• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोशन शेरचन
२०७७ श्रावण १७ शनिबार ०९:४६:००
पर्यावरण

भदै थारु, बाघ र डिकाप्रियो

मान्छेका समाजमा राजाका दिन गए तर जनावरको समाजमा बाघ अझै राजा हो 

२०७७ श्रावण १७ शनिबार ०९:४६:००
रोशन शेरचन


भदै थारु

 

लकडाउनको अल्छे मध्याह्नमा मोबाइल बज्छ । इन्जिनियर प्रकाश जिसीको कल रहेछ । ‘एउटा काममा बर्दिया जानुपर्ने भयो, तपाईंले समय निकाल्नुप-यो ।’ प्रस्ताव भूमिकारहित छ । मलाई छोटै कुरा राखेको मन पर्छ । जेरीझैँ फन्को मार्ने बातचितको शैलीले अरुचि मात्र उत्पन्न गराउँछ । लकडाउनले घरमै खुम्चनुपरेको बखत त्यो प्रस्ताव ताजगी बतासजस्तो थियो । ‘दुईतर्फी पासको व्यवस्था मिलाउनुस्, म समय निकाल्छु । फर्कंदा थानकोटमा प्रवेश नमिले, वितरा पर्छ ।’ संक्षिप्त जवाफ दिन्छु । कारण केही दिनदेखि, थानकोटबाट दिनहुँ दर्जनौँ बाहनहरू फर्काइएको समाचार आएको हुन्छ । १० जुन, २०२० सबेरै बर्दियाको निम्ति हिँड्छौँ ।

 
अर्को दिन समुदायसँग छलफलको निम्ति खाता समन्वय समितिको कार्यालय पुग्छौँ । बर्दिया डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र वाग्ले सर पनि सँगै छन् । दूरी कायम गर्न, कोही कुर्सीमा, कोही बेन्चमा, कोही मुढामा, कोही बोरामाथि बसेका छन् । सबैले मास्क लगाएकै छ । मेरो बायाँपट्टी बस्ने हट्टाकट्टा व्यक्तिले भने सनग्लास पनि लगाएको छ । परिचयको क्रममा ऊ भन्छ– म भदै थारू, गौरी सामुदायिक वनको अध्यक्ष । भदै थारू ! सुनेकै नाम हो, तर कहाँ ? लेखक मन्जुश्री थापाको पुस्तक ‘अ वोय फ्रम सिकलेस’मा ?  पत्रपत्रिकामा ? वा डब्लुडब्लुएफ नेपालमा काम गर्दा ? यकिन गर्न सक्दिनँ ।


कुरैकुरामा भदैले सुनाए– सन् २००४ मा निकुन्जमा खडखडाइ खुलेको थियो । म पनि घाँस लिन निकुन्जभित्रको वन पसेको थिएँ । हामी घाँसेमैदानमा थियौँ । बाघ नजिक रहेछ भन्ने थाहा भएन । एक्कासि बाघले आक्रमण ग-यो । ज्यान जोगाउन मैले पनि जे–जे सक्छु गरेँ । केही मिनेटको घम्साघम्सीपछि मलाई बाघले छाड्यो । मेरो बायाँ आँखा बाघले लगिदियो । रगतले लतपत थिएँ । साथीहरूले थाहा पाएपछि गाउँकै हेल्थपोष्टमा लगे । पछि उपचारको निम्ति काठमाडौं रेफर गरियो ।’ यति भनेर उनले चस्मा निकाले । त्यो दृश्य राम्ररी हेर्न सकिनँ । कम्पन छुट्यो । कोठाभित्र पनि किन कालो चस्मा लगाएका रहेछन् भन्ने रहस्य खुल्यो । बाघले आँखै लगिदिएको छ, झन्डै ज्यानै गएको उनको । तर पनि बाघ नै संरक्षणमा खटिरहेका छन् । आँखाको बदला आँखा भन्ने उक्ति कायम रहेको हाम्रो समाजमा भदैजस्ता मान्छे पनि हँुदा रहेछन् भन्ने सोच्दा अचम्भित भएँ । इन्जिनियरद्वय प्रकाश जिसी र बालन शाह पनि छक्क परेको उनीहरूको अनुहारको भावले बताउँथ्यो ।  

 

