• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
यादव देवकोटा
२०७७ भदौ १३ शनिबार ०८:५५:००
इतिहास

जब रोएर विज्ञान मर्‍यो

देशको एउटा वैज्ञानिक हतोत्साही भयो । उसले समातेको विज्ञानको बाटोले रुँदै मृत्यु वरण गर्‍यो ।

२०७७ भदौ १३ शनिबार ०८:५५:००
यादव देवकोटा

 

जमलबाट दरबारमार्ग जाने बाटोसँगै टाँसिएर रहेको जीर्ण र भग्न हुँदै गएको एउटा कलात्मक द्वारबाट पसेपछिको दाहिने घरमा कुनै समय एकजना मित्र बस्थ्यो, डेरा गरेर । डेरा भन्नु कि कार्यालय, सबै त्यही थियो, उसको । शिशिर राणा भनेर परिचय दिने मित्र गएको एक दशकयता एकाएक गायब छ, चिनजानका सबै–सबैबाट । ‘मोडेल’हरूको प्रतिस्पर्धा आयोजना गरिबस्ने ऊ सहरको यो भीडभाड र प्रतिस्पर्धामा कता हरायो, हराएपछि मात्रै हामी दुखित बन्यौँ । 


अँ, त्यहीँ, शिशिरको जमलको डेरामा, हामीले कैयौँ रात स्वप्निल भविष्यको गफ चुटेर निखारेका थियौँ । रात छिप्पिँदै गएपछि जमलबाट निस्केर दरबारमार्ग, ठमेल, वसन्तपुर, पशुपति, मृगस्थली, स्वयम्भू, पचलीको फन्को मारेका छौँ कैयौँपटक, निखारेर कैयौँ रात । 


एउटा त्यस्तै रात, उसको डेराअघिको त्यो जीर्ण द्वार देखाएर उसैले भनेको हो, यो सेतो दरबारको गेट हो । त्यहाँबाट अलिक अगाडि लगेर खाली जमिनमा धस्सिँदै गइरहेको मेसिनरी औजारहरूको अस्थिपञ्जर देखाएर उसले भनेको थियो– ए हात्ती (स–सानो हावाको झोक्काले पनि उडाई लाने खालको फुकिढल शरीर भएको मलाई ऊ जिस्क्याएर हात्ती भन्थ्यो) यसलाई नमस्कार गर । त्यसपछि उसैले चिनाएको हो, गेहेन्द्रशमशेरको ज्यासल (कारखाना) भएको ठाउँ यही हो भनेर । 


०००

पढिएको हो, पाठ्यक्रममा, नेपालको पहिलो वैज्ञानिक भनेर गेहेन्द्रशमशेरको नाम जसरी आजसम्मै पढाइरहन्छन्, हाम्रा पाठ्यक्रमहरू त्यही रूपमा । सैनिक प्रर्दशनीमा तिनले बनाएको मेसिनगन देखेको हुँ । तर, गेहेन्द्रले काठमाडौंमा श्री ३ महाराज वीर शमशेरले बनाएको सेतो दरबारमा कारखाना खोलेर वैज्ञानिक, प्राविधिक काम सुरु गर्दानगर्दै काठमाडौंबाट पश्चिम नेपालको गोर्खा धावाका अच्युतानन्दले नेपालमा आफ्नै सीमासहितको आविष्कार गरेर देशकै पहिलो वैज्ञानिकका रूपमा आफ्नो कर्म सिँचित गरिसकेका थिए । 


