• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सिर्जना ढकाल 
२०७७ भदौ ६ शनिबार ०८:५७:००
समाज

बजारको अँगालोमा तिज

२०७७ भदौ ६ शनिबार ०८:५७:००
सिर्जना ढकाल 

 

हरेक वर्षजस्तै यसपालि पनि तिजको पक्ष–विपक्षमा बहस भयो । सानो छँदा तिजकै वेला रेडियो नेपालबाट ऋषिपञ्चमीसम्बन्धी नाटक सुनेकी थिएँ । आजपर्यन्त विभिन्न सञ्चारमाध्यममा गुदी उही तर फरक स्वरूपमा त्यो कथा प्रसारण भइरहेकै छ । त्यो नाटकमा महिलाले महिनावारी नबार्दाको ‘पाप’बारे सविस्तार व्याख्या गरिएको छ । महिलाले महिनावारी नबारेका कारण एक दम्पतीले अर्को जन्ममा पशुयोनिबाट जन्म लिन्छन् । श्रीमती कुकुर्नी र श्रीमान् गोरु भएर जन्म लिँदा अत्यन्तै दुःख पाएका छन् । उक्त दुःखको मूल कारक श्रीमतीले महिनावारी नबार्नु भनिएको छ । पछि छोराबुहारीले ऋषिपञ्चमीको पूजा गरेपछि मात्रै उनीहरू पशुयोनिबाट मुक्ति पाएको प्रसंग छ ।


त्यतिवेला श्रव्य–सञ्चारका रूपमा एक मात्रै सहज साधन रेडियो नेपाल थियो । त्यसले महिनावारीबारे आवश्यक स्वास्थ्य शिक्षा दिनुको साटो महिनावारी नबार्दा लाग्ने पापका श्रेणीबारे प्रसारण गथ्र्यो । र, तिजको व्रत र ऋषिपञ्चमी पूजा गरेपछि पाप काटिन्छ भन्ने सन्देश नाटकका माध्यमबाट दिइन्थ्यो । सँगसँगै बाउआमालाई अपार दुःखको भुमरीबाट तारेर स्वर्गमा दाखिला गराउन छोरै चाहिन्छ भन्ने प्रचार पनि यही नाटकले गथ्र्यो । महिला र किशोरीहरूको धर्मभीरु विचार एवम् मनोविज्ञान निर्माण गर्न राज्यले नाटकमार्फत यसरी ठूलो लगानी गरेको थियो, त्यो क्रम आज पनि कायम छ । 


त्यतिवेला महिनावारी भर्खर सुरु भएका म र मजस्ता धेरै किशोरीलाई त्यो रेडियो नाटक एक खालको मानसिक आतंक नै थियो । हामीजस्ता किशोरीलाई शरीर संरचना र प्रजनन स्वास्थ्यबारे आवश्यक जानकारी दिनुको सट्टा राज्यले नै ‘कुना पस र छोइछिटो गर’ भनेर सिकाउँथ्यो (अझै सिकाइरहेको छ) । राज्यले पितृसत्ता र धर्मसत्ता जोगाउन गरेको डरको राजनीति पनि हो यो । पछिल्ला वर्षमा भने तिज–प्रवद्र्धनको जिम्मा बिस्तारै बजारतिर सरेको छ ।


एक समय राज्यले आफ्ना स्रोत–साधन प्रयोग गरेर चाडपर्वलाई संरक्षण गथ्र्यो । अब भने राज्यका साथसाथै चाडपर्वको प्रवद्र्धन गर्ने टेन्डर बजारले लिइसक्यो । ‘तिजको अफर, तीन तोलाको सुनको छड्के तिलहरी उपहार’ जस्ता विज्ञापन तिज जोगाउने प्रपञ्च नै हो । बजारका लागि हरेक चिज बिक्रीयोग्य वस्तु हो र त्यसले नाफाको सम्भावना राख्छ ।

