• वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
राजव
२०७७ भदौ २० शनिबार ०८:४१:००
साहित्य

कोरोनाका छाप 

डेभिडले घमाइलो दिनको यस्तो विरक्तलाग्दो सुनसान बाँचुन्जेल देखेको थिएन । ऊ हावालाई भन्छ, ‘अमेजिङ ।’

२०७७ भदौ २० शनिबार ०८:४१:००
राजव

 

डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो ।

 
मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् ।

 

आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, ओक, सिकामोर, फ्रेक्सिनसलगायत रूखहरूमा पात लागिसकेका छन् । तिनको हरितिमा घाम पाएर चम्किएका छन् । एकदम मोहक क्षण छ । डेभिडको छाया सोच्छ, ‘यस वेला यो आनन्द लिन किन कोही निस्केका देखिँदैनन् ?’ 


ऊ आफ्नो साँधको छिमेकी डोनाल्डको घरतिर चिहाउँछ । र, बरबराउँछ, ‘यो वेला ऊ आफ्नो कुकुर डोर्‍याएर निस्किएको देखिनुपर्ने । हरेक दिन ऊ निस्किने वेला यही हो । तर, अहिले ऊ देखिएको छैन । यत्ति मिठो, रमाइलो र घमाइलो दिन किन खेर फालिरहेछ डोनाल्ड ?’  


डेभिडको छाया अहिले आफ्नो घरको सेरोफेरो घुम्न थाल्छ । उसका लनका घाँसहरू अनियन्त्रित बढेर झन्डै एक फुट अग्ला कुरूप भएका छन् । ऊ एकदम विह्वल बरबराउँछ, ‘लनमोलले यिनलाई एकनाससँग मुठारेर सुन्दर पारिनुपथ्र्याे । कुनै परित्यक्त चउरजस्तो कस्तो कुरूप भद्दा देखिएको यो लन ?’ उसका आँखा पर सेडतिर सर्छन् । त्यसभित्र गार्डेनमा सामानहरू सबल, पिक, कुटो, कोदालोलगायत वेलाबखतलाई चाहिने औजारहरू, लिफ ब्लोवर, लनमोल, राखिएका छन् । ऊ सोच्छ, ‘सेडमा पसेर लनमोल झिक्छु । यी घाँसहरूमा कुदाउन थाल्छु । र, लन सुन्दर पार्छु । योभन्दा पहिले मेरो लनको यो हालत कहिल्यै भएको थिएन ।’ 


लनको बेहाल स्थितिलाई लिएर उसको मन झोकिन्छ, ‘लनमोल त सिल्ली ओमन सिल्भिया पनि गर्न सक्थी ? नभए भाडामा काम गर्नेहरूलाई लगाउन सक्थी ।’ 


मूल सडकबाट कार घरतिर मोड्न लनको देब्रे छेउ–छेउ ड्राइभ वे छ । ड्राइभ वे दाहिनेतिरको गराजमा मोडिएर टुंगिन्छ । ड्राइभ वेको देब्रेछेउमा छ सेड । गराजभित्रभित्रैबाट पनि घरभित्र पस्ने ढोका छ । कार लिएर गराजभित्र पस्दा त्यो ढोका प्रयोग हुन्छ । गराज नपुग्दै घरको मूलढोका लाग्ने ड्राइभ वेसँग जोडिएको स्लेट ओछ्याएको पाँच फुटको बाटो छ । कार ड्राइभ वेमा पार्क गर्दा मूलढोकाबाट घरभित्र पस्न यो बाटो प्रयोग गरिन्छ । यो बाटोको दाहिने–देब्रे फूलका समानान्तर ब्याड छन् । दाहिने ब्याड घरसँग जोडिएको छ । देब्रे ब्याड लनसँग जोडिएको छ । यी ब्याडमा ऊ थरी–थरीका लिली, डाइसियस, लिरिसेस, कार्नेसन, हिबिस्कस, बिगोनियस, कस्मोस, लान्टाना, मोसरोज, पेतुनियस, मेरिगोल्ड जस्ता फुच्चे सिजनल फूलहरू लगाउने गथ्र्यो । तर, अहिले ऊ दुवैतिरको ब्याडमा जंगली कुरूप झारहरू टन्न भरिएको देख्दै छ । यो बेहाल देखेर ऊ एकाएक तात्छ । र, उम्लँदै बरबराउँछ, ‘कमसेकम यो ब्याड सफा गरेर केही बिरुवा त रोप्न सक्थी सिल्ली ओमन ।’ 