हरेक कुरामा पहिलोको या योग्यताको ठोकुवा टाँस्ने निधार शासक र तिनका छोरा–नातिहरू या इच्छित मात्रै हुनुपर्ने नियम छैन भने अच्युतानन्द देशको पहिलो आविष्कारक थिए, वैज्ञानिक थिए । निःसन्देह नेपालमा पहिलो वैज्ञानिक त्योभन्दा कैयौँ पहिले यहीँ तरबार, खुकुरी, बन्दुक, खुर्पा, हँसिया, कोदालो तयार गर्न आरनमा गोल तताएर फलाम पिट्ने कामीहरू थिए । ती आममानिसबारे शासकीय इतिहासको विरुदावलीमा मौनता साँधिएकाले कसलाई मान्ने भन्ने दुःख भए पृथ्वीनारायणको पालामा हतियार बनाउने सेखजवरहरू पहिलो वैज्ञानिक थिए । र, साँच्चै नौलो आविष्कारमूलक वैज्ञानिक काम गर्ने, साधन तयार गर्ने पहिलो वैज्ञानिक अवश्य नै पण्डित अच्युतानन्द लामिछाने थिए । तिनै अन्वेषण, खोज र आफ्नो योग्यताको हदसम्म आविष्कारको कर्ममा प्रयत्नरत यो लेखको मूल पात्र अच्युतानन्दलाई गेहेन्द्र शमशेरले लगाएको गुनको वर्णन पनि यथाक्रममा उल्लेख हुने नै छ । 

०००

गेहेन्द्र शमशेर श्री ३ वीर शमशेरका छोरा थिए । वीर शमशेरले रैथाने किसानसँग रु. ६० का दरले ३७५ रोपनी जमिन उठाएर बनाएका थिए, त्यसबखतको सबैभन्दा भव्यमध्येमा पर्ने सेतो दरबार (जबरा, पुरुषोत्तम शमशेर– राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, पृ. ४५) । सेतो दरबारको विशाल हिस्सा स्वामित्वमा परेको थियो, गेहेन्द्र शमशेरको । जो वि.सं. १९९० को आगलागीमा परेर भष्म भयो । त्यसको बैठककक्षको भव्यताको तुलनामा आउने त्यसबखत अन्य दोस्रो कक्ष नै थिएन भन्छन्, जानकारहरू । 


पछिबाट सेतो दरबार गेहेन्द्रका छोराहरू लीला, एकराज, शुर, भैरव, जन शमशेरहरूको अंशमा परेकोमा त्यो भग्न द्वार भएतिरको भाग लीला शमशेरको अंशमा परेको थियो । उनको पालामा भएको अंशबन्डामा अहिले अन्नपूर्ण होटेल भएको भाग उनका छोरा चूडा शमशेरलाई, नाङ्लो–उडल्यान्ड भएको भाग लीला शमशेरलाई नै, अनाराश्रम भएको भाग पत्नी अनारदेवीलाई, अहिले ज्योतिनिवास रहेको भाग अर्की पत्नी शर्मादेवीलाई र विश्वज्योति भएको भाग अर्का छोरा देवेन्द्र शमशेरलाई परेको थियो । बुझिँदै छ, त्यो जीर्ण द्वार भएको भाग अनारदेवीको भाग परेको रहेछ । 
०००

 

विमान पण्डित अच्युतानन्द लामिछाने वि.सं. १९०७ मा गोर्खाको धावामा जन्मिएका थिए । उनी नेपाली इतिहासमा प्रस्टसँग प्रकट हुने राजज्योतिष दुल्लभ लामिछानेको दशौँ पुस्ताका सन्तति थिए । 

 

दुल्लभ लामिछाने तन्त्रविद्याका विषारद थिए । ‘अर्थऋषितर्पणी’ पुस्तक लेखेका थिए । तिनको खास नाम दामोदर लामिछाने थियो । वि.सं. १६१८ मंसिर १० मा दैलेख दुल्लुको लामपाटामा जन्मिएका मार्कण्डेय लामिछानेका छोरा हुनाले र त्यहाँबाट आएको ज्योतिष विद्याको पारंगत पण्डित हुनाले उनलाई दुल्लभ ज्योतिष भनिन्थ्यो । कतिपयले भने कसैले गर्न नसकेको दुर्लभ काम फत्ते गर्न सकेकाले तिनको नाम दुर्लभ लामिछाने रहेको उल्लेख गरेको पनि पाइन्छ । तर, गोरखा तान्द्राङमा प्राप्त शिलालेखमा दुल्लभ नै उल्लेख भएबाट उनको नाम दुल्लभ नै प्रचलित रहेको प्रस्टिन्छ । उसो त पंक्तिकारले प्रवेशिका परीक्षा दिएको विद्यालय तिनैको नाममा स्थापित दुल्लभ मावि हो । दुल्लभ राम शाहकालीन थिए । उनले राम शाहको चिना बनाएको व्यहोरा गोर्खा वंशावलीले उल्लेख गरेको छ । 

