• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पल्लवी पायल
२०७७ श्रावण २४ शनिबार ०८:४९:००
रिपाेर्ट

मधुश्रावणी अर्थात् अग्निपरीक्षा

नवदुलहीले मधुश्रावणी मानिनन् भने श्रीमान्को जीवन खतरामा पर्छ भन्ने अन्धविश्वास फैलाइन्छ

२०७७ श्रावण २४ शनिबार ०८:४९:००
पल्लवी पायल


पितृसत्ता र नारीद्वेषी विचारले हाम्रो समाजमा गहिरोसँग जरा गाडेको छ । त्यसमाथि परम्परागत हिन्दू संस्कारले यी विचारलाई फल्ने–फुल्ने वातावरण प्रदान गरेको छ । हिन्दू संस्कारले नैतिकताको नाममा सामाजिक व्यवस्था टिकाइराख्न ठूलो भूमिका खेल्छ । महिलालाई लैंगिक भूमिका स्विकार्न दबाब दिने मात्र होइन, पुरुष आधिपत्य मान्न दबाब पनि दिइन्छ । यही अभ्यास र सामाजिक प्रणालीले समाजमा महिलाको हैसियत सुनिश्चित गर्न भूमिका खेल्छ । परिणामस्वरूप यसले समाजमा परिवर्तनका संकेत देखिए पनि समाज परिवर्तनको स्रोतलाई पछाडि तान्न वा दण्डित गर्ने प्रयास गर्छ । 


हामी यस्तो समाजमा बस्छौँ, जहाँ महिलाको विचारलाई स्विकारिँदैन र महिलाको पहिरनको छनोटलाई प्रश्न गरिन्छ । पछिल्लो समय यस्ता धेरै उदाहरण भेटिन्छन्– पूर्वसांसद सदस्य सरिता गिरी, मोटरसाइकलमा ब्याकलेस पहिरन लगाएर बसेकी युवती तीमध्ये केही हुन् । यिनको विरोध गर्ने आवाज यथास्थितिवादी दृष्टिकोणबाट आएको हुन्छ, जसले ‘राष्ट्रिय स्वार्थ’बारे चिन्ता गर्छ । तर, यो पक्षको राष्ट्रिय स्वार्थ महिलाको आवाज दबाउने र महिलामाथि नियन्त्रण गर्नमा केन्द्रित छ । नागरिकता विधेयक यसैविरुद्ध प्रयोग भएको एउटा षड्यन्त्र हो । यी आवाजको एजेन्डा नै महिला दमनको सामाजिक व्यवस्थालाई कायम राख्न महिलामाथि नैतिकता थोपर्नु हो ।

 

मधुश्रावणीको इतिहास र यसको अर्थ बहसको विषय हो । तथापि, सुखद वैवाहिक जीवनका लागि व्रत बस्ने वा घुँडा पोल्ने परम्परा प्रगतिशील समाजको लक्षण होइन, बरु यस्तो पर्वले पितृसत्तात्मक मानसिकतालाई बलियो बनाउँछ ।

 

यस्ता आवाजको प्रतिरोध गर्दै परिवर्तन ल्याउने हो भने हामीले पितृसत्तात्मक मनस्थितिको आधार रहेका हाम्रा परम्परागत अभ्यासमाथि ध्यान दिनुपर्छ । यी परम्परामाथि प्रश्न गरिँदैन, किनकि परिणाम जोखिमपूर्ण हुन सक्छ । गायिका सोफिया थापाले यो तिजमा व्रत नबस्न आह्वान गरिन् । उनले महिला तथा पुरुषको समान हैसियत माग गर्दै गीत गाइन् । गीतको ठूलो विरोध भयो र विरोध गर्नेहरू अर्थहीन तर्क गरिरहेका छन् । उनले धार्मिक समूहबाट पनि धम्की पाइन् । सामाजिक संरचना टिकाउने ठेक्का लिएको सम्झने धार्मिक समूहका लागि पुरुष सर्वोच्चतामाथि प्रश्न गरिनु अपराध हो । भिडियो युट्युबबाट हटाइयो । विभेद र अन्यायविरुद्ध आवाज उठाउने महिला संघर्षको अर्को उदाहरण रह्यो, यो घटना । अन्तिममा आवाज उठाउनेहरूको आवाजलाई बन्द गराइन्छ र यो अन्य महिलाका लागि चेतावनीका रूपमा देखाउन खोजिन्छ । सामाजिक व्यवस्थाले समाजमा पुरुषको हातमा शक्ति दिएको छ भने महिला शक्तिलाई स्विकार्ने एजेन्ट बनेका छन् । यी संस्कार मानेर महिला आफूलाई पुरुषभन्दा तल्लो दर्जामा राख्छन् । 