खाता जैविक मार्ग 


मधुवन नगरपालिकामा पर्ने खाता जैविक मार्गमा बाघ, गैँडा, जंगली हात्तीलगायत २७ स्तनधारी प्रजाति पाइन्छन् । यसले नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षलाई जोड्छ । हुलाकी सडक बनेपछि भने वन्यजन्तुको स्वतन्त्र ओहोरदोहरमा बाधा पुगेको छ । साथै सडक दुर्घटनाको जोखिम पनि बढेको छ । 


बर्दिया राष्ट्रिय निकुन्जमा सन् २०१७ को मध्य जुलाईदेखि मध्य अप्रिलसम्म ३८ वटा सडक दुर्घटना भएको रहेछ । वन्यजन्तु र बाहन ठोक्किँदा अन्य जनावरका साथै एउटा बाघ पनि मरेको रेकर्ड छ । सोही अवधिमा बाँके राष्ट्रिय निकुन्जमा ६९ वटा दुर्घटना भएको देखिन्छ । दुर्घटनामा जंगली बँदेल, चित्तल, हुँडार, दुम्सी आदि मरेका थिए । साथै केही मान्छे सख्त घाइते भएका थिए । 

 

हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो ग्लोबल हिरो हो भने भदै लोकल हिरो हो । तेह्र वर्षकै उमेरदेखि चौध वर्षसम्म कमैया थिए । बाघसँग दुस्मनी साँध्ने काम नगरी बरु बाघलाई बचाउने अभियानमा लागेकाले उनी झन् उदाहरणीय बनेका छन् ।

 

सन् २०१८ को बाघ गणनामा बर्दिया राष्ट्रिय निकुन्जमा ८७ वटा बाघ रहेकामा करिब ३१ वटा बाघ खाता वनक्षेत्रमा भेटिएको छ । जैविक मार्गको सरदर चौडाइ ३ किलोमिटर छ । ताल कार्यक्रमको अध्ययनमा ५५६ मिटरको खण्डबाट अधिकांश जनावरहरू ओहोरदोहोर गर्छन् । त्यसैले वन्यजन्तुको सुरक्षित ओहोरदोहोरलाई सघाउने वातावरणीय मैत्री वाइल्डलाइफ क्रसिङको सम्भाव्यता अध्ययन गर्न र डिपिआर बनाउन गौमुखी इन्जिनियरिङ फर्मबाट खटिई हामी फिल्ड पुगेका थियौँ ।


छलफल सकिएपछि फिल्ड निरीक्षणको निम्ति निस्कियौँ । म थप बुझ्न भदैकै पछि लाग्छु । दुई, तीन दिनअघि ३०, ३५ वटा हात्तीको जत्था खातामार्ग हुँदै भारततिर लागेको उनी बताउँछन् । हुलाकी सडकछेउमा उभिएर वरपरको वन हेर्छौं । उनका रायसुझाबहरू भ्वाइस रेकर्डरमा टिप्छु । जंगली हात्तीको परम्परागत मार्ग देखेपछि मैले सोधेँ, ‘यसैलाई आधार मानी यो स्थानमा वाइल्डलाइफ क्रसिङ बनाउँदा हात्ती, बाघ र गैँडाले क्रसिङ प्रयोग गर्लान् ?’ उनी आत्मविश्वासपूर्वक जवाफ फर्काउँछन् ‘गर्छ, पारिको (कतरनियाघाट, भारत) बाघ गैँडासँग पिरिम गर्न पनि जनावरहरू उता जानै पर्छ । पिरिमलाई कस्ले रोक्न सक्छ र ?’ कस्सो हाँसो फुत्केको । मुसुमुसु नहाँसी रहन सकिनँ । अध्ययन टोलीको जिम्मेवार सदस्य, उत्ताउलो हाँसो हाँस्न पनि भएन । उनको हँसिलो अनुहार हेर्छु । मनमनै भन्छु, ‘मान्छे त तपाईं उत्पातै रमाइलो हुनुहुँदो रहेछ ।’ 