सडक पूर्ववत् चकमन्न छ । अन्तका झैँ यताका पनि प्रायः घरका डेभिडहरू, सिल्भियाहरू छाया भइसकेका छन् । बतास डेभिडको छाया कानमा भन्छ, ‘त्यसकारण सडक सुनसान, बिरान छ डेभिड ।’

वेलाबखत सिल्भियाप्रति आफ्नो प्रेमभाव देखाउन पथ्र्याे भने पनि ऊ यही भन्थ्यो, ‘सिल्ली ओमन ।’ यस्तो वेला उसको टोन रसिलो हुन्थ्यो । सिल्ली ओमन अर्थात् सिल्भिया ह्यान्डिम्यान उसकी स्वास्नी हो । भेटघाट हुने हरेक नयाँ मान्छेलाई ऊ गर्वका साथ भन्ने गर्थ्याे, ‘वि आर टुगेदर सिन्स थर्टी इअर्स ।’


उसको पारिवारिक इतिहासमा उसले भनेको यो ‘थर्टी इअर्स’ रेकर्ड ब्रेकको कुरा थियो । किनभने यस्तो लामो अवधिसम्म टिकेको वैवाहिक रेकर्ड उसको तीन पुस्ताभित्र अरू कसैको भेटिन्न । त्यसकारण ऊ भन्ने गर्थ्याे, ‘यस मामिलामा म लक्की हुँ, सिल्भिया मलाई शान्तसँग झेल्छे ।’    

 
उनीहरूकी एउटी छोरी छे, जेनिफर ह्यान्डिम्यान । जेनिफरभन्दा अगाडि, पछाडि उनीहरूका अरू सन्तान थपिएनन् । अहिले जेनिफर सत्ताइस वर्षकी लागी । ऊ अचेल मियामीमा बस्छे । बोस्टन युनिभर्सिटीबाट ग्य्राजुएट भएपछि ऊ त्यता उडेकी हो । त्यताको कुनै कर्पाेरेट ल अफिसमा काम गर्छे । मियामी मुभ भएको यसबीच ऊ एकाध दिनका लागि पनि घर फर्किएकी छैन । घरमा उनीहरू बूढाबूढी मात्र हुन थालेको एक वर्ष भइसकेको थियो । बाउआमाको हालचाल सोध्न वेला–वेला जेनिफर फोन गर्थी । यस्तो क्षण जेनिफरलाई ऊ ठट्टा गरेजस्तो चलाखीमा भन्ने गथ्र्यो, ‘अब तँ सिल्ली ओमन कहिले हुन्छेस् ?’


उसको यो भनाइमा अब तँ केटो कहिले खोज्छेस् भन्ने हुन्थ्यो । ऊ रिसाउन्न थिई । सहज स्वरमा भन्थी, ‘नोरस ड्याड ।’


ऊ थप्थ्यो, ‘मेक योर लाइफ बेटर बेबी ।’  उसको जवाफ हुन्थ्यो, ‘ड्याड डन्ट वरी, आई एम फाइन ।’ खासमा जेनिफर टाढा भई भन्ने उसको विशेष चिन्ता थियो । तर, उसकी सिल्ली ओमन सिल्भिया भन्थी, ‘इट्स हर च्वाइस ।’ ठालु स्वरमा ऊ भन्थ्यो, ‘आई नो ।’


