• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. तुलसीप्रसाद दहाल
२०७७ भदौ ६ शनिबार ०७:३५:००
साहित्य

जरा र हाँगा

२०७७ भदौ ६ शनिबार ०७:३५:००
डा. तुलसीप्रसाद दहाल

 

लटरम्म फल लागेपछि 
हाँगालाई लाग्यो, जरा बेकारको छ 
हाँगाले सोच्यो
जरा अदृश्य मात्रै छैन 
निकम्मा पनि छ 

 

उसलाई अहिलेसम्म जराले 
एउटै फल दिएको पनि सम्झना छैन
ऊ जराले 
उदाउँदो सूर्य
चिसो बतास 
पूर्ण चन्द्र 
रंगीबिरंगी फूल
रसिला मान्छे
चराको चिर्बिर 
सप्तरंगी इन्द्रेणी 
केही देख्न र अनुभूत गर्न नपाएकोमा 
एक ‘कुरूप हाँसो’ हाँसिरहन्छ । 

 

हाँगालाई लागेको छ 
जरा फगत गुमनाम गाडिएको छ 

 

कसैले त सुनाइदेऊ 
जरा गाडिएकै भएर हाँगो 
‘हाँगो’ भएर हल्लिएको हो ।