 

अच्युतानन्द लामिछानेले गोरखाको धावामा आजभन्दा १२५ वर्षअघि नै रेल गुडाएका थिए । उनले दुईजना अटाउने चारपांग्रे साधारण गाढालाई वाष्पशक्तिले गतिशील बनाए । त्यसबखत रेल बनाउँदा उनलाई नौ हजार ऋण लागेको थियो ।

गोर्खाली सेनापति तथा चर्चित पात्र गणेश पाँडे मारिएका थिए, वि.सं. १६६३ मा सल्यानटार फौजी मोर्चामा घलेहरूसँगको लडाइँमा । त्यसपछि वर्षायाममा सल्यानटार हान्न श्रीकृष्ण र गजाधर पाँडेको नेतृत्वमा अघि बढेको फौजले बूढीगण्डकी पार गर्न सकेन । राम शाहको जन्मकुण्डली बनाई दामोदर लामिछानेले निकालिदिएको साइतमा उनैले तयार गरिदिएको डुंगा चढेर बूढीगण्डकी तरेर सल्यानकोट हान्न पुगेको गोर्खाली फौजले पूर्ण शाहको पालामा जितेर पनि पुनः गुमेको सल्यानटार राम शाहको पालामा फेरि सर गर्‍यो ।

 

गोर्खाली सेनापतिसहित थुप्रै सिपाही मारिई हारेको सल्यानटार मोर्चा जित्नु दुर्लभ काम मानिन गएको थियो, राम शाहको पालामा गोर्खालीहरूका लागि । त्यस्तो दुर्लभ काम फत्ते गराउन साइत निकाल्ने र पुनश्चरणः गर्ने ज्योतिषी दामोदर लामिछानेलाई राम शाहले धावा–तान्द्राङको मौजा बिर्ता दिएका थिए । त्यसै कारण तिनी दुर्लभ जोशीका नामले परिचित हुन गएका थिए भन्ने एकथरी धारणा रहेको पाइन्छ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग १, पृ. ६९७) । दुल्लभको उक्त वर्णन गोर्खाराज वंशावलीले पनि गरेको छ । दुल्लभले दिएको साइतमा राम शाहको फौजले सल्यानटार जितेको प्रसंग दिनेशराज पन्तले पनि उल्लेख गरेका छन् (गोरखाको इतिहास, भाग १, पृ. ९३) ।
दुल्लभ–विष्णु–वरपति–वासुदेव–वैकुष्ठ–श्रीकृष्ण–रामानन्द–नयनानन्द–श्रीमंगल हुँदै अच्युतानन्द एघाराैँ पुस्ताका दरसन्तान थिए, दुल्लभ जोशी (ऐतिहासिक लामिछाने बन्धु वंशावली, पृ. ४७) । 

०००

प्रसंगवश, दैलेखको दुल्लुबाट आएका दामोदर गोर्खामै अडिए भने सम्भवतः उनका भाइ ललितपुर दक्षिणकाली भेगमा आएर बसे । दामोदर गोर्खाली शाह राजाहरूको दरबार पसेर तरक्की गरे । ललितपुर आउने भाइ मल्ल दरबारमा पसे । तिनले पाएका थिए, अहिलेको धादिङमा पर्ने पीडामा बिर्ता । तिनैका दरसन्तान थिए, काशीमा बसेर भानुभक्तको रामायण छाप्नेलगायतका प्रकाशन कार्य गर्ने हरिहर शास्त्री । केशवराज शर्माले त त्यही पीडावासी हुँ भन्ने जनाउन आफ्नो परिचय नै केशवराज पिँडालीका रूपमा गराए । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा तिनै पिँडालीका छोरा हुन् । उनीहरूको परिवारले बिरलै लामिछाने लेखिबस्यो । केशवराजका पिता कृष्णराज शर्मा लेख्थे, जो थिए एक समय ब्रह्मदेव मण्डीका हाकिम पनि (अनुपराज शर्मासँग पंक्तिकारले गरेको टेलिफोन कुराकानी) । 


