• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मल्ल के. सुन्दर
२०७७ श्रावण ३१ शनिबार ०९:२३:००
पर्यावरण

पशुपतिलाई पशुपति नै रहन दिऊँ

२०७७ श्रावण ३१ शनिबार ०९:२३:००
मल्ल के. सुन्दर

 

बन्धुदत्त आचार्य प्राचीन नेपालको प्रसंगमा एक चर्चित नाम हुन् । अनेकन् सन्दर्भमा उनको चर्चा हुने गर्छ । बुंगमलोकेश्वर अर्थात् रातो मच्छेन्द्रनाथ कामारुप कापाक्षबाट नेपालमण्डल ल्याउने अभियानमा राजा नरेन्द्रदेवलाई साथ दिने तान्त्रिक बन्धुदत्त नै थिए । बुंगमलोकेश्वरलाई तन्त्रसिद्धिबाट कसरी उपत्यका ल्याइयो भन्ने लोकाख्यानका जानकार जोकोही पनि चिरपरिचित छन्, बन्धुदत्तको नामसँग ।

 

एक अर्को लोकाख्यान पनि त्यत्तिकै प्रचलित छ, बन्धुदत्तका सम्बन्धमा । पशुपति भुवनेश्वरीमा तान्त्रिक विधिबाट नित्यपूजा हुन्थ्यो । नित्यपूजामा सधैँ बलि चढाउनुपथ्र्यो । एक दिन बलि चढाउने केही भेट्टाइएन । बन्धुदत्त रित्तो हात पूजाका लागि बसे । देवीलाई उनले त्यही कुरा बिन्ती गरे । तर, आमाले सिकाएजस्तै बाबुको चेवा गर्न पछि–पछि लागेका छोरा पूजाकोठाको एक कुनामा लुकेर बसेको बन्धुदत्तले चालै पाएनन् । देवीले तिम्रो पछाडि जो छ, त्यसैको बलि चढाऊ भनेर आज्ञा भएपछि छोरा सँगै रहेको उनले सुइँको पाए । देवीवचन नकार्न नसकेपछि आखिर छोरालाई नै बलि चढाए । पुजारीको श्रद्धाभक्तिबाट प्रभावित भुवनेश्वरीदेवीले आश्वस्त पारिन्, हेर, शोक मनाउनुपर्दैन, तिम्रो छोरा पुनः जीवित मात्र होइन, अमर बन्नेछ, त्यसका लागि तिमी कामारुप गएर त्यहाँबाट अमृत घडा ल्याउनू ।


बन्धुदत्तले पूजामा के भएको थियो भनेर कसैलाई जानकारी दिएनन् । रातो कपडामा छोराको लास बेरेर उनले पिला (छालाबाट बनाइएको एक खाले बक्सा) मा सुरक्षित राखे । कोठाबाहिर सात जोर ताला लगाएर उनी चुपचाप कामारुतिर लागे । आफू नफर्केसम्म पत्नीलाई त्यस कोठामा नपस्न सतर्क गराएका थिए । धेरै दिन कुरिन्, लोग्ने फर्केको होइन । मनमा अनेक कुरा खेल्न थालेपछि उनकी पत्नीलाई शंका लागेछ । किन कोठाको ताला नखोल्न भनेको होला भनी कुत्कुती लागेछ, ताला खोलेर भित्र हेर्दा आफ्नै छोराको लास भेटिन् । छरछमेकी र समाजले थाहा पाए । ‘पुजारी बहुलाए, घर छाडेर बेपत्ता भए’  भन्न थाले । त्यसपछि लास घाटसम्म लगेर दाहसंस्कार गरियो । 


संयोग, त्यसै वेला परदेश यात्राबाट घर फर्किंदै थिए, बन्धुदत्त । देवपत्तनतिरबाट फर्किंदै गरेका केही वटुवा भन्दै थिए, ‘भुवनेश्वरी माईका पुजारी पागल भएछन्, छोराको लास कोठाभित्र लुकाएर बेपत्ता भएका रहेछन् । लासको सद्गत आज मात्रै भयो ।’ तुरुन्तै उनले कुरा बुझे । उनको सबै योजना पत्नीको कच्चापनाका कारण बर्बाद भयो । निराश भएर बन्धुदत्तले कामारुकापाक्षदेखि ल्याएको अमृत घडा त्यहीँ नै खाल्डो खनेर पुरिदिए । उनी आफू पनि सिद्ध भएर गए । उनले अमृत घडा गाडेको नयाँ बानेश्वर, सभागृहपछाडि छकुबकु भन्ने ठाउँमा हो भनिन्छ । त्यहाँ अझै माटोको ढिस्को भेट्टाउन सकिन्छ । आफ्नो सन्तान र स्ववासीजनकोे अमरत्वको चाहनामा लागेका तीे तान्त्रिक पुजारीको स्ववासी क्षेत्र थियो, देवपत्तन । 