हलिउड अभिनेता लियोनार्डो डिकाप्रियोसँग भेट हुनु भदैको जीवनकै अविस्मरणीय घटना रहेछ । सन् २०१० को मे महिनामा डिकाप्रियो नेपाल आएका थिए । सर्वसाधारणले फर्केपछि मात्र उक्त कुरा थाहा पाए । भ्रमणको उद्देश्य सामुदायिक स्तरमा नेपालमा भएका बाघ सरंक्षणको काम हेर्ने र समुदायसँग छलफल गर्ने रहेछ । डिकाप्रियो बर्दिया राष्ट्रिय निकुन्ज गए । डिकाप्रियोसँग भदै थारुको भेट नहुने प्रश्नै भएन । बाघको अवैध सिकार रोक्न स्थानीय समुदायले चोरीसिकारी नियन्त्रण समूह बनाई गस्ती गर्ने गरेको, घाँसेमैदान व्यवस्थापनको काम गरेको उनले सुनाए । बाघसँगको जम्काभेटको कुरा पनि उनले बताए । भदैबाट प्रभावित भएर डिकाप्रियोले आफ्नो सनग्लास नै गिफ्ट दिएछन् । 


डिकाप्रियो ग्लोबल हिरो हो भने भदै लोकल हिरो हो । अन्यथा स्थानीय तहमा उनको योगदान कसै गरे पनि कम छैन । तेह्र वर्षकै उमेरदेखि चौध वर्षसम्म कमैया थिए । बाघसँग दुस्मनी साँध्ने काम नगरी बरु बाघलाई बचाउने अभियानमा लागेकोले उनी झन् उदाहरणीय बनेका छन् । मैले जिज्ञासा राखेँ, ‘आँखा लगिदिएर पनि बाघ जोगाउनुपर्छ भन्ने मनमा कसरी आयो ?’ उनको जवाफ ‘त्यो घटना वनमा भएको थियो । वनजंगल बाघको घर हो । हाम्रो घरमा पनि कोही अपरिचित अकस्मात् आएर होहल्ला गरे हामी डराउँछौँ । ज्यान जोगाउन खोज्छौँ । बाघको ठाउँमा म भए, म पनि आफूलाई जोगाउन आत्मरक्षाको कुनै उपाय गर्थें । त्यस्तो सोचाइ आएपछि मलाई बाघसँग बदलाको भाव आएन ।’  


कल्पना गर्छु । भदै विदेशमा भएका भए, कुनै प्रकाशन गृहले अबेर नगरी उनको रोमाञ्चक कथा टिप्न कुनै राम्रा लेखकलाई खटाउँदा हुन् । उनलाई पटक पटक भेटी, उनको अन्तर्वार्ता लिई नालीबेली टिप्दा हुन् । उनका जीवनीबारे पुस्तक निस्कदा हुन् । वीर रस र करुण रसले भरिएको त्यो पुस्तक पढ्न पाठकहरू व्यग्र हुँदा हुन् । पुस्तक लोकिप्रय बन्दा हुन् र भदैले अनेकौँ कार्यक्रममा आफ्नो पुस्तकमा हस्ताक्षर गरेको दृश्य सामान्य बन्दा हुन् । पुस्तक बिक्रीको रोयल्टीले नै उनलाई सहज जीवन बिताउन र बाघ संरक्षणमा निस्फिक्री लाग्न सघाउँदा हुन् । तर, त्यो सबै मीठो सपनाको कुरा थियो । यथार्थ, सात समुद्र टाढा थियो । 

 

बाघ 

 

गैँडा र हात्ती तुलनात्मक हिसाबले सजिलो गरी देख्न सकिन्छ, तर बाघ देख्न जुनी कुर्नुपर्छ । प्राकृतिक वासस्थानमा बाघ देख्नेहरू भाग्यमानी हुन् । चितवन र बर्दियामा करिब ६–७ पटक जंगल सफारी गरेकै हो । मे १५, सन् २०१६ मा पूरा दिन बाघ दर्शनको निम्ति बर्दियामा बिताइएको हो । तर पनि देखिएन । बाघको संख्या बढ्दै गएकाले देखिने सम्भावना भने सिद्धान्ततः बढेको छ । बाघकोे हिँडाइमा देखिने भव्य लय, भुवादार छाला, आकर्षक बुट्टा र आँखामा झल्कने आत्मविश्वासले जोकोही मुग्ध हुन्छ । मान्छेका समाजमा राजाका दिन गए, तर जनावरको समाजमा बाघ अझै राजा हो । 


