• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बबिता राई
२०७७ श्रावण २४ शनिबार ०९:३३:००
समाज

यौनहिंसाका अनेक रूप

हाम्रो जस्तो समाजमा प्रेम भावनात्मकभन्दा पनि राजनीतिक छ

२०७७ श्रावण २४ शनिबार ०९:३३:००
बबिता राई

 

-  साम्राज्ञीहरूले भोगेको हिंसा केवल चलचित्र क्षेत्रका दुई चलचित्रकर्मीबीचको ‘विवाद’ मात्र होइन, यो दुई असमान शक्तिसम्बन्ध भएका महिला र पुरुषलाई एउटै घटनाले कसरी फरक–फरक रूपमा असर गर्छ भन्ने चित्र पनि हो

 

-  ‘त्यतिवेला नै किन नबोलेको ?’ भनेर प्रश्न गर्नुअघि आफैँलाई प्रश्न गर्नु उपयुक्त हुन्छ कि यतिका महिलाले खुलेर बोल्न सक्ने समाज निर्माण गर्न किन सकेनौँ ?

 

प्रेम र वैवाहिक आवरणमा लुकेको हिंसा


सुरुवातमा आफ्नै व्यक्तिगत अनुभव जोडेर यस लेखलाई विस्तार गर्न चाहन्छु । जुन समाजमा महिलाको आवाज दबाइएको हुन्छ, उनीहरूका व्यक्तिगत भोगाइका विषय पोलिटिकल बहसका लागि उपयुक्त नमानेर केवल ‘व्यक्तिगत गनगन’ र ‘रोनाधोना’का रूपमा व्याख्या गरिएको हुन्छ, त्यहाँ आफूमाथि भएका यौनहिंसाबारे खुलेर लेख्नु पनि केही हदसम्म क्रान्तिकारी कदम नै बन्न पुग्छ । किनकि, महिलाले व्यक्तिगत भोगाइ त्यसमा पनि आफ्ना नजिकका व्यक्तिबाट भएका हिंसाका घटना बाहिर ल्याउँदा उनको समग्र ‘चरित्र’माथि प्रश्न उठ्न सक्ने अनेक पाटा पनि खुलेर आउँछन् र प्रश्नको कठघरामा उभिनुपर्ने हुन्छ । यो कठघरामा बलियो गरी आत्मविश्वासका साथ उभिनु छ भने समाजले भिराइदिएको संस्कार, चरित्र, इज्जत र मर्यादाका सम्पूर्ण आवरणबाट मुक्त हुनैपर्ने जरुरी हुन जान्छ ।


तीन वर्षअगाडि मेरा एक पूर्वप्रेमीले मसँग कुनै मौखिक सहमति नलिई यौन प्रक्रिया अगाडि बढाएका थिए । उनले कुनै मौखिक सहमति नलिईकन सुरु गरेको हर्कतमा मैले स्पष्ट मौखिक असहमति जनाए पनि उनले त्यसलाई बेवास्ता गरिरहे । सायद उनी मेरो प्रेमी हुनुको हैसियतले त्यति मनोमानी गर्ने हक उनलाई छ र त्यो खासै आपत्तिजनक कार्य होइन भन्ने उनलाई लाग्थ्यो । सायद मलाई पनि म प्रेमिका हुनुको हैसियतले त्यतिको मनोमानी त सामान्य रूपमा लिनुपर्छ भन्ने लाग्थ्यो । किनकि, हामीले आमरूपमा बुझ्दै आएको प्रेमले त यस्ता अनेकौँ मनोमानीहरूलाई स्वीकृत गर्ने मात्र होइन, ‘रोमान्टिसाइज’ नै गरिदिएको छ । 