पशुपति नेपालको मौलिक चिन्तन र सिर्जना हो । धार्मिक हिसाबले यसको सामीप्य हिन्दुस्थानका अन्य तीर्थस्थलसँग गर्न सकिन्छ । तर, वास्तुकला, जीवनशैली, पर्व, संस्कृति आदिमा जुन स्थानीय सुवास र मौलिकता छ, त्यो नै नेपालले गर्व गर्ने कुरा हो ।

 

हजारौँ वर्षदेखि रैथानेहरूको जनजिब्रोमा रहेको यस आख्यानका पछाडि के–कति ऐतिहासिकता लुकेको छ वा छैन, अध्ययन-अनुसन्धानकै विषय होला । तर, यसै लोककथनका आधारमा शदियौँदेखि देवपत्तनमा आजपर्यन्त बन्धुदत्तको कीर्तिलाई सम्झिने गरिन्छ, उनीप्रति नतमस्तक हुँदै श्रद्धा व्यक्त गरिन्छ । अनि बन्धुदत्तले ल्याएको अमृत पिएर बलिमा चढाइएको छोरोले अमरत्व पाउन सकेन, फेरि पनि प्रत्येक वर्ष असार कृष्णअष्टमीका दिन स्थानीयले त्यसै घटनाको स्मृतिमा मूस्वां (सुगन्ध बाबरी)ले सजाएर मृतकको लास बनाउँछन् र त्यस दुःखद अवस्थाका दोषी आरोपित बन्धुदत्तकी पत्नी, जसको माइती काठमाडौं भएकाले उनीहरूलाई नै आमाचकारी सराप्दै शवयात्रा निकालिने प्रचलन छ । सामान्यतया नेवारहरूको शवलाई पहेंलो रंगको द्यवं (कफन) ओढाइने गरिन्छ, तर बन्धुदत्तले रातो कपडाले छोराको लास छोपेर राखेकाले त्यस जात्रामा पनि रातै कपडाले शव छोपिने गरिन्छ । सम्भवतः संसारको अन्यत्र कतै नभेटिने यसखाले लोकसंस्कृति र अमूर्त सम्पदाको थलो हो– देवपत्तन । 


यस्तै अर्को लोक परम्परा मचातिया जात्रा पनि हो । त्रिशूल जात्राको रूपमा चिनिने यस जात्रामा कुमार केटा र केटीहरूलाई आकाशतिर उत्तानो फर्काएर उनीहरूको शरीर त्रिशूलको धारमा अड्याई नगर परिक्रमा गरिन्छ । कुनै वेला देवपत्तनका विभिन्न ठाउँबाट निकालिने नौवटा यस्ता खटहरूको जात्रा हुन्थे, तर अहिले तीनवटा प्रचलनमा छन् । देशवासीलाई दुःख दिँदै आइरहेका नरभक्षी राक्षसलाई तर्साउन उनीहरूकै बालबच्चा समातेर चुनौतीका रूपमा यस्तो गरिएको भन्ने लोककथन छ । जीवित सम्पदा र लोक संस्कृतिको दृष्टिकोणबाट मचातिया जात्राको आफ्नै विशिष्टता रहेको छ । देवपत्तन यिनै सम्पदाको केन्द्र हो ।


पशुपति क्षेत्रभित्र पिगं (पीठ गण) एक महत्वपूर्ण आराध्य स्थल हो । तान्त्रिक विधिबाट यहाँ अनेकन् गुह्यपूजा हुने गर्छन् । तीमध्ये एउटा महत्वपूर्ण पूजा हो। देशोद्धार पूजा ! सम्पूर्ण देशवासी र लोकको उद्धारको कामना गर्दै चैत्र कृष्ण त्रयोदशीका दिन सम्पन्न गरिने यस पूजाको बेग्लै महत्व छ, त्योभन्दा पृथक् कुरा यस पूजा सञ्चालनको विधि र व्यवहार हुन् । देवपत्तन क्षेत्रभित्रका रैथाने नौवटा जात समूह र धार्मिक सम्प्रदायका व्यक्तिहरू गुठियारका रूपमा पूजामा सहभागी हुन्छन् । हिन्दू, शैव, वैष्णवदेखि बौद्ध परिवार पनि हुन्छन् । कथित तल्लो जातका भनिएका संघतदेखि राजोपाध्याय मिलेर संयुक्त पूजा मात्र गर्दैनन्, एकै स्थान, एकै लहरमा बसेर सहभोज पनि गरिन्छ । छुवाछुत, जातभातको सीमाभन्दा माथि छ, शदियौँ पुरानो यो पूजा । 