सडक यथावत् सुनसान छ । डेभिड पर–पर घुर्दै छ । सोच्दै छ, ‘न मानिस छेउ लागेर हिँडेका छन्, न वाहनहरू गुडेका छन् । यो मध्यरात हैन, मध्याह्न हुन लागेको वेला हो, तर हाम्रो एरिया यस्तो किन ? मानिसहरू घमाइलो दिनको यस्तो उपेक्षा किन गरिरहेछन् ?’ उत्तर खोजेर उसको छाया मथिंगल रन्थनिँदै छ । ऊ फेरि छिमेकी डोनाल्ड सम्झिन्छ । र, बबराउँछ, ‘यत्ति राम्रो दिन छ, यो डोनाल्ड किन देखिँदैन ?’ डेभिडले घमाइलो दिनको यस्तो विरक्तलाग्दो सुनसान बाँचुन्जेल देखेको थिएन । ऊ हावालाई भन्छ, ‘अमेजिङ ।’ 


फेरि उसका आँखा आफ्नो घरको सुनसानतिर फर्किन्छन् । ऊ घरको दैलो घुर्न थाल्छ । उसको छाया मुख बरबराउँछ, ‘भित्र सिल्भिया के गर्दै छे ? अहिलेसम्ममा ऊ यसो बाहिर निस्केको त देखिनुपर्ने ? वातावरण यत्ति उज्यालो, रमाइलो छ, तर सिल्ली ओमन घरभित्रै छे ।’ 


डेभिड छिमेकी घरहरूको हाल पनि यस्तै देख्दै छ । तिनका ड्राइभ वेमा कारहरूको लाम छ । कतै गुड्न कोही घरबाट निस्केका देखिँदैनन् । उसको ड्राइभ वेमा पनि सिल्भियाको कार पार्क गरिएको छ । त्यसकारण पनि सिल्भिया घरभित्रै हुनुपर्छ भन्ने छ उसलाई । सिल्भियाको कारको छतभरि चराका विष्टाहरू र हरिया पलनहरू (परागकणहरू) भरिएका छन् । सारै दिक्किएर सिल्भियाको बेहाल कार हेरिरहेको उसलाई आफ्नो कारको सम्झना आउँछ र आफैँलाई भन्छ, ‘धन्न मैले आफ्नो कार गराजभित्र हुलेँ नत्र मेरो कारको हाल पनि सिल्भियाको जस्तै घिनलाग्दो बेहाल देखिन्थ्यो ।’ 


सिल्भियाको कार होन्डा सिभिक्स हो । उसको सिल्भियाको भन्दा दोब्बर महँगो कार लेक्सस जिएक्स ४६० हो । त्यसकारण पनि बाहिरबाट आएपछि ऊ आफ्नो कार सिधै गराजमा हुल्ने गथ्र्यो । उसले लेक्ससको जिएक्स ४६० डेढ वर्षअगाडि किनेको थियो । योभन्दा अगाडि ऊसँग टोयोटा क्यामेरी थियो । पन्ध्र वर्ष त्यसलाई हाँक्याहाँक्यै गरेर थोत्र्याएपछि उसले आफ्नो सपनाको कार लेक्सस किनेको थियो । उसको छाया फेरि भन्छ, ‘आई लभ माई लेक्सस ।’


अहिले ऊ गराजतिरै एकोहोरिएको छ । सिल्भियाबारे झल्याँस्स सम्झिँदै बोल्छ,  ‘सिल्भियालाई पलनको एलर्जी छ । त्यसकारण ऊ घरभित्रै दुब्केकी होली । आज उसलाई लिएर लङ ड्राइभ जान्छु, कारको इन्जिन अयल चेन्ज गर्न डिलरकाँ पनि जान्छु ।’


उसको सोच बिन्दु ब्रेक हुन्छ । किनभने पर सय गज अगाडिबाट कालो रंगको कुकुर डो¥याउँदै कोही आइरहेको देख्छ ऊ । ऊ त्यसरी आइरहेकोलाई चिन्ने कोसिस गर्छ । दूरीको गज केही घटेपछि उसले रोटविलर कुकुर र त्यसको मालिक दुवैलाई चिन्छ । ती दुवै सीधा ऊतिर सोझिइरहेका छन् । हेर्दा हेर्दै ती उसको छाया ठेलेर अगाडि बढे । ऊ आश्चर्यले हेर्दै बोल्यो, ‘हे रोवर्ट डिड नट यु सी मी ?’ 