एक उन्नाइस वर्षकी केटीले बुझेको ‘प्रेम’ पनि योभन्दा खासै फरक थिएन । त्यसबखत यौनहिंसाका विरुद्ध लेख्न, बोल्न थालिसकेकी एक केटीलाई समेत आफ्नै प्रेमीबाट यौनहिंसामा परेको थाहा हुन सकेन । त्यस घटनाको तीन वर्ष र सम्बन्ध टुटेको एक वर्षपछि केही दिनअघि मात्र मैले करिब चार पृष्ठ लामो म्यासेज लेखेर उनलाई त्यस व्यवहारका निम्ति जवाफदेही बनाउने प्रयास गरेँ । उनी मेरो प्रेमी हुनुको हैसियतले यौनका लागि मनोमानी गर्न सक्ने प्रमाणपत्र प्राप्त व्यक्ति थिएनन् र त्यस दिन म पनि यौनहिंसाको सिकार भएकी थिएँ भनेर महसुस हुन तीन वर्ष लामो समय लाग्यो । सम्बन्ध टुटिसकेको अवस्थामा पनि मैले उनलाई जवाफदेही बनाउने कोसिस गरेँ, किनकि म कुनैवेला हिंसाको सिकार भएकी थिएँ भन्ने वास्तविकताले मलाई मानसिक रूपमा दिएको विचलन असामान्य थियो, जसको असर सायद मसँग जीवनभर रहिरहनेछ । 


ढिलै भए पनि मैले प्रतिवाद गरेर ठूलो राहत महसुस गरेँ र उनले देखाएको जवाफदेहिताका कारण यतिचाहिँ प्रस्ट भएँ कि कम्तीमा उनी अब आफूसँग जोडिएका वा भविष्यमा जोडिन पुग्ने महिलाका सन्दर्भमा सचेत हुनेछन् । म प्रस्ट छु कि त्यो घटनापश्चात् हाम्रो सम्बन्ध कति सुमधुर थियो भन्ने कुरासँग सम्बन्ध हुँदैन । एकपटक मात्रै मिचिएको सहमति पनि हिंसा हो, चाहे अरूवेला जतिपटक सुमधुर सम्बन्ध राखेको किन नहोस्, त्यसपूर्व र त्यसपश्चात्को कुनै पनि सुमधुर यौन सम्बन्धले त्यो एकपटकको हिंसाको पुष्टि हुँदैन । मलाई लाग्यो, म आफ्नै हिंसात्मक विगतबाट मुक्त हुन सक्दिनँ भने मैले लेख्ने क्रान्तिकारिताको के अर्थ ?


मैले यहाँ उल्लेख गरेको घटना हाम्रो पुस्ताका महिलाको साझा भोगाइ हो भन्दा फरक पर्दैन । मसँग खुलेर कुरा गरेका मेरा सर्कलका धेरै महिलाले प्रेमी र श्रीमान्सँगको यौन सम्बन्धमा कुनै न कुनै किसिमको दबाब, असहजता र मनोमानी भोगेको नै बताएका छन् । हाम्रो जस्तो समाजमा प्रेम भावनात्मकभन्दा पनि पोलिटिकल छ, किनकि यसमा लैंगिक, आर्थिक, जातीय, क्षेत्रीय पहिचान र त्यसअनुसारको सामाजिक ‘हाइरार्की’ पनि जोडिएको हुन्छ र ‘हेट्रोसेक्सुअल’ सम्बन्धहरूमा महिलाहरू कुनै न कुनै हिसाबबाट दमित हुन्छन् । प्रेम सम्बन्ध र वैवाहिक सम्बन्धका नाममा हुने मनोमानी अधिक हुँदाहुँदै पनि त्यसविरुद्ध महिलाहरू सजिलै प्रतिकार गर्न सक्दैनन्, किनकि हामी यति अभ्यस्त भइसकेका हुन्छौँ कि कुनै पनि किसिमका दुव्र्यवहारविना बाँच्न पाउने हकसहितको मान्छे हुँ भनेर थाहासम्म पनि हुँदैन ।