अच्यूतानन्द वनारसमा गएर पढेको बखत तिनै हरिहर शास्त्रीको निवासमा बसे । गोर्खा र काठमाडौंको यात्रा नाप्दा त्यही पिडास्थित कृणराज–केशवराजको घरमा वास निखारे । पिँडाली परिवारले पछि गएर वनारस र पिडाको आफ्नो सम्पत्ति बेचबिखन गर्‍यो । 

०००

समले लेखेका छन्, मेरा गुरु पण्डित पीताम्बरले त्यसै वेला मलाई पचलीघाटनेर लगेर उनका ज्येष्ठ बा पण्डित अच्युतानन्दसँग भेटाइदिएका थिए । जसको पृष्ठभूमि थियो– १९०७ सालमा पश्चिम नेपालको धादिङ इलाकाको चरङ्गे फेदीनेर अचानेमा जन्मिएका (मेरो कविताको आराधन, पृ. १०४) । लामिछाने वंशावलीअनुसार पीताम्बर भने दुल्लभका अर्का छोरा शिवप्रसादका दशौँ पुस्ताका सन्तान थिए । यसरी नातामा अच्युतानन्द बालकृष्ण समले उल्लेख गरेझैँ ठूलोबा–भतिजाको हुन गएको थियो । पीताम्बरका पिता भगीरथ जोशी आफ्नो समयका नामी ज्योतिष थिए, शाह दरबारमा ।

 

तर, अच्युतानन्द जन्मिएका थिए, गोर्खाको धावामा । अच्युतानन्दको परिवार उनको छोरा वेदनिधिको पालामा वि.सं. १९६१ तिर धादिङ बसाइँ गएको थियो, गोर्खाको धावाबाट । बालकृष्ण समले ०२३ सालमा छापिएको पुस्तकमा धादिङ चरङ्गेमा जन्मिएको लेख्नु स्वाभाविक छ । किनभने, आफूले हुक्र्यौलो उमेरमा जानेका अच्युतानन्दबारे पछि सोधखोज गर्ने या दरबारमै पहुँचमा रहेका अच्युतानन्दपुत्र वेदनिधि लामिछानेसँग उनको थातथलो सोध्दा धादिङ देखाउनु स्वाभाविक थियो । 


गोर्खाको सम्पत्ति लगभग सकिएपछि बकसमा पाएको चरङ्गे (अचने)को जमिनमा ओत थाम्न पुगेका थिए, वेदनिधि, पिताले धावामा रेल कुदाउने क्रममा भएको सम्पत्ति निखारेर ऋण थपेपछि । पं. वेदनिधिले श्री ५ को दरबार अर्थात् त्रिभुवनको समयमा नारायणहिटीमा कोटीहोम लगाएका थिए । वेदनिधिपुत्र मोहन लामिछाने पनि आफ्नो समयमा सुप्रसिद्ध पण्डित थिए, जसले जनमतसंग्रहताका वीरेन्द्र–ऐश्वर्यलाई राखेर दरबारमा पुटिक लगाएका थिए, दरबारको ‘संकट टार्न’ । अच्युतानन्दले ‘मातृका नवमी श्राद्ध विधि’ र ‘अग्नि स्थापना’ लेखेको बताइए पनि पुस्तक भने प्राप्त गर्न सकिएको छैन (पंक्तिकारसँग अच्युतानन्दका पनाति धादिङ अचनेनिवासी रमेश लामिछानेसँग गरेको कुराकानी) । 


०००

वि.सं. १९०७ मा जन्मिएका अच्युतानन्द १६ वर्षको उमेरमा शास्त्रको अध्ययन गर्न वानरपति पन्तसँग वनारस गएका थिए । त्यतै पढ्दा–बस्दा तिनले रेल गुडेको देखिजानेका थिए । मनमा रेलको छुकछुकको हुटहुटी बचाएर ल्याएका उनले गाउँ फर्किएपछि काठको रेल बनाएर गुडाउने काममा दत्तचित्त भएर लागे । वि.सं. १९३९ देखि नै धावामा काठे रेल बनाउन थालेका थिए, जतिवेला नेपालको पहिलो वैज्ञानिक भनिएका गेहेन्द्र शमशेर बल्ल एघार वर्षमा टेक्दै थिए । कहिले धावा गाउँ त कहिले काठमाडौं गर्दै धावामा एउटा सानो रेल दगुराउन सफल भएका थिए, अच्युतानन्द (स्वामी, प्रपन्नाचार्य– च्यातिएको पानाबाट (मिल्काको झिल्का) ।


