी लगाएको कपडाको गुड्डा पनि आयो । सातवटा घोडाको रथमा सवार भएर । सहनाई पनि बज्यो । डोली लिएर कहारहरू पनि आए ।
शिवदासले कपडाको गुड्डासित रामधनको परिचय गराए र भने, ‘यही हो मेरो मझला बेटा लछुमन ।’
रामधनले पनि कपडाकी सपनासित परिचय गराए । 

 

‘यिनै हुन् मेरी प्यारी बिटिया सपना’ 
बरियातमा आएका छैल–छबेलाहरूले रामधनको आँगनमा आउनासाथ नाच्न सुरु गरे । मिहिराले देब्रे हातमा आरती लिइन् । उनको दाहिने हातमा पीपलको पात थियो । त्यही पातले आरतीको राप लिइन् र दुलहाको गाला सेकिदिइन् । त्यसपछि अरू महिलाहरूसँगै उनले दुलहाको परिक्रमा पनि गरिन् ।

 

त्यसपछि नैहरतिरका जनानाहरूले गीत पनि गाउन थाले ।
मैया ! केकर दुआरे बाजा बाजे 
केकर होत बियाह ?
बेटी ! तोहरे दुआरे बाजे बाजा 
तुहरै होत है बियाह ।
(आमा ! कसको आँगनमा यो बाजा बजिरहेको र कसको बिहे भइरहेको ? 
छोरी ! तिम्रो आँगनमा यो बाजा बजिरहेको र तिम्रै बिहे हुन लागेको हो ।)


रामधनले बरियातीहरूको राम्ररी अगवानी गरे । भोज पनि गरे । खस र काजुको सर्बत पनि खुवाए । वरपक्षलाई दानदक्षिणा पनि दिए र कोठामा सधैँ मुस्कुराइरहने निर्जीव गुडिया बनेर बसेकी सपनालाई उनको राजकुुमारसित बिदाबारी पनि गरे । छोरीको बिदाइमा रामधन र मिहिरा खुब रोए ।


राति रामधन र मिहिरा निदाएनन् । छोरी बिदा गरेको रात कसरी निद्रा लागोस् ! उनीहरूले रातभरि आकाशतिर हेरिरहे । राति सुँक्कसुँक्क रोइरहेकी मिहिरालाई रामधनले सम्झाए, ‘किन रुन्छेस् मिहिरा ! हाम्रो समाजको संस्कार पनि यही हो । अकालमा मरेको सन्तानको बालिग भएपछि बियाह गरिदिनु पर्छ । हामीले हाम्रो समाजले तोकेको संस्कार पनि पूरा ग-यौँ । त्यसैले अब हामी बिटियाको रिनबाट उरिन भयौँ । उसको सलमा सिताराको लेहँगा लगाएर बियाह गर्ने सपना पनि पूरा भयो ।’ रामधनले मिहिरालाई नरुन त भनिरहेका थिए । आफैँ भने रोइरहेका थिए ।

 

।।८।।

 

कृष्णविक्रम निदाएका छैनन् । उनी अस्पतालको प्रसूति वार्ड बाहिरको करिडोरमा बेचैन भएर ओहोरदोहोर गरिरहेछन् । भित्र डक्टर र नर्सहरूले सरलाको सुत्केरी गराउने तयारी गरिरहेका छन् ।


कृष्णविक्रम सरलाले छोरा पाउनेमा विश्वस्त छन् । उनलाई छोरै चाहिएको छ । छोराले नै थाम्नेछ उनको वंश र बिरासत । करिब आधा घण्टापछि अप्रेसन थिएटरको ढोका खुल्छ र एकजना नर्स आएर मुस्कुराउँदै भन्छिन्, ‘सर, बधाई छ ।’


उनी हौसिँदै भित्र पसे । सरला बेडमा थिइन् । शरीर कमजोर भए पनि मातृत्वको आभाले उनको अनुहार धपक्क बलेको थियो । कृष्णविक्रमलाई देख्नेबित्तिकै उनको अनुहार केही धमिलो भयो ।


‘हजुरलाई छोराको रहर थियो । मैले हजुरको रहर पूरा गर्न सकिनँ । तर, म आज निकै खुसी छु । किनभने मैले आफ्नो रहर पूरा गरेँ ।’


कृष्णविक्रमको खुट्टा थरर्र काम्यो । यी नौ महिनामा उनले एकपल पनि छोरीको कल्पना गरेका थिएनन् । यो उनका लागि अत्यासलाग्दो कुरा थियो । उनको आँखासामु डम्म बादल लाग्यो । उनले वरिपरि अँध्यारो नै अँध्यारो देखे । त्यही अँध्यारोमा निर्माण भयो, एउटा कहालीलाग्दो सुरुङ, जहाँ सर्वाङ्ग नग्न र उन्मत्त युवक अझै उभिइरहेको छ । युवककै खुट्टानेर छ, एक अबोध बालिकाको लास, जसको जाँघबाट निरन्तर रगत बगिरहेको छ ।


‘मैले छोरीको नाम सपना नै राखेँ ।’ सरलाको कमजोर आवाजमा पनि गजबको ओज थियो । कृष्णविक्रम केही बोल्नै सकेनन् । उनलाई अब विश्वास भइसकेको थियो, सरलाले नौ महिनासम्म गर्भमा शिशु हैन, उनकै विरुद्ध प्रतिशोध हुर्काइरहेकी थिइन् ।


अँध्यारो सुरुङमा मौन उभिएको कृष्णविक्रमसित सरलाले सोधिन्, ‘के अब छोरीको पनि बलात्कार गर्नुहुन्छ ?’ सरलाले सोधेको प्रश्न सुरुङभित्र नग्न र उन्मत्त उभिइरहेको युवकको रगत लतपतिएको जाँघको ठीक बीचमा चट्याङ भएर खस्यो । 


नजिकै अबोध सपनाको लास थियो र उनको शरीरबाट बगिरहेको रगतमा टल्किरहेका थिए, आकाशबाट भर्खर–भर्खर झरेका सलमा सिताराहरू ।

०००