• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दोभान राई
२०७७ भदौ १३ शनिबार ०९:२२:००
समाज

साझाका बूढा र विवेकशीलका युवा

युवालाई अवमूल्यन गर्ने समय अब रहेन, युवाले पनि युवा हुनु नै पर्याप्त भएको आधार दिने ठाउँ रहेन

२०७७ भदौ १३ शनिबार ०९:२२:००
दोभान राई

 

विभिन्न संघर्ष र आन्दोलनहरूको लामो कालखण्डपछि प्राप्त भएको संघीय गणतान्त्रिक नेपालमा बीस वर्षपछि हुँदै गरेको सन् २०१७ को स्थानीय निर्वाचन नेपालका निम्ति एउटा ऐतिहासिक अवसर थियो । आन्दोलनमा उठेका अमूर्त र प्रतीकात्मक वाचाहरू अब आफ्नै आँगनमा, दैनिक जीवनमा महसुस गर्ने आशाको माहोल थियो । यही राजनीतिक चहलपहलबीच एउटा समाचार आयो– विवेकशील पार्टी र साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बन्ने ।


मूलधारे राजनीतिको विकल्पको उद्घोषसँगै आएको नयाँ पार्टीको एकीकरणको घोषणा एकथरी जमातमा ठूलो हर्ष र उत्साहको समाचार बन्यो । विवेकशील पार्टीको युवा संगठन र साझा पार्टीको बूढाबुज्रुक मिलेर ठोस शक्तिको रूपमा उदाउने र यो देशलाई चाहिएको निकास दिने आशा पलायो । यी पार्टीलाई सुकिला–मुकिला केन्द्रित र सहरमा सीमित ठान्ने अर्को थरीलाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ झैँ भयो । राजनीतिबाट निकास नदेख्ने एक थरीलाई ‘जुन जोगी आए पनि कानै चिरेको’ भयो । 

 

विवेकशील साझा पार्टीको केन्द्रबिन्दु काठमाडौंमै रहेको र सामाजिक सञ्जालमा छाएको आशालाई निरुत्साहित गर्ने रहर होइन । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने ‘सिनिक’ पनि म होइन । सुकिला–मुकिलाको देशप्रेमलाई असान्दर्भिक पनि ठानेको होइन र सामाजिक सञ्जाल नयाँ क्रान्तिको सुरुवाती थलो हुन सक्छ भन्ने सम्भावना नकारेको पनि होइन । तर, मलाई साझा र विवेकशील मिलेर ‘साझा विवेकशील पार्टी’ बन्नु उत्सव मनाउनुपर्ने अवसरभन्दा पनि थप सजगता अपनाउनुपर्ने अवस्था लाग्यो ।


वर्तमान राजनीतिक बेथितिको नयाँ विकल्प त चाहिएकै हो, तर त्यो नयाँ ढोकाबाट प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको प्रवेश हुने हो भने कराहीबाट अँगेनामा खस्नुझैँ घातक हुन्छ । सायद कसैको निम्ति आन्दोलनका विगतका बीस वर्ष मात्र घाटा र क्षतिको अँध्यारो पक्ष हुन सक्छ र जुनै ढोकाबाट भए पनि अगाडि जाने हतारो हुन सक्छ । तर, थुप्रैका निम्ति ती बीस वर्ष चरम क्षतिबीच पनि सदियौँदेखि गुमेका केही महत्वपूर्ण कुराहरू पाएको निर्णायक अवधि थियो ।

विवेकशील साझा पार्टीले जोड दिएको सुशासन र समृद्धि त सबैलाई चाहिएकै हो । तर, त्यो समृद्धिको राजमार्ग आन्दोलनका उपलब्धिलाई लम्ब्याउँदै अगाडि बढ्छ कि ती उपलब्धिलाई उधार्दै उल्टो कुद्छ ?