अनवरत दशकभन्दा लामो समय त्यसमा लगानी गरेर आखिरमा दुईजना अटाउने चार पांग्रा भएको दुईवटा डिब्बा जोडेर वाष्पशक्तिले चल्ने गतिशील यन्त्र ‘रेल’ बनाउने सफलता प्राप्त गरिछाडे, उनले । तर, गुडाउनका लागि चाहिने जमिन राणा सरकारको अनुमतिबेगर प्राप्त गर्न असम्भव थियो । 


यसरी अच्युतानन्द लामिछानेले गोरखाको धावामा आजभन्दा १२५ वर्षअघि नै अर्थात् वि.सं. १९५० तिरै रेल गुडाएका थिए । उनले दुईजना अटाउने चारपांग्रे साधारण गाढालाई वाष्पशक्तिले गतिशील बनाए । त्यसबखत त्यसरी रेल बनाउँदा अच्युतानन्दलाई आफ्नो भएको सम्पत्ति निखारेर नौ हजार ऋण लागेको थियो (सम, उही, पृ. १०४) । 


पहाडी एक जिज्ञासु तन्नेरीले आफ्नो सारा सम्पत्ति निखारेर र थप नौ हजार ऋण थाप्लोमाथि थापेर सवा सय वर्षअघि रेलै चलाएको पहाडी भेग धावा–तान्द्राङमा बल्ल केही वर्षअघि गाडी गुड्ने कच्ची सडक पुगेको छ । आज पनि हामी पहाडी भेगमा रेल चलाउने अनेकन सपना देख्छांँ, किन्छौँ, बेच्छौँ, तर त्यो सपना धावावासीलाई अच्युतानन्दले सवा सय वर्षअघि नै जागृत गराइसकेका थिए । व्यवहारमा प्रदर्शन गरिसकेका थिए । 

०००

त्यसरी रेल बनाउँदा ऋण लागेपछि अच्युतानन्द आफ्नो सफलताको कथा सुनाउन काठमाडौं हान्निए । राजदरबारमा मुमा बडामहारानीलाई सुनाए । त्यसबखत नयाँ–नयाँ प्राविधिक परीक्षण गरिबसेका तत्कालीन श्री ३ महाराज वीर शमशेरका छोरा जर्नेल गेहेन्द्र शमशेरसँग उनको भेट भयो । 


पछि, वि.सं. १९५७ मा बेलायतबाट पहिलो मोटर भित्र्याएका थिए, गेहेन्द्र शमशेरले, फोर्ड कम्पनीको । र, त्यसलाई चाँदीले मोडेर बत्ती जडान गरी झिलिमिली बल्ने बनाएका थिए । बाहिरी आवरणलाई चाँदीले मोडेर बत्ती जडान गरिएको गाडीको नाम ‘दशनारायण’ राखेका थिए, उनले । त्यही जमलको प्रयोगशालामा त्यो सबै बनाएका थिए, उनले आफ्ना सहयोगीहरू बुच्चे वस्ताज, कान्छा कालिगढ, दशनारायण आदि कालिगढको सहयोगमा । त्यो गाडीको नाम तिनले आफ्ना तिनै दशनारायण कालिगढको नाममा राखेका थिए । उक्त गाडी श्री ५ पृथ्वीले मन पराएर गेहेन्द्रका पिता वीर शमशेरले पृथ्वीलाई दिएका थिए, गेहेन्द्रको सम्मतिमा । गेहेन्द्रले त्यही जमलको कारखानामा वाइन्डमिलद्वारा बिजुली उत्पादन गर्थे (कुँवर राणाजीहरूको बृहत् वंशावली, पृ. ६५) । 