इन्द्रजात्रा पूर्णिमाका दिन बर्सेनि यहाँ शिव, पार्वती र सतीदेवीसहितको नांगो नाच नचाइन्थ्यो । शैवपुराण कथामा आधारित यो नाचको प्रशिक्षण चारुमति विहारका शाक्य परिवारले गुरुजनको रूपमा दिने गर्छन् । यसका पात्रहरू नग्न नै हुने गर्छन् । धार्मिक सहिष्णुता र सद्भावको यो एउटा उल्लेखनीय दृष्टान्त हो । यस्तै धार्मिक समन्वयको रोचक पद्धति भनेको पशुपति शिवलिंगका चार मुखाकृतिका अतिरिक्त पाँचाँै उधोमुख इशानको पूजा । मुखः अष्टमी (कार्तिक शुक्ल अष्टमी) का दिन गरिने यस पूजाका लागि पशुपतिको शिवलिंगको शीर्ष भागलाई बुद्धको आकृतिले छोपेर विशेष पूजा गरिन्छ ।


अनेकन् आस्था र समुदायको रीति–परम्पराले निरन्तरता पाइरहेको जीवन्त लोकसंस्कृति तथा अमूर्त सम्पदाको ऐतिहासिक केन्द्र हो, देवपत्तन । यसै देवपत्तनको मानवीय सभ्यता र इतिहासले विश्वमै चर्चित बनाएको धार्मिक स्थल हो, पशुपतिनाथ ।


ग्वल देश, गोग्राम, गांगुलपत्तन, गांगुटालागा, नवगृह, सुवर्णपुर, देवपत्तन, देवपाटन आदि विभिन्न नामले चिनिएको यो स्थान हाल काठमाडौं महानगरपालिका वडा नं. ७ र ८  अन्तर्गत पर्छ । यस क्षेत्रमा मानवबस्ती विकास र नगरस्थापनाका सम्बन्ध वंशावलीहरूमा अनेकन् प्रसंग भेटिन्छन् । मञ्जुश्रीले उपत्यकामा सहर बसालिसकेपछि धर्मपाल नाम गरेको आभिरलाई राजा बनाएर राज्य सञ्चालन गराएको भन्नेदेखि अशोक सम्राट् आएर बहिनी चारुमतिका पति देवपाललाई राजा घोषणा गरेर यहाँ राजकाज गर्न लगाएको भन्ने अनुश्रुति पनि पाइन्छ । हाल अमालकोट रहेको भवन प्राचीनकालमा राजदरबार भएको र आजपर्यन्त स्थानीय पूजा पर्वमा त्यसैलाई लाय्कू (दरबार) मानेर विधिविधान गर्दै आइरहेकोबाट कुनै कालखण्डमा यो उपत्यकाभित्रको एक बेग्लै प्रशासनिक एकाइको रुपमा थियो भन्ने अनुमान गर्न सकिन्छ । 


गोपालराज वंशावलीको विवरणअनुसार मध्यकालतिर बनेपा र भक्तपुरका राजाहरूको पट्टबन्धविधान   (राज्याभिषेक) देवपत्तनमा गर्ने गरिन्थ्यो । यसले तात्कालिक नेपालमण्डलभित्र देवपत्तनको राजनीतिक महत्व प्रस्ट गर्छ । लिच्छविकालका बत्तीसवटा शिलालेख भेटिएको यस क्षेत्रले प्राचीनकालदेखि नै विशिष्टता प्राप्त गरेको थियो । 


बन्धुदत्त आचार्यकै सन्तती मानिएका कर्माचार्य परिवारका ज्येष्ठ पुजारी मृत्युञ्जय कर्माचार्य दाबी गर्नुहुन्छ, ‘भौगोलिक रूपमा सानो क्षेत्र भएर पनि सांस्कृतिक, धार्मिक, जात्रा, पर्व र परम्पराका दृष्टिकोणले देवपत्तन क्षेत्र नेपालकै एक विशिष्ट र गौरवमय छ, यहाँ वर्षभरि बाइसवटा जात्रा र एक सय आठवटा पर्व सम्पन्न गर्ने गरिन्छ ।’ जसमध्ये चैत्र शुक्ल अष्टमीका दिन हुने बच्छलेश्वरीको प्रसिद्ध जात्रादेखि गंगामाईको जात्रा, गुह्येश्वरी जात्रा, मचाती जात्रा, पिगंजात्रा आदि छन् । सिन्दुर गुठी, चन्दन गुठी, धों गुठी, पिगं गुठी, आकाश भैरव गुठी, कागेश्वरी गुठी, क्वछेँ गुठी र बालदैत्य गुठीसमेत गरी च्यागुठीको नाममा प्रमुख आठ गुठी छन् । पशुपतिनाथको मूल पूजादेखि त्यस क्षेत्रका सम्पूर्ण परम्परा, जात्रा, पूजा, पर्व र  रीति-संस्कारलाई आजसम्म क्रियाशील राख्ने काम समुदायमा आधारित यिनै परम्परागत संगठन संरचनाले धान्दै आइरहेको छ । सही अर्थमा पशुपति क्षेत्रका अमूर्त सम्पदाका संवाहक र संरक्षक हुन्, स्थानीय बासिन्दा । 