विवेकशील साझा पार्टीले जोड दिएको सुशासन र समृद्धि त सबैलाई चाहिएकै हो । तर, त्यो समृद्धिको राजमार्ग आन्दोलनका उपलब्धिलाई लम्ब्याउँदै अगाडि बढ्छ कि ती उपलब्धिलाई उधार्दै उल्टो कुद्छ ? विवेकशील साझा पार्टी बन्नुअघिको साझा र विवेकशील दुवैको विगतले शंका गर्ने आधार दिएको थियो ।


‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भाग्यवादी सोचयुक्त अभियान चलाउने साझा पार्टीको भाग्यवादी पोकोमा ब्राह्मणवाद चिर्ने औजार होला त ? ब्राह्मणवाद नचिरी संरचनात्मक भ्रष्टताको सही चिरफार हुन सक्छ त ?


‘खान पुगोस् दिन पुगोस्’ भन्ने परोपकारको मेलामा ‘दिएपछि खान पाइयोस्’ भनेर कहिलेसम्म ‘पर’ले उपकारमा भर पर्नुपर्ने हो ? खान पुगेकाले दिने होइन, खोस्ने गरेको यो देशको सत्यसँग लुक्ने हो भने परोपकार यथास्थितिवादभन्दा कति पर हो ?


‘नेपाल हाम्रो घर हो, डेरा होइन’ भन्ने नारासँग उर्लिने विवेकशील पार्टीका युवापंक्तिहरूमा डेरामा बस्ने युवाहरू कति थिए ? अझ भनौँ डेरा खोज्दा पनि डेरा नपाउने युवाहरू कति थिए ?


विवेकशीलका युवामा डेरा शब्दसँग जोडिएका भावनात्मक जटिलता बुझ्ने संवेदना नभएको हो कि डेरा सम्बन्धमा कस्ता सामाजिक आयाम छन्, त्यो केलाउने परिपक्वता नभएको हो ? 


नेपालको जातीय संरचना र वर्गीय चेतना प्राथमिकतामा नपर्नु राजनीतिक अपरिपक्वता हो कि राजनीतिक विधि ? विवेकशील र साझा दुवै पार्टी नेपाली जनतामाझ विशेषगरी सहरी जनतामाझ राजनीतिप्रतिको वितृष्णालाई सम्बोधन गर्दै उत्पन्न भएका पार्टी थिए, जसले अ–राजनीतिक हुनुलाई नै राजनीतिको विधि बनाए, जसअन्तर्गत जातीय र वर्गीय विश्लेषण राजनीतिक बकबक हुन् भने र समृद्धि र सुशासन सार्थक लक्ष्य ।


त्यसैले विवेकशील साझा पार्टीको एकीकरणमा पारदर्शिता, निष्ठा, मेरिटोक्रेसीजस्ता एकपछि अर्को शब्दावलीको खम्बा ठह¥याइयो भने सामाजिक न्याय र समावेशीकरणका भावना गौण रहे । अहिलेसम्मको राजनीति हक–अधिकारको संघर्ष रहेको र अब आफ्नो बाटो समृद्धिको हुने कुरा गरियो । अब न दायाँ न बायाँ, मात्र अगाडि भन्ने वाणी राखियो । न्यायविनाको समृद्धि कस्तो हुन्छ ? सैद्धान्तिक सन्दर्भविना अगाडि र पछाडिको मापन कसरी हुन्छ ?


गतिशील समाजमा सैद्धान्तिक अस्पष्टता तटस्थता होइन बल्कि अन्धोपना हो । संरचनात्मक विभेदप्रति अन्धो हुनु त्यही विभेदको प्रत्यक्ष–अप्रत्यक्ष सहायक र कारक हुनु हो । आँखा खोल्न सचेत प्रयास नगर्नु भनेको पूर्वाग्रहको बन्दी हुनु हो ।