वि.सं. १९५७ फागुनमा वीर शमशेरको मृत्युपछि देव शमशेर सत्तामा आए । चार महिना पनि सत्तामा टिक्न नदिई उनलाई सत्ताच्युत गर्ने काम गेहेन्द्र शमशेरको त्यही जमलस्थित सेतो दरबारमा भएको थियो । 


देव शमशेरपछि सत्तामा आएका चन्द्र शमशेरलाई उपहार चढाउन भनी आफूले बनाएको पेस्तोल लिई सिंहदरबार गएका थिए, गेहेन्द्र । चन्द्रलाई सलाम गर्ने क्रममा गोजीको पेस्तोल भुइँमा झरेपछि तर्सिएका चन्द्रले गेहेन्द्रलाई घरमै बस्ने आदेश दिए । भनिन्छ, उनका भान्छेमार्फत मन्द विष पिलाएर गेहेन्द्रको ३६ वर्षको उमेरमा हत्या नै गरिदिए, चन्द्रले । नियमित कामबाट हटाएर घरमै बस्ने आदेश चन्द्रबाट पाएपछि मदिराको नशालाई सहारा बनाएका थिए, गेहेन्द्रले । अपमानको आँसुसँग मिलाएर पिएको त्यही रक्सीमा विष घोलेर मारिए, देशको पहिलो भनिएका वैज्ञानिक सत्ताको क्रूर पटाक्षेपमा परेर । 


तिनै गेहेन्द्र शमशेरले आफ्ना पिता बहालवाला श्री ३ महाराज वीर शमशेरबाट दश हजार दिलाइदिएका थिए, अच्युतानन्दलाई । र, त्यही पैसाबाट अच्युतानन्दले रेल बनाउँदा लागेको ऋण तिरेका थिए । 


वीर शमशेरको निधनपछि देव शमशेर र लगत्तै चन्द्र शमशेर सत्तामा आए । गेहेन्द्र शमशेरको पेस्तोल प्रकरणका कारण चन्द्र शमशेरले प्राविधिज्ञहरूलाई, पढेलेखेकाहरूलाई सधैँ कुदृष्टिले हेरे । वक्र व्यवहार गरे । नयाँ चेतना, विचार, योग्यता, तर्कहरूको हुर्मत लिइयो, चन्द्र शमशेरको शासनकालभर । आर्य समाजी माधवराज जोशीदेखि नेपालकै पहिलो स्नातक भीमनरसिंह राणा, जापानमा इन्जिनियरिङ गरी आएका श्रीजंगनरसिंह राणा, इन्जिनियर किशोरनरसिंह राणा, लेखक कृष्णलाल अधिकारी, विमान पण्डित अच्युतानन्दहरू त्यसरी चन्द्र शासनमा उपेक्षित, अपहेलित, अपमानित, दण्डित भएका केही उदाहरणीय पात्र थिए । 


फर्पिङको जलविद्युत् उत्पादन गर्न स्वदेशी इन्जिनियरको उपेक्षा गरेर विदेशी इन्जिनियर ल्याएकोमा असन्तोष जनाउँदै किशोरनरसिंहले चन्द्र शमशेर जिउँदो छउन्जेल आफ्नो निवासमा बिजुली नै बालेनन् (पाँडे, भीमबहादुर, त्यस बखतको नेपाल, भाग २-३, पृ. १७) । जापानबाट इन्जिनियरिङ पढी आएका जंगनरसिंह राणालाई रोलवाला राणालाई महाराजाधिराजको बैठकमा बिजुलीको करेन्टद्वारा एकै चिहान पार्ने योजना बनाएको आरोपमा डोटी पठाइयो, बडाहाकिम बनाएर (पाँडे, भीमबहादुर – त्यस बखतको नेपाल, भाग १, पृ. २२६) । 

