• वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
नवीन विभास
२०७७ श्रावण १० शनिबार ०७:५९:००
सम्झना

वर्मन बुढा : जो कछाड र चप्पलमै सिंहदरबार गइरहे

२०७७ श्रावण १० शनिबार ०७:५९:००
नवीन विभास


टेम्पोमा टुकुटुकु

 

कम्मरदेखि घुँडासम्म सेतो खाडीको काँची । आँखामा चस्मा । कालो टोपी । दायाँ हातमा लौरो । टेम्पोको डन्डीमा बायाँ हात । लगनखेलबाट रत्नपार्क गुडेको नीलो टेम्पोमा गहुँगोरो वृद्ध टेम्पो टुकटुकमा टुक्का टँसाउँदै ‘निलई’ भाकामा रुकुमकोटतिर बग्ने थबाङ बग्छन् । उनै वृद्धले खनेको जगमा त नेपाल १० वर्षसम्म हल्लिएको हो । उनकै थबाङ टेकेर पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरू बालुवाटार र सिंहदरबार फन्को मार्दासमेत ती वृद्ध भने टेम्पोरत छन् । 


टेम्पोमै उनले आफूसँग ०४८ मा संसद् पसेका ‘किर्सन’लाई सम्झन्छन् ।  खस–नेपालीभाषीका ‘कृष्ण’लाई रोल्पाका असली मगर ‘किर्सन’ वा ‘किरस्न’ भन्छन् । हो, यिनै बुढाले रोल्पामा भाषण गर्दा कृष्णबहादुर महरालाई ‘बाँकी कुरा किरस्नेले भन्ने छ’ भने भन्ने किस्सा छ । सिंहदरबारमा सभामुखरत उनै कृष्णकिस्सा सम्झँदै वृद्ध टेम्पो चढेर अस्पताल जाँदै छन् । रत्नपार्कमा टेम्पोबाट ओर्लेर लौरो टेक्दै वीर अस्पताल जान्छन् ।

 

वराह वर वर्मन

 

एक हुल सिकारी घना जंगलबीचमा खाली भाग देखेर धनुषकाँधले खोप्छ । केही चिज छर्छ । केही समयपछि फर्कंदा छरेको ठाउँमा बाली हलक्क हल्केको हुन्छ । त्यसपछि खेती थाल्दै बस्ती बसाउँछ र थबाङ बन्छ । यसरी बस्ती बसाउने काला बुढामगर हुन् कि रोकामगर ? लिखत नभएकाले आ–आफ्ना दाबी रहेको थबाङी बुद्धिजीवी रेशमकुमार शाह सुनाउँछन् । हो, त्यही थबाङको एक दम्पतीलाई छोरा चाह हुन्छ । छोरा जन्मे पो ! हुक्कीहार दम्पती गाउँले चलनअनुसार थबाङमास्तिर धुरी चढ्छ । जुन धुरीलाई खामभाषी गोङ भन्छन् भने खसनेपालीमा जलजला । 

राजा वीरेन्द्रले संसद्मा सम्बोधन गर्ने भएपछि संसद् सचिवालयका महासचिवले वर्मनलाई सुटुक्क भन्छन्, ‘माननीयज्यू, जसरी पनि राष्ट्रिय पोसाक लगाएर आउनुपर्‍यो ।’ आफ्नो लुगालाई हेर्दै वर्मनले जवाफ दिएछन्, ‘यो के अराष्ट्रिय हो ?’