अधिकांश विवाहित महिलाले आफ्नो जीवनकालको कुनै न कुनै समय श्रीमान्को दबाबका कारण, प्रतिकार गर्न सक्ने अधिकार नभएका कारण, श्रीमान्का लागि सधैँ तयार रहनुपर्छ भन्ने स्कुलिङका कारण आफ्नो चाहना नहुँदानहुँदै पनि यौनमा सामेल भएका छन् भन्ने दाबी पुष्टि गर्न मसँग कुनै आधिकारिक तथ्यांक त छैन, तर एक महिला भएर बाँचेको र देखेको समाजमा यो ‘ओपन सेक्रेट’ हो । फेरि यति हुँदाहुँदै पनि हाम्रा यी आफ्नाहरूको यौनिक मनोमानीलाई यौनहिंसा र आफ्नाहरूलाई पीडकको रूपमा हेर्न हिच्किचाउन सक्छौँ ।

 

हामी अझै पनि यी आफ्नाहरूलाई ‘यौनहिंसा पीडक’, ‘बलात्कारी’ भनेर नाम दिइहाल्न असहज मान्छौँ, किनकि जुन समाजमा विवाहको प्रमाणपत्रलाई महिलामाथि बलात्कार गर्न पाइने अनुमतिपत्रका रूपमा लिइन्छ, त्यस्तो समाजमा हिंसाले संस्कृतिको रूप लिइसकेको हुन्छ । संस्कृति मानव जीवनको पद्धति हो र जब यौनहिंसा समाजको पद्धति बन्छ, यस्ता हिंसाका घटना अति सामान्य र स्वाभाविक हुन पुग्छन् । आफूले गरेको दुव्र्यवहारमा आत्मालोचना गरेर सामान्य बन्न खोज्ने पुरुषसमेत ‘महान्’ बन्न पुग्छ, किनकि असामान्य व्यवहार गर्ने पुरुषत्व हाम्रो संस्कृति हो ।

जुन समाजमा विवाहको प्रमाणपत्रलाई महिलामाथि बलात्कार गर्न पाइने अनुमतिपत्रका रूपमा लिइन्छ, त्यस्तो समाजमा हिंसाले संस्कृतिको रूप लिइसकेको हुन्छ

 

 

महिलाहरूले यौनका चरणबद्ध सहमतिबारे स्पष्ट बुझे र उनीहरूले सम्पूर्ण भोगाइ खुलस्त भन्न सक्ने समाज बनेको खण्डमा ‘आफ्ना’ भनिने श्रीमान्, प्रेमी, साथीहरू नै जवाफदेही बन्नुपर्ने अवस्था आउने पक्का छ । ‘केटीले सुरुमा हुँदैन त भनिहाल्छ नि’ भन्ने आममानसिकताबाट सञ्चालित प्रेम र वैवाहिक सम्बन्धहरूमा कतिपटक महिलाहरूले दबाब झेलेका होलान् ? भावनात्मक, मनोवैज्ञानिक दबाबमा परेर राजी भएको अवस्था पनि यौनहिंसाको स्वरूप हो ।

 

कतिपटक चुम्बनका लागि दिएको सहमतिलाई यौनसम्म पुग्ने अनुमतिका रूपमा बुझेर त्यसैअनुसारको व्यवहार गरे होलान् ? यौनका लागि सहमति दिइसकेकै अवस्थामा पनि यौनक्रिडामा कसरी प्रस्तुत हुने-नहुने भन्ने सवालमा उनको हरेक चरणको सहमति लिइन्छ कि लिइँदैन भन्नेसम्मको विषय महत्वपूर्ण हुन्छ, जहाँ हामी प्रवेश गरेकासम्म छैनौँ । यौनहिंसाको सूक्ष्म र बृहत् रूप कहाँसम्म छ भनेर खुलेर बहस यसकारण पनि हुन सकेको छैन कि ‘यौन’ आफैँमा ‘स्टिग्मटाइज्ड’ विषय हो । कुनै महिलाले ‘मैले चुम्बनका लागि मात्र सहमति जनाएकी थिएँ, तर मेरो पुरुष पार्टनरले त्यसकै बलमा यौन प्रक्रिया अगाडि बढाउन खोजे’ भनेर आफूमाथि यौनहिंसा भएको बताए वर्तमान नेपाली समाज सम्पूर्ण शक्ति लगाएर प्रश्न गर्न लागिपर्नेछ, ‘चुम्बनका लागि सहमति दिने अनि फेरि हिंसा भयो भन्ने ?’

