• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सरिता तिवारी
२०७७ भदौ २० शनिबार १०:३८:००
समाज

उड हे पक्षी ! पिँजडा तोड

हजारौँ वर्ष पुरानो पिँजडाको ढोकामा पुँजीवादी शोषणचक्रको बडेमानको ताल्चा ठोकिएको छ

२०७७ भदौ २० शनिबार १०:३८:००
सरिता तिवारी

‘पिँजडाको चरो उभिएको छ आफ्नै सपनाको चिहानमाथि
दुःस्वप्नको आर्तनादले चिच्याउँछ उसको छाया
काटिएका छन् उसका प्वाँख, बाँधिएका छन् उसका गोडा
ऊ खोल्छ त्यसैकारण गाउनैका लागि कण्ठ’ 
-माया एन्जेलो 
(आई नो, ह्वाई द केज्ड बर्ड सिङ्स ?)
-अनुवाद : पंक्तिकार

 

कवि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ याद गराउने यो कविता सम्झनुको खास अर्थ छ । अफ्रिकी–अमेरिकी कवि माया एन्जेलोको उल्लिखित कविताले जात, वर्ग, लिंग, नश्ल र रङ सबैथरी उत्पीडनका चरित्र र उत्पीडितको प्रतिरोधमा सार्वजनीन आवाज दिएको छ । कालो वर्णसँग जोडिएको सिंगो सभ्यता र संस्कृतिलाई अभिजात्य गोरो इतिहासले गरेका दलनविरुद्धको यो काव्यिक मुक्का धर्तीको जुनसुकै कुनामा रहेका उत्पीडितको भाषासँग मेल खान्छ ।

 

महिलाको स्वतन्त्रताको सपना त्यति नै पुरानो हो, जति पुरानो छ बन्धन र नियन्त्रणका कथाले बुनिएको यो पिँजडाको इतिहास । चिन्तक फ्रेडरिक एंगेल्सले भनेजस्तै जुनवेलादेखि पुरुष भेटेजतिका भौतिक वस्तु कब्जा गर्ने र तिनको मालिक बन्ने लोभ र अहंकारले मदमत्त भएर हिँड्यो, त्यसैवेलादेखि । जुन वेलादेखि सामूहिक श्रम र सामूहिक कुटुम्बको व्यवस्था खारेज भएर एकपुरुषकेन्द्री विवाह, पुरुषकेन्द्री वंश परम्परा र त्यसैलाई धान्ने परिवार संरचना हुँदै त्यहीअनुकूलको बाहुबलले निर्मित राज्यहरू बन्ने सिलसिला थालियो, त्यसैवेलादेखि । यो पिँजडाको कथा त्यहीँदेखि नै थालिएको हो ।

 

स्वतन्त्रताको प्रलाप–गीत 

 

- ऋषिपञ्चमी,  स्वस्थानी लगायतका विधिमा गयल हुने साहस नगरी गफैले त स्वतन्त्र भइन्न होला ! 

- हिजो हितकारी ठहरिएको पुँजीवाद नै आज घोर मर्दवादी र विश्वव्यापी शासक बन्यो । 

- एकातिर सशक्तीकरण भन्छ, अर्कोतिर आफ्नै ब्रान्डको दासत्व बोकाएर ‘सुन्दरता’को दलाली गर्छ

 

‘सत्य’जस्तै स्वतन्त्रताको पनि सापेक्षित अर्थ हुन्छ भन्ने गरिन्छ । के–के कुरालाई, कस्तो वा कतिलाई स्वतन्त्र भन्ने ? यो कुराको अर्थ व्यक्तिको अवस्था र अपेक्षाअनुकूल निर्माण हुन्छ भनिन्छ । स्वतन्त्रता दार्शनिक धारणा हो पनि भन्छन्, कतिपय । यसलाई आत्मिक र आध्यात्मिक धारणा पनि मान्छन्, कतिपय । 


तर, वस्तुवादी र मानवीय जीवन व्यवहारको आवश्यकताका दृष्टिले हेर्ने हो भने स्वतन्त्रताको अर्थ त्यस्तो अमूर्त छैन, जति छ भनेर बयान गरिन्छ । स्वतन्त्रताको सीधा र सरल अर्थ हो, नियन्त्रणबाट मुक्ति । तर, प्रश्न हो– कस्तो खालको नियन्त्रण भन्ने । बृहत् रूपमा प्रश्न हो, नियन्त्रण कहाँ–कहाँ छ भन्ने । सबैखाले नियन्त्रणका घनचक्करबाट निस्कने चाबी के हो भन्ने । 
०००