उपभोक्तावादी बजारले हामीले मनाउने हरेक चाड कब्जा गरेर हामीलाई ग्राहक मात्रै बनाएको छ । हाम्रा आवश्यकता र रुचिलाई पनि बजारले आफ्नो स्वार्थअनुरूप परिवर्तन गर्दै लगेको छ

 

नाफाघाटा नै बजारको अन्तिम सत्य हो । नाफाका अघिल्तिर मानवीय सम्बन्ध, संवेदना वा मूल्य सबै गौण विषय हुन् । बरु सम्भव भएसम्म यिनीहरूलाई पनि नाफाका लागि उपयोग गर्नु बजारको चरित्र हो । नाफाभन्दा पर बजारका लागि अर्को कुनै संसार छैन । त्यसैले बजारका लागि पर्वहरू पनि नाफा कमाउने सुवर्ण अवसर बन्यो । बजार नाफाको यो सुवर्ण अवसरलाई ‘क्यास’ गर्न चाहन्छ । हामी चाडपर्वमा कति खर्च वा कति उपभोग गर्न सक्छौँ भन्ने कुराले हाम्रो खुसीको अंक घटबढ हुने मनोविज्ञान बजारले निर्माण गरिसकेको छ । बजारले निर्माण गर्ने मनोविज्ञान ‘सिजोफ्रेनिक’ हुन्छ । 

 

‘सिजोफ्रेनिया’ एक भयानक मानसिक रोग हो, जसमा मानिसले सही र गलतको भेद छुट्याउने वा विश्लेषण गर्ने क्षमता गुमाउँछ । मानिस गुण र दोष नकेलाई बजारले निर्माण गरेका बिम्बहरूका पछि दगुर्छ र तिनलाई समात्ने प्रयत्न गर्छ । तर, बजारले निर्माण गर्ने यस्ता बिम्बहरू यति क्षणिक र चिप्ला हुन्छन् कि समात्न खोज्दाखोज्दै ती बदलिइसक्छन् वा फुत्किन्छन् र यो क्रम चलिरहन्छ ।

 
मानिसले जति धेरै खर्च र उपभोग गर्न सक्छ, र त्यसको कति हदसम्म प्रदर्शन गर्न सक्छ, त्यही आधारमा त्यो व्यक्तिको खुसी र सम्पन्नताको मापन गरिन्छ । उपभोक्तावादी बजारले हामीले मनाउने हरेक चाड कब्जा गरेर हामीलाई ग्राहक मात्रै बनाएको छ । हाम्रा आवश्यकता र रुचिलाई पनि बजारले आफ्नो स्वार्थअनुरूप परिवर्तन गर्दै लगेको छ । पहिले आवश्यकताका आधारमा सामान किन्ने मान्छे अहिले विज्ञापनका आधारमा किन्न प्रेरित हुन्छ । खर्च र उपभोग गर्न नसक्ने मान्छे बजार–समाजमा अयोग्य ठहरिन्छ ।

 

उपभोक्तालाई आपूmप्रति आकर्षित र सम्मोहित गराउन यसले सबैखाले आक्रामक रणनीति अख्तियार गर्छ । बजारले उपभोग्य वस्तु मात्र उत्पादन गर्दैन, सँगसँगै उपभोक्ता पनि उत्पादन गरिरहेको हुन्छ । यसको सिकारमा सबैखाले लिंग, समूह र समुदायका मान्छेहरू छन्, तापनि विशेषगरी महिलाहरू यसको प्रमुख लक्षित समूह हुन् । यसका निम्ति बजारले सौन्दर्य र उपभोगको छुट्टै राजनीति आविष्कार गरेको छ । तिजको विशेष मेला, पहिरन, गहना, रेस्टुरेन्ट र क्याटरिङमा महिना दिनको दर खाने कार्यक्रमका उपभोक्ता महिलाहरू नै हुन् । तिजको रमझम बढेसँगै बजारका यी सबैसबै व्यवसायीहरूको नाफा स्वतः बढ्छ । 