गोङस्थित वराहथानमा दम्पतीले छोराको वर माग्छ । संयोग ! छोरो जन्मन्छ । लाग्छ, ‘हो न हो, छोरा त वराहकै वर हो ।’ त्यसपछि ? वराहको वर सम्झेर नाउँ राख्छन्, वर्मन । वरमा मन जोडिएर वर्मन भएजस्तो मगर समाजमा मन धेरै ‘मन’ छन् । जस्तोः हर्कमन, सुर्जमन, वर्षमन, तकमन, दिलमन, समन, कमन, जमन । तर, ती मन नागरिकता बनाउन सदरमुकाम लिबाङ पुगेपछि ‘मान’ भएर फर्कन्छन् । वर्मन भने अपवाद हुन् जसको नागरिकता नाउँ मन नै रहन्छ । 


उनै वर्मन ९ वर्ष पुगेपछि भेडा बथानसँग हिउँदमा दाङको छिलिकोट पुग्छन् भने बर्खामा डोल्पाको तलेल बुकी । हिउँदमा प्युठानका लिस्ने र जुम्रीकाँडा, दाङको छिलिकोट, रोल्पाका थुर्पाधुरी, जिलाधुरी र छड्केधुरी, रुकुमको तीनबैनीलेक उक्लन्छन् त बर्खामा भुजेलको बुकी (चुला), हुकामे बुकी (रुकुम) मैकोटी बुकी (रुकुम), तलेलको बुकी (ताली) डोल्पा ।


तिनै बुकी र लेकमा आफ्नै गाउँसिरानको गोङ पुग्न असोज पर्खन्छन् । भेडीको दूध र घिउ खाएका मस्तराम वर्मन भेडा रुङ्ने ‘जारे कुकुर’ (भोटे कुकुर पनि भन्छन्) भुकाइको तालमा ‘नानी लई’ गाउँछन् । स्कुलमा कखरा घत हाल्ने याममा भेडा पढ्छन् । वर्मनको २५ वर्षसम्मको लहलहाउँदो याम त भेडासँग उकालीओरालीमै बित्छ । जंगल मासिन्छ । बचेको जंगल सामुदायिक वन बन्छ । भेडापालन सारोगारो बढ्छ । वर्मन भेडापालन छोड्छन् ।
 

ग्वाले संगठन, त्यसपछि कम्युनिस्ट पार्टी


थबाङ मुक्खेको राइँदाइँ थलो हुन्छ । यतिसम्म कि, मुक्खेले पिट्छ भनेर गोठमा लुक्नुपर्ने ! केही सीप नचलेपछि मुक्खेविरोधी ग्वाला संगठन बनाउँछन् । मुक्खेलाई पिट्ने योजना बन्छ, २०१२ वैशाख मसान्त । खेत खनिरहेका मुक्खेलाई रक्तमुछेल पार्छन् । 


वर्मनसहित सातजनालाई प्युठान गारड (हतियार भण्डारण)मा थुन्छ । कारागारमा हुन्छन्, मोहनविक्रम सिंह । २०१३ सालमा उनै सिंह, खगुलाल गुरुङ, हेमराज शर्मा र रुमबहादुर सल्यान जेलबाट छुटेर थबाङ पुग्छन् । वर्मनको घरमा बस्छन् । बुढा र झाँक्री दुवै पक्षका ती–तीनजना प्रतिनिधि राखेर संगठन बनाउँछन्, किसान संघ । एक वर्षपछि अर्थात् २०१४ मा गुरुङ पुगेर नेकपाको सेल कमिटी खोल्छन् । २०१५ को पहिलो संसदीय चुनावमा नेकपा उम्मेदवार उनै गुरुङलाई थबाङले एकछापे भोट हाल्छ ।


त्यही साल वर्मनलाई गाउँले मुक्खे चुन्छ । पञ्चायतको स्थानीय चुनावमा वर्मन थबाङका प्रधानपञ्च बन्छन् । जनमतसंग्रहमा थबाङले सबै भोट बहुदललाई हाल्छ । ‘शान्ति सुरक्षा’ मुद्दामा वर्मन २०३७ मा जेल पर्छन् । २७ महिने जेल बसाइमै प्रधानपञ्च पद सकिन्छ । २०३८ साले चुनावमा थबाङले रित्तो बाकस फर्काउँछ । पञ्चायतविरुद्ध सिंगो थबाङ उभिएपछि सरकारले ‘सैनिक मेजर अपरेसन’ गर्छ । 