तर, उसले रोवर्ट र उसको रोटविलरलाई आफ्नो कुराको असर भएको पाएन । ऊ फेरि बोल्यो, ‘हाउ इज गोइङ रोवर्ट ?’ 
तर, रोवर्ट पछाडि फर्किएन । ऊ आफ्नो रोटविलर डोर्‍याउँदै पूर्ववत् अगाडि बढिरह्यो । डेभिड गहिरो अपमानले भरियो र एकदम क्रुद्ध जंगियो, ‘फक यू ।’
योसँगै उसको कानमा एउटा बतास ठोक्कियो । 
‘डेभिड तँ आफ्नो छाया होस् ।’
यत्ति फुकेर बतास उसको कान छाडेर कतै उड्यो । ऊ झस्क्यो र आफैँलाई सुनायो, ‘हो नि, म छाया हुँ ।’ 


ऊ भर्खरै केही दिनअघि मरेको हो । उसको मृत्यु परिपक्व भइसकेको छैन । त्यसकारण उसको छाया घरी–घरी आफ्नो मृत अस्तित्व बिर्सिन्छ । र, जीवितको झैँ व्यवहार गर्न थाल्छ । यस्तो किन हुन्छ, मेडिकल साइन्सले अहिलेसम्म पत्ता लगाएको छैन । आममानिसहरूको भनाइमा यो मृत मानिसले भूत हुनुपर्ने अवस्था हो ।  


उसको घरबाट बीस माइल पर रहेको मास जनरल अस्पतालमा उसको डेथ सर्टिफिकेट लेखिएको थियो । त्यस दिन कोभिड–१९ ले ऊसहित पचासजना मरेका थिए । सबैको डेथ सर्टिफिकेटमा मृत्युको कारण कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण लेखिएको थियो । मृतकका आफन्तलाई खबर गर्ने सिलसिला चलिरहेको थियो । ऊ मरेको खबर पनि उसकी स्वास्नी सिल्भियालाई दिन खोजिएको थियो । तर, अस्पताल प्रशासनले सिल्भियासँग सम्पर्क गर्न सकेन । त्यस वेला सिल्भियालाई माउन्ट उबर्न अस्पतालको आइसियूमा राखिएको थियो । ऊ अचेत अवस्थामा थिई । उसको फोन घरमै थियो । चार्ज सकिएकाले फोन अफ थियो । फोनमा चार्ज हुन्जेल सिल्भियालाई फोन गर्नेले फोनको पूरै घन्टीपछि उसको यस्तो भ्वाइस आन्सर सुन्थे, ‘दिस इज सिल्भिया, राइट नाउ आई कान्ट टेक योर कल, प्लिज लिभ अ ब्रिफ मेसेज एन्ड योर टेलिफोन नम्बर, आई विल कल यू ब्याक ।’ 


उसको फोनमा थुप्रै भ्वाइस मेसेज थुप्रिएका थिए । त्यसमध्ये मियामीमा रहेकी उसकी छोरी जेनिफरले छोडेको चार वटा भ्वाइस मेसेज थिए । जेनिफरले पहिलो भ्वाइस मेसेज यस्तो छाडेकी थिई, ‘हे मम दिस इज जेनिफर, कल मी ब्याक ।’


यसको एक घन्टापछि जेनिफरले दोस्रो भ्वाइस मेसेज छाडेकी थिई । त्यसमा उसले भनेकी थिई, ‘हे मम तिमीले किन फोन नउठाएको ? मलाई फोन गरिहाल त ।’


यसको पनि असर परेन । आधा घन्टा कुर्दा पनि जेनिफरलाई सिल्भियाको कलब्याक आएन । एकदम आत्तिएर जेनिफरले फेरि सिल्भियाको नम्बर डायल गरी र तेस्रो भ्वाइस मेसेज छोडी, ‘हे मम तिमीले फोन किन नउठाएको, मैले फोन गर्‍यागर्‍यै छु, ड्याडलाई पनि धेरै कल गरेँ, उठ्दै उठेन, म तिमीहरूलाई लिएर निकै चिन्तित छु । सब ठीक होला भन्ने आशा गरेकी छु । मलाई कल गरिहाल, प्लिज ।’