साझा र विवेकशीलको साझा ठम्याइ थियो कि यो देशको मूल समस्या भ्रष्टाचार हो । तर, त्यो भ्रष्टाचारको अनुहार एकखाले र अपूर्ण हुन्थ्यो– हिजो गाउँबाट चप्पल लाएर छिर्ने, पढ्ने वेलामा राजनीति गर्ने, पदमा पुगेर भ्रष्टाचार गर्दै पजेरो चढेर हिँड्ने । यो चित्रणमा शैक्षिक र व्यावसायिक योग्यता नहुनु भ्रष्टाचारको कारण बुझिन्थ्यो । सहरमा हिजैदेखि पजेरो चढ्ने, भ्रष्टाचार गर्नलाई पदमा पुग्नै नपर्ने, शैक्षिक मान्यता पाएपछि योग्य देखिन निष्ठा नचाहिने पात्रहरूको विश्लेषणविना भ्रष्टाचारको चित्रण पूर्ण हुन्छ त ?


बाह्र पास नगरेकाहरूले संसद् भरियो भनेर चिन्ता हुन्छ, अंग्रेजीमा भाषण दिन जानेन भनेर लज्जाबोध हुन्छ । तर, जब विद्यावारिधि गरेका, अन्तर्राष्ट्रिय मान्यता पाएका पटक–पटकका अर्थमन्त्री भ्रष्टाचारमा मुछिन्छन्, तब मेरिटोक्रेसीको आधारका बारेमा पुनः मूल्यांकन कति भयो त ? जब नवोत्थानका संवाहक मानिएका युवाहरूले नै नातावादका पुराना द्वार र प्रविधिका नयाँ माध्यमद्वारा भ्रष्टाचारका सञ्जाल बिछ्याएका समाचार बाहिर आए, तब युवा हुनुको पगरी आफैँमा पर्याप्त कति छ भन्ने बहस कति भयो त ?


यी पुनः मूल्यांकन र बहसविना नै समाधानका सजिला सूत्रहरू अघि सारिन्छन् । साझाको सिफारिसमा व्यावसायिक योग्यता भएका ‘टेक्नोक्रेट’ले ल्याउने सुशासन नै समाधान हो भने विवेकशीलको बुझाइमा युवावर्गले बोक्ने नयाँ सम्भावना आफैँमा समाधान हुन् ।


पढाइ–लेखाइ, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव बटुलेको भनिएको यी बुज्रुक वर्गमा कसरी यस्तो सतही बुझाइ भयो त ? जातीय, वर्गीय, क्षेत्रीय र लिंगीयको ऐतिहासिक विश्लेषणविना मात्र योग्यता र मान्यताको लेखाजोखा सुरु गर्न मिल्छ ? के हामी सबैजना यो मानव समाजमा अस्ति भर्खर उत्पत्ति भएर हिजो एकै समथर धर्काबाट सुरु गरी आज उपलब्धिको यो बिन्दुमा आएका हौँ त ? 


इतिहास लुकाउन खोज्नु वा इतिहासदेखि आफैँ लुक्नु कस्तो नेतृत्वको परिचायक हो ? इतिहास नबुझ्नेले भविष्य कोर्न सक्छ भन्नु भ्रमबाहेक अरू के हुन सक्छ ? यिनै स्पष्ट प्रश्नका चित्तबुझ्दो उत्तर नपाएर विवेकशील साझा पार्टीप्रति मलाई खासै अभिरुचि लागेन । 

वर्तमान राजनीतिक बेथितिको नयाँ विकल्प त चाहिएकै हो, तर त्यो नयाँ ढोकाबाट प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको प्रवेश हुने हो भने कराहीबाट अँगेनामा खस्नुझैँ घातक हुन्छ 

पार्टी एकीकरणको डेढ वर्षपछि अर्को समाचार आयो– विवेकशील साझा पार्टी छुटेर फेरि साझा विवेकशील पार्टी र विवेकशील नेपाली पार्टी दुई पार्टी बन्ने । यो समाचारसँगै फेरि एउटा ठूलो सानो उथलपुथल भयो ।