थबाङ प्रशंसामा लेखराज रेग्मी गीत लेख्छन्, ‘त्यो काख जलजलाको फौजी परेड खेल्छ ।’ रक्तिम परिवार गाउँछ । थबाङ चर्चा चुलिन्छ । राजा वीरेन्द्र मनमा पनि ‘थबाङ खसखस’ गर्छ ।  २०४५ मा राजा आफ्नी रानी ऐश्वर्यसित सुटुक्क हेलिकोप्टरमा थबाङ पुग्छन् । १० बुँदे मागमध्ये आठ माग तुरुन्तै पूरा गर्छन् । अपुरा दुई माग हुन्छन्– एक, थबाङ जोड्ने मोटर बाटो । दुई, गाँजा प्रतिबन्ध हटाउने । 

 

संसद्मा वर्मन काँची किस्सा


२०४८ सालको संसदीय चुनावमा रोल्पा १ बाट वर्मन उम्मेदवार बन्छन्, संयुक्त जनमोर्चा नेपालको । पञ्चायतभर मन्त्री हेबीवेट बालाराम घर्तीमगरलाई भक्लक्क ढाल्छन् । रोल्पा २ बाट वर्मन पार्टीकै कृष्णबहादुर महरा चुनिन्छन् । 


सांसद वर्मन थबाङको मौलिक पोसाकमै संसद् जान्छन् । राजा वीरेन्द्रले संसद्मा सम्बोधन गर्ने दिन नजिकिन्छ । एकदिन संसद् सचिवालयका महासचिव जीवनलाल सत्यालले सुटुक्क वर्मनलाई भन्छन्, ‘माननीयज्यू, राजाको सम्बोधन बक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोसाक लगाएर आउनुप¥यो ।’ वर्मन आफ्नो लुगालाई हेर्दै जवाफ दिएछन्, ‘यो के अराष्ट्रिय भयो ? बरु संसद् नआ भने नआउने म । यो कुन देशको हो र अराष्ट्रिय भयो ?’ 


सत्यालले जति बल गरे पनि ‘राजा आउने’ भन्दैमा आफूले आफ्नो मौलिक पोसाक नछोड्ने जिकिर गरेछन् । महासचिव सत्याल सनातनी आँखाले दौरासुरुवालबाहेकलाई कसरी राष्ट्रिय देख्नु ? सिंहदरबार त एउटै भाषा, एउटै भेष र एउटै अनुहारले कब्जा जमाएको छ । सम्बोधनको दिन राजा वीरेन्द्र संसद् पुग्छन् ।

 

वर्मन मौलिक पोसाक अर्थात् रोल्पाली मगर पहिरनमै संसद् पुग्छन् । रोल्पातिर भाङ्ग्रा (गाँजाको रेसाबाट बनेको लुगा) दोबारेर कम्मरदेखि घुँडासम्म लगाउने लुगालाई बोल्लाको कचनी वा काँची कात्ने भन्छन् । भाङ्ग्रालाई खाडी र बजारिया धागोले बुनेको लुगाले विस्थापित गर्छ । यस्तो पहिरनलाई रोल्पामा कतै काँची कात्ने भन्छन् त कतै कचनी कात्ने भने कतै कछाड । वर्मन सेतोरङे खाडीको काँची कात्छन् । शासक खलकीय आँखा, कान, नाक, मुख र वेशभूषाले भरिभराउ संसद्मा काँची कातेका वर्मन ! 

 

वर्मनलाई थबाङमै छाडी बालुवाटार र सिंहदरबार पसेका सरकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई ‘गुडबाई वर्मन’ भन्न आर्यघाट पुग्छन् । पुग्छन्, गैरसरकारी नेकपावाल मोहनविक्रम सिंह, मोहन वैद्यहरू पनि ।

 