 

त्यस महिलाको चरित्रमाथिको टिप्पणीदेखि लिएर सारा दोषारोपण उनैलाई हुनेछ, तर आरोपित पुरुषमाथि प्रश्न उठ्नेछैन । किनकि, समाजका न्यायाधीशहरूले चुम्बनका लागि पाएको सहमति एउटा सिंगो यौन प्याकेज नै हो भन्ने फैसला गरिसकेका हुनेछन् । ‘चुम्बनका लागि तयार थिएँ’ भन्ने भनाइमै अल्झिएर समाज यति रन्थनिनेछ कि महिलाको चरित्रलाई निसाना बनाएर लगातार कुण्ठा बान्ता गरिरहनेछ । नजिकको सम्बन्ध भएका ‘आफ्ना’, त्यसमा पनि रोमान्टिक सम्बन्धमा हुने अनगिन्ती हिंसाका घटना बाहिर आउन सक्दैनन् ।

 

कुनै अपरिचित व्यक्ति वा कुनै रगत सम्बन्धको व्यक्तिले बलात्कार गरे सजिलै सहानुभूति र साथ मिल्न सक्ने सम्भावना रहन्छ, तर आफ्ना प्रेमी, श्रीमान्बाट हुने हिंसाका घटना बाहिर ल्याए उल्टै महिलाले अनेक दोष, आरोप, लाञ्छना भोग्ने मात्र होइन, परिवार र समाजबाट पूर्णतः बहिष्कृतसम्म हुन सक्छन् । बलात्कारविरुद्ध उभिने समयमा त कुनै विलम्ब नगरी ऐक्यबद्धता जनाउने जमात उपस्थित हुन्छ, त्यसमा कुनै दुईमत हुँदैन । तर, बलात्कार संस्कृति हामीबाटै निर्मित हो, पुरुषसत्ताबाट निर्मित हो र ‘सामान्य’ मानिएका हाम्रा कैयौँ व्यवहार उत्तिकै जिम्मेवार छन् भनेर आत्मालोचना गर्दै ऐक्यबद्धता जनाउन तयार कति होलान् ? यसरी तयार हुने जमात बाक्लो नभएसम्म ‘बलात्कारीलाई सजाय देऊ’ जस्ता नारामा खास शक्ति हुँदैन । 

 

हिंसाबारे बोल्ने उपयुक्त समय कुन ?


यतिवेला कलाकार साम्राज्ञीराज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रमा आफूले भोगेको दुव्र्यवहारबारे आवाज उठाएपछि विभिन्न बहसको सिर्जना भएको छ । उनले नाम नलिईकनै चलचित्र क्षेत्रका एक व्यक्तिले आत्मीयता देखाउने बहानामा अनावश्यक रूपमा गाला जोड्न आउने गरेको बताएकी छन् । आफू कलिलै उमेरमा भएको कारण त्यतिवेला प्रतिवाद गर्न सक्ने अवस्थामा नरहेको र अहिले पनि ती घटना सम्झँदा गाह्रो हुने भएकाले आफ्नो अनुभव सेयर गरेको बताएकी छन् ।

 