आज पनि एकथरी व्यक्तिहरू तिजको व्रत र पञ्चमी पूजालाई संरक्षण गरिनुपर्ने संस्कृति भन्छन् र तिजको व्रतलाई वैज्ञानिक ठहर्‍याउन अनेक तर्क गर्छन् । जुनसुकै धर्म वा समुदायको भए पनि संस्कृति जहिले पनि परिवर्तनशील हुन्छ भन्ने तथ्यचाहिँ उनीहरू स्विकार्दैनन् । तिजकै कारण माइती–चेलीको सम्बन्ध सुमधुर बनिरहन्छ भन्ने भ्रम उनीहरूलाई सबैभन्दा प्रिय छ । दिदी–बहिनीलाई पैतृक सम्पत्तिमा समान अधिकार दिनेबारे सुन्नै नचाहने उनीहरूलाई असमानतामा अडिएको माइती–चेली सम्बन्ध भने गजब प्यारो लाग्छ । यो सम्बन्धमा बाल्यकालका सुनेको तिजेगीतको याद आउँछ– ‘फकाइफकाई ल्याए, कोचाइकोचाई खुवाए, पञ्चमीको भोलिपल्ट रुवाउँदै पठाए ।’ 


निर्जल व्रत र पापकटनीका लागि पञ्चमी पूजा नगरे नेपाली ‘मौलिक’ संस्कृति विनाशै हुन्छ भनेर लिट्टी कस्ने जमात पनि ठूलै देखिन्छ । यस्तोमा लैंगिक रूपले पुरुष र धार्मिक अतिवादी सोच राख्नेहरू धेरै देखिन्छन् । भारतको हिन्दू अतिवादी संगठन राष्ट्रिय स्वयंसेवक दलका कार्यकर्ताको बेहोरा देखाउने यिनीहरूको राजनीतिक सम्बन्ध नेपालका कम्युनिस्ट र लोकतान्त्रिक भनिने पार्टीहरूसम्मै पुग्नु सबैभन्दा विडम्बनाको विषय छ । कसैले हिन्दू धर्मसँग जोडिने कुनै पर्वबारे भिन्न मत राख्नेबित्तिकै यो पंक्ति झम्टिन आइपुग्छ । गायिका सोफिया थापाको ‘नो व्रत प्लिज’ गीतमाथिको आक्रमण यिनै वैचारिक अतिवादीहरूको साक्ष्य हो । मिल्ने भए यिनीहरूले सती प्रथा ब्युँताउँथे । यिनीहरूका लागि महिलाले तिजमा व्रत बस्नु, लोग्नेको खुट्टाको पानी खानु संस्कृति जोगाउनु हो । उदार देखिन खोज्नेहरू पनि यसलाई महिलाको व्यक्तिगत स्वतन्त्रता भन्दै व्याख्या गर्छन् । महिलाको ‘पाप’ पखाल्न ऋषिपञ्चमी गर्नु व्यक्तिगत स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ । यसबाट छर्लंग हुन्छ– तथाकथित स्वेच्छा र व्यक्तिगत स्वतन्त्रताका पछाडिको पितृसत्ताको राजनीति ।

पितृसत्ताले महिलाको मनमा कति भयंकर डर पैदा गरेको छ भने उसलाई श्रीमानविनाको जिन्दगीको कल्पना मात्रै पनि भयावह लाग्छ

 

निजी सम्पत्ति र परिवार व्यवस्था सुरु भएलगत्तै महिलाको दोयम दर्जाको जीवन प्रारम्भ भयो । यो व्यवस्थामा निष्ठा महिलाका निम्ति बाध्यकारी र पुरुषका लागि ऐच्छिक बन्यो । यस प्रणालीमा पुरुषलाई आफ्नो वंश चलाउन, घरको काम गर्न, सम्पत्तिको रक्षा गर्न एकभन्दा अधिक श्रीमतीहरूलाई विभिन्न वैवाहिक विधिबाट घर भित्र्याउन छुट थियो । ऊ भौतिक सम्पत्तिको मात्रै होइन, ती महिला र तिनका सन्तानका लागि पनि मालिक ठहरिन्थ्यो । जसमा महिला भने पुरुषको आशा वा भरमा बाँच्नुपथ्र्यो ।