देवीका रूपमा स्त्रीहरू पुजिने परम्परामा सांस्कृतिक मानवशास्त्रले भन्ने ‘स्त्री सिद्धान्त’ कति जोडिन्छ, म भन्न सक्दिनँ, तर आजका जिउँदाजाग्दा देवीको हरेक दिन भोग खाएर बाँचेको समाजमा महिलाको मुक्त अस्तित्वसँग अभिन्न अनेकौँ प्रश्न अनुत्तरित छन् । बलात्कार, दाइजो, छाउपडी, ऋषिपञ्चमी, स्वस्थानीलगायतका दुःखान्तहरू चिर्न तयार नभई केको देवीपूजन ? यी कथामा आगो नझोसी, यिनका विधिमा गयल हुने साहस नगरी गफैले त स्वतन्त्र भइन्न होला ! पहिलो कुरा । 

आइमाई सधैँको दमित, पराजित जाति हो भन्नेले इतिहास र पुरातत्व कति पढ्छन् कुन्नि ? नेपालभित्रैको जनजाति समाज पनि कत्तिको बुझ्छन् ? कञ्चनपुरदेखि मोरङसम्मकै थारू समाज पनि एउटा उदाहरण हो, जहाँ पुरुषभन्दा महिलाको स्थान बलियो थियो ।

 

आइमाई सधैँको दमित, पराजित जाति हो भन्नेले इतिहास र पुरातत्व कति पढ्छन् कुन्नि ? नेपालभित्रैको जनजाति समाज पनि कत्तिको बुझ्छन् ? कञ्चनपुरदेखि चितवन हुँदै मोरङसम्मकै थारू समाज पनि एउटा उदाहरण हो, जहाँ पुरुषभन्दा महिलाको स्थान बलियो थियो भन्ने प्रमाण आजका प्रथाहरूमै भेटिन्छ । 


यस सन्दर्भमा यही पत्रिकाले छापेको झन्डै दुई वर्षअघिको डा. माधवप्रसाद पोखरेलको लेख ‘स्त्री राज्य’ले केही उल्लेख्य तथ्य संकेत गर्छ । लेविस हेन्री मोर्गनको ‘प्राचीन समाज’, यसैमा उभिएर मातृ समाजको तथ्य पेस गर्ने एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ र एभलिन रिडका केही निबन्धले पेस गर्ने तथ्यहरू प्रायः सबैजसो पश्चिमी सन्दर्भमा आएका छन् । यी सबैले मातृअधिकार र मातृगोत्रको धुरी थियो भन्ने मान्छन् । पूर्वमा सिन्धुघाँटीको सभ्यतालगायत तत्कालीन मेसोपोटामिया र मिश्रको सभ्यतासम्ममा भेटिएका स्त्री–मूर्तिको अध्ययनले कृषि–अर्थतन्त्र र त्यसमा स्त्रीनेतृत्वको आधार प्रस्तुत गर्छ । (चट्टोपाध्याय : २०८) भन्ने कुरा यहाँ सम्झन मन लागेको छ । नेपालमै चलेको शाक्ततन्त्र र शक्तिपूजाबारे त खस–आर्य समाज अभ्यस्त नै छ ।


सूचना र संज्ञानको युग आइपुगुन्जेल मातृयुगका अवशेषका रूपमा अब केही प्रथा र परम्परा मात्र बाँकी छन् । आजका महिलाले भोग्नुपरेका थुप्रै जीवित प्रश्न र चुनौतीका अगाडि इतिहासको स्त्री–सिद्धान्तको खोजीले त्यति महत्व नपाएको हुन सक्छ । 


पूर्वकै कुरा गर्दा वेदका ऋचा लेख्ने वागम्भृणी भन्छिन्, ‘हावाको गतिसमान वेगवान् भई म पृथ्वीका सारा सीमाहरू नाघेर सिर्जनाको संसारमा मग्न हुन्छु’ (ऋग्वेद स् १०-१२५-५) । दर्शनशास्त्रकी अध्येता गार्गी विद्वत्सभामा उभिएर अग्रज पुरुष–विद्वान्लाई वैचारिक बहसको चुनौती दिन्छिन् । यी त सपना देख्न खोज्ने आँखाका दुइटा दृष्टान्त मात्रै हुन् । 


