• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कुमारी लामा
२०७७ श्रावण १० शनिबार ०७:०२:००
समाज

तीन हजार वर्षदेखि निदान नभएको एउटा भाइरस

२०७७ श्रावण १० शनिबार ०७:०२:००
कुमारी लामा

एक टुक्रा समयले निर्धारण गरिदिन्छ- जीवन र मृत्यु, श्वासको संगति र लयबद्धता भत्काइदिन्छ । त्यसको परिणाम, सडकमा रोकिन्छ, श्वासको लय या भेरीमा हेलिन्छ जीवन । बन्दाबन्दीमाझ वाचाल भएको छ, समय । ठ्याक्क यसै बखत शक्तिमत्त शासकहरू बंकर यात्रादेखि उखान–टुक्का जोड्न व्यस्त छन् । अनि यतिवेलै उतातिर जोर्ज फ्योयड स्लोगन ‘ब्ल्याक लाइभ्स् म्याटर’ सडकभरि तैरिरहँदा यतातिर नवराज विक आक्रोश सडकमा नसही मनमनमा फैलिँदो छ । 

 

जातीय प्रेत


छताछुल्ल भएको छ, फेरि कथित उच्च जातीय हुंकार । रुकुममा भएको छ, ६ होनाहार युवाहरूको हत्या । एक अक्षम्य आपराधिक घटना । निहुँ जात, कथित उँचो र तल्लो जात । समाजै उर्ली गरेको एक निन्दनीय कार्य । प्रशासन र सरोकारवालाहरू चुप दर्शक । क्या बात् ! यसले लोकतान्त्रिक राष्ट्रको अन्तर्यमा अझै चलायमान कथित उच्च जातिवादी आडम्बरको नांगो रूप देखाइदिएको छ । नेपाली समाजको पश्चगामी सोच छर्लंग पारिदिएको छ । 


हाम्रा संविधानहरू जहिल्यै न्यायका, समानताका, अधिकारका कुराहरू फलाकी बस्छन् तर व्यवहारमा बारम्बार यस्तै अमानवीय कार्य दोहोरिन्छ । (वि)भेदका पर्खालहरू भत्किनु या भत्काइनुको साटो जात, धर्म, रंग, सम्प्रदाय या यस्तै अनेक नाममा अग्लिबस्छन् पर्खालहरू । र, नतिजा, यसैगरी वेलाबखत जघन्य घटनाहरू घट्छन् या घटाइन्छन् । जात-व्यवस्थामा आधारित नेपाली समाजको एक डरलाग्दो रूप यस घटनाले उदांगो पारिदिएको छ । जातीय भेदभाव र अमानवीयताको पराकाष्ठा उदांगिएको छ ।

‘जातीय भाइरस’ले पुस्ता दरपुस्ताका मन–मस्तिष्कमा संक्रमण फैलाइरह्यो । त्यसमा पनि खास तवरले उच्च जातीय मानसिकताले ओतप्रोत मठाधीश अझ बढी संक्रमित भए । 


जायज छ, धनकुमारी सुनारको प्रश्न, ‘नयाँ संविधान छ, सुधारिएको कानुन छ, तर सोच र व्यवहारमा जमेर बसेको जात मानसिकता उही जंगेकालकै प्रेत किन सग्लो आउँछ ?’


किन नजाग्नु छ र प्रेत ? जब कि त्यही प्रेत जगाएर समाजको एक ठूलो हिस्सामाथि सधैँ दमन गरिरहन पाइन्छ भने । अर्कोलाई नीच देखाएर आफू ठूलो भइरहन पाइन्छ भने । जात व्यवस्थासँग त सीधै जोडिएको छ, वर्ग र शक्ति । जातको कसीमा जोतिएर समाजको सबैभन्दा पिँधमा थन्किए दलित । तर, त्यही समाजको अर्को जमात भने उही जातको आलोकमा सधैँ शक्ति, सत्ता र पहुँचमा रहिरहे ।

 

लामो समयदेखि चाखिरहेको त्यो शक्तिको स्वाद कहाँ छाडिहाल्न सक्छन् । तब त ब्युँताइरहन्छन्, जातीय प्रेत । साक्षी छ इतिहास, कसरी दलितहरूले शास्त्रका ज्ञान श्रवण गर्दा मात्र पनि उनीहरूका कानमा सिसा पगाली हाल्ने उर्दी थियो । कसरी छाती उदांगै पारी रमिता भइदिन विवश दलित महिलाहरूमाथि दमनको निकृष्टता लादिएको थियो ।

 