तर फेरि पनि जेनिफरले सिल्भियाको कल पाइन् । न त ड्याड डेभिडको नै । उसको मनमा कुदिरहेको चिन्ताको माइलेज भयानक बढ्न थाल्यो । चर्को अत्यासमा उसले सिल्भियालाई चौथो कल गरी । यसको पनि परिणाम भ्वाइस मेसेज नै छाड्नुपर्ने भयो । यसपटक उसले यस्तो मेसेज छाडेकी थिई, ‘हे मम, म धेरै–धेरै चिन्तामा छु, न ड्याडको फोन उठ्यो, न तिम्रो, म आशंकाले पिरोलिएको छु, तिमीहरू ठीक होऔला भन्ने प्रार्थना गर्दै छु, म आइसोलेनमा छु, मेरो कोरोना टेस्ट रिजल्ट पोजेटिभ निस्क्यो, मेरो नाकले गन्धहरू फिल गर्न छाडेको छ, हल्का जिउ दुख्न थाल्दै छ, अगाडिको मेरो हालत के हुन्छ भन्न सक्दिनँ, मम फोन गर प्लिज ।’


जेनिफरले कल गरेको दिनको अघिल्लो रात नै सिल्भियालाई अस्पताल पुर्‍याइएको थियो । डेभिडलाई मास जनरल हस्पिटल लगेको नौ दिनपछिको कुरो थियो यो । पीडाले रन्थनिन थालेकी सिल्भिया आफैँले एम्बुलेन्स डाकेकी थिई । सुरुमा कोभिड–१९ को लक्षण डेभिडलाई देखिएको थियो । घरभित्र यो भयानक भाइरस हुल्ने ऊ नै थियो । 


अप्रिलको पहिलो आइतबारको दिनको कुरो हो । त्यस दिन डेभिड प्रार्थनाका लागि घरनजिकको फस्ट बापिस्ट चर्च गएको थियो । चर्चका सबै बेन्चहरू प्रार्थनार्थीहरूले भरिएका थिए । तीमध्ये थाहाशुद्धी नभएका कोरोना लागेका केही प्रार्थनार्थीहरू पनि रहेछन् । तिनै प्रार्थनार्थीका कोरोना पोजिटिभका नाक, मुखहरूबाट निस्किएका भाइरसका फौजहरू उसको नाकभित्र छिरेका थिए । ऊ प्रार्थनापछि नाकभरिको कोरोना लिएर घर आएको थियो । त्यस दिन चर्चमा हुने अरू नाकहरू पनि अछुतो थिएनन् । सबका सब कोरोना बोक्नेमा परेका थिए । त्यसमध्ये तीसजनामा सामान्य असर देखियो ।

 

चौध दिनको अछुतो एकान्त बसाइपछि ती ठीक भएका थिए । तर, बाँकी अरूमा भयानक असर देखिएको थियो । त्यस्तो असर डेभिडले पनि भोग्नुपर्‍यो । सात दिनपछि डेभिडलाई चर्र्को लक्षणहरूले सताउन थालेका थिए । क्रमशः उसको हालत खस्किँदै थियो । सुरुको यस्तो अवस्थामा ऊ अस्पताल जान पाएको भए ऊ बाँच्थ्यो पनि होला । तर, उसले अस्पताल जान पाएन । किनभने फोन गरेको तीन दिनसम्म पनि उसलाई लिन एम्बुलेन्स आएन । यसबीच ज्वरो, खोकी, जलन र श्वासप्रश्वासको चर्को कठिनाइले उसलाई च्याप्याच्याप्यै थियो । उसको ज्यान घरमै चुँडिएला झैँ भएको थियो ।

 