 

पितृसत्तात्मक सामाजिक व्यवस्थाले विनाअवरोध शासन गर्न यसरी पुरुषका लागि छुटैछुट र महिलामाथि बन्धनैबन्धन सिर्जना गर्‍यो । जसमध्ये धार्मिक बन्धन मूल रूपमा देखा पर्छ । यो धार्मिक बन्धनको परिकल्पना खासमा महिलालाई पुरुष अधीनमा राख्न अत्यधिक प्रयोग भएको देखिन्छ । त्यसैले ‘अघिल्लो जन्मको पापले अहिले महिला भएर जन्मेको पाप कटनी गर्न’ महिलाहरूका लागि विभिन्न व्रत र पूजाहरू जस्ता संस्कारहरूको चक्रव्यूह रचना गरियो । यही चक्रव्यूहका माध्यमबाट हजारौँ वर्षदेखि महिलाका मनमा कति डर भरियो भने अहिलेसम्म पनि त्यही डरले उनीहरूमाथि शासन गरिरहेको छ ।


पितृसत्ताले महिलाको मनमा कति भयंकर डर पैदा गरेको छ भने उसलाई श्रीमान्विनाको जिन्दगीको कल्पना मात्रै पनि भयावह लाग्छ । यो स्वतस्पूmर्त प्रेमभन्दा पनि श्रीमान्सँग जोडिएको सामाजिक र आर्थिक असुरक्षाको डर बढी हो । हजारौँ वर्षदेखिको असमानताले उब्जाएको यो भयलाई पितृसत्ताले स्वेच्छा, अनि प्रेमको नाम दियो । र, यही भयसँग राम्रोसँग परिचित पितृसत्ताले महिलालाई यसका उपाय पनि आफैँ सिर्जना गरिदियो– तिज र ऋषिपञ्चमीजस्ता पूजा र व्रतहरू । तर, श्रीमतीको लामो आयु वा खुसीका निम्ति भनेर धर्मले तिजजस्तो कुनै त्यस्तो कठोर व्रतको परिकल्पना पुरुषका लागि भने गरेको छैन । किनभने, सामाजिक र आर्थिक असुरक्षाको डर श्रीमतीको जीवन रहनु वा नरहनुसँग गाँसिएको छैन ।

 

पतिपत्नीबीचको प्रेम दर्साउने वा अन्य कारण देखाएर तिजको जतिसुकै महिमामण्डन गरे पनि यसको अन्तर्यमा महिलालाई ‘तँ पुरुषविना अधुरो र असुरक्षित छस्’ भन्ने नै होे । विवाहित हो भने लोग्नेलाई रिझाऊ, अविवाहित हो भने बलियो पुरुषको छहारीको कामना गर, विधवा हो भने मन बराल्ने होइन, मृत लोग्नेलाई पटक्कै बिर्सिन हुँदैन भनेर नैतिक नियम बाँधियो । प्रेम र विवाहको छनोटमा स्वतन्त्रता नभएको समाजमा लोग्नेस्वास्नीबीच प्रेम दर्साउन व्रत बस्ने वा आफूले चाहेको प्रेमी पाउन व्रत बस्ने भन्ने कुरा नै हास्यास्पद लाग्छ । यथार्थमा त हामी आफ्नो खुसीले प्रेम वा बिहे गर्दा जातभात नमिलेका कारण ज्यानै गुमाउनुपर्ने समाजमा बाँचिरहेका छौँ । त्यसैले व्रत बस्नुभन्दा यस्तो समाजलाई बदल्न पो ध्यान दिनुपर्ने होइन र ?


