• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण मुकारुङ
२०७७ श्रावण २४ शनिबार ०९:२७:००
साहित्य

डिप्रेसनमा राम

२०७७ श्रावण २४ शनिबार ०९:२७:००
श्रवण मुकारुङ


अयोध्याको विवादमा
असाध्यै इन्जोय गरिरहेका श्रीरामलाई
जब,
तुलसीदासको ज्ञनाति पुस्ताको कवि
रामबहादुर तमाङ ‘राबत’ नामको एउटा प्युसोले
भगवान् नमानेको
अझ, त्यही कुरालाई उसले
गीत बनाएर
डाँडाकाँडा फुक्दै हिँडेको
र जताततै वाहवाही पाइरहेको
वानररूपी एक भक्तबाट सूचना पाएपछि
राम
गहिरो डिप्रेसनमा गएका छन् ।

 

भगवान्लाई नै डिप्रेसनमा धकेल्ने गीतचाहिँ यस्तो छ-
‘ए भ्रममा बाँच्ने मान्छे !
भ्रम मिठो हुन्छ
सत्य तितो हुन्छ
आफ्नै मैच्याङ जलाउने
भगवान् कहाँ हुन्छ
मान्छे कहाँ भगवान् हुन्छ
ल्हास्सो...ऽऽ...!’
    

डिप्रेसनमा जानुअघि
युटुबरहरूले भन्दा छिटो
रामका ती चतुर भक्तले
सैलुङमुनिको सानो गाउँबाट
सुटुक्कै आफ्नो मोबाइलमा रेकर्ड गरिल्याएको
माथि उल्लिखित सेलो बिटको गीत
च्युँडो हल्लाउँदै, धनुको ताँदो मुसार्दै
एक चित्तले सुनिसकेपछि
आँसुले डगबगाएका आफ्ना ठुल्ठूला आँखाले
क्रोधमा तिखारिएको भक्तको खिरिलो आँखा सुमसुम्याउँदै
भारी स्वरमा भनेका थिए उनले-
‘पिर नगर बालक !
म त त्यति ठूला राजर्षि कवि
तुलसीदासले बनाएको भगवान् पो हुँ त
नाथे यो आफैँ सीमान्तीकृत
काँठको कुनै दुःखी कुनामा दुर्घटनावश कविको रूपमा जन्मिएकोे
निरीह प्राणीले भन्दैमा
धर्ती फाट्नेछैन, आकाश खस्नेछैन
ताराहरू बिलाउनेछैनन्, चन्द्रमा चोइटिनेछैन ।’
तर अफसोस !
यति भनिनसक्दै उनको दिव्य अनुहार
ग्रहण लागेको सूर्य भएको थियो
बाक्के रहेको थियो तत्काल, त्यही वेला
र यसरी-
टोलाएर एकनास
हेर्न थालेका हुन् उनले अशोकको यो बूढो रूखलाई ।

 

घरिघरि-
आगोमा कोही जलिरहेको चित्र आउँछ
तर जलिरहेको को हो ?
अहँ उनी सम्झिन सक्दैनन्
पाउमा कसैले बारम्बार स्पर्श गरिरहेको
मसिनो आभास त हुन्छ
तर स्पर्श गर्ने को हो ?
उनी ठम्याउन सक्दैनन्
आफ्नै वरिपरि–
विशाल पर्वत बोकेर घुमिरहेछ कोही
लामो लस्कर छ जिउभरि भुत्ला र पुच्छर भएकाहरूको
तर को हुन् यिनीहरू...?
जसका प्रत्येक छातीमा
चिनेकै मान्छेको जस्तो
न हाँसेको न रोएको बिलखबन्द मुद्रामा
एउटै तस्बिर देखिन्छ
अनेक कोसिस गर्छन् खुट्याउन
तर सक्दैनन्
तब, टाउको चड्किन्छ
रिङ्गटा लाग्छ ।

 

यो ग्लोबलाइजेसनको युगमा
को कहाँ जन्मियो भन्ने कुरा तपसिलका कुरा हुन्
जब कि-
चौध-चौध वर्ष बिताएको
वनवासको त सम्झना हरायो
तर एकभन्दा बढी टाउको सँगै देख्नासाथ
जोडले झस्किन्छन् उनी
जङ्गलको यात्रामा निस्किन लागेको झाँक्रीझैँ
काँप्न थाल्छ उनको शरीर
पक्रिनुपर्छ, थुमथुम्याउनुपर्छ
किनभने-
कस्तै युद्धको पनि गहिरो हुन्छ घाउ ।
तर-
कहाँ ? कसरी ? के कारणले ?
केका लागि भएको थियो युद्ध...?
सब बिर्से उनले, झिल्को सम्झना छैन उनलाई ।