विवेकशील साझा पार्टीका आलोचकहरूले जे आरोप लगाउँथे, तिनै आरोप छुटेका दुई पक्षहरूले एकअर्कालाई लगाउन थाले । साझाका बूढाहरूले विवेकशील नेपालीका युवाहरूलाई राजनीति नबुझ्ने केटाकेटी भने । विवेकशील नेपालीका युवाहरूले साझाका बूढाहरूलाई रिटायर्ड जिन्दगीमा सान्दर्भिकता खोज्न आएका भने । विवेकशीलका युवाले आफूलाई अवमूल्यन भएकोमा चित्त दुखाए भने साझाका बूढाहरूले अपमान भएको गुनासो गरे ।


यिनै आरोप, चित्त दुखाइ र स्पष्टीकरणका वक्तव्य र लेखहरू दुवैतिरबाट बर्सिन थाले । तिनै आरोपका चित्रणअनुरूप ‘तर पनि म हिलो छ्याप्दिनँ...’ भन्दै साझा विवेकशीलका संयोजक हिलो छ्यापिएको लेख र वक्तव्यहरू सामाजिक सञ्जालमा बाँड्दै बसे भने विवेकशील नेपालीका संयोजक घाँटीमुनि शब्द गाँठो पारेर झोक्राएर बसे ।


आफ्नो व्यक्तिगत नजरमा साझा र विवेकशील दुवै अयोग्य ठहर्‍याए पनि निष्ठाको मामलामा मैले अब दुइटा धार देखे ।मूलधारे राजनीतिमा उठाउने औँला अब एकअर्कामा, आफैँमा फर्किएपछि, सजिला बहानाका आधार सकिएपछि, घातको गहिरो आभास भएपछि, अब सुरु हुने यात्रा कस्तो हुन्छ त ?


विवेकशील नेपालीका तत्कालीन संयोजकले संयोजकत्व हस्तान्तरण गरे । विवेकशील नेपालीका समितिमा विविध अनुहारहरू देखिन थाले । महिलाका सन्दर्भमा केही इमानदार कार्यहरू र मधेसका मुद्दामा उत्सुकता देखिन थाले । साझा विवेकशीलका संयोजकको देवत्वकरणको शृंखला कायम रह्यो ।साझा विवेकशीलका समितिमा जुँगा हुनु र नहुनुमै विविधता सीमित रह्यो ।गणतन्त्र र धर्म निरपेक्षतामा पुनः मूल्यांकन हुनुपर्छ भन्ने मन्तव्य आउन थाल्यो र साझा विवेकशीलको सैद्धान्तिक शून्यताको पर्दापछाडि प्रतिगमन वा अवसरवाद के लुकेको हो भन्नेमा कुरो अड्कियो ।

०००

योग्यता र निष्ठा दुवै मापदण्डमा साझा विवेकशीलले सान्दर्भिकता गुमाउँदै गयो भने विवेकशील नेपालीले आफ्नो सान्दर्भिकता प्रस्तुत गर्ने अर्को सन्दर्भ भेट्यो । सुरुवाती क्रममा माइतीघर मण्डलाको गोलामा सीमित भनेर पटक–पटक आलोचित विवेकशीलले भूकम्प राहत कार्यमा सक्रियता देखाएर आफ्नो सांगठनिक शक्तिको औचित्य देखाएको थियो । र अहिले कोरोना माहामारीबीच ‘इनफ इज इनफ’ युवा अभियानमा सक्रिय भूमिका निभाएर फेरि आफ्नो पहिचान दिएको छ ।


कोरोना माहामारीमा सरकारको अकर्मण्यताविरुद्ध स्वस्फुर्त उठेको युवा आन्दोलन ‘इनफ इज इनफ’ कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन । यस आन्दोलनमा विवेकशील नेपालीको कति निर्णायक भूमिका छ, दलरहित विशुद्ध युवा अभियान ‘इनफ इज इनफ’लाई विवेकशील नेपालीले आफ्नो दलीय रूप दिन खोज्यो भन्ने आरोपमा कति सत्यता छ वा ‘इनफ इज इनफ’ अभियान आफैँमा कति सान्दर्भिक वा प्रभावकारी छ भन्ने विवादको विषय हुन सक्छन् । 


