• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विवेक पोखरेल
२०७७ श्रावण १७ शनिबार २०:४५:००
रिपाेर्ट

हाम्रो घर कहिले हात्तीले भत्काउँछ, कहिले सरकारले जलाउँछ

२०७७ श्रावण १७ शनिबार २०:४५:००
विवेक पोखरेल

 

अढाइ दशकअघि धादिङ, मकवानपुर र चितवनका पहाडी भूभागबाट प्रकोप, गरिबीलगायतका विविध कारणले लखेटिएका अतिसीमान्तकृत चेपाङ समुदाय अझै लखेटिइ नै रहेका छन् । उनीहरू कहिले बाढी पहिरोबाट लखेटिन्छन्, कहिले राज्यबाट । पछिल्लोपटक चितवन, कुसुमखोलाका चेपाङहरूको घर जले । घर जलाइएपछि माडी नगर कार्यालयअघि खाली खुट्टै आन्दोलन गर्न पुगेका दीपबहादुर चेपाङसहित अन्य दुईजनासँग सहकर्मी विवेक पोखरेलले कुराकानी गरेका छन् : 

 

तर सरकारले सुनेन : सोबबहादुर प्रजा 


मेरो नाम सोबबहादुर प्रजा हो । २००१ सालमा मकवानपुरमा जन्मिएँ । मेरो तीनपुस्ता नै सुकुमबासी हो । २०११ सालको बाढीले हाम्रो घर बगाएपछि बुबाले हामीलाई चितवनको जुटपानी भन्ने ठाउँमा ल्याउनुभयो । त्यहाँ पनि खोलाको छेउमा बसोवास गरी अरूको खेतमा काम गरेर गुजारा चलायौँ ।

 

 

बुबाको त्यहीँ निधन भएपछि हामी दाजुभाइ छुट्टियौँ । भाइ चितवनको पहाडी भेग सिद्धितिर लागे । म कोराकको समिटारतिर लागेँ । त्यहाँ पनि घर खोलाले बगायो । त्यसपछि कुसुमखोलामा खेतैखेत छ, भात खान पाइन्छ भन्ने सुनेपछि ०५३ मा यतै आएँ । 

 सरकारसँग हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, अस्पताल पनि मागेनाैँ, आफैँले बनाको घर नभत्काइदेऊ न मात्रै भन्यौँ । तर, सरकारले सुनेन । 

 

मेरो ७ जना छोराछोरी छन् । जेठा छोराको ९ वर्षअघि नै मृत्यु भइसक्यो । के रोग लाग्यो केही थाहा भएन । छोराले दशैँमा ऋण गरेर मासु ल्यायो । त्यही मासुको ऋण तिर्न दाउरा चिर्न जंगल गएको थियो । दाउरा चिर्दाचिर्दै छोरा रगत छादेर म¥यो । बुहारी अहिले खाडीमा छिन् । छोरीहरू विवाह गरेर आफ्नो सुर गरिसके । छोराहरू पनि छुट्टिए । अहिले हामी श्रीमान्–श्रीमती छौँ । 

 

म आफैँ पनि टिबी रोगी हुँ । ९ महिना औषधि खाएपछि रोग त निको भयो, तर गह्रौँ काम गर्न सक्दिनँ । खान नपाएर खेताला जाँदा पनि कसैले काम दिँदैन । गरिबलाई नै पटकपटक दैव लाग्दोरैछ । हामी सुकुमबासीलाई त्यस्तै पीडा हुँदै आएको छ । कुसुमखोलामा पटकपटक प्रशासन आएर हटाउन खोज्छ, जंगली जनावरले घर भत्काइरहन्छ । तर, हामीले त्यो ठाउँ छाड्न सकेका छैनौँ । ०७४ को बाढीले बस्दै आएको घर बगाएपछि सरकारले नयाँ बनाउने आश्वासन दियो ।

 

सधैँ बसोवासकै चिन्ताले सताउँछ  : दीपबहादुर चेपाङ

 

मेरो नाम दीपबहादुर चेपाङ हो । ५१ वर्षको भएँ । शरीरमा बल हुँदासम्म चितवनको कुसुमखोलामा बिताएँ । त्यहाँ आउनुअघि चितवनकै लोथरमा थियो घर । त्यो घर बाढीले बगाएपछि २०५३ सालमा बसाइँ सरेर कुसुमखोलामा आइपुगेँ । डरलाग्दो थियो ठाउँ । काँस नै काँसको झाडी थियो । बाघ–भालुको डर असाध्यै हुन्थ्यो ।

 

 

कुसुमखोलावरपर खेती गर्दै बस्न थालेँ । चार सन्तान त्यहीँ हुर्किए । त्यहाँ आएदेखि सधैँ डर र त्रासमै बस्दै आयौँ । जंगली जनावरले मेरो घर पटकपटक भत्काएको छ । भत्किएको घर बनाउन काठ खोज्न जाँदा निकुञ्जका आर्मीहरूले हामीलाई धेरैपटक खेद्यो । लुकीलुकी घर बनाउँदै बस्दै आएँ । निकुञ्जको आर्मीले लेखेटे मात्रै हुन्थ्यो नि, घर पनि भत्काइदिन्छन् । अहिलेसम्म उनीहरूले दुईपटक मेरो घर भत्कायो । 

नेताहरू चुनावमा मात्रै हामीलाई भेट्न आउँछन् । त्यसवेला ‘तपाईंहरूको सुरक्षा हामी गर्छौं भन्छन्,’ तर आफ्नो घर भनेर आजसम्म बस्न पाएका छैनौँ । अहिले पनि निकुञ्जले मेरो घरमा आगो लगाइदियो । 

५७-५८ सालतिर निकुञ्जका कर्मचारीले १२ वटा हात्ती ल्याएर हाम्रो घर भत्काइदियो र आगो लगाइदियो । हामी बल्लबल्ल बाँच्यौँ । अरू धेरै चेपाङहरूको पनि घर हात्ती लगाएर भत्काइदियो । त्यसपछि हामी सात महिनाजति खोलाकिनारमा छाप्रो बनाएर बस्यौँ । त्यसवेला खान निकै धौ–धौ भयो । केही उपाय नलागेपछि बाध्य भएर हामी फेरि कुसुमखोला नै फर्कियौँ । 

 

कुसुमखोलामा नुनतेल, सिटामोल, जीवनजलसमेत केही पनि पाइँदैन । यस्ता सामान किन्न पनि दुई किलोमिटर टाढा हिँडेर बगई भन्ने ठाउँमा पुग्नुपर्छ । त्यहाँसम्म पुग्न ठाउँठाउँमा खहरेहरू तर्नुपर्छ । अरूले दिएको थोत्रो कपडा ठाउँठाउँमा टालेर लगाउनुपर्ने बाध्यता छ । नेताहरू चुनावमा मात्रै हामीलाई भेट्न आउँछन् । त्यसवेला ‘तपाईंहरूको सुरक्षा हामी गर्छौं भन्छन्,’ तर आफ्नो घर भनेर आजसम्म बस्न पाएका छैनौँ । अहिले पनि निकुञ्जले मेरो घरमा आगो लगाइदियो । अनि म आन्दोलन गर्न आएँ । सधैँ बसोवासकै चिन्ताले सताउँछ ।