चलचित्र छायांकनको समयमा एक अपरिचित व्यक्तिले आक्रमण गरेको घटनापछि चलचित्रका निर्देशकबाट सुन्नुपरेको ‘रेप जोक्स’को उदाहरणबाटै प्रस्ट हुन्छ, ती कुन हदसम्मका असंवेदनशील व्यक्ति हुन् । यसबीच आरोपितले करोडौँ क्षतिपूर्तिको माग दाबीसहित साम्राज्ञीविरुद्ध मुद्दा दायर गर्नेदेखि लिएर आरोपलाई निराधार साबित गर्न उनले गाँजा खाने गरेको, मदिरा पिउने गरेकोजस्ता असान्दर्भिक र अनावश्यक विषयसमेत ल्याइएका छन्, जसको उनले भोगेको यौन दुव्र्यवहारसँग सम्बन्ध नै छैन । यो महिलाले आफ्नो भोगाइबारे खुलेर बोलेबापत कति मूल्य चुकाउनुपर्छ भन्ने एउटा उदाहरण हो । सामाजिक सञ्जालमा आएका असंवेदनशील टिप्पणी र चरित्रलाई लिएर आएका प्रतिक्रियाबाट समाजले यौन दुव्र्यवहारका घटनालाई खास रूपमा कसरी बुझ्दै आएको छ भन्ने छर्लंग हुन्छ । 


हिंसाको जति वर्षपछि भए पनि जीवनकालमा आफूले भोगेको हिंसाबारे बोल्नुपर्छ भन्ने मूल मान्यतासहित सुरु भएको मिटु आन्दोलन भारत र नेपालसम्म आइपुग्दा ‘त्यतिवेलै किन नबोलेको ?’ भनेर अत्यधिक रूपमा आएको प्रश्न साम्राज्ञीको सन्दर्भमा पनि प्रशस्त देखिएको छ । हिंसाका घटना पुरानो हुँदैमा त्यसको मानसिक, मनोवैज्ञानिक असर सकिँदैन । घटना केही वर्ष पुरानो हुँदैमा पीडक जवाफदेही हुनुनपर्ने तर्कले सरासर हिंसालाई प्रश्रय दिन्छ । यौनहिंसाका विविध स्वरूप हुन्छन्, जसमध्येका कतिपय व्यवहार यौन दुव्र्यवहार हो भनेर घटनाको समयमा थाहासम्म पनि हुँदैन, किनकि परिवार र विद्यालयबाट प्राप्त हुने प्रारम्भिक शिक्षाले हामीलाई यी विषय बुझाउनै सक्दैन । बरु यस्ता व्यवहारलाई सामान्यीकृत गर्न सिकाइने मुख्य प्रारम्भिक थलो घर र विद्यालय नै हुन्छन् ।

 

यौनजन्य हिंसाका घटनाबाट आकस्मिक रूपमा उत्पन्न हुने डर, द्विविधा, विस्मयले तत्काल प्रतिवाद गर्न नसकिने अवस्था हुन सक्छ । हिंसाले मानसिक रूपमा कसरी विचलित बनाउँछ र आफ्नो अस्तित्व कमजोर हुनुको बोधले सम्भावित उत्पादकत्वमा समेत कसरी असर गरिरहेको हुन्छ भनेर हामीले पर्याप्त कुरा गर्न थालेका छैनौँ । प्रत्येक स्पेसमा दुव्र्यवहार भोग्दै गरेको वास्तविकता वा भोग्नुपर्ने डरका कारण कति महिला विस्थापित हुन्छन्, उत्पादकत्वमा ह्रास आउँछ र उनीहरू उत्पादकीय तथ्यांकहरूमा अदृश्य बन्न पुग्छन् । यसका सर्वव्यापी असरले समाजको प्रगति के कति हुन सकेको छ कि छैन भन्ने सवालसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छन् । यसका असर यति व्यापक छन् कि साँघुरो वर्तमान नेपाली समाजले त्यसको व्यापकताको क्षेत्रबारे अनुमानसम्म लगाउन सक्दैन । किनकि, महिलाका भोगाइ र दृष्टिकोण ध्यानपूर्वक सुन्ने, मनन गर्ने संस्कारको विकास भइसकेको छैन ।