तर अहिलेको राजनीतिक गतिरोधको जुन समय छ, बहुमत प्राप्त सत्ता आन्तरिक शक्ति संघर्षले जसरी कक्रिएको छ, प्रतिपक्षको ठाउँ लिएका प्रमुख पार्टीहरू जसरी सुस्त मात्र हैन, अदृश्य नै भएको छ, यस्तो परिस्थितिमा ‘इनफ इज इनफ’का आन्दोलनकारी युवाहरूले गरेको अभियान अहिलेको चर्चा र अभिरुचिको विषय भएको छ । र, यो अभियानको नेतृत्व नभए पनि रूपात्मकताको जस आंशिक नै भए पनि विवेकशीललाई पक्कै जान्छ ।

०००

यी सबै माहोलबीच युवा नेतृत्वको विषय फेरि राष्ट्रिय बहसमा छाएको छ । तर, विगतभन्दा फरक यसपटक मूलधारको प्रतिक्रिया र सत्ताको प्रतीकात्मक विद्रोहको रूपमा मात्र युवा नेतृत्वलाई उभ्याइएको छैन, अहिलेको वर्तमान नेतृत्वपंक्ति साँच्चै रित्तिएको भान भएर, विकल्पको अतिशीघ्र समाधानमुखी विमर्शको खोज भएको छ ।


युवालाई अवमूल्यन गर्ने समय अब रहेन, र युवाहरूले युवा हुनु नै पर्याप्त भएको आधार दिने ठाउँ रहेन । युवा नेतृत्वको आवश्यकता र औचित्यको मात्र चर्चा होइन, अब कुन युवा, कस्तो नेतृत्व, यी सबमा बृहत् र बहुआयामिक छलफलको आवश्यकता महसुस भएको छ ।

‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भाग्यवादी सोचयुक्त अभियान चलाउने साझा पार्टीको भाग्यवादी पोकोमा ब्राह्मणवाद चिर्ने औजार होला त ? ब्राह्मणवाद नचिरी संरचनात्मक भ्रष्टताको सही चिरफार हुन सक्छ त ?

युवाहरू आफैँमा पूर्ण सक्षम छन् कि त्यो नेतृत्वमा बूढाबुज्रुकको भूमिका के हुन्छ त ? संयुक्त राज्य अमेरिकामा पुँजीवादको जरा हल्लाउने मलेनियल युवाको आन्दोलनमा ८० पुग्न आँटेका बर्नी स्यान्डर्सले राजनीतिक नेतृत्व दिएका छन् भने ९० कटेका नोम चोम्स्कीले वैचारिक नेतृत्व कायम राखेका छन् । 


मूलधारको विकल्प र टेक्नोक्रेसीको मसिहा मानिएका डोनाल्ड ट्रम्पको नेतृत्वले अमेरिकालाई कुन बिजोग बनायो, त्यो जगजाहेर भएको छ । तर, बिजोगका ती दुर्घटना झन्–झन् चुलिँदै गर्दा पनि सत्यलाई सेतो सर्वोच्चताले ढाक्ने हतास युवाहरूको लाम बढ्दो छ ।


छिमेकी भारतमा युवाहरूको अर्को लज्जाजनक तमासा छ । मोदीको हिन्दुत्व राजनीतिको आउरेभाउरे र गुन्डा भरौटेको रूपमा भाजपाका युवाहरू कुण्ठा र हिंसाका तस्बिरहरू भएर छ्यापछ्याप्ती भएका छन् ।


त्यस्तै अर्का छिमेकी चीनमा नवीन प्रविधिको संवाहक भएर आफ्नै डिजिटल जेल बनाउन खटेका युवाहरू देख्दा युवा मात्र होइन, ती युवाका प्रविधिका औजारसँग पनि चिसो डर लाग्न थालेको छ ।


नेतृत्वको सम्भावनाको सन्दर्भमा हामी जुन युवाको कल्पना गर्छौं, त्यो युवा जनसांख्यिकीय प्याराडाइम मात्र पक्कै हुन सक्दैन । त्यसो हो भने युवा भनेर त्यो सम्भावनाको झन्डा कसलाई दिने त ?


