• वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
विवेक पोखरेल
२०७७ श्रावण १७ शनिबार २०:१७:००
रिपाेर्ट

हामीलाई जहाँ गए पनि निकुञ्जले हटाउने रे !

२०७७ श्रावण १७ शनिबार २०:१७:००
विवेक पोखरेल

अढाइ दशकअघि धादिङ, मकवानपुर र चितवनका पहाडी भूभागबाट प्रकोप, गरिबीलगायतका विविध कारणले लखेटिएका अतिसीमान्तकृत चेपाङ समुदाय अझै लखेटिइ नै रहेका छन् । उनीहरू कहिले बाढी पहिरोबाट लखेटिन्छन्, कहिले राज्यबाट । पछिल्लोपटक चितवन, कुसुमखोलाका चेपाङहरूको घर जले । घर जलाइएपछि माडी नगर कार्यालयअघि खाली खुट्टै आन्दोलन गर्न पुगेका दीपबहादुर चेपाङसहित अन्य दुईजनासँग सहकर्मी विवेक पोखरेलले कुराकानी गरेका छन् : 

 

डरैडरमा बाँचिरहेछौँ 

मेरो नाम शान्तिकुमारी चेपाङ हो । चितवनकै पहाडी गाउँ सिद्धी भन्ने ठाउँमा २०३१ सालमा जन्मिएँ । १९ वर्षको उमेरमा कोराक भन्ने ठाउँमा रामबहादुर चेपाङसँग मेरो विवाह भयो ।

 

बिहे गरेको केही सालपछिको एउटा वर्ष धेरै पानी पर्‍यो । गाउँमा जताततै पहिरो गयो । खोलामा ठूलो बाढी आयो । हेर्दाहेर्दै हाम्रो छाप्रो पहिरोले बगायो । हामी बल्लबल्ल बाच्यौँ । त्यसपछि हामीले त्यो ठाउँमा नबस्ने सोच बनायौँ । सबैजनाले तराईतिर कुसुमखोला भन्ने राम्रो ठाउँ छ उतै जाउँ भन्न थाले । कतिपयले हल्ला सुनाए, कुसुमखोलामा धान फल्छ रे, त्यहाँ चामलको भात खान पाइन्छ रे । त्यसपछि हामी कुसुमखोला झर्ने सोच बनायौँ । 

 

 

एकदिन हामी बिहानै उठेर ओरालो लाग्यौँ । हामीलाई कुसुमखोला पुग्नु थियो । ४ वटी छोरी जन्मिसकेका थिए । काखको छोरीसहित हिँड्न नसक्नेलाईं बोक्यौँ ।मलाई याद छ, त्यसवेला हाम्रो साथमा एउटा भात पकाउने डेक्ची, एउटा पानी बोक्ने बाल्टी र ३ वटा थाल थियो । हामी कुसुमखोला आइपुग्यौँ । ठ्याक्कै मिति याद छैन, २०५४- ५५ सालतिर हामी यता आयौँ । बुढाबुढी मिलेर दुःख सुख एउटा छाप्रो बनायौँ । 

हामीले भात खान पाएनौँ, हप्तौँसम्म सिस्नु, वनतरुल र साग मात्रै खाएर बाँच्यौँ, सिस्नु र वनतरुल मात्रै खाँदा त काम नै गर्न सक्दैन थियौँ, जंगलबाट कुचो, खरेटो काटेर बिक्री गरेको पैसाले कहिलेकाहीँ खाना खान्थ्यौँ

खेती सुरु गर्‍यौँ । तर, जंगल नै जंगल भएकाले तत्काल उब्जनी नै भएन । त्यहाँ उब्जनी हुन तीन वर्ष कुर्नु पर्‍यो । तीन वर्ष असाध्यै दुःख पायौँ । हामीले भात खान पाएनौँ । हप्तौँसम्म सिस्नु, वनतरुल र साग मात्रै खाएर बाँच्यौँ । सिस्नु र वनतरुल मात्रै खाँदा त काम नै गर्न सक्दैन थियौँ । जंगलबाट कुचो, खरेटो काटेर बिक्री गरेको पैसाले कहिलेकाहीँ खाना खान्थ्यौँ । ३ वर्षपछि मात्रै अन्न उब्जनी हुन थाल्यो । सुरुमा मकै, फापर खेती गर्न थाल्यौँ । चामलको भात खाने भनेर आएको ४-५ वर्षसम्म त चामलको भात कस्तो हुन्छ भनेर स्वाद पनि लिन पाएनौँ । चामलको भात दिनको दुई छाक नै खान पाएको भर्खरै ६-७ वर्ष मात्रै भयो । 

 