‘राजालाई भन्दा पनि मलाई हेर्ने मान्छे धेरै थिए,’ १३ वर्षअघि वर्मनले राजाले सम्बोधन गरेको संसद् सम्झन्छन्, ‘त्यस दिन सांसद मात्र नभई राजाको भाषण सुन्न अरू पनि आएका थिए ।’ त्यसवेला अहिलेजस्तो ‘पहिचान’ सवाल कहाँ उठेको हो र ? तर, उनलाई लागेको हो, ‘सांसद हुनेबित्तिकै आफूले टेकेको धर्ती र वेशभूषा भुल्न हुन्न ।’


‘कछाड र चप्पलमै सधैँ संसद्‍ गएँ । मेरो पोसाक नै यही हो त किन अरू खोज्ने ? रोल्पाजस्तो विकट ठाउँकाले लगाउने कपडाबारे जानकारीको लागि पनि हो,’ तीन वर्ष रोल्पाली मौलिक पोसाकमा सिंहदरबार गएको सम्झना गर्दै वर्मनले सुनाएका हुन्, ‘राजालाई सुर्खेतमा भेट्दा पनि मैले आफ्नै पोसाकमा भेटेको ।’ 


वर्मन काँची किस्सा सामान्य घटना लागे पनि यसको अर्थ असामान्य छ । पहिचान बहस चलिरहेको मौसममा पनि वर्मन पृष्ठभूमिबाट सत्तासीन कमरेडहरूले भने वर्मन जति आँट पनि गरेका छैनन् । ती त सुरुवालभोटी लगाएर केपी ओलीमार्गमा लुरुलुरु हिँडिरहेका छन् । 

 

जनयुद्धमा वर्मन

 

संयुक्त जनमोर्चा नेपालका ९ सांसदमध्ये वर्मनसहित हुम्लाका छक्कबहादुर लामा, रुकुमका खड्गबहादुर बुढामगर र कृष्णबहादुर महरा जनयुद्ध गर्ने लाइनमा लाग्छन् । तर, अन्त्यमा महरा मात्र लडाइँमा सामेल हुन्छन् । वर्मन ‘उमेर’ र ‘स्वास्थ्य’का कारण सक्रिय हुन्नन् ।  वर्मन लडाइँमै नहिँडे पनि माओवादी बिउ थबाङ रोल्पा र रोल्पाबाहिर पनि फैलन्छ । थबाङमै चल्छ, अजम्मरी जनकम्युन, सहिद नमुना स्कुल, माइक्रो हाइड्रो चलाउँछ । माओवादी सुप्रिमो प्रचण्ड त थबाङलाई ‘राजधानी’ बनाउने आश्वासनसमेत दिन्छन् । माओवादी काठमाडौं पसेपछि प्रचण्ड ‘मगरात राजधानी’मा ओर्लन्छन् । अहिले थबाङ, थबाङ गाउँपालिकाको ‘राजधानी’ छ । 


‘पहिलो वार्तामा किर्सन (कृष्णबहादुर महरा) पनि हीँ आएर बस्यो । दोस्रोमा बादल (रामबहादुर थापा),’ १३ वर्षअघि कुसुन्तीस्थित छोरीघरमा काम्लोमा पलेँटी कसेर बस्दै वर्मनले भनेका हुन्, ‘२०५९ मा ज्वाइँ (खड्गबहादुर घर्तीमगर)लाई घरबाटै सेना (भैरवनाथ गण) लग्यो । मलाई नि लग्ने ता होला भनेर कमिज लाएँ, कसो नचिनेर त होला, लगेन ।’

 

विद्रोहको पर्याय थबाङ

 

ग्वाले संगठन बनाएर मुक्खे कृष्णबहादुर झाँक्रीविरुद्ध सुरु थबाङ विद्रोह आजसम्म जारी छ । मोहनविक्रम सिंह नेतृत्वको पार्टी फुट्दा थबाङ विद्रोही मोहन वैद्य नेतृत्वको नेकपा (मशाल)साथ उभिन्छ । जनयुद्ध गर्ने नेकपा (माओवादी)मा लाग्छ । २०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा वैद्यकै बहिष्कारमा लागेर बाकस रित्तो पठाउँछ । 