आफ्नो राजनीतिक झन्डामुनि संघर्ष गर्ने विवेकशील नेपालीका युवाहरू मात्र हैन, राजनीतिक झन्डैविना पनि ‘इनफ इज इनफ’ भनेर सरकारलाई झकझकाउने युवा अनशनकारी र अभियन्ताहरू मात्र हैनन्, अहिले नेपाली समाजमा युवाहरू सर्वत्र संघर्षरत र आन्दोलित छन् । 


बलात्कार र यौनहिंसाको विरुद्धमा युवाहरू आन्दोलित छन् । नागरिकता अधिकारका निम्ति महिला र मधेसी युवाहरू अनवरत आन्दोलनमा छन् । दलित हत्याको विरोधमा गाउँ सहर आक्रान्त छ । विकासको नाममा हुने पर्यावरण विनाशको विरुद्धमा र पुरातात्विक महत्वको खोकनाको बचाउमा युवाहरू गाउँ फर्की–फर्की उत्रेका छन् । 


युवा आन्दोलन सांगठनिक र समूहगत संघर्षमा मात्र होइन, व्यक्तिगत साहसको रूपमा पनि प्रकट हुँदै छन् । दलित र गैरदलितबीचको पर्खाललाई तोड्दै नवराज विक र उनको प्रेमिकाले जुन साहस देखाए, त्यो एउटा आन्दोलन थियो । नेपाली नायिका साम्राज्ञीले सिनेक्षेत्रमा हुने शोषण उजागर गर्ने जुन कार्य गरिन्, त्यो पनि एउटा आन्दोलन हो । रुक्साना कपालीले जसरी आफ्ना पारलिंगी अनुभवहरू बताउँदै आएकी छिन्, त्यो एक निरन्तर आन्दोलन नै हो । 


थरका आधारमा विवाह गर्न मात्र होइन, डेरा पनि नपाउने युवाहरू आन्दोलित छन् । ‘दिएपछि मात्र खाएस्’ भनिएकाहरू आन्दोलित छन् । अंग्रेजी बोल्न नसिकेकाहरू आन्दोलित छन् । यी सबै युवा आन्दोलन र युवा नेतृत्वका विभिन्न अनुहार र विविध आयाम हुन् ।

 

यो बृहत् युवा आन्दोलनमा केही युवा इतिहास बुझ्ने क्रममा छन् भने केही युवा आफ्नो अगाडि पाइला-पाइलामा तेर्सिने इतिहासको तगारोलाई वर्तमानमा तर्ने क्रममा छन् । युवा आन्दोलनका यी विभिन्न तहहरूलाई छाम्ने हो भने नेपाली समाज इतिहासको नयाँ संघारमा उभिएको भान हुन्छ ।

 

इतिहासको कुरा गर्दा युवा आन्दोलनको यो बिन्दुमा आइपुग्न विगतका लामा-छोटा इतिहास भएका राजनीतिक, गैरराजनीतिक सम्पूर्ण संघर्षको योगदान रहेको छ । युवा, वृद्ध, सबैका रगत-पसिना बगेको छ ।


आजसम्मको आन्दोलनको इतिहासमा इतिहासले सबैभन्दा पेलिएका युवाहरू यी सम्पूर्ण संघर्षमा थेग्ने पाइला त बने तर प्रायः पाइला नै रहेर पृष्ठभूमिमा धमिलो छायाको रूपमा मात्रै रहे । तर, अब ती पाइलाहरू पृष्ठभूमिबाट अगाडि बढ्दै छन्, आ-आफ्नै ऐतिहासिक यात्राबाट आएका ती विविध युवा अनुहारहरू हेर्दाहेर्दै प्रस्ट अनि रंगीन हुँदै छन् ।