• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
देवराज गुरुङ 
२०७७ भदौ २० शनिबार ०८:१२:००
रिपाेर्ट

दिल्ली देखेँ, तर काठमाडौं देखेको छैन 

२०७७ भदौ २० शनिबार ०८:१२:००
देवराज गुरुङ 

 

ठ्याक्कै ५० वर्षमा टेके, पदमबहादुर चेपाङले । ‘फुलसौरा कान्छा’को नामले परिचित छन्, उनी गाउँतिर । सन्तानको हिसाबमा पाँच सावाँ (छोराछोरी) र पाँच नै ब्याज (नातिनातिना) छन्, उनका । गण्डकी गाउँपालिका–६ गोरखाको भुम्लीचोकमै उनको पुस्ताले एक शताब्दी बितायो, जुन ठाउँ गोरखाको दक्षिण भागको फिस्लिङ–कुरिनटारछेउमा पर्छ ।


पदमबहादुरले स्कुल टेक्न पाएनन् । ‘क’ अक्षरसमेत उनका लागि बिरानो बन्यो । गरिबीका कारण छोराछोरीलाई विद्यालयस्तरको शिक्षा पनि पार गराउन सकेनन् । सानो छँदै आमाबाबु गुमाए । आफ्नो नाममा सम्पत्ति केही पनि थिएन । कलिलै उमेरमा बिहे गरे । ससुरालीतर्फ छोरा नहुनुले पनि उनलाई केही राहत मिल्यो । 


पदमबहादुरले भोगचलन गर्दै आएको माटो सबै उनको ससुरालीको हो । कहिलेकाहीँ श्रीमतीसँग ठाकठुक हुँदा नराम्रो वचन पनि भेट्छन् । छोराछोरी पनि आमाकै पक्षमा बोल्छन् । हाँस्दै सुनाउँछन्, ‘खप्परमा घरज्वाइँ बस्न लेख्या र’छ ।’


सानैमा टुहुरो बनेका उनले सानैदेखि साहुको गोरु, हलो समाउन थाले । जीवनको धेरै समय उनले साहुकै गोरु जोते । उनी हालसम्म पनि हली नै बनिरहेका छन् । हाँस्दै भन्छन्, ‘हल्दारभन्दा माथि हुन सकिएन ।’ 


हलो जोत्दाजोत्दा दिक्क भए, पदमबहादुर । साथीभाइको लहैलहैमा भारतको दिल्ली पुगे । दिल्लीमा पदमबहादुरको मन फिटिक्कै मानेन । गाउँघर, लेकबेँसी, वनपाखाको सम्झनाले निकै सतायो, उनलाई । त्यसपछि फर्किए, नेपाल । ठट्यौली पारामा सुनाउँछन्, ‘दिल्ली गएर सिल्ली भएँ । अनि फर्किएँ । दिल्लीमा अरू केही पाएन, रेल चढेँ, हिन्दी बोल्न जानेँ । एकपटक त रेलको डिब्बामा अलमलिएर झन्डै हराइनँ । अलिअलि हिन्दी बोल्न जानेको थिएँ र कमरा पत्ता लाग्यो ।’ भारतको राजधानी देखेका उनले सय किमिको दूरीमा रहेको आफ्नै देशको राजधानीचाहिँ आजसम्म देखका छैनन् । उनी भन्छन्, ‘दिल्ली देखेँ, तर काठमाडौं देखेको छैन ।’

 

‘दिल्ली गएर सिल्ली भएँ । अनि फर्किएँ । दिल्लीमा अरू केही पाएन, रेल चढेँ, हिन्दी बोल्न जानेँ । एकपटक त रेलको डिब्बामा अलमलिएर झन्डै हराइनँ । अलिअलि हिन्दी बोल्न जानेको थिएँ र कमरा पत्ता लाग्यो ।’

पदमबहादुरको परिवारलाई आफ्नो जमिनको कमाइले वर्षको चार महिना पनि राम्रोसँग खान पुग्दैन । साहुको जोत्न नपरेको समयमा उनी छोराहरूसँग मजदुरी गर्न निस्कन्छन् । यो साल भने कोरोनाका कारण उनी घरमै थुनिए । पैसा कमाउन यताउति चल्न पाएनन् । नत्र उनी कुल्ली काम गर्न त्रिशूलीको घाट तरेर पारी जान्थे । उनको चिन्ता छ, ‘खेतमा पनि खोला पस्यो । अर्काे साल के खाने होला ?’


