संसारमा कम्तीमा
यति त ढुक्कले भन्न मुस्किल पर्दैन
सबभन्दा सुरक्षित ठाउँ- आमाको काख
विडम्बना यही छ कि
उनीहरूले आमाको काखमा
थुप्रै सन्धि-सम्झौताहरू सर्पहरूझैँ बेरिदिएका छन्
बन्दुकसँग बेचिएका ‘गुर्खा’हरूको लामो घाउ
यो पुस्तामा पनि जारी नै छ
फरक यत्ति हो कि यस शताब्दीमा
भोट हाल्दाको ल्याप्चे-मसीभन्दा थोरै उज्याला अनुहारहरू
र हाम्रा हातहरू
समुद्र पार हजारौँ-लाखौँ ‘पासपोर्ट’हरूसँगै बेचिरहेका छन्
आमाको काखमा पनि रिङटा लाग्न थालेको हो कि ?
काखमै नाफाको लोरीमा निद्रित उनीहरू
रातो कार्पेटमा यात्रा गर्दै
केहीबेर सोच्नै नपर्ने इतिहास सोचेर
कोठादेखि कोठामा
राष्ट्रिय गान गुनगुनाउँदै
एउटा ग्लोब हत्केलामा चोर औँलाले ठेस दिँदै घुमाउँदै
नयाँ-नयाँ रोग, भोक र लोकतन्त्र कल्पना गर्दै
केही परिचित समूह र परिवारको यादमा सम्झन्छन् :
एउटा सुरक्षित सिंहदरबार
र, एउटा स्वादिलो भान्सा
हामी भने सधैँ असुरक्षित
दुई–चार घन्टा, केही ऋतु या दशक होइन
सदियौँदेखि अलपत्र, जोखिममा, एकदम किनारमा
तर, उनीहरूका लागि उनीहरूकै अनुकूलित ‘बोन्साइ’ बनिरहन
हामी सख्त मन्जुर छैनौँ
उनीहरूसँग भुइँका दुःखबारे सोच्ने एक पल फुर्सद हुँदैन
संसारकै अग्लो भ्यु-टावरमाथि
या समुद्री किनारमा, मन्दिरहरूमा, ‘रियालिटी सो’हरूमा
जुनसुकै बखत ‘घोषणापत्र’ च्यापेर
भिडमा सेल्फी खिच्दै उनीहरू
बहुराष्ट्रिय कम्पनीय पखेटाले पृथ्वी नै फन्को मार्न सक्छन्
बिमारी जनताको औषधि-सिसीको उचाइसँग डरै छैन
उनीहरूलाई घरबाहिर
चप्पलको उचाइसँग भने भयङ्कर डर लाग्छ
धेरैखेप रगत पिएको त्यो विरासतको जुत्ता छुटाउँदैनन्
तैपनि साह्रै नाजुक छन्
कि उनीहरूको छाया पनि कुल्चिनुहुँदैन
कति–कति शताब्दीदेखि ढुक्कै थिए
किर्नोझैँ टाँसिएर रहिरहने सोचिरहेकै पनि हुन्
तर, यस समय,
आमाको काखमा घुमिरहेको मेचको झिनु उचाइमा
सामूहिक रिङटाबाट ग्रसित छन् उनीहरू !