• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
देवी गुरुङ
२०७७ भदौ २७ शनिबार ०९:१७:००
समाज

महामारी र आत्महत्या

२०७७ भदौ २७ शनिबार ०९:१७:००
देवी गुरुङ


कोभिड–१९ को वैश्विक महामारी, यसको नियन्त्रण र उपचारमा अपनाइएका लकडाउन, क्वारेन्टाइन र आइसोलेसनजस्ता कडा उपायले निम्त्याएका आत्महत्याका घटना र मानसिक समस्याको बढ्दो आवृत्तिबारे नेपाललगायत संसारभरि नै बहस सुरु भएको छ । जीवनयापनका लागि अपरिहार्य र बजारसँग सीधा जोडिएको श्रमसँग पैसा साट्ने ‘उत्पादनशील’काममा लामो समयसम्म भाग लिन नपाउँदा मूलतः सहरी संरचनाको पिँधमा रहेका परिवारमा ठूलो आर्थिक संकट पैदा भएको छ । कतिपय अवस्थामा त्यो संकटले तत्काल चुलो बाल्न मुस्किल पर्ने स्थिति सिर्जना गर्न सक्छ वा निकट भविष्यमा भोकभोकै बस्नुपर्ने हो कि भन्ने अति यथार्थपरक डर र निराशा सिर्जना गर्छ । 


मध्यमवर्गमा भने ‘स्विट होम’को अवधारणा विकसित भए पनि त्यो मिठास घरभित्रको निजी र बाहिरको सार्वजनिक वृत्तबीचको निकटता र सम्पर्कविना असम्भवप्रायः हुन्छ । लैंगिक वा अरू विभेद र त्यसबाट सिर्जित शक्ति–संघर्ष र हिंसाका आधारमा बनेको ‘स्विट होम’मा लामो समय बस्नुपर्दा र सार्वजनिक वृत्तसँग सहज पहुँच नहुँदा पारिवारिक तिक्तता र बेचैनी बढ्दै जान्छ । घरभित्र वा बाहिर क्वारेन्टाइन र आइसोलेसन वार्डमा बसेका कोभिड–१९का बिरामी र विदेशबाट आएका वा आउने प्रतीक्षामा रहेका कामदारमाथिको सामाजिक र सरकारी व्यवहारले प्रस्ट रूपमा मानसिक समस्याको आवृत्तिलाई बढाइदिएको छ । 


आत्महत्या र मानसिक समस्याजस्तो जटिल विषयमा उल्लिखित कारण र सन्दर्भहरू सतही मात्र हुन सक्छन्, किनभने यी समस्याको सम्बन्ध बाहिरी परिवेश र मानिसको नितान्त निजी आन्तरिकीसँग बडो जटिल र बलियो गरी जेलिएको हुन्छ । नेपालमा महामारीको पहिलो तीन महिनाको अवधिमा मात्रै १८ सयभन्दा बढीले र दिनमा सरदर २० जनाले आत्महत्या गर्छन् भन्ने तथ्यांकले हाम्रो समाजमा कति गहिरो निराशा, बेचैनी र मानसिक पीडा छ भन्ने स्पष्ट हुन्छ । त्यसमाथि रिपोर्ट नगरिएका र असफल आत्महत्याहरूको अज्ञात संख्या जोडेर हेर्दा त समस्या विकराल नै देखिन्छ । यद्यपि, अहिले भएका सबै आत्महत्याको कारण महामारी नै हो भनेर यसै किटान गर्न सकिँदैन । जसरी कोरोना संक्रमणबाट मानिसको मृत्यु क्रोनिक समस्याबाट बढी हुन्छ, त्यसैगरी अहिले भएको आत्महत्या पनि पहिले नै विद्यमान मानिसको व्यक्तिगत मानसिक स्वास्थ्य स्थिति र समाजको ऐतिहासिक असमानतासँग जोडिएको हुन सक्छ ।

 