सिल्भिया उसको पीडाको हालत हेर्न सकिरहेकी थिइन । एम्बुलेन्सका लागि ऊ इमर्जेन्सी सेवाको फोन नम्बर ९११ लाई फोन गर्‍यागर्‍यै थिई । आस्वासन पाएको चौथो दिन बल्ल डेभिडलाई लिन एम्बुलेन्स आएको थियो । यो पर्खाइमा डेभिडको ज्यान अधमरो भइसकेको थियो । अस्पताल पु¥याएपछि डेभिडलाई हतपत भेन्टिलेटरमा राखिएको थियो । 

 

डेभिडको हालतबारे अस्पतालका नर्सहरू सिल्भियालाई फोन गरेर सुनाउँथे । ती सिल्भियालाई भन्थे, ‘डेभिडलाई भेन्टिलेटरमा राखिएको छ ।’


‘चिन्ता गर्नुपर्दैन, ऊ सुविस्तासँग सास फेरिरहेछ ।’
‘डाक्टरहरू उसको राम्रो उपचार गरिरहेछन् ।’
‘हामी डेभिडको राम्रो हेरविचार गरिरहेका छौँ,
चिन्ता नगर ।’ 


नर्सहरूका कुरा सुनेर सिल्भियाका आँखा डब्डबाउँथे । सिंगो घरभित्र ऊसँग रुने अरू कोही थिएन । टोल आतंकले स्तब्ध थियो । घर–घर संक्रमित बढ्न थालेका थिए । हरेक दिन छ, पाँच एम्बुलेन्स यता आउँथे । र, अशक्त भइसकेको कुनै संक्रमितलाई बोकेर कुद्थे । चारैतिर आतंक र पीडाको ज्वार चलिरहेको थियो । 


संक्रमणको लक्षण सिल्भियालाई पनि सुरु भएको थियो । डेभिडलाई जे–जे भएको थियो, ती सब उसलाई पनि हुन थाल्यो । जिउ दुख्ने, खान मन नलाग्ने, काम ज्वरो आउने, सास फेर्न गाह्रो हुने यस्ता लक्षणमध्ये केही सुरु हुनासाथ ऊ सचेत भएकी थिई । र, अस्पताल जाने प्रयत्नमा इमर्जेन्सी सेवा ९११ लाई फोन गर्न थालेकी थिई । थला पर्न बाध्य डेभिडले भोग्न परेको कष्ट र पीडाको प्रत्यक्ष साक्षी थिई ऊ । त्यसकारण त्यस्ता लक्षण सुरु हुनासाथ ऊ एम्बुलेन्सका लागि ९११ मा फोन गर्न थालिहाली । 

 

आफ्नो कष्ट सुनाउँदै ऊ पटक–पटक ९११ मा फोन गरिरहन्थी । तर, जत्ति गरे पनि उसको पनि हालत डेभिडको जस्तो नहुँदासम्म उसले अस्पताल जान पाइन । एम्बुलेन्सले उसलाई अस्पताल पु¥याएको दिन उसको रगतमा अक्सिजनको मात्र चाहिनेभन्दा कम हुन थालिसकेको थियो । उसको श्वासप्रश्वासको चाल सामान्य थिएन । उसका खुट्टा आफ्नो तागतले उठ्न नसक्ने भइसकेका थिए । प्यारामेडिकले एकदम हतारोमा एम्बुलेन्समा राखेर उसलाई अस्पताल पु¥याएका थिए । उसको हालत देख्नासाथ डाक्टरहरूले अरू अशक्तलाई झैँ उसलाई पनि भेन्टिलेटरमा राखेका थिए ।


यसवेला सिल्भिया मुर्दाघरमा छे । डेभिडले उसको झलक पाउने सम्भावना बिल्कुल छैन । तथापि डेभिडको छाया घरको ढोका एकतमास टोलाकोटोलायै छ । 


सडकमा कतै, कसैको ओहोरदोहोर छैन । पूर्ववत् चकमन्न छ । अन्तका झैँ यताका पनि प्रायः घरका डेभिडहरू, सिल्भियाहरू छाया भइसकेका छन् । बतास उसको छाया कानमा भन्छ, ‘त्यसकारण सडक सुनसान, विरान छ डेभिड ।’