हाल पशुपति विकास कोषले पशुपति क्षेत्रको सुधार र विकासको नाममा एउटा परियोजना प्रस्तावित गर्दै मूलतः सोही ऐतिहासिक महत्वको प्राचीन ग्वल देश–देवपत्तन क्षेत्रको साँधसीमालाई लक्षित गरेको छ । पशुपति मन्दिरपरिसरको पश्चिमबाट सिफल ढोकासम्मको क्षेत्रलाई विकास परियोजनाले समेट्ने र त्यसका लागि त्यहाँको पुरानो मानवबस्तीको उठीबास गराइनेछ । अर्थात् शदियौँ पुरानो र आफैँ सम्पदामा परिणत भइसकेका हजारौँ घर, सत्तल, पाटी, पौवा, आगम घर आदि हटाइनेछन् ।

 

पशुपति क्षेत्र विकासको नाममा पशुपतिको संस्कृति, परम्परा, रीति, जात्रा, पर्व, धर्म, संस्कारलाई आजसम्म संरक्षण गर्दै आइरहेका सिंगो समुदाय त्यहाँबाट विस्थापित गरिनेछ । कोषले विकासको नाममा यसैगरी ०५७ सालमा पशुपतिनाथ मन्दिरको पश्चिम–दक्षिणमा शदियौँदेखि बसोवास गर्दै आइरहेका २३८ वटा घर भत्काएको थियो, स्ववासी रैथानेहरूलाई विस्थापित गर्ने काम भएको थियो । विशेषतः अमूर्त संस्कृति र सम्पदाको संरक्षण गर्दै आइरहेका रैथाने स्ववासीहरूलाई त्यहाँबाट विस्थापित गरी पछि समुदायसँगै उनीहरूले सम्हाल्दै आइरहेका कतिपय जात्रा, पर्व, पूजा र संस्कार लोप भए । तर, पशुपति क्षेत्रको विकासको नाममा कोषले समुदायलाई उठीवास गराएर त्यहाँ आप्रवासीको बन्दव्यापारको क्षेत्रमा रूपान्तरण गर्‍यो । 


पशुपति विकास क्षेत्रले चर्चेको २८६.६ हेक्टर इलाकामध्ये अहिले लक्षित परियोजनाले देवपत्तनभित्र मात्र हजारौँ घर विस्थापित गर्नेछ । यसबाट नेपालको एउटा विशिष्ट पहिचान बनाएको सांस्कृतिक र परम्पराको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सम्पदा क्षेत्र देवपत्तनभित्र त्यहाँका रैथानेहरू नरहने मात्र होइन, सँगसँगै पौराणिक कालदेखिको इतिहास बोकेको मानव सभ्यता, संस्कृति, सम्पदाको समूल नष्ट गरिनेछ, जुन अक्षम्य अपराध ठहरिनेछ ।


पशुपति नेपालको मौलिक चिन्तन र सिर्जना हो । धार्मिक हिसाबले यसको सामीप्य हिन्दुस्थानका अन्य तीर्थस्थलसँग गर्न सकिन्छ । आस्थागत हिसाबले पनि हिन्दुस्थानका अनेकन् धार्मिक परम्परासँगको सानिध्य खोज्न सकिन्छ । तर, वास्तुकला, जीवनशैली, समुदायगत सम्बन्धदेखि पूजापद्धति, जात्रा, पर्व, संस्कृति, संस्कार, परम्परा आदिमा जुन स्थानीय सुवास र मौलिकता छ, त्यो नै नेपालले गर्व गर्ने कुरा हो । त्यो नै हाम्रो आफ्नो फरकपन र विशेषता हो । पशुपति क्षेत्रको विकासको नाममा इतिहासको धरोहरलाई भत्काएर, सम्पदा र समुदायलाई विस्थापित हुने गरी चलाइने कदम यथार्थतः घातक र संस्कृतिद्रोह हो । सम्बन्धित अधिकारीमा चेत होस्- हामी पशुपतिलाई पशुपतिकै रूपमा संरक्षित र सुरक्षित राख्न चाहन्छौँ, विकासका नाममा पशुपतिलाई तिरुपतिको रूप दिन चाहन्नौँ । 

थकुछेँ, पासिकोट,
बुढानीलकण्ठ, काठमाडौं