गत साल पदमबहादुरले चारै छोरालाई छुट्टो–भिन्न गराइदिए । आफ्नो नाममा भएको सबै सम्पत्ति भाग लगाइदिए । आफूचाहिँ कान्छो छोरासँग बस्दै आएका छन् । तर, कहिलेकाहीँ उनलाई ठूलो आपत् पर्छ । आफूले कमाएर ल्याएको पैसा चारै छोराले आस गर्छन् । उनी दोधारमा पर्छन्, कसलाई दिने, कसलाई नदिने । अनि सकेसम्म सबैलाई बाँडिदिन्छन् । बाउ–छोराको सम्बन्ध निकै राम्रो छ । बाँडिचुँडी खान्छन् । कोरोनाको राहत एक भाइलाई मात्र परेछ । तर, त्यो राहत सबै भाइले बराबरी बाँडे । 

 

प्रेमविवाह गर्ने चेपाङ


कुराकानीकै सिलसिलामा पदमबहादुरले आफ्नी छोरीको बिहेको रमाइलो प्रसंग निकाले । चेपाङ जातिमा मागीभन्दा धेरै भागी विवाह हुन्छ । पदमबहादुरकी छोरी पनि केही वर्षअगाडि धादिङको चेपाङ केटासँग भागिन् । छोरी भागेपछि खोज्दै जाने चेपाङ परम्परा छ । खोजी गर्न जाँदा लौरौ र भाटा बोकेर जान्छन्, माइती पक्ष । केटाको घरमा पुगेपछि घरतर्फको परिवारलाई थर्काउने र हप्कीदप्की गर्ने परम्परा रहेको सुनाउँछन्, पदमबहादुर । उनी भन्छन्, ‘माइती पक्षले केटाको घरको आँगनमा लठ्ठी, भाटा बजार्दै छोरी जिउँदै भए घर देखा, मरेको भए चिहान देखा भन्दै धम्क्याउने चलन छ ।’ 

पमदबहादुरका अनुसार केही समयको हप्कीदप्कीपछि ‘तपाईंहरूकी छोरी सकुशल छ हजुर’ भन्दै घरभित्रबाट छोरी निकालेर देखाइन्छ । त्यसपछि माइती पक्षले छोरी र ज्वाइँलाई केरकार गर्न थाल्छन् । प्रश्न लगभग एउटै हुन्छ– आफ्नो मञ्जुरीले आएको हो कि कसैले फकाइफुल्याई जबर्जस्ती ल्याएको ? 


पदमबहादुर भन्छन्, ‘यदि छोरीले आफ्नो खुसीले होइन भन्यो भने फर्काएर ल्याइन्छ । राजीखुसीले हो भने ज्वाइँलाई छोरी पाल्न सक्छ कि सक्दैन भनेर प्रश्न सोधिन्छ । अनि अन्तिममा सम्बन्ध पछि तलमाथि भयो भने हामी छाड्दैनौँ भन्छौँ ।’ अन्तिममा माइती पक्षलाई आफ्नी छोरीको घरभित्र भित्र्याएर विभिन्न परिकार खुवाएर स्वागत गर्ने प्रचलन छ । 