मनभित्र निकै ठूलो तनाव बोकेर बसेकाहरूलाई छिनछिनमा साबुन, स्यानिटाइजर, मास्कको प्रयोग आदि स्वास्थ्यसम्बन्धी अनुशासनमूलक कार्य गर्न उत्प्रेरित गर्दा उनीहरूमा ‘अब्सेसिभ कम्पलसिभ डिसअर्डर’ हुन सक्छ, जुन डिप्रेसनजत्तिकै खतरनाक साबित हुन सक्छ

मानिसले आत्महत्या किन गर्छ भन्ने कुराको सन्दर्भ उसले भोगेको नितान्त निजी र अस्तित्वगत समस्याको जालोबाट निस्किने रणनीतिमा हुन्छ । सही भए पनि यो धेरै सामान्य र तात्कालिक स्थितिको मात्र व्याख्या हुन जान्छ, किनभने यसरी मानिसलाई अस्तित्वगत संकटसम्म पुर्‍याउन प्रायः बाह्य कारण सक्रिय हुन्छन् । आत्महत्याबारे समाज–विज्ञान, मनोचिकित्सा र मनोविज्ञानमा थुप्रै अध्ययन भएका छन्, तर आलोचकहरूका अनुसार यीमध्ये धेरै अनुसन्धान अपूरा र बढीजसो दोहोरिएका छन् । आत्महत्याबारे लेखिएको सबैभन्दा महत्वपूर्ण पुस्तक सन् १८९७ मा प्रकाशित फ्रेन्च समाजशास्त्री इमाइल दुखाइमको ‘सुसाइड’लाई मानिन्छ । तर, नैतिक तथ्यांकशास्त्रको कोण र विधिबाट लेखिएको यो पुस्तकले आत्महत्याभन्दा आत्महत्याको दरलाई सामाजिक संरचना र मानिसबीचको निकटता र दूरीसँग दाँजेर हेरेको छ । आत्महत्याको दर र मानसिक समस्याको आवृत्तिबीच कुनै सम्बन्ध नभएको भनेर देखाइएको १२० वर्ष पुरानो यो पुस्तकको सिद्धान्त र विधिशास्त्रमाथि प्रशस्त आलोचना भइसकेको छ । 


प्रायः समाजशास्त्रीहरूले जुनसुकै कुरालाई पनि समाजसँग जोडेर हेर्ने भएकाले होला उनीहरू एउटा व्यक्तिले आफूले आफ्नै ज्यान लिन सक्छ भन्ने कुरा मान्न बिरलै तयार हुन्छन् । आफँैले तयार पारेको विधिलाई मिचेर भए पनि दुर्खिमले सो पुस्तकमा जबर्जस्त ढंगले आत्महत्याको अति–समाजशास्त्रीकरण गरेका छन् । सन् १९५२ मा प्रकाशित ‘सुसाइड’को अंग्रेजी संस्करणको प्राक्थनमा अमेरिकी समाजशास्त्री जर्ज सिमसनले भनेका छन्, ‘आत्महत्याबारे गएको ५० वर्षमा समाजशास्त्र संकायबाट नभएर मनोविश्लेषण र मनोचिकित्साबाट नयाँ-नयाँ तथ्यहरू बाहिर आइरहेका छन् ।’

 

समाजशास्त्रीहरूले संरचना र मानिसबीचको सम्बन्धका उनै पुराना फेहरिस्त प्रसार गरिरहँदा दुर्खिमको समयदेखि अहिलेसम्म आत्महत्याको दर निरन्तर बढ्दो छ । यद्यपि, आत्महत्याको सन्दर्भमा दुर्खिमको योगदान उनको नयाँ ‘समाजशास्त्रीय काल्पनिकी’ हो । इम्यानुएल कान्टको नैतिक–दर्शनको प्रभावबाट आफ्नो समाजशास्त्रलाई राम्ररी छुट्याइनसकेका दुर्खिमले आत्महत्यालाई एक नैतिक रोगको रूपमा चित्रण गरेका छन्, जुन धर्मलगायत परम्परागत अवयवहरूले संरक्षण नगर्दा घट्ने गर्छ । उनको काल्पनिकीले अहिले पनि आत्महत्यालाई नितान्त र निजी मामलाभन्दा अलि पर गएर सामाजिक वातावरणहरूसँग जोडेर हेर्न उत्प्रेरित गर्छ । यहाँनेर आत्महत्या र आत्महत्याको दरबीचको भेद प्रस्ट हुन्छ । 


