• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनोज पण्डित 
२०७७ भदौ २० शनिबार ०७:५३:००
समाज

के सोच्दै हुनुहुन्छ ?

२०७७ भदौ २० शनिबार ०७:५३:००
मनोज पण्डित 

सोचको स्रोतको बारेमा सोच्नुभएको छ ?

 

के सोच्दै हुनुहुन्छ ? जे सोच्दै हुनुहुन्छ, त्यो के सोच्दै छु भनेर सोच्नुभएको छ ? या, त्यो नै किन सोच्दै छु भनेर सोचको कारणबारेमा सोच्नुभएको छ ? त्यस्तै उक्त सोच कहाँबाट आफूमा आयो भनेर सोचको स्रोतको बारेमा सोच्नुभएको छ ? अनि उक्त सोचले समग्रमा के अर्थ राख्छ भनेर सोचको मूल्यांकनबारे पनि सोच्नुभएको छ ? मूलतः आफ्नो सोचमाथि आफैँले नै सोच्नुपर्छ भनेर सोच्नुभएको छ ? साथसाथै, आफैँले नै आफ्नो सोचमाथि किन सोच्ने भनेर पनि सोच्नुभएको छ ?


सोच्नुभएको छैन भने किन सोचिएन भनेर सोच्ने हो कि ? आफ्नै सोचमाथि आफैँले सोच्न नमिल्ने, नसकिने या सोच्दा पीडा हुने हो ? रोकिराखेको छ भने कारण खोज्ने तर्फ सोच्ने हो कि ? कि कतै आफ्नै सोचमाथि सोच्ने प्रणालीको चरित्र नै विकास त नभएको होइन कि भन्नेतर्फ नै सोच्ने हो ? यतातर्फ सोचिरहँदा यदि उक्त चरित्र विकास भइदिएको भए के फाइदा हुन सक्थ्यो र नहुँदामा के क्षति भइरहेको छ भन्नेतर्फ गहिरिएर सोच्ने हो कि ?


यसरी सोच्ने क्रममा हाम्रा सोचका उपजमा कस्ता–कस्ता व्यावहारिक परिणतिहरूको शृंखला निर्माण भइरहेछ भन्नेतर्फ खोजपूर्ण सोच सोच्ने कि ? कतै आफ्नो सोचले कसैलाई पीडित त बनाउने होइन, पीडा त दिइरहेको छैन भन्नेतर्फ पनि सोच्ने हो कि ? त्यस्तै, हाम्रो सोच्ने चरित्रको कारण मानव समाजमा विभाजन सिर्जना गरेर कुनै पक्षलाई विभेद त गरिरहेको छ कि भनेर मिहीन तरिकाले सोच्नुपर्ने हो कि ? कतै हाम्रो सोच प्रणालीभित्र असहिष्णुता, कुण्ठा र हिंसा भरिएको त छैन भनेर सरसफाइको दृष्टिबाट सोच्न थाल्ने कि ?

 

आफूले सोचेको सोचलाई नितान्त आफ्नो सोच मानिरहँदा त्यो आफ्नो कत्तिको हो भनेर सोचको स्वामित्वमाथि कहिल्यै सोच्नुभएको छ ?

 

आफूले सोचेको सोचलाई नितान्त आफ्नो सोच मानिरहँदा त्यो आफ्नो कत्तिको हो भनेर सोचको स्वामित्वमाथि कहिल्यै सोच्नुभएको छ ? कतै उक्त सोचहरू अरू कसैले सोचिदिएर विभिन्न माध्यममार्फत तपाईं–हामीमा हालिदिएको त हैन भनेर शंकास्पद दृष्टिले कहिल्यै सोचिएको छ ? त्यस्तै, हामीले कुनै पनि सोच सोच्दासोच्दै अरू कसैले त्यसलाई एकदमै कम मूल्य दिएर उक्त सोच खरिद गरिसकेर कतै फाइदा त कमाइरहेको छैन भनेर सोच्ने हो कि ? यही शृंखलामा कतै हामीलाई निश्चित सोचहरू सोच्न बाध्य गराउने ठेकेदारी संयन्त्रहरू सक्रिय भएर हाम्रो सोचको लिलामी त गरिरहेको छैन ? या कतै हामीलाई निश्चित सोचहरू नसोच्न बाध्य गराएर सोचको भ्रूण हत्या गर्ने सेन्सरसिप मनोविज्ञान त लादिरहेको छैन ? तथा सीमित सोचहरूमा खुम्च्याइदिएर आफ्नो शक्तिलाई बलियो बनाइराख्ने षड्यन्त्र त कुनै शक्तिशाली संयन्त्रले गरिरहेको छैन भनेर चौतर्फी सोच्ने प्रयत्न नगर्ने ?


यसका लागि हाम्रा सोच के कस्ता तत्वहरूको प्रभावमा निर्माण हुन्छ भनेर सम्बन्धित पक्षहरूको बारेमा किन नसोच्ने ? किन नसोच्ने कि ती तत्वहरूले कसरी हाम्रो सोचलाई प्रभाव पार्छ ? त्यसैका आधारमा आफ्ना सोचलाई प्रभाव पार्ने तत्वहरूलाई प्रभाव पारेर ती प्रभावबाट आफ्नो सोच जोगाउने वा ती प्रभावलाई परिष्कृत पार्नेतर्फ किन नसोच्ने ? तर, त्यस्तो गर्न ती प्रभावकारी तत्वहरूको सञ्जालको अस्तित्व, स्वार्थ र सामर्थ्यलाई गहिरो अध्ययन गर्ने सोच बनाइहाल्न पछाडि किन पर्ने ?