पूर्वमा ‘थेरिगाथा’को चर्चा पनि उत्तिकै हुन्छ । बुद्धका समकालीन स्त्री–भिक्षुहरूका महत्वपूर्ण वार्ताको संकलन भनिएको यस ग्रन्थमा ७३ जना विद्वान् भिक्षु(णी)का अनुभव छन् भन्नेबाहेक पंक्तिकारलाई यसबारे थप ज्ञान छैन । तर, संघ–संरचनामा बुद्धत्वका लागि दीर्घसाधना र विद्वत् वार्ता गर्ने महिलाहरू ऊ वेलाका स्वतन्त्रचेता, स्वप्नद्रष्टा नै थिए ।


यता, किराँतहरूकी महामाता सुम्निमाका कथा त अनिवार्य सम्झनैपर्छ । आदिम प्राकृतिक भौतिकवादी दर्शन मुन्दुमले कथेकी सुम्निमा आद्यसमाजकी चानेचुने आमा थिइनन् । किराँत सभ्यताको यो कथाले पूर्वमा मातृशक्ति र त्यसलाई जतनसाथ पुस्तान्तरसम्म ल्याइएको स्मृतिको समेत बयान गर्छ । जहाँ यति विषद् स्मृतिको सम्पदा छ, त्यो समुदाय महिलाका सपना र स्वतन्त्र व्यक्तित्वको रक्षक हुन्छ नै । 


सुम्निमाकै किंवदन्तीको सुगन्ध डुल्ने ठाउँमा जन्मिएकी हुन्, योगमाया । जोसमनी सन्त परम्पराकी प्रखर कवि र हिन्दू वर्णव्यवस्थालगायत कर्मकाण्डी ब्राह्मणवादको घोर विरोधी भएर निस्किन्, उनी । योगमाया आजभन्दा झन्डै सय वर्षअघिकी क्रान्तिकारी विचारक र संगठित सामाजिक सुधार आन्दोलनकी नेतासमेत भइन् । 


स्त्रीहरूका स्वप्नद्रष्टा आँखा लेख्ने, बोल्ने ठाउँमा मात्रै सीमित थिएनन् । मेलापात, वन र गोठाला जाँदा गाउने गीतदेखि तिज, रत्यौली, जितिया, वा सँगीनी र ठाडी भाका गाउनेहरूले विरहकै लयमा किन नहोस्, अज्ञात कुनाकन्दरासम्मै पुग्ने गरी सपनाप्रतिको भरोसा जगाएकै थिए । त्यस्ता भाकाको शक्ति आज पनि उत्तिकै छ । यिनमा ‘केज्ड बर्ड’का आर्तनादको सामञ्जस्य नभेटिने त कुरै भएन । 


भाषाले, कलाले, सिनेमाले, बहसले, आन्दोलनले स्वतन्त्रताको सपनालाई टुंगोतिर लैजाने यात्रा सकिएको छैन, आजको पुस्तासम्म आइपुगेको मात्रै छ । 

 

पुँजीवादको गोलचक्करभित्र


आजका दिनमा पुँजीवाद र स्वतन्त्रता आफैँमा भयंकर विरोधाभास हुन् । स्वतन्त्रता र बहुल विचारको कर्ताधर्ता नै पुँजीवाद हो भन्नका लागि अनेकौँ बहस र तर्क खडा गरिन्छन् । तर, जसको आधारभूत पहिचान नै अकुत निजी पुँजीको निर्माण, सञ्चिति र पुनर्निर्माणको चक्रीय शृंखलासँग गाँसिएको छ, जसलाई नाफाकै लागि जतिसुकै अमानवीय र क्रूर बन्न पनि छुट छ, त्यस्तो आर्थिक प्रणालीमा न मान्छे न प्रकृति-पर्यावरण कोही र केही पनि ‘स्वतन्त्र’ हुने स्थिति छ ? आजको पुँजीवादभित्र स्वतन्त्रताको कल्पना यसकारण मिथ्याभास हो ।


सामन्ती समाजको ध्वंस र निषेध गरेर जन्मेको भए पनि आज आएर यो आफैँ नयाँ सामन्त, नयाँ मालिकहरूको भूमण्डलीकृत गठजोड बनिरहेको तथ्य छर्लंग छ । शरीरदेखि सिपाही र सस्ता श्रमिकसम्म निर्यात गरेर भारत, अरब र विश्वका अन्य देशमा बेचिने नियति नै हाम्रो वस्तुगत यथार्थ हो । यस्तो यथार्थका बीचबाट एक व्यक्तिका रूपमा, एक विपुल मानवीय अस्तित्वका रूपमा महिलाको समग्र व्यक्तित्व, उसको सुसंगत विवेकसहितको छनोटको स्वतन्त्रता र पहिचानको आकार खोज्ने कल्पना गर्नु यही स्थितिभित्र सम्भव नै छैन । पुँजीवादको यही सीमान्त अनुभवको समाधानमा आज नारीवाद र पर्यावरणवादसहितको समाजवाद सँगसँगै स्थापित हुनुपर्छ भन्ने बहस उठिरहेको छ । 