छोराछोरी थपिँदै गएर आठजना पुग्यो । २ छोरा ६ छोरी भयो । जेठा छोरा र जेठी छोरीको विवाह भइसक्यो । श्रीमान् रक्सी खाएर मात्न थाले । रक्सी नखानु न भन्दा मान्दै मान्नु भएन । पेटभरि खान पाउनु छैन, काम धेरै भयो, ज्यान झन्झन् सुक्दै गयो, उहाँको । बिरामी पर्नुभयो । बल्लबल्ल अस्पताल लगेर जचाउँदा श्रीमानलाई टिबी रोग लागेको थाहा भयो । फेरि अस्पताल जाउँ न भन्दा मलाई उल्टै कुट्नुहुन्थ्यो । ‘मरे म मर्छु, अस्पताल जादिनँ’ भन्नुहुन्थ्यो । जति कर गरे पनि उपचार गर्नै मान्नुभएन । घरमै थला परेर लामो समयसम्म बस्नुभयो । सायद उहाँले आफ्नो कारणले परिवारलाई दुःख दिन चाहनु भएन । एकदिन म कतै काममा गएर फर्किँदै थिएँ । घरमा आइपुग्दा देखेँ, उहाँले त आत्महत्या गर्नुभएछ ।

 

उहाँले आत्महत्या गरेपछि बच्चाको जिम्मेवारी मेरो काँधमा आयो । त्यसपछि मैले नागरिकता बनाएँ । आज उहाँ बित्नुभएको ४ वर्ष भइसक्यो । ४ वर्षकी कान्छी छोरीबाहेक अरू छोराछोरी नगरपालिकाको छात्रावासमा बसेर पढ्दै छन् । एउटी छोरी ८ कक्षा, अर्की छोरी ७ कक्षा र बाँकी नर्सरीमा पढ्छन् । नगरपालिकाले यति गरेर धन्न मैले खर्च गर्नुपरेको छैन । 

अस्पताल जाउँ न भन्दा मलाई उल्टै कुट्नुहुन्थ्यो । ‘मरे म मर्छु, अस्पताल जादिनँ’ भन्नुहुन्थ्यो । सायद उहाँले आफ्नो कारणले परिवारलाई दुःख दिन चाहनुभएन । एकदिन म कतै काममा गएर फर्किँदै थिएँ । घरमा आइपुग्दा देखेँ, उहाँले त आत्महत्या गर्नुभएछ ।

बच्चा धेरै जन्माउने मेरो चाहना थिएन, तर श्रीमान्ले मान्नुभएन । उहाँकै कारण धेरै बच्चा जन्माउनुपर्‍यो । मैले बच्चा पेटमा नबसोस् भनेर संगिनी सुई पनि लगाउथेँ । तर, सुईले तीन महिना मात्रै काम गर्दोरहेछ । स्वास्थ्य केन्द्र टाढा भएकाले तत्काल अर्को सुई लगाउन पनि सकिएन । त्यसपछि बच्चाहरू जन्मिए । धेरै बच्चाहरू जन्माउँदा म कमजोर हुँदै गएँ । श्रीमान्लाई ‘बच्चा नहुने अप्रेसन गर्नु जानु न’ भन्दा ‘मलाई मार्न खोजेको ?’ भन्दै उल्टै हप्काउनुहुन्थ्यो । 

 

हाम्रो आफ्नै दुःख त थिए नै । त्यसमाथि निकुञ्ज र जंगली जनावरले पटकपटक दुःख दिइरह्यो । जंगली जनावरको डर, बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब । यस्तै डरैडरमा हामी बाँचिरह्यौँ । दुःखसुख कुसुमखोलामा नै चल्दै थियो । ०७४ मा बस्ती डुबानमा पर्‍यो । 

 

नगरपालिकाले लालपुर्जासहितको जग्गा र घर पनि दिने भन्ने कुरा सुनेर हामी धेरै खुसी भयौँ । हामी माडी नगरपालिकाको राईगाउँ भन्ने ठाउँमा आयौँ । पक्की दुईकोठे घर पनि पायौँ । तर, निकुञ्जले छानो हाल्न दिएन । त्यसपछि हामी त्यहाँ पनि बस्न सकेनौँ । हिजोआज कहिले छोराकोमा, कहिले छोरीकोमा बास बस्दै आएकी छु । खाना पनि पालो लगाएर नै खाने गर्छु ।

 

एकल महिला भनेर मलाई समूहले बाख्रा दिएको छ । तर, मान्छे बस्ने ठेगान नभएको वेलामा बाख्रा कहाँ राख्ने ? समस्यामा छु । ओत लाग्ने छाप्रो भए हुन्थ्यो । नगरपालिकाले घर त दियो, तर छानो छैन । हामीलाई जहाँ गए पनि निकुञ्जले हटाउने रे भनेको सुन्छु । सोचेकोजस्तो नहुँदो रहेछ । निकै दुःखले बाँचिरहेकी छु ।