‘नांगेली विद्रोह’ किन जन्मिन्थ्यो त्यसै ? तर, विद्रोह पनि यस्तो कि ज्यानकै बाजी थाप्नु पर्‍यो । उनी आफ्नै स्तन छिनाई अन्यायी समाजलाई चुनौती दिएर मरिन् । तर, मर्दामर्दै पनि हठात् स्तब्ध पारिदिइन् शासकहरूलाई । वर्ण व्यवस्थासँग जोडिएको यस हदको कुकृत्यलाई डा. सुरज याङ्डे ‘भाइरस’को संज्ञा दिन्छन् । यस्तो भाइरस, जसको निदान तीन हजार वर्षसम्म पनि सम्भव हुन सकेन । यसले पुस्ता दरपुस्ताका मन–मस्तिष्कमा संक्रमण फैलाइरह्यो । त्यसमा पनि खास तवरले उच्च जातीय मानसिकताले ओतप्रोत मठाधीशहरू अझ बढी संक्रमित भए र छन् । त्यसैको विकार आज पनि असंवेदनशीलताको हद समाज र सदन दुवैतिर झल्किन्छ वेलाबखत । 


यतिखेर दुईखाले भाइरस संक्रमणको रस्साकस्सी चलेको छ, नेपाली समाजमा । एउटा जातीय भाइरसको संक्रमण र अर्को कोभिड–१९ को । जातीय भाइरस नवराज विक हत्याकाण्ड भई उत्रिएको छ, सतहमा । बारम्बार बल्झिरहने घाउ भएको छ, जातीय विभेदका घटनाहरू र अझै चलिरहने देखिन्छ । किन कि सामाजिक सांस्कृतिक मान्यता त उही जातिवादी छ । उपचार खोज्दाखोज्दै समय यति अघि बढिसक्यो, तर समाजलाई आज पनि छोपेकै छ, जातीय प्रेतले । अर्कोतिर कोरोना भाइरस संक्रमण वर्गीय साबित भइदिएको छ । निसहाय, गरिबहरू साह्रै मारमा छन् ।

 

कुपोषित बालक र झिना ज्यान भएका आमाहरू सरकारसँग गुहार माग्छन्, भरपेट खानका लागि । तर, सरकार न देख्छ, न सुन्छ, न बोल्छ नै । जनताबाहेक अरू पनि त धेरै छन्, उसले सोच्ने कुरा । जातीय हिंसा, श्रमिकका पीडा, कुपोषित नानीहरू, या मरिरहेका दोजियाहरू त किनारतिरका विषय भइगए । पेट भरिएपछि गम्ने अनेक कुरा हुँदा हुन्, तर भोको पेटलाई त पेटकै सवाल ठूलो । त्यसकै खातिर बन्दाबन्दी वास्ता नगरी निस्किए, सूर्यबहादुर तामाङ, अनि ढले महाराजले आज्र्याको मूलढोकामै । समृद्धि र कोही भोको हुनेछैन भन्ने जस्ता उडन्ते तुक्कालाई झापड दिँदै अस्ताइरहेछन्, सूर्यबहादुरहरू । 

 

रंगभेदी प्रेत

 

देशतिर जातीय प्रेतको जगजगी छ । विदेशतिर रंगभेदी प्रेतको वायु जागेको छ । पादरीझैँ बाइबल उठाई मठाधीश ट्रम्प झुल्किन्छन्, मानौँ कि सबैको कल्याणकर्ता उनै हुन् । तर, एकै छिनमा उनको असली चरित्र नांगिहाल्छ । उनी सबैको सातो लिन्छन्, पत्रकारहरूलाई थर्काउँछन् । विरोधी स्वरहरूप्रति त झन् उनी एलर्जिक नै छन् । त्यसैले अन्य आवाजहरू त उनी जसरी पनि दबाउन लागिपर्छन् । तर, जब जनविद्रोह उर्लिन्छ र पीडाको आवाज पेचिलो बन्छ, तब जनतालाई आश्वस्त पार्नुको साटो सडकमा सैनिक उतार्ने धम्की खोक्छन् र आफू भने लुसुक्क पस्छन्, बंकरतिर । क्या निर्लज्जपना ! केही दिनअघि मात्रै वासिंटन पोस्टमा सलमान रुस्दीले ट्रम्पको असलियत उतार्दै थिए, ‘ह्वाइट हाउसको मानिस डराएको छ । एकछिन भए पनि बंकरको शरणमा पुग्छ ऊ, र बत्ती निभाउँछ । यस्ता व्यक्तिबाट के आशा गर्नु यस घडीमा ।’ 


राष्ट्रप्रमुखप्रतिको अविश्वासको चरमता रुस्दीको अभिव्यक्तिभन्दा पर के होला र ! देश हाँक्नेप्रतिको जनअविश्वासको यो हद निश्चय नै खतरनाक छ । ट्रम्पले बेसुरे बाँसुरी बजाइरहँदा अमेरिकनहरूमा पनि यताकै जस्तो अम्लीयपना हाबी छ । जनाताहरू कोभिड-१९ को सामाजिक दूरी सिद्धान्त कतै थन्क्याएर निस्किदिएका छन्, सडकमा । जब सरकारको तानाशाही चरित्र बढ्दै जान्छ, तब जनता बाध्य भइजान्छन् भिड्न ।  