 

०००

 

युरोपमा सत्रौँ र अठारौँ शताब्दीबीच चर्चको एकछत्र धर्म–सत्ता र शासकीय सामन्तवादलाई कमजोर बनाएर पुँजीवाद उदायो । उद्योग र कारखानाहरूको स्थापनाले मान्छेको श्रमलाई नगदमा साट्ने चलन बसाल्यो । श्रममाथि सामन्ती कब्जाको परम्परालाई निर्मम प्रहार गर्न सकेकैले पुँजीवाद सुरुमा निकै क्रान्तिकारी ठहरियो ।

 

पुँजीवादको आगमन उत्पादनका साधन र त्यसको सम्बन्धमा बदलाव ल्याउने व्यापक प्रगतिशील रूपान्तरण थियो । यो सुरुवाती क्रान्तिकारी छविमा महिलाको अवस्थामा आएका ऐतिहासिक सुधार पनि सँगै जोडिन्छन् । धेरै महिला घरबाहिरको मौद्रिक मूल्यवाला श्रममा हुल बाँधेर आए । लामो समयसम्म अवैतनिक र सित्तैँको श्रमिक भएर काम गरिरहेका महिलाको अस्तित्व पुँजीवादी आधुनिकताका फलकमा परम्पराभन्दा भिन्न र अभूतपूर्व बन्न पुग्यो ।


एकैसाथ पुनर्जारण (रिनेसा), प्रबोधन (एज अफ एनलाइटेन्मेन्ट) र औद्योगिक क्रान्तिको एकत्रित लहर उठिरहेको युरोपेली समाज धर्मकेन्द्रित (थियोसेन्ट्रिक)बाट मानवकेन्द्रित (एन्थ्रोपोसेन्ट्रिक) र इहलौकिकताबाट विचारधारात्मक वर्चस्वको घर्षणमा विजयी हुनु पुँजीवादी क्रान्तिको सफलता थियो । स्वाभाविक हो, तत्कालीन अवस्थामा महिलाको स्वतन्त्रताको चाहना यसैको टेकोमा अडिएको हो । 

पुँजीवादको सबैभन्दा ठूलो खेती महिलाको शरीरमाथि चलेको छ । यसले एकातिर व्यक्तिगत स्वतन्त्रताको तर्क बेच्छ, अर्कोतिर घुमाईघुमाईकन महिलाका अंग–अंगमाथि बहुराष्ट्रिय व्यापारको दोकान चलाउँछ ।

तर, पुँजीवाद आफ्नै विकासको चरणमा थियो । त्यसमा महिला त केवल उपकरण थिए । महिलाले पाएको तुलनात्मक स्वतन्त्रता महिलाको आफ्नै सर्तमा थिएन, उद्योग र कारखाना मालिकहरूको सकेसम्म नाफा कुम्ल्याउने शोषणकारी पुँजी–विकासको सर्तमा थियो । 


स्वाभाविक थियो, पुँजीको विकास र त्यसले निर्धारण गरेको आर्थिक–सांस्कृतिक नियतिभित्र बाँचेको समाजमा घरबाहिर निस्कने महिलाहरू बजारको फाइदाका लागि एक रूपको दासबाट अर्को रूपको दासमा फेरिँदै मात्र गए ।


कुलीन महिलाहरूको पंक्ति कठोर शारीरिक श्रमबाट त जोगियो, तर तिनको स्वतन्त्रता पुरुष अनुग्रहमै निर्भर भइरह्यो । 

 

यी सबै कुराको प्रतिरोधमा नारी मुक्ति आन्दोलनहरू उठे । मताधिकार र पुरुषसरह अन्य सांस्कृतिक अधिकारका आन्दोलन उठे । बीसौँ शताब्दीको सुरुवातका वर्षमै समाजवादी महिला आन्दोलनले चलाएको कारखाना–मजदुर–महिलाको संघर्षले व्यापक रूप लिएपछि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको सन्दर्भ यहीँनेर जोडिन्छ ।
समय बित्दै जाँदा पुँजीको विकास आज यस्तो मोडमा पुगेको छ, हिजो प्रगतिशील र हितकारी ठहरिएको पुँजीवाद नै आज घोर मर्दवादी र चरम उत्पीडनकारी विशालकाय र विश्वव्यापी शासक बनेको छ । 