चोरीसिकारीबाट बाघलाई धेरै खतरा छ । अन्तर्राष्ट्रिय बजारमा बाघको छाला, नङ्ग्रा महँगो मूल्यमा बिक्री हुन्छ । वासस्थान विनाश अर्को चुनौती हो । विश्वका १३ देशमा (भुटान, नेपाल, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, चीन, रसिया, कम्बोडिया, बंगलादेश, भारत, थाइलैण्ड र लाओस) बाघ पाइन्छ । सन् २०१० नोभेम्बरमा यी राष्ट्रका नेतृत्वहरू पिटर्सबर्ग, रसियामा आयोजित विश्व बाघ संरक्षण मञ्चमा भेला भए । प्राकृतिक वासस्थानमा विश्वभर ३२०० मात्र बाघ बाँकी रहेको साथै चोरीसिकार र वासस्थान विनाश बढ्दै गएकोले, सन् २०२२ सम्म बाघको संख्यालाई दोब्बर बनाउने प्रतिबद्धता जनाए । 


नेपाल आफ्नो लक्ष्यको (२५०) नजिक छ । सन् २०१८ को बाघ गणनाअनुसार, नेपालमा बाघको संख्या २३५ पुगिसकेको छ । वन तथा वातावरण मन्त्रालय, स्थानीय समुदाय र डब्लुडब्लुएफ नेपालको यसमा ठूलो योगदान छ । चोरीसिकार नियन्त्रण, घाँसेमैदान व्यवस्थापनजस्तै वन्यजन्तु मैत्री वाइल्डलाइफ क्रसिङ पनि बाघ संरक्षणको एक उपाय हुन् । वन्यजन्तुमैत्री पूर्वाधार अबको प्रमुख आवश्यकता हो । 

 

लियोनार्दो डिकाप्रियो  


‘द ग्रेट गेट्सवी’का अभिनेता डिकाप्रियो बाघ संरक्षणका ग्लोबल अभियन्तासमेत रहेछन् । जलवायु परिवर्तनको असर घटाउन विश्वका विकसित देशहरूले तत्काल ठोस कदम चाल्न उनले धेरै मञ्चहरूबाट अपिल गरेका छन् । डिकाप्रियो फाउन्डेसनमार्फत डब्लुडब्लुएफको वन्यजन्तु संरक्षण अभियानसँग पनि उनी जोडिएका छन् । 


‘एभिएटर’, ‘द उल्फ अफ वाल स्ट्रिट’, ‘रेभेनन्ट’, ‘द ग्याङ अफ न्युयोर्क’जस्ता सिनेमामा उनको जीवन्त अभिनय देख्न सकिन्छ । जीवनकै पहिलो ओस्कार सन् २०१५ मा सर्वोत्कृष्ट अभिनेताको निम्ति प्राप्त ग¥यो, ‘रेभेनन्ट’ सिनेमामा गरेको अभिनयको निम्ति । रेभेनन्ट, मान्छे र प्रकृतिबीचको संर्घषको सिनेमा हो । लाग्छ, डिकाप्रियोले सिनेमालाई साध्य मानेको छैन, प्रकृति संरक्षणको पक्षमा आफ्नो आवाजलाई मुखरित गर्ने साधन मानेका छन् । ओस्कार समारोहलाई रणनीतिक हिसाबले उपयोग गर्दै करिब ३.५ करोड लाइभ हेरिरहेको दर्शकमाझ उनले विश्व नेतृत्वलाई अपिल गरेका थिए । 


जलवायु परिवर्तन यथार्थ हो । यति नै वेला पनि यो सक्रिय छ । समस्त प्रजातिले सामना गरिरहेको यो अहिलेको सबैभन्दा ज्वलन्त चुनौती हो । अब ढिलाइ गर्नुहुन्न । प्रदूषण उत्पादन गर्ने र ठूला कम्पनीको पक्षमा बोल्नेभन्दा मानव जातिको, आदिवासीको, अर्बौं विपन्न समुदायको निम्ति, जो जलवायु परिवर्तनबाट प्रभावित छन्, उनीहरूको पक्षमा बोल्ने नेतृत्व हामीलाई चाहिएको छ यतिखेर । हाम्रा सन्तानका पनि सन्तानको आवाजको निम्ति, जुन लोभको राजनीतिभित्र कतै दबिएको छ ।

(हरेक वर्षको जुलाई २९ मा विश्व बाघ दिवस’ मनाइन्छ)

 

तस्बिर स्रोत : डब्लुडब्लुएफ नेपाल