तसर्थ, हरेक सोच जन्मिएपछि त्यसको विकल्पको बारेमा सोचिहाल्नुपर्छ कि ? विकल्पको खोजी गर्दै सम्भावनाहरू पहिचान गरेर ती उपलब्ध सोचहरूको विश्लेषण गरी उत्कृष्टताको छनोट प्रक्रियाको बारेमा सोचिहाल्नुपर्छ कि ? यसका लागि आफ्नै सोचहरूमाथि विश्लेषण र छनोट गर्ने विवेचनात्मक मापदण्ड आफूले निर्माण गर्नेतर्फ सोच अगाडि बढाइहाल्ने कि ?


हाम्रा हरेक सोचले कहीँ न कहीँ कुनै न कुनै रूपमा प्रभाव पार्न सक्छ भन्ने आधारभूत यथार्थलाई हरेक सोच्ने समयमा किन नसोच्ने ? साथसाथै, ती हरेक सोचले आफ्नो विपरीत सोचसँग टकराउनुपर्ने सम्भावनाको बारेमा स्पष्ट भएर किन नसोच्ने ? अनि ती विपरीत सोचहरूसँगको द्वन्द्वका आधारमा आफूमा पनि थप सोचको निर्माण हुने सम्भाव्यतालाई मध्यनजर गर्दै सोचहरूको परिणाम र परिणतिको शृंखलाको विषयमा काल्पनिकतामा नै भए पनि सोच्न हामीले सक्नुपर्छ कि ?


यसका लागि के हामी आफ्ना मस्तिष्कमा जन्मने हरेक सोचलाई लाडप्यार गर्नेतर्फ नभएर प्रश्न गर्नेबारेमा सोच्न सक्छौँ ? के हामी आफ्नो सहजतालाई बहिष्कार गरी असहजताको परिधिमा सोच्न सक्छौँ ? के हामी आफ्ना उपलब्धि त्यागेर नितान्त योगदानको पाटोमा मात्र सोच्न सक्छौँ ? के हामी आफ्नो केन्द्रीयतालाई अस्वीकार गरी अरूको अस्तित्वलाई केन्द्रमा राखेर सोच्न सक्छौँ ? के हामी आफूलाई अपूर्णताको मापनमा राखेर बहुअस्तित्वको सहायकत्वमा राखेर सोच्न सक्छौँ ? के हामी आफूलाई निरन्तरताको क्रमभंग गर्दै अस्पष्टता, अन्योल र अराजकताभित्रको चुनौतीको आधारस्तम्भ समात्दै प्रारम्भको अवधारणामा सोच्न सक्छौँ ?


यदि त्यसरी सोच्न सक्दैनौँ भने के हामी आफूलाई दासत्वको जन्जिरमा सधैँ बाँधिराख्न तयार हुन सक्छौँ ? अनि त्यही दासत्वभित्रबाट मुक्तिको छद्म परिकल्पनालाई कति समयसम्म लम्ब्याइराख्ने र दोहो¥याइराख्ने प्रयत्न गर्न सक्छौँ ? किनकि, यस्तो पृष्ठभूमिमा हामीलाई आफ्नो सोचको दासत्वमा जकडाइराखेर नाफा र शक्ति आर्जन गरिरहेकाहरूको पन्जाबाट मुक्त हुने सोचको परिकल्पना नै हामीले कसरी गर्न सक्छौँ ? उनीहरू जसरी हाम्रा हरेक सोचलाई अवलोकन गरेर हाम्रो सोच्ने प्रणालीमाथि हस्तक्षेप गरिरहेका छन्, जसले गर्दा हाम्रा सोचहरू आंशिक रूपले पनि हाम्रो नहुने भयावह स्थितिको विकास भइरहेको छ । त्यसका लागि हाम्रो सोचको अधिकार, सामथ्र्य, स्वतन्त्रता र गोप्यताको विषयमा गहन रूपमा सोच्नुपर्ने आवश्यकता भएन र ?

 

मानिसले आफ्नो अस्तित्वका लागि सबैभन्दा महत्वपूर्ण साधन भनेकै ‘सोच्न सक्ने सामर्थ्य र स्वतन्त्रता’माथि शक्तिसंरचनाहरूको पूर्ण हस्तक्षेप र नियन्त्रण हुँदै गएपछि आउने ‘सोचको संकट’को बारेमा अब पनि सोचिएन भने छिटै आउने भविष्यमा मानिस र मेसिनबीच कुनै फरक नहुने संकटग्रस्त सम्भावनालाई अब कम्तीमा एक निमेष भए पनि नसोच्ने त ?


अन्त्यमा, मानव संसारमा सबैभन्दा बढी खरिद–बिक्री हुने ‘सोच’ नै भएको हुँदा त्यसलाई प्रतिनिधित्व गर्न धेरै प्रश्नहरूको संरचनागत शृंखलामा यो लेख प्रस्तुत गर्ने जुन सोचको छनोट भयो, त्यसको बारेमा तपाईं के सोच्नुहुन्छ ? अनि जे सोच्नुभएको छ, त्योचाहिँ किन सोच्नुभएको हो भनेर एकचोटि सोच्ने होला कि ?