विगतमा तिजलाई नेपालका राजनीतिक महिला संगठनहरूले एक हदसम्म आफ्ना विचार व्यक्त गर्ने मञ्चका रूपमा प्रयोग गरेको पाइन्छ । पञ्चायतविरोधी आन्दोलनका क्रममा वा जनयुद्धको दौरानमा तत्कालीन वामपन्थी पार्टीहरूले तिजगीतलाई आफ्ना विचार प्रवाहको गतिलो मञ्चका रूपमा प्रयोग गरे । तिजगीतमार्फत परिवर्तनकारी विचार जनतासमक्ष पु¥याउन धेरैथोरै योगदान त पक्कै भयो । तर, तिजको व्रत र पञ्चमीको पूजा किन विभेदकारी छ भनेर यसभित्रको पितृसत्तात्मक राजनीतिलाई खोतलेर पार्टी आफैँले बुझ्न र बुझाउन जति सक्नुपथ्र्यो, त्यसमा पार्टीहरू चुके । यस प्रसंगमा तत्कालीन नेकपा मालेकी नेता, लेखक तथा कवि कुन्ता शर्माको भनाइ सान्दर्भिक लाग्छ, ‘जतिसुकै क्रान्तिकारी गफ हाँके पनि दिमागमा लेउजसरी टाँस्सिएको विचार र परम्परा फाल्न गाह्रै हँुदो रहेछ ।’ कुन्ता शर्मापछिको दोस्रो–तेस्रो पुस्ता कम्युनिस्ट आन्दोलनमा आइसक्यो । अझ पनि तिज मान्ने–नमान्ने, कति मान्ने, पञ्चमी नमान्ने तर स्वास्थ्यका लागि व्रत बस्ने त ठीकै हो कि भन्नेजस्ता अनेक अलमलमा यिनीहरू फसेकै छन् । 


हिजो आन्दोलनका क्रममा तिज–पञ्चमी आदि बहिष्कार गर्ने कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू आजभोलि तिजका व्रत, पहिरन, गहना आदिमा देखिनु रुढमति र अधोमतितर्फको यात्रा हो । यसका साथै महिलामाथि हुने यस्ता खालका सांस्कृतिक संरचनात्मक उत्पीडनलाई विभिन्न बहाना र माध्यमबाट मलजल गरिएको छ । त्यो माध्यम, चाहे पार्टी संगठनका ब्यानरमा गरिने तिजसम्बन्धी भोजभतेर होस् वा कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्ने हालकी राष्ट्रपतिले आयोजना गर्ने तिजको दर खाने कार्यक्रम होस् । हिजो तिज महिलामाथिको असमानताको एउटा उदाहरण हो भन्नेहरूले आजभोलि ‘सम्पूर्ण महिलाहरूको महान् चाड’ भनेर शुभकामना दिएको र त्यसरी नै मनाएको देख्दा अचम्म नलाग्नु गतिलो संकेत होइन । हुन त राजनीतिको मूल नै धमिलो बनाएपछि त्यहाँबाट जे निस्कन्छ, त्यो सङ्लो त पक्कै हुँदैन नै ।


सारमा तिजजस्ता पर्वहरू सामन्तवादी समाजको सांस्कृतिक उत्पादनहरू नै हुन् । यस्ता पर्वहरूलाई पुँजीवादी बजारले पनि किन सर्लक्कै अपनाएर प्रवद्र्धन गर्न चाहन्छ भन्ने सोचनीय विषय हो । धर्मनिरपेक्ष देशको सरकार नै यस्ता चाडहरूमा मोह देखाइरहेको छ किनभने नयाँ पुस्ताहरू विभेदकारी संस्कृति संरक्षणको नशामा लठ्ठिँदा सत्तालाई शासन गर्न सजिलो हुन्छ । किनभने जनसरोकारका मुद्दा सम्बोधन गर्नुभन्दा पौराणिक पात्रहरूलाई उत्खनन र स्थापित गर्नु सत्ताका लागि प्रिय विषय हो ।