 

बिमारले-
यति पर पुर्‍याइसकेपछि
दशरथ...
कौशल्या...
लक्ष्मण...
भरत...
वा लवकुश...
कहाँ सम्झिन सक्नु
कोही मरेर गइसके, कोही वरिपरि नै छन्
यद्यपि-
यी सब उनलाई सपनाजस्तो लाग्छ
र अहिले-
पृथ्वीवासी यतिका मानिसहरू
‘हे राम...! हे राम...!’ पुकार्दै
यो विपत्मा यसरी मृत्युवरण गरिरहँदा
उनी त लौ !
आफ्नो रामवाणले
आफ्नै खराउमा गढेको
थमपिन, आलपिन
र चुइगम पो कोट्याइरहेछन् ।

 

वास्तवमा राम अहिले
डिप्रेसनको चरम अवस्था झेलिरहेका छन्
त्यसैले त उनी
यो धर्तीका यति धेरै दुःखी आत्माहरूद्वारा
यति करुणामयी कोरसमा आफूलाई
हरि पुकारिरहेको पनि पत्तै नपाउने भएका छन्
राम को हो ?
यस्तो सजिलो प्रश्नको उत्तर पनि
उनको विस्मृतिको सिकार भयो
रोगले च्याप्दै लाँदा उनलाई
सुसाइड गर्ने तीव्र इच्छा जन्मिएको थियो
त्यो पनि अब, बिर्सिसके उनले ।

 

यसरी-
डिप्रेसनले सीमा नाघेपछि
पुगिने अन्तिम ठेगाना त पागलपन हो
बस् यही पागलपनछेउ
अहिले आइपुगेका छन् राम
त्यसैले त-
यो संसारबाट
निरपेक्ष, निराकारजस्तो भएका छन् उनी
र विचरण गरिरहेछन् नितान्त आफ्नो दुनियाँमा
आफ्नै खराउ-
घरि लाउँदै घरि फुकाउँदै, घरि ढोग्दै घरि थुक्दै
घरि मिल्काउँदै घरि च्याप्दै काखीमा
आजको यो विश्व रङ्गमञ्चमा
तमासा देखाइरहेछन् राम ।

 

तर-
सबथोक बिर्सेको मानिसको पनि संसार हुन्छ
एक्लै-
रुँदै...
हाँस्दै...
बर्बराउँदै...
सुर बेसुर...
वा, चुपचाप–चुपचाप
हिँडिरहेको मानिसलाई पनि
अघिल्तिर बाटो हुन्छ
यत्ति हो, उसलाई
हामफाल्नबाट जोगाउँदै हिँड्न दिनुपर्छ ।

 

तर-
फर्किन पनि सक्छन् राम
जसरी त्रेतायुगमा फर्किएका थिए अयोध्या
हो, त्यसरी नै फर्किन सक्छन् यो भयानक डिपे्रसनबाट पनि
किनभने-
उनी भगवान् हुन् ।

 

चर्चा चल्दै छ ठोरीको
चर्चा चल्दै छ फेरि साकेतको
त्यसैले-
फर्किन सक्छन् उनी कुनै आश्चर्यमय दिन
जुन दिन क्षितिजमा बादलका टाटाहरू 
बताससित हरिगुड्डु खेलिरहेका हुन सक्छन्
हो, यस्तै कुनै दिन फर्किन सक्छन् उनी
कारण-
यो धरामा प्रत्येक सम्भावनाहरू जीवित छन्
र त यो संसार यसरी चलिरहेको छ
हो, अचानक-
फेरि सम्झिन सक्नेछन् उनले- तुलसीदास
सम्झिन सक्नेछन् - कविताको शक्ति
सम्झिन सक्नेछन् फेरि-
कि, एउटा लोभी मनुख्खे
कसरी भएको थियो भगवान्

 

अफसोस !
तर अहिले
गहिरो डिप्रेसनमा छन् राम ।