चेपाङहरूले छोरीलाई चिउरीको बोट दाइजो दिने चलनचाहिँ बिस्तारै हराउँदै गएको छ । चिउरीलाई चेपाङहरूले दुहुनो भैँसीको रूपमा लिने गर्दछन् । पाकेपछि रस खान मिल्ने र त्यसको बियाँचाहिँ वनस्पति घ्यू बनाउन मिल्ने । चिउरी काटे पाप लाग्छ भन्ने भनाइ पनि आजसम्म चेपाङ समाजमा उत्तिकै छ । चिउरी, चेपाङ र चमेराको सम्बन्ध निकै गाढा छ । 

 

कृषिमा चेपाङ


पदमबहादुरलगायत त्यस भेगका चेपाङहरूले पछिल्लो समय आधुनिक कृषिमा हात हाल्न थालेका छन् । पुसको जाडोमा साहुसँग ऋण काढेर लगाएको काँक्रोले कोरोनाको कारण बजार पाएन । राजमार्गछेउमा मुस्किलले थोरै काँक्रा कौडीको भाउमा बिक्यो । बारीमै कुहियो, काँक्रो । केही गाईवस्तुले खाए । पदमबहादुरहरूको भोटले नै मन्त्री बने, मेयर अनि अध्यक्ष भने । सेतो नम्बर प्लेटका गाडी उनीहरूको काँक्रोबारीछेउबाटै कुद्छन् । तर, कसैले पनि आजसम्म उनीहरूको हालखबर सोधेका छैनन् । कालो सिसावाल गाडीको धुलोले काँक्रो र पदमबहादुर दुवैलाई छोपिराख्छ, धुलो पुछ्दै पदमबहादुर आफैँसँग बोल्छन्, ‘साहु पैसा माग्न घरमै आइरहन्छ । काँक्रो बिक्री हुँदैन । अब कसरी बाँच्ने ?’


यसरी बिस्तारै आधुनिक कृषितर्फ बामे सर्न थालेको चेपाङ समुदाय कोरोना कहरले निम्त्याएको विपत्बाट पीडित बन्न पुगेका छन् । समयमै ध्यान नदिने हो भने आधुनिक कृषितर्फको यात्रामा पूर्णविराम लाग्ने लगभग निश्चित छ । कृषिमा बामे सर्दै गरेको चेपाङ जातिले राज्यको सहयोग खोजेका छन् ।
 
०००


पदमबहादुरको गाउँमा राज्यको उपस्थिति निकै टीठलाग्दो देखिन्छ । भोट जितेका जनप्रतिनिधिहरू आक्कलझुक्कल त परको कुरा, चुनावको समयमा समेत बिरलै पुग्थे । पदमबहादुरलाई आफ्नो जनप्रतिनिधिको नामसमेत याद हुँदैन । पदमबहादुर भन्छन्, ‘उनीहरूले कहिल्यै सहयोग गरेको भए पो नाम याद गर्नु ।’ कुनै पनि सांसदले आफ्नो व्यथा संसद्मा उठाएको पदमबहादुरलाई थाहा छैन । 


०५२ सालपछि यो ठाउँ माओवादी सेनाको परेड खेल्ने थलो बन्यो । मैती चेपाङ र रत्न चेपाङले झोलुंगे पुलको मुखैमा परिवर्तनका लागि ज्यान दिएको गाउँलेले अझै भुलेका छैनन् । सुरक्षाकर्मीले उनीहरूलाई कसरी मारेका थिए, गाउँलेहरूको आँखाबाट त्यो दृश्य अझै मेटिएको छैन । तर, गाउँ दशकौँपछि पनि उस्तै छ । मात्र बनेको छ, गाउँमा मैती र रत्नको सम्झनामा एउटा प्रतीक्षालय । 


पदमबहादुरहरू त्यही प्रतीक्षालयमा बसेर राज्यको बाटो अझै कुरिरहेका छन् । उनीहरूको मनमा प्रश्न बारम्बार उठ्छ– नदी तरेर गएकाहरू के फर्की आउलान् त ?