आफूमाथि भएको हिंसाविरुद्ध बोल्ने उपयुक्त समय कुन वेला हो भनेर लैंगिक असमानतामा आधारित संरचनाबाट मुख्य रूपमा लाभान्वित समूहले तोकिदिने होइन । हिंसा भोगेका महिलाले जुन समयमा आफूमाथि भएको घटनाबारे बोल्ने साहस जुटाउन सक्छन्, सहज र सुरक्षित महसुस गर्छन्, त्यहीँ नै उपयुक्त समय हो । ‘त्यतिवेला नै किन नबोलेको ?’ भनेर प्रश्न गर्नुअघि आफैँलाई प्रश्न गर्नु उपयुक्त हुन्छ कि यतिका महिलाले खुलेर बोल्न सक्ने समाज निर्माण गर्न किन सकेनौँ ? महिलाको आवाज निर्ममतापूर्वक दबाइदिएको समाज निरन्तर टिकिरहनमा मैले के कसरी योगदान पु-याइरहेको छु ? आफ्नो यौनिकतामाथि हुने आक्रमणको बखत महिलाको मस्तिष्क आकस्मिक प्रतिक्रिया गर्न सक्ने अवस्थामा हुन्छ कि हुँदैन ? त्यसबखत उनको बोली किन फुट्दैन ? सरासर यौन दुव्र्यवहार हो भनेर बुझ्दाबुझ्दै पनि हजारौँ वर्षदेखि महिलालाई मौन रहनका निम्ति दिइँदै आएको प्रशिक्षणले किन सफलतापूर्वक काम गरिरहेको छ ?


चलचित्र क्षेत्रको प्रवृत्तिबारेको बहस यसकारण पनि मूलधारमा आउन जरुरी छ कि यो क्षेत्र सधैँ विशेष चासोको केन्द्रमा रहने गर्दछ । विश्वभर फैलिएको मिटु आन्दोलनको सुरुवात पनि चलचित्र क्षेत्रबाटै भएको थियो । चलचित्र क्षेत्रमा हुने यौनहिंसाका घटना हुन् वा त्यस क्षेत्रबाहेकका अन्य जुनसुकै स्पेसमा हुने घटना हुन्, अन्तर्यमा त्यसको मूल जड एकै हो । साम्राज्ञीहरूले भोगेको हिंसा केवल चलचित्र क्षेत्रको मात्रै विषय होइन, केवल दुई चलचित्रकर्मीबीचको ‘विवाद’ मात्र पनि होइन । यो दुई व्यक्तिबीचको ‘विवाद’ र ‘द्वन्द्व’भन्दा दुई असमान शक्तिसम्बन्ध भएका महिला र पुरुषलाई एउटै घटनाले कसरी फरक-फरक रूपमा असर गर्छ भन्ने चित्र पनि हो ।

 

महिलाका भोगाइ र राजनीति 

 

महिलाको मुद्दा कहिल्यै राजनीतिक विषय बन्न सकेन । सधैँभरि ‘तिमीहरूको मुद्दाभन्दा प्राथमिक र संवेदनशील अन्य विषय नै छन्’ भनेर हाम्रा भोगाइका कथालाई साहित्य र मिडियाले भावनाको व्यापारसम्म मात्र सीमित गराए । यस लेख पढ्ने महिलाका निम्ति मेरा केही सवाल छन् । यी सवालमा इमानदार भएर आफैँ ‘छ वा छैन’मा जवाफ सोच्दै जान सक्नुहुन्छ । के तपाईंले यौनहिंसा भोग्नुभएको छ ? यस बृहत् प्रश्नमा सायद तपाईंमध्ये अधिकांश महिलाबाट ‘छैन’ भन्ने जवाफ पनि आएको हुन सक्छ । अब यस प्रश्नलाई विभिन्न टुक्रामा विभाजन गरेर हेरौँ । के तपाईंलाई असहज महसुस हुने गरी कसैले शरीरमा छोएको छ ? आत्मीयता देखाउने बहानामा आफन्त, साथीभाइ, सहकर्मी जोकोही अनावश्यक रूपमा तपाईंको शरीरको सम्पर्कमा आउन खोजेको महसुस गर्नुभएको छ ?

