• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आर. मानन्धर
२०७७ श्रावण २४ शनिबार १०:००:००
इतिहास

श्रीराम :  पूर्वीय धर्महरूका साझा पात्र

२०७७ श्रावण २४ शनिबार १०:००:००
आर. मानन्धर

अहिलेसम्म रामलाई हिन्दू देवताको रूपमा मात्रै चित्रण गरिएको छ । वास्तवमा यो अधुरो र एकाकी ज्ञानको परिणाम हो । राम एउटा यस्ता धार्मिक पात्र हुन्, जो भारतवर्षका सबै धर्ममा व्याप्त छन् । त्यो पनि उत्तिकै आदरणीय पात्रका रूपमा । भारतवर्षका धर्महरूलाई एक ठाउँमा ल्याउन सक्ने कुनै नाम छ भने त्यो राम नै हुन सक्छ । त्यसैले रामको सरोकार हिन्दूको मात्र नभई बौद्ध, जैन, सिख सबैको हो ।


पुरातात्विक प्रमाणहरूबाट त रामकथा बौद्धधर्मसित अझै बढी जोडिएको छ । किनभने रामकथा कुँदिएको सबभन्दा पुरानो शिल्पकृति नै बौद्धस्तूपमा भेटिएको हो । त्यो शिल्पकृति मध्यप्रदेशस्थित भरहुत स्तूपमा कुँदिएको हो, जुन दोस्रो शताब्दी इपूको हो । बुद्धको पूर्वजन्मका कथाहरू कुँदिएको शिलामा रामकथा पनि कुँदिएको हो । (बोस, २००४, द रामायण रिभिजिटेड, अक्सफोर्ड युनिभर्सिटी प्रेस) यति मात्र नभई परापूर्वकालदेखि नै दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका सबैजसो देशमा रामकथा फैलिएको देखिन्छ । रामकथा यति साह्रो लोकप्रिय हुनुको कारण के हो, ठम्याउन मुस्किल छ । किनभने भारतवर्षमा धर्मसम्बन्धी अन्य थुप्रै कथा छन्, तर रामकथाजसरी जनस्तरमा व्यापक हुने गरी फैलिएको कुनै देखिँदैन । भारतवर्षमा उत्पत्ति भएर बाहिरट फैलिएका दुई कुरा छन्–बौद्धधर्म र रामकथा । बौद्धधर्म विश्वभर फैलिएको छ भने रामकथा दक्षिणपूर्वी एसियाली देशमा ।


रामायण कथाको रूपमा मात्र नभई नृत्य र नाटकको रूपमा पनि देखाउने परम्परा छ । बौद्धधर्मको केन्द्र रहेको थाइल्यान्डका विहारमै ‘रामकियन’ मञ्चन गराउने चलन छ । त्यहाँका कलाकारहरूले मुखौटाहरू लगाएर जुन खालको उच्च कलात्मक प्रस्तुति दिन्छन्, त्यति मनमोहक प्रस्तुति भारतमै हेर्न दुर्लभ छ ।

 

सबैका साझा राम


पूर्वीय धर्म–दर्शन भन्नाले वैदिक (हिन्दू), बौद्ध, जैन र सिख हुन् । यी धर्महरूको आपसी सम्बन्ध प्रतिद्वन्द्वात्मक र प्रतिस्पर्धात्मक छन् । तर, रामकथा र राम पात्र भने सबैका साझा छन् । बुद्धधर्ममा दशरथ जातक छ, महाजनक जातक छ, अनि लंकावतार सूत्र छ । लंकावतार सूत्र बुद्धले रावणलाई दिएको उपदेश हो । बुद्धका अनुसार राम बोधिसत्व हुन् अर्थात् पूर्वजन्ममा उनी स्वयं राम थिए । त्यस्तै जैन धर्ममा रामलाई त्रिसट्ठी शलाकपुरुषहरूमा राखिएको छ । शलाकपुरुषको अर्थ हो– महापुरुष । अनि सिख धर्ममा चौबीस अवतार छन्, जसमा राम बीसौँ छन् भने बुद्ध तेइसौँ अवतार हुन् ।


