• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश श्रेष्ठ
२०७७ श्रावण १० शनिबार ०७:३६:००
साहित्य

मेरो देशको नक्सा

२०७७ श्रावण १० शनिबार ०७:३६:००
रमेश श्रेष्ठ


नक्सामा मात्र 
देश अटाउने भए
म मेरा सम्पूर्ण स्वाभिमान
अस्तित्व र अहंकार
सत्य र समर्पणका नक्साहरू बनाउने थिएँ
र खोज्ने थिएँ
नक्साको किरेमिरे आकारमा
आफ्नो अनुहार,

 

फैलने थिएँ फेसबुकका भित्ताहरूमा
राजनीतिले लगाएको
पृथ्वीको आली र खेतका कित्ताहरूमा
किन चाहिन्थ्यो र संविधान
मनसरा, मनसुली र मसिनोमा
नियम–कानुनका भ्रमप्रिय धारा लयहरू
हजम हुन्थे बहकिएरै,
सेना, प्रहरी र सुरक्षाबल
राजकुमार दिक्पालका कथाहरूमा जस्तै
सुनका मूर्ति जस्तै 
सुन्दर र अचेत रहन्थे,
बेचिनु पर्दैनथ्यो सिमाना कटाएर
आफ्नैहरूका हातबाट 
आफैँले जन्माएका छोरीचेलीहरू,
उनीहरूका आँसुहरूबाट बनेको
समुद्र्र बाफिएर
हावाहुरीको विप्लवी वर्षा हुँदैनथ्यो
हाम्रो पहाडमा,
हरियो मुद्राको ऋणमय ऐठनले
दामिन पर्दैनथ्यो
जन्मनेब्त्तििकैको मेरो छोरो र
उनको छिमलको थाप्लो,
उनीहरूले देखेको 
उडान र आकाशका सुन्दर ताराहरू
उनीहरूकै पैतालामा ठोक्केलाझैँ गरी
खस्दैनथ्यो आँखाको बाटो भएर
मर्न पर्दैनथ्यो
भूगोल हल्लाएर आएको
महामारीको रहरले आफन्तजनहरू,
बिचरा, मुकुण्डो लगाएर नाचिरहेको
लाखेलाई के थाहा
संस्कृति धान्न
नाचिरहेकै छ सदियौँदेखि
टिनको बाजाको छन्दभंग तालमा
तर पनि आजसम्म लेखेको छैन कसैले
लाखेको नाचको कम्पनले भूकम्प आएको 
धरहरा चर्किएको,
स्वयं खेतलाई पनि हेक्का छैन
किसानहरूले आफूलाई मार्दै 
बिउ जोगाइराखेको वर्णमाला
खेत त मात्र रहर गर्छे बेस्सरी पाक्छे 
पाकेर चुलो–चुलोमा 
सृष्टिको अग्निको आलिंगन माग्छे
जब बाँझो पल्टिन्छे
आफ्नो तकदिर फुकाएर रुन्छे,
भन्नुहोस्
यो समयमा कसरी लेख्न सक्छ मेरो कवि
देशको नक्साको कविता
जन्मेदेखि नै
मैले हृदयमा राखेको मेरो देशलाई
म मरेपछि
कसले राख्ला आरम्भदेखि नै हृदयमा,

 

नक्सामा मात्र
देश अटाउने भए
फिर्ता माग्छु म
पृथ्वीको सम्पूर्ण नक्सा
नक्सामा बाँधिएको
मेरी आमाको अनुहार ।