 

तपाईंलाई कसैले शरीरका विभिन्न अंगमा एकोहोरो नियालेर हेरेको छ ? सार्वजनिक यातायात, सार्वजनिक स्थान, भीडभाडमा तपाईंको शरीरमा असामान्य छुवाइ महसुस गर्नुभएको छ ? तपाईंलाई अनलाइनका माध्यमबाट तपाईंको मञ्जुरीविना वयस्क कन्टेन्ट पठाउने, अस्वीकार गरिसक्दा पनि बारम्बार यौन प्रस्ताव राख्ने, विभिन्न ‘अश्लील’ गालीगलौज गरेका छन् ? प्रेमीले यौन सम्बन्ध राख्नका निम्ति बारम्बार दबाब दिएको छ ? सहमति नलिईकनै यौन प्रक्रिया अगाडि बढाएको छ ? के तपाईंका श्रीमान्ले तपाईंको मञ्जुरी नहुँदा पनि यौन सम्पर्क (बलात्कार) गरेका छन् ? दबाबमा परेर यौनमा सामेल हुनुभएको छ ? सम्बन्ध नराखेबापत शारीरिक, मानसिक, भावनात्मक यातना महसुस गर्नुभएको छ ? 

 

यी सवालमध्ये कुनै एकमा मात्र तपाईंको जवाफ ‘छ’ भन्ने आयो भने तपाईंले यौनहिंसा भोग्नुभएको छ । अरूले जतिसुकै सामान्यीकृत गरिदिएका घटना हुन्, तर त्यसले तपाईंलाई मानसिक रूपमा दिएका यातना र तपाईंका जीवनका अनेक क्षेत्रमा पुगेको क्षति केवल तपाईं जान्नुहुन्छ । समाजको आँखाबाट जतिसुकै सूक्ष्म देखिने भए पनि हाम्रा यौनिकतासँग जोडिएर आउने हामीले अनुभूत गरेका प्रत्येक असामान्य व्यवहार यौनहिंसाका रूप हुन् र यी हाम्रा उत्तिकै गम्भीर, महत्वपूर्ण र प्राथमिक मुद्दा हुन् । 

 

हामीले महसुस गरेका प्रत्येक विभेद समाजको पितृसत्तात्मक राजनीतिसँग जोडिएका छन् । सापेक्ष समानतामा सन्तुष्ट हुन उपदेश दिइरहने पुरुषसत्तालाई अस्वीकृत गर्दै हिंसाको एउटा सानो छिटा पनि नपरीकन बाँच्न पाउने पूर्ण अधिकारसम्पन्न मानिस हुनका लागि हामी संघर्षरत हुनैपर्छ । जुनसुकै व्यक्ति होस्, जतिसुकै वर्षअगाडि भएको हिंसा होस्, हामीलाई उपयुक्त लागेको समयमा आफ्नो पहुँच र सहजताअनुसारका माध्यम प्रयोग गरेर हाम्रा भोगाइ व्यापक रूपमा बाँड्न थाल्ने हो भने आवाजले थप सशक्त रूप लिन सक्छन् । अहिलेको समय यौनहिंसाबारे आवाज उठाइरहेका साम्राज्ञीहरूसँग हाम्रा उस्तैउस्तै भोगाइहरूका निम्ति ‘मिटु’ अर्थात् ‘म पनि’ र ‘मलाई पनि’सहितको ऐक्यबद्धता पनि उत्तिकै जरुरी छ ।