०००

देखिएकै छ, पुँजीवादको सबैभन्दा ठूलो खेती महिलाको शरीरमाथि चलेको छ । यसले एकातिर व्यक्तिगत स्वतन्त्रताको तर्क बेच्छ, अर्कोतिर घुमाइघुमाइकन महिलाका अंग–अंगमाथि बहुराष्ट्रिय व्यापारको दोकान चलाउँछ । एकातिर ‘तेरो जिन्दगी हो, रोज्जा जिन्दगी बाँच् !’ भन्छ, अर्कोतिर छनोटको सम्मानजनक अवसर कहीँ पनि दिँदैन । 


एकातिर सशक्तीकरण भन्छ, अर्कोतिर आफ्नै उत्पादन र ब्रान्डको दासत्व बोकाएर ‘सुन्दरता’को दलाली गर्छ । आँखा, ओठ, मुख, दाँत, कपाललगायत स्त्रीदेहलाई सयौँ टुक्रामा बाँडेर कस्मेटिक अर्थतन्त्रको अकण्टक नियन्त्रण चलाउँछ र शब्दमा चमकदार पालिस लगाएर भन्छ, ‘यही हो स्वतन्त्रता !’


बजार सुन्दरता र सेक्सको कारोबार एकै अर्थमा गर्छ । सुन्दर हुनु भनेकै कामुक देखिनु र यस्तो देखिनु नै स्वतन्त्रता हो भन्ने भ्रम छर्छ । सुन्दरताका मानवीय मानकहरूको धज्जी उडाउनु र आफ्नै सर्तको ‘भेन्टिलेटेड’ सुन्दरताको भाष्य बेच्नु नै यसको उद्देश्य हो । सौन्दर्यको मानवीय र सिर्जनात्मक मूल्यमाथि बजारको हस्तक्षेप यति अश्लील छ कि, मानौँ जहाँ बजार छैन त्यहाँ सौन्दर्य नै छैन । 


कुन वेला कस्तो लुगा लगाउने भन्ने ‘ड्रेसकोड’ बनाउन सामन्तवादी पितृसत्ता जति सिपालु छ, त्योभन्दा कम माहिर छैन, बजार पँुजीवाद । सबैभन्दा बढी छोरीमान्छेकै लुगाका डिजाइन बेच्छ, बजार । सारी लगाउँदा होस् या क्रप गरिएका, ग्रन्च हानिएका लुगा लगाउँदा होस्, स्त्रीलाई जतिसक्यो ह्वाङ्लाङ्ग पारेर आफ्नो कठपुतली नै तुल्याएपछि बडो सुन्दर र स्वतन्त्र बनाएँ भन्ने दाबी गर्छ । तर, यही उपक्रममा उसले बनाएका ‘फङ्सनैपिच्छेका’ फेसन खरिद्न सक्ने र नसक्नेबीचको वर्गान्तरले समाज कुन उकुसमुकुस र ‘फ्रस्टेसन’मा छटपटिएको छ, त्यो त कहिल्यै देख्दैन !

 

सप्रसंग, वेश्यावृत्ति र पोर्नको दुनियाँमा महिला र किशोरीहरूको शरीरको खरिदारी कति डरलाग्दो छ, त्यो पनि ख्याल गरौँ । भर्खरै मात्र सकेको लुइज ब्राउनको किताब ‘सेक्स स्लेभ्ज’ पढ्दा ‘ऐच्छिक’ करार गरिएका देहव्यापारका वास्तविक कथाले ओठतालु सुकाएको स्मरण भइरहेको छ, यतिवेला । सेक्सबजारको छुसी ‘माल’ बन्ने छनोट, कुन स्वाभिमानी मान्छेले गर्ला ? जमिन, जंगल र अर्थतन्त्रका अरू सबै आधारबाट अपदस्थ बनाइदिएर जब बजार–सत्ता मान्छेलाई तेरो आफ्नै ज्यान बेचेर खा भन्छ, त्यस्तो समाजलाई उदार र खुला समाज ठान्ने मनोरोग पनि पुँजीवादकै देन हो । 