अहिले आत्महत्या निजी मामला भएकाले र पश्चिममा ‘एन्जाइटी’ भनिने डर र ‘डिप्रेसन’ भनिने निराशालगायत मानसिक समस्या र आत्महत्याबीच सीधा सम्बन्ध देखिएकाले मनोचिकित्साले सोको अध्ययन गर्ने, र निराशा र डरतर्फ डोर्‍याउने पारिवारिक र सामाजिक वातावरणको अध्ययन समाज विज्ञानले गर्ने विधागत श्रमविभाजन भएको छ । आत्महत्या निरुत्साहित गर्न मनोचिकित्साले हुर्किंदै गरेका बाल–बालिकालाई व्यक्तिगत र समूहगत परामर्श दिने, र समाजशास्त्रले निराशा पैदा गर्न सक्ने सामाजिक संरचना र प्रकार्यहरूको पहिचान गर्न सहयोग पुर्‍याउँछन् । 


पश्चिमी चिकित्साशास्त्रमा आत्महत्याको प्रमुख र तात्कालिक कारण एन्जाइटी र डिप्रेसनलाई मानिन्छ । महामारीजस्तो गहिरो संकटले मानिसमा अन्योल र भय सिर्जना गर्छ । श्रमसँग पैसा साट्ने चलायमान ‘उत्पादनशीलता’को समय तालिकामा यस्ता संकटले एकाएक अवरोध सिर्जना गर्छन् । उदार अर्थतन्त्रमा मानिस, परिवार, समाज र राज्यको ‘उत्पादनशीलता’मा आएको ह्रासले सिर्जना गर्ने मनोवैज्ञानिक अवरोधलाई ‘डिसअर्डर’ मानिन्छ । मनोचिकित्सा विज्ञानमा अहिले प्रशस्त ‘डिसअर्डर’हरू रजिस्टर गरिएका छन् । यी डिसअर्डरहरू यथार्थमा हुन्छन् वा विधागत शक्तिद्वारा सिर्जना गरिएका हुन् भन्नेबारे प्रशस्त विवाद हुने गर्छ । उपचारको पूर्णविरोधी र मानसिक स्वास्थ्यको चरम चिकित्सीकरणलाई बढावा दिने खेमा, र ‘व्यक्ति’लाई प्रधानता दिने हिपोक्रिटिएन र ‘रोग’लाई श्रेष्ठता दिने प्लेटोनिक विचारप्रणालीबीच पनि अहिले ठूलो द्वन्द्व छ । आत्महत्याको मुख्य कारक मानिएका एन्जाइटी र डिप्रेसनलाई घातक हुँदाहुँदै पनि पश्चिमी रोग–विज्ञानमा मानसिक ‘रुघाखोकी’को रूपमा लिइन्छ । 


समाजशास्त्रीहरूका अनुसार पछिल्लो समय समाजमा वस्तुहीन डर र कारणहीन निराशा बढ्नुलाई डर र निराशा उत्पन्न हुने वा हुन सक्ने वस्तु वा परिस्थितिको रूप परिवर्तनलाई मान्छन् । पहिले डर लाग्ने परिस्थिति ठोस हुन्थ्यो । खतरा उत्पन्न हुने ठाउँ, वस्तु र व्यवहारहरू प्रायः प्रस्ट हुन्थे । अहिले त्यो परिस्थिति तरल हुन्छ । खतरा र जोखिम दृश्य वा अदृश्य, ज्ञात वा अज्ञात ठाउँहरूबाट अचानक उत्पन्न हुन सक्छ । पोलिस समाजशास्त्री जगमन्ट बौमनका अनुसार अहिले हामी ‘माइन फिल्ड’माथि छौँ, जुनसुकै वेला पनि हाम्रो पैतालामुनि विस्फोटक पदार्थ पड्कन सक्छ ।

 

आकस्मिक दुर्घटना, क्यान्