०००

वि.सं. १९६० मा राइट दाजुभाइले जहाज उडाएको खबर त्यसको सम्भवतः केही वर्षपछि अच्युतानन्दले पनि सुने । राइट दाजुभाइले आफ्ना पादरी पिता मिल्टन राइटले दिएको खेलौना जहाजबाट प्रेरित भएर उड्ने जहाजको आविष्कार गरेका थिए भनिन्छ । अच्युतानन्द थिए, उनीहरूले जहाज उडाएको नर्थ क्यारिलोना (अमेरिका)बाट दूरको बाहिरी संसारसँग सम्बन्ध र सम्पर्क बन्द गरेर बसेको समाजमा । तैपनि, त्यस खबरबाट उत्साहित उनी भुइँमा गुड्ने रेल चलाउन नदिए पनि आकाशमा उड्न त कसले रोक्ला र भनेर जहाज बनाएर उडाउने दृढतासहित काठमाडौं पचलीघाटमा बसेर हवाईजहाज बनाउन कस्सिए । 


उनले सुरुमा ठूला–ठूला बेलुन बनाएर उडाए, हवाईजहाज उडाउने प्राविधिक परीक्षणका लागि । सल्यानटारदेखि छोरा वेदनिधिलाई बाँस बोकाएर ल्याई पचलीमा मइन, कपडा, आल्मुनियमको हल्का पाता प्रयोग गरेर अच्युतानन्दले मट्टीतेलबाट उड्ने हवाईजहाज बनाए, कैयौँ वर्षको प्रयासपछि, सुनेको भरमा, हवाईजहाज नै नदेखी । 


विमान उडाउने अनुमतिका लागि दरबारको हुकुम कुरिबसे । त्यो याचनाबारे विमर्श हुँदा माहिला गुरुज्यू हेमराज पाण्डेले अच्युतानन्दलाई हियाएर उनले बनाएर उडाउन लागेको जहाजलाई बेलुन उडाएजस्तो सस्तो खेला भन्दै खिसी गरे । ‘बेलुन पण्डितको कुरा गरेको ?’ भनेर विमान उडाउने कामलाई बेलुन उडाउनेजस्तो सस्तो बनाउन खोजे । 


विष्णुको अवतार श्री ५ महाराजाधिराजको दरबारमाथिबाट उडेर उनलाई नाघ्ने ? भन्दै विष्णुको अवतार नाघ्ने हवाईजहाज उडाउन मिल्दैन भनेर तत्कालीन राणाशाहीले उनलाई हवाईजहाज उडाउन अनुमति दिएन । अनुमतिको प्रतीक्षा गर्दागर्दा ‘एक–एक टुक्रा गरेर जहाजका बाँस–काठहरू चुलोमा जल्दै गए । धरधर गरेर कपडा च्यातिँदै गए । र, अच्युतानन्दको हवाईजहाज खण्डहरमा परिणत भयो (सम, उही, पृ. १०५) । यसरी देशको पहिलो भव्य आविष्कारले भग्न स्थिति व्यहोरेर सखाप भयो । 


आफ्नो पिताको आखिरी अवस्थासँग जानकार वेदनिधिले आफ्ना छोरा–नातिलाई सुनाएको विवरणअनुसार सत्ताले गरेको अपमान, आफ्नो प्रयासमाथि लगाइएको प्रतिबन्ध, समाजले त्यसमा साँधेको मौनताबाट व्याकुल बनेका अच्युतानन्द खोज, उन्नति, कर्म गर्नेको भन्दा गफ, चाकरी र चुक्ली लगाउनेहरू बस्ने देश सधैँ मजस्तै जीर्ण बनिरहन्छ भन्दै रुँदै, निरसिँदै काशी गए । वि.सं. १९८८ असोज १२ मा उनको काशीमै निधन भयो । यसरी देशको एउटा वैज्ञानिक हतोत्साही भयो । उसले समातेको विज्ञानको बाटोले रुँदै मृत्यु वरण गर्‍यो । 


आज पनि हामीकहाँ खोज, अनुसन्धान, विमर्शभन्दा गफ, टुक्का, चाकरी, चाप्लुसी गर्नेहरूलाई सत्ता र सत्ता आशीर्वाद उपलब्ध छ । वैज्ञानिक शोध गर्न सहयोगको याचना गरेका महावीर पुनहरू अपमानित हुन्छन् र बालज्योतिषहरू सत्ताबाट करोडौँ रकम प्राप्त गर्छन् ।