रामकथाको अर्को विशेषता हो, यो कथाको हरेक धर्म र स्थानमा फरक–फरक भाका (भर्सन) छन् । प्राचीन कथाहरू त्यस्तै हुन्छन् । कालान्तर र स्थानान्तरमा कथामा केही थपघट हुन्छ । ऐतिहासिक पुरुष बुद्धकै जीवनीका पनि फरक–फरक कथा छन् । बीसौँ शताब्दीमा नेपालभाषाका कवि चित्तधर हृदयले आफ्नो सुगत–सौरभ महाकाव्यमा बुद्धजीवनीका धेरै घटनाहरूको फरक चित्रण गरेका छन् । कविले आधुनिक युगको आवश्यकताअनुसार बुद्ध–जीवनीका घटनाहरूलाई परम्पराभन्दा फरक प्रस्तुति दिएका हुन् । फरक–फरक कथा पाइए भन्दैमा गौतम बुद्धको ऐतिहासिक प्रामाणिकतामा कमी त आउँदैन नि ! रामको सन्दर्भ पनि त्यस्तै हो ।

 

बुद्धधर्ममा रामकथा


अब जाउँ बुद्धधर्ममा भएको रामकथातर्फ । बुद्धधर्ममा रामको कथा दशरथ जातकमा छ । जातक भनेको बुद्धको पूर्वजन्मको कथा हो । बुद्धले पाँच सयभन्दा बढी आफ्नो पूर्वजन्मका कथा सुनाएका छन् । गौतम बुद्धको जीवनी अनुसार, जुन बुद्धपूर्णिमाको बिहान बुद्धले बोधिज्ञान प्राप्त गरे, त्यसको अघिल्लो रातको प्रथम प्रहरमा ध्यान गरिरहँदा उनलाई पूर्वानुस्मृति ज्ञान लाभ भएको थियो । बुद्ध भन्छन्, ‘म आफ्नो पाँच सय पूर्वजन्मका घटना त विनाप्रयास नै सम्झन सक्छु ।’


बुद्धले ती पूर्वजन्मका कथाहरू कसैलाई केही कुरा बुझाउन आवश्यक पर्ने वेलामा सुनाउने गर्थे । दशरथ जातक पनि बुद्धको समयका एक जमिनदारलाई पितृशोकमा डुबेको वेला सुनाएका थिए । सो जमिनदारका पिताको मृत्यु भएको कैयौँ दिन बितिसकेको थियो, तर उनी सामान्य मनस्थितिमा फर्कन सकिरहेका थिएनन् । शोकमा विह्वल उनी आफ्नो सबै कर्तव्य बिर्सेर बसेका थिए । तब बुद्धले उनको मनस्थितिको उपचारार्थ दशरथ जातक सुनाएका थिए ।


सो कथामा रामायणमा जस्तै राम, लक्ष्मण र सीता वनवास जान्छन् । त्यसको कारण पनि राजा दशरथकी कान्छी महारानीले आफ्नो छोरा भरतलाई युवराज बनाउने चाहना नै उल्लेख छ । तर, यस कथामा राम–सीतालाई आदर्श पति–पत्नी भनी देखाउन खोजिएको छैन । बरु रामलाई धीर, गम्भीर, बुद्धिमान व्यक्ति देखाइएको छ । त्यसैले यसमा उनको नाम पनि ‘रामपण्डित’ उल्लेख छ, अर्थात् बुद्धि विवेकले भरिपूर्ण व्यक्ति ।


रामले आफ्नो राज्य छाडेर जान लाग्दा जनताहरू रुवाबासी गर्छन्, उनको पाउ पर्छन् । तर, राम अलिकति पनि विचलित हुँदैनन् । उल्टै उनले शोकाकुल जनतालाई जीवनमा धैर्यधारण गर्नुपर्ने उपदेश दिँदै हिमालयतिर लाग्छन् । अनि हिमालय पर्वत पुगेर जंगलभित्र पोखरी भएको र फलफूल पाइने एउटा उपयुक्त स्थानमा कुटी बनाई सीता र लक्ष्मणसँगै बस्छन् ।


यता राजा दशरथको पुत्रवियोगका कारण देहान्त हुन्छ । अनि भरत रामलाई खोज्दै जंगलभित्रको कुटीमा पुग्छन् । कुटीको आँगनमा पुगेर भरत धेरै बेरसम्म रोएकोरोएै गर्छन् । रामले रुनुको कारण सोधेपछि उनले पिताको देहान्त भएको बताउँछन् । तर, राम अविचलित, धीर र गम्भीर भएर बस्छन् । तब भरत सोध्छन्, ‘तपाईंमा यस्तो धैर्य गर्न सक्ने क्षमता कसरी भयो ?’


रामबाट जुन पद्यात्मक जवाफ सूत्रमा दिइएको छ त्यो अत्यन्तै उत्कृष्ट र कवितात्मक छ । डब्लु. एच. डी. रोजले जुन अंग्रेजी अनुवाद (१९०१, द जातक अर द स्टोरिज अफ बुद्धाज प्रिभियस बर्थ, क्याम्ब्रिज) प्रस्तुत गरेको छ, त्यो पढ्दा पनि उच्चकोटीको काव्य पढिरहेको भान हुन्छ । रामले भरतको प्रश्नमा जुन उत्तर दिन्छन्, त्यही नै यो कथाको उत्कर्ष हो, ‘बिहान देखिएका कतिपय मानिस बेलुकासम्ममा बिलाइसकेका हुन्छन् । साँझसम्म देखिएका कतिपय मानिस भोलि बिहानसम्ममा बिलाइसकेका हुन्छन् । यदि रोइकराइ गर्दैमा केही लाभ हुँदो हो त बुद्धिमानहरूले पनि रोइकराइ नै गर्दा हुन् । जति विलाप गरे पनि गइसकेको जीवन नफर्किने भएकाले बुद्धिमान मानिसले व्यर्थै आफैँले आफैँलाई कष्ट दिन्छन् नै किन ?

 

रामकथाको प्रभाव कतिसम्म छ भने थाइल्यान्डका राजाहरूले आफूलाई ‘राम’ भन्छन् । वर्तमान थाईराजा राम दसौँ हुन् । थाइल्यान्डको पहिलाको राजधानीको नाम पनि अयोध्या हो । चौधौँ शताब्दीको मध्यदेखि अठारौँ शताब्दीको मध्यसम्म अयोध्या थाइल्यान्डको राजधानी थियो ।

युवा–वृद्ध, मूर्ख–पण्डित, धनी–गरिब सबै मरणशील छन् । जसरी पाकेको फल रूखबाट कुनै पनि वेला झर्ने हुन्छ, त्यसैगरी जन्म लिएका प्राणीहरूमा मरणको भय सधैँ रहिरहन्छ । आफूलाई कष्ट दिँदा आफैँ दुब्लो र दुर्वर्ण हुँदै जानुसिवाय बितिसकेको मानिसको रक्षा हुने होइन । त्यसैले रुनु, कराउनु व्यर्थ छ । जसरी आगो लागेको घरमा पानी छ्यापी अविलम्ब आगो निभाउनुपर्छ, वा जसरी हावाले कपासलाई सहजै उढाउँछ, त्यसरी नै बुद्धिमान मानिसले उत्पन्न भएको शोकलाई अविलम्ब हटाउनुपर्छ । मानिस यो धर्तीमा एक्लै आउँछ र एक्लै जान्छ । सम्भोग र संयोगले मात्र प्राणीहरू नातामा गाँसिएका हुन् । जो धीर छ, ज्ञानी छ, उसले इहलोक र परलोक दुवैलाई अनित्य देख्छ । बरु अष्टलोक धर्मलाई जानियो भने जस्तोसुकै शोकले पनि मनमा ताप दिन सक्दैन । अनि मजस्तो आवश्यक कर्तव्य बुझ्ने बुद्धिमानले शोक गरून् नै किन ?’


त्यसबखत लक्ष्मण र सीता जंगलतिर गइरहेका थिए । उनीहरू फर्किंदा बुबा दशरथको देहान्तको समाचार सुनेर तीनपल्ट बेहोस हुन्छन् । सो कथामा भरतले रामको खराउ सिंहासनमा राखी राज्य सञ्चालन गरेको कुरा पनि छ । यसमा रमाइलो कुरा के पनि उल्लेख छ भने दरबारबाट कुनै गलत निर्णय भयो भने खराउहरू आपसमा जुध्थे । निर्णय सही भएपछि खराउ फेरि शान्त रहन्थे ।


बुबा दशरथको वचनअनुसार आफ्नो वनवास बाह्र वर्ष पूरा भएपछि राम आफ्नो राज्यमा फर्किन्छन् र सोह्र हजार वर्षसम्म धर्मतापूर्वक शासन गर्छन् । कथा टुंग्याउँदै बुद्धले भन्छन्, ‘उहिलेका दशरथ महाराज अहिलेका शुद्धोदन महाराज हुन् । सीता राहुलमाता, भरत आनन्द र लक्ष्मण सारिपुत्र हुन् । अनि रामपण्डित म आफैँ थिएँ ।’

 

यो कथा सुन्दासुन्दै जमिनदार पितृशोकबाट मुक्त हुन्छ र कथाको अन्त्यसम्म पुग्दा ऊ मोक्षको स्रोतमा अवस्थित हुन्छ । त्यसलाई बौद्धधर्ममा स्रोतापन्न भनिन्छ । 
बुद्धले दशरथ जातक अनित्यको यथार्थबोध गराउने उद्देश्यले सुनाएका थिए । त्यसैले थाइल्यान्डमा कसैको अन्त्येष्टि कार्यपछि त्यही दिन राति रामायण (रामकियन) मञ्चन गराइन्छ, ताकि शोकसन्तप्त परिवार शोकबाट उम्किन सकियोस् । दशरथ जातकमा रावणको प्रसंग छैन, न त कुनै युद्धकै । तर, थाइल्यान्डमा गरिने नाटक मञ्चनमा भने रावण, हनुमान, बालि सबै आउँछन् । 

 

रामकथाको प्रभाव कतिसम्म छ भने थाइल्यान्डका राजाहरूले आफूलाई ‘राम’ भन्छन् । वर्तमान थाईराजा राम दसौँ हुन् । थाइल्यान्डको पहिलाको राजधानीको नाम पनि अयोध्या हो । चौधौँ शताब्दीको मध्यदेखि अठारौँ शताब्दीको मध्यसम्म अयोध्या थाइल्यान्डको राजधानी थियो । त्यस्तै इन्डोनेसियामा पनि कुनै बखत अयोध्या नाम गरेको ठाउँ थियो भनिन्छ  । राजाहरूमा आफूलाई राम शब्दसित जोड्ने र आफ्नो राजधानीलाई अयोध्या नामकरण गर्ने रहर नै चलेको देखिन्छ ।  

 

गौतम बुद्धकै समकालीन वर्धमान महावीर बुद्धजस्तै उच्च धार्मिक अगुवा हुन् । उनको जैन धर्ममा भएको कथामा रामले रावणलाई मार्दैनन्, लक्ष्मणले मार्छन् । अन्त्यमा राम र सीता जैन साधु–साध्वी बन्छन् र मोक्ष प्राप्त गर्छन् । तर, लक्ष्मण र रावण भने युद्धमा हत्या गरेका कारण नर्कमा जान्छन् । यहाँ ख्याल गर्नुपर्ने कुरा हो, जैनधर्म अत्यन्त अहिंसावादी धर्म हो ।


यसैले रामको जीवनीसम्बन्धी तथ्यहरू हिन्दू धर्मावलम्बीका लागि मात्र नभई बौद्ध, जैन, सिख सबैका लागि उत्तिकै महत्वपूर्ण र चासोका विषय हुन्छन् । तर, रामका सम्बन्धमा अहिलेसम्म ऐतिहासिक तथ्य फेला नपरिसकेकाले रामलाई मिथकीय पात्र नै मान्नुपर्छ । यसको अर्थ यो कदापि होइन कि राम भन्ने काल्पनिक पात्र नै मात्र हुन् । यसको अर्थ हो कि अहिलेसम्म ऐतिहासिक प्रमाण फेला परिसकेका छैनन् ।

 

इतिहासकारहरूले प्रमाणिक ठह¥याएका धार्मिक प्रणेताहरूमा जैन धर्मका तेइसौँ तीर्थंकर पाश्र्वनाथ सबभन्दा पुराना हुन् । उनी ई. पू. आठौँ शताब्दीआसपास वाराणसीमा जन्मेका थिए । तर, यसको अर्थ यो होइन कि त्यसभन्दाअघि कुनै धार्मिक नायक नै थिएनन् । खोज–अनुसन्धानबाटै इतिहासलाई धकेल्दै जाने हो ।

 

(आर. मानन्धर दर्शनशास्त्रका अध्येता हुन् । उनले चार वर्ष बौद्ध भिक्षु भई थाइल्यान्डमा अध्ययन गरेका थिए ।)