सौन्दर्यदेखि सेक्ससम्मको सारा बजारतन्त्र पितृसत्ताकै नयाँ संस्करण हो भन्छन् आलोचकहरू । अर्थात् पुँजीवादी पितृसत्ता ! यसलाई नारी मुक्तिआन्दोलनका पक्षधरले मात्रै होइन, नारीवादी लेखकहरूले समेत जमेर आलोचना गरेका छन् । 


त्यति मात्रै होइन, शरीरविज्ञान (एनाटोमी) र यौनिकता (सेक्सुआलिटी)सँग खेल्ने ‘जिरो फिगर पोलिटिक्स’ होस् या ‘मेरो फिगर कोकाकोला’वाला दैहिक आदर्शीकरण होस्, यस्तो ‘मनुपुलेसन’लाई छनोटको स्वतन्त्रता भनेरै बेवास्ता गर्नु स्त्री–शरीरमाथि बजारको मर्दवादी मानकीकरणलाई खुला सदर गर्नु नै हो । शारीरिक तन्दुरुस्तीको छनोट र बजारको इच्छाअनुकूलको छनोट पक्कै पनि फरक कुरा हुन् । 


बजार र छनोटको स्वतन्त्रताभित्र यस्ता घनघोर परियोजना पनि पर्छन्, जसले व्यक्तिलाई मान्छे होइन, दिमागमा बिर्को लागेको उपभोक्ता मात्रै बनाइरहन्छन्, एकैनासले, चुपचाप ! यस्तोमा मान्छे सोच्ने काम आफू होइन, बजारभरि छरिएका ब्युटी प्रोजेक्टर र फेसनडिजाइनरका हातमा छोड्छ । यो पुँजीवादी पितृसत्ताले बनाएको अर्को डरलाग्दो सोचको पिँजडा हो । 


र अर्को कुरा, यो तिजमा कति महिलाले भिडियो बनाएरै भने, ‘म मेरो लोग्नेको गोडाको पानी खान्छु, तिमेरलाई बाल !’ कतिले गोडाको पानी खाँदै गरेका फोटा पोस्टिँदै लेखे, ‘आहा यसपालिको तिज !’ कुतर्कको डोरो समात्दै जाँदा यसैलाई पनि छनोटको स्वतन्त्रता नै त भन्नुपर्ने होला !


०००

स्वतन्त्रता मनुष्यत्वको सबैभन्दा पहिलो सर्त हो । अर्को शब्दमा यो निःसर्त सर्त नै हो । मनमाफिकले बाँच्नु र मनमाफिकले जीवनलाई उत्सवमय बनाउनु । यो कसैले कहीँनेरबाट पनि नियन्त्रण गर्ने कुरा होइन । माथि पेस गरिएका नारी सिद्धान्तका तमाम तर्क र स्वतन्त्र मान्छे बन्ने सबै गीत, सबै साहित्यको ‘गोलपोस्ट’ निःसन्देह स्वतन्त्रता नै हो ।


एउटा कुरा के सत्य हो भने स्वतन्त्रतासँग अभिन्न भएर आउने अनिवार्य तत्व त आखिर सामाजिक र अर्थ–राजनीतिक उत्पादनसम्बन्धले निर्माण गर्ने चेतना नै रहेछ ! एउटा व्यक्तिसत्ताका रूपमा म ‘मिथ्या–चेतना’ (फल्स कन्ससनेस)को सिकार भइरहेकी छु भने र मैले भोग्दै गरेको स्वतन्त्रताले मानवद्वेषी, उन्मुक्त चेतनाद्वेषी ‘माल–अन्धपूजा’ (कमोडिटी फेटिसिज्म)को संस्कृति फल्छ–फुल्छ भने म जानेर, नजानेर बजार पितृसत्ताको (मूर्ख) एजेन्ट बनेको हुन्छु । यसले पक्कै पनि त्यो हजारौँ वर्ष पुरानो पिँजडाको ढोका खोल्दैन, बरु त्यसमा पुँजीवादी शोषणचक्रको यत्रो बडेमानको ताल्चा ठोकेर छोड्छ । 


कम्तीमा हामी हाम्रो ज्यानलाई, हाम्रा आँखालाई, हाम्रो हृदयलाई, हाम्रो चेतनालाई कुनै पनि रूपको पितृसत्ताको दास हुन दिन्नौँ, ‘पालिस’ गरिएका कुनै पनि शब्दको सर्तमा । चाहे त्यो बजारले किस्तीमा राखेर सजाएको बजारकै अनुकूलको ‘स्वतन्त्रता’ नामको ‘चमकदार’ शब्द नै किन नहोस् ।