लिंकनको शताब्दीअघिको निर्णयको धज्जी उडाउँदै निरन्तर भइरहेको रंगभेदविरुद्ध उत्रिएका मार्टिन लुथर किङहरूको समय पनि साठी वर्ष बूढो भइसक्यो । तर, खोइ त बदलिएको समय ? आज पनि सडकमा जनताका सामु प्रहरी दमनमा मारिन्छ एक अश्वेत नागरिक । श्वेत अधिकारी आरामले आठ मिनेट छयालीस सेकेन्डसम्म घुँडा धस्छन्, अश्वेत जर्ज फ्योयडको गर्धनमा । कैयौँपटकको उसको पीडादायी याचना ‘आई कान्ट ब्रिद’ केवल उसै हावामा बिलाउँछ । यदि अश्वेत मानिसको ठाउँमा कुनै श्वेत व्यक्ति हुँदो हो भने प्रहरीले त्यस तहको दमन गथ्र्यो होला ? निश्चय नै गर्थेन । 


किनकि रंगसँग जोडिएको फरक सामीप्य हुन्छ । छालाको रंगसँग अधिकार जोडिन्छ र जोडिन्छ आफ्नोपन । डरलाग्दो हुन्छ, विभेदी मानसिकता । लामो समयदेखि दिमागमा चलखेल गरेको कसैप्रतिको धारणा । कालो रंग नै (अ)सुन्दर (एक मानक सुन्दरताको मापदण्डमा), कालाहरू असभ्य, डरलाग्दा, अभेद्य, खतरनाक ।

 

यस्तै अनगिन्ती नकारात्मक धारणा सेताहरूले बनाए र छरिरहे सन्तान दरसन्तानमा । तब न सजिलो भयो, दास बनाई जनावरसरि व्यवहार गर्न, काममा लाद्न, नेल ठोकेर एट्लान्टिक कटाउन, र बजारमा बिक्री गर्न । हिजो बनेको मानसिकता हो र ? चार-पाँच सय वर्षदेखि निरन्तरता पाएको सामाजिक मानसिक सिकाइ हो । कसरी रातारात परिवर्तन हुन्छ ? काला पुरुषहरूको शारीरिक अवस्था र महिलाहरूको छातीको झोल्लाइका आधारमा बच्चा जन्माउन सक्ने क्षमता हेरी खरिद–बिक्री हुन्थे उनीहरू (एलेन हार्टिगन ओकोनर) ।

 

कहाँ फरक थियो त दलित महिलाको नांगो छाती आँखैले नाप लिने र विकृत मनोभावको विलासका लागि छाती नछोप्ने उर्दी जारी गर्ने भारतीय समाज र अश्वेत महिलाको छाती नै निरीक्षण गरी मोल लाउने पश्चिमा समाज । भौगोलिक दूरीका बाबजुद विश्वभर जरा गाडेका दमनकारी सामाजिकताहरू अनेक रूपमा आजपर्यन्त कायम छन् । शक्तिशालीले प्रदर्शन गर्ने त शक्ति नै हो । उनीहरूको अकाट्य सत्य भन्नु दमन नै हो । कमजोरहरूमाथि कुनै पनि खाले हत्काण्डा उनीहरूका लागि जायज भइदिन्छन् । अनेक काइदासहित अगाडि बढेको रंगभेदी व्यवस्थाको प्रेत घरी–घरी दमनकारी हत्कण्डासहित जागिदिन्छ । दमनको सघनता उस्तै नै छ, यता पनि उता पनि । यता जातको आधारमा मारिन्छन्, उता रंगका आधारमा । बस् ।

 

जरुरी छ


जागेका प्रेतहरूको उचित शमन जरुरी छ । समाजमा घटिबस्ने अनेक विभेदकारी घटना र नृशंस हत्याहरू त सतह देखिने रूपहरू न हुन् । खासमा त्यसको सञ्चालन त बनिबनाऊ संरचना र लामो समयदेखि रोपिएको सामाजिक सांस्कृतिक मनोविज्ञानले गर्छ । त्यसैले आवश्यक छ, भत्काउन ती कठोर संरचनागत मनोवृत्ति, जसले आफूछेउका आफैँजस्ता मानिसहरूमाथि सधैँ अत्याचार र दमन गरिबस्छ । जात, रंग, लिंग, धर्मजस्ता अनेकन् नाममा भइरहेका यस्ता अमानवीय विभेद अन्त्यका खातिर जरुरी छ, एक दरो सामाजिक क्रान्ति, जसले निम्त्याओस् विभेदकारी संरचनाको पूर्ण शमन ।