सायद यसैले होला, इना झार्केबिचले ‘थबाङ सामान्य गाउँ होइन, यो त छापामारको राजधानी’ भनेकी छन् । सदरमुकाम लिबाङबाट ‘माओवादी मक्का’ थबाङ २६ कोस उत्तरपूर्वमा छ । जहाँ खामभाषी मगर र थोरै दलित बस्छन् । जनयुद्धकालमा ३२ जना मारिएका छन्, ३४ जना घाइते छन् भने शाही नेपाली सेनाले २२ घर जलाएको छ । 


सधंँ विद्रोहको पक्षमा ठिंग उभिने थबाङ यतिवेला भने सरकारी नेकपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा विभाजित छ । जनयुद्धभर थबाङ र रोल्पा राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाउँछ ।


आँन डी सेल्सले ‘द बायोग्राफी अफ अ मगर कम्युनिस्ट’ नामक वर्मन बुढामगरको बायोग्राफी लेखेकी छिन् । वर्मन र थबाङबारे विदेशी अनुसन्धाताले दर्जनौँ खोज गरेका छन् । ‘पैसा र पावर’, ‘मनी र मसल’वाल दलाल पुँजीपति नेपालको मूलधारे राजनीतिक कुहिरोभित्र भने वर्मन र थबाङ ‘बेखबर’ छन् । 

 

बिसाउनीमा


सञ्जोगले, दुई वर्षअघि टेम्पोमा भेटिएका उनै वृद्ध वर्मन बुढामगर भने बुधबार (आन्द्राको क्यान्सरले) सधैँका लागि सुत्छन् । वर्मनलाई थबाङमै छाडी बालुवाटार र सिंहदरबार पसेका सरकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई ‘गुडबाई वर्मन’ भन्न आर्यघाट पुग्छन् । पुग्छन्, गैरसरकारी नेकपावाल मोहनविक्रम सिंह, मोहन वैद्यहरू पनि । 


६ दिनपछि अर्थात् साउन १३ गते ९० पुग्ने दिवंगत पितालाई आर्यघाटमा हेर्दै वर्मन जेठापुत्र गणेश भन्छन्, ‘९० को गौडा छ । काट्न सक्तिनँ केर भन्थ्यो सेर्जा (बुढो)ले । गयो ।’ गणेश थबाङमै बस्छन् । नरेश र समेश जापानमा । वर्मनका तीन छोरी क्वाँरी, विजया र शारदामध्ये विजया र शारदा मात्र जीवित छन् । 


वर्मनका नातिद्वय पेरु ब्रिटिस सेना छन् भने पृथ्वी भारतीय सेना । वर्मनको आदर्श–जगमा रोल्पा र रोल्पाको राजनीतिक विरासत उभिएको छ । यद्यपि वर्मनको स्वास्थ्य, उमेर, शैक्षिक स्तरले मात्र गुमनाम भएका भने होइनन् । भएका हुन्, मूल्यहीन मूलधारे राजनीतिक दुनियाँमा लप्पनछप्पन नगर्ने ‘मगर चरित्र’का कारणले पनि । यति हुँदाहुँदै पनि कम्युनिस्ट जीवनव्यवहार खोज्ने स्वप्निल आँखाहरू र भुइँमान्छेका सम्झनामा भने वर्मन ‘वर’ बनिरहनेछन् । 


विडम्बना ! वर्मन विरासत बोक्न सक्ने न वर्मन परिवारमा कोही टाँठ्ठै देखिएका छन् न त विद्यमान कुनै दल र तिनका नेता । सायद, यसैले होला, सरकारी नेकपा नेता लेखनाथ न्यौपाने सामाजिक सञ्जालमा लेख्छन्, ‘कम्युनिस्ट सिद्धान्तअनुसार विद्रोही जीवन बिताएका साँच्चैका कम्युनिस्ट वर्मनको आदर्श जीवनबाट पछिल्लो पुस्ताले के र कसरी सिक्ने ? प्रश्नको पहाडले थिचिएका छौँ ।’