०००

महिलालाई नियन्त्रणमा राख्ने र अमानवीकरण गर्ने परम्परागत अभ्यासको कुरा गर्दा नवविवाहित उच्च जातीय मधेसी महिला (ब्राह्मण तथा कायस्थ) मधुश्रावणीलाई पनि लिन सकिन्छ । यो श्रावण महिनामा १५ दिनसम्म मनाइन्छ । यसमा अन्तिम पूजासम्म प्रत्येक दिन व्रत बसिन्छ । अधिकांश सांस्कृतिक अभ्यासमा जस्तै यो पर्व पनि परिवारका महिला सदस्यले मनाउँछन् । नवविवाहित महिला दुलहीजस्तो सिँगारिएर प्रत्येक दिन टोकरीमा फूल टिप्न जान्छन् । महिलालाई सासू–ससुराको घरबाट नयाँ कपडा र गरगहना दिइने गरिन्छ । परिवारका अन्य सदस्यले धार्मिक तथा सांस्कृतिक गीत गाउँछन् र सो क्रममा नवविवाहित दुलहीले पूजा गर्छन् ।

 

आजकल यो पर्वका फोटो सामाजिक सञ्जालमा पनि हाल्ने चलन बढेको छ । यो पर्वलाई चहकिलो रङ, शृंगार, फूल, गरगहना र अन्य कुराले आकर्षक बनाइन्छ । महिलाहरू सबैले खुसी भएर पर्व मनाइरहेको देखिन्छ, तर यो पर्वको उद्देश्य भने पुरुषको दीर्घायुका लागि हुन्छ । यो सम्पूर्ण कार्य पुरुषका लागि गरिएको हुन्छ । १५औँ र अन्तिम दिन बलिरहेको दियोको टुप्पीले नवदुलहीको घुँडा डामिन्छ । यो विधिलाई टेमी भनिन्छ । घुँडा डामिँदा महिलाको आँखा छोपिन्छ र जनविश्वासअनुसार आगोले बनाउने घाउ ठूलो हुनुपर्छ । यसले महिलाको सहनशीलताको परीक्षण हुने मान्यता छ । समयसँगै धेरै ठाउँमा यसको स्वरूपमा परिवर्तन आएको छ । कतै–कतै घुँडामा डाम्नुअघि दियो निभाइन्छ । यसका बाबजुद टेमीको जुन पश्चगामी संकेत छ, त्यो भने कायमै रहन्छ । 


समाजले तिजको व्रत, मधुश्रावणीको टेमीजस्ता विधिलाई संस्कृतिको नाममा महिलालाई मान्न बाध्य पार्दै आएको छ । हामीकहाँ संस्कृति र विश्वासमाथि प्रश्न गर्नु वर्जित छ । त्यसमा सोचविचार नगरी कडाइका साथ पालना गरिनुपर्छ भन्ने मान्यता पनि कायम छ । यदि नवदुलहीले मधुश्रावणी मानिनन् भने उनको श्रीमान्को जीवन खतरामा पर्छ भन्ने अन्धविश्वास नै फैलाइएको छ । टेमीले भने नवविवाहित महिलालाई वैवाहिक जीवनको कठिनाइका लागि तयार गर्ने एउटा विश्वास छ । यसले त वैवाहिक जीवन महिलाका लागि मात्र कठिन हुन्छ भन्ने अर्थ प्रसार गर्छ । यसले विवाहपश्चात् महिला मात्रै ठूलो भौतिक चुनौतीबाट गुज्रनुपर्छ र वैवाहिक जीवनको एक मात्र जिम्मेवारी महिलामाथि जान्छ भन्ने संकेत गरेको छ । 

 

अर्को जनविश्वासअनुसार यसले रामायणमा वर्णित सीताको ‘अग्निपरीक्षा’लाई संकेत गर्छ । जसरी रामायणमा सीता अग्निपरीक्षाबाट सकुशल फर्किन्छिन् र यसबाट उनको श्रीमान् रामप्रतिको पतिव्रता, निष्ठा र शुद्धता प्रमाणित हुन्छ, त्यहीअनुसार टेमीले महिलाको पतिव्रतालाई संकेत गर्छ । सीता हाम्रो लोकसंस्कृतिबाट सबैभन्दा धेरै आदर्शीकरण गरिएकी पात्र हुन् र उनलाई हिन्दू समाजमा आदर्श पत्नीका रूपमा प्रस्तुत गर्दै पति रामप्रतिको उनको निष्ठा तथा रामसँगको उनको सम्बन्धलाई आजको दिनसम्म महिलाका लागि उदाहरणका रूपमा पेस गरिन्छ । रामले सीताबाहेक अन्य महिलासँग विवाह नगरेको र सीताका लागि रावणसँग लडाइँ लडेकाले उनलाई आदर्शका रूपमा प्रस्तुत गरिन्छ । तर, रामले रावणसँगको युद्ध सीताका लागि नभएर आफ्नो अहंकारका लागि गरेको देखिन्छ । सीताले आफ्नो इमानदारिताको प्रमाणस्वरूप अग्निपरीक्षा दिनुपरेको कुरालाई पनि समाजले जायज ठह¥याएको छ । पुरुषले भने सोही स्तरमा पत्नीप्रतिको निष्ठा देखाउन परीक्षा नै दिनुपर्ने कतै उल्लेख हुँदैन । यसै कारणले श्रीमान्को प्रतिष्ठा बचाउनका लागि महिलालाई विवाहसम्म कुमारी रहनुपर्ने माग गरिन्छ । 

 

तिज तथा मधुश्रावणीले महिलालाई दुःख पोख्ने वा उनीहरूका कुरा अभिव्यक्त गर्ने अवसर दिएको तर्क गरिन्छ । तर, यिनै अधिकार चाडपर्वबाहेकका अन्य समयमा किन स्विकारिँदैन ?

 

यो पर्वमा पनि महिलाबाट परम्परागत इज्जत र निष्ठाको माग गरिन्छ । यो पर्वसँग जोडिएका दुवै अन्धविश्वास समाजका समस्या हुन् । किनकि, दुवै व्याख्याले महिलाको स्तरलाई होचो देखाउँछ । पर्व मनाउने प्रक्रियामा केही परिवर्तन आएको भए पनि यसले महिलालाई अमानवीकरण गरेको छ । यसलाई पालना गर्ने नवविवाहित महिला यसको अर्थ तथा कथाबारे एकदमै थोरै मात्र परिचित हुन्छन् । केही वर्षअघि सामाजिक सञ्जालमा यस विषयमा कुरा उठ्दा पुरुषहरूले महिला आफैँले यसमा सहभागिता जनाएकाले यसलाई सम्मान गरिनुपर्ने बताएका थिए । हालसम्म पनि महिलाविरोधी यो पर्वको विषयमा विरोध नभएकोमा म सहमत छु, तर यसका केही कारण छन् । 


यस विषयमा बहस नै वर्जित हुनुमा समाजमा महिलाको स्थिति एउटा कारण हो भने अर्को कारण अन्धविश्वास होे । अन्धविश्वासले यसलाई बलियो सामाजिक कानुन बनाएको छ । मैले गरेको अवलोकनअनुसार भर्खरै विवाह गरेर आएका महिला नयाँ घरमा सहज महसुस गर्दैनन् । यस्तो अवस्थामा महिलामा घरको अभ्यासविरुद्ध प्रश्न गर्ने आत्मविश्वास हुँदैन । हिन्दू परिवारमा पितृसत्तात्मक सोचबाट निर्देशित पारिवारिक मानसम्मानलाई एकदमै महŒव दिइने भएकाले पनि यसो गर्न कठिन हुन्छ । यी कारणले एकातर्फ रीतिरिवाज निरन्तर चल्छन् भने अर्कोतर्फ महिलाहरू मौन हुन्छन् । हाम्रो समाजमा मानवीय सम्मानलाई तिलाञ्जली दिएर भए पनि परम्परागत रीत र संस्कृति पालना गरिनुपर्छ भन्ने बलियो विश्वास कायमै छ । 

 

मधुश्रावणीको इतिहास र यसको अर्थ बहसको विषय हो । तथापि, सुखद वैवाहिक जीवनका लागि व्रत बस्ने वा घुँडा पोल्ने परम्परा प्रगतिशील समाजको लक्षण होइन, बरु यस्तो पर्वले पितृसत्तात्मक मानसिकतालाई बलियो बनाउँछ । मानिस र समाजले यसको निर्माण गरेको हो, त्यसैले यसलाई हटाउन पनि नसक्ने भन्ने हुँदैन । हामीले समाजलाई अगाडि बढाउन समाजको प्रतिगमनकारी तथा विभेदहरूलाई फिल्टर किन नगर्ने ? सांकेतिक रूपमा महिलाविरोधी विचार बोकेका परम्परालाई निरन्तरता दिइरहनुपर्छ र ? महिलामाथि अतिरिक्त मर्यादाको माग गरिरहँदा पुरुषबाट भने त्यस्तो केही माग गरिँदैन । तिनलाई महिलाको लामो आयुका लागि व्रत बस्नुपर्ने आवश्यकता छैन । व्रत बसेर कसैको उमेर बढ्ने कुराको कुनै प्रमाण त छैन, तर यो भिन्नताले संस्कृति पालनामा रहेको दोहोरो मापदण्डलाई प्रस्ट्याउँछ । 


पर्वलाई महिलाले पूर्ण लगावका साथ मानिरहेका हुन सक्छन्, तर यसले पनि परम्पराको मुख्य भार महिलामाथि लादिएको यथार्थलाई बदल्दैन । साथै, यी परम्पराको अर्थ गहिरो गरी नारीद्वेषी रहेको कुरा यथार्थ हो । महिलाको परम्परा मान्ने छनोटलाई प्रशंसा गर्नेले केही महिलाको त्यसविरुद्ध बोल्ने अधिकारलाई पनि स्वागत गर्नुपर्छ । तिज तथा मधुश्रावणीले महिलालाई दुःख पोख्ने वा उनीहरूका कुरा अभिव्यक्त गर्ने अवसर दिएको तर्क गर्छन् । महिलाहरू यी पर्वमा परिवार र साथीभाइसँग भेट गर्ने र नाच्ने–गाउने कुरालाई देखाएर यसो भनिन्छ । तर, यिनै अधिकार चाडपर्वबाहेकका अन्य समयमा किन स्विकारिँदैन ? महिलाहरू जब निश्चित प्रकारको पहिरन लगाउने स्वतन्त्रता उपभोग गर्छन्, सामाजिक विषयमा आफ्नो आवाज उँचो गर्छन्, समाज तिनलाई चुप गराउने प्रयास गर्छ । नाचगान तथा पार्टी गर्ने कुरा पनि एक सीमाभित्र मात्र स्विकारिन्छ । आलोचनाप्रतिको असहिष्णुता र बहस तथा छलफल निषेध गर्ने भएकाले पितृसत्तात्मक मानसिकता बदल्न कठिन हुन्छ । हामी महिलाका अघि सर्तसहितको स्वतन्त्रता छान्ने कि जीवनका हरेक पक्षमा स्वतन्त्रता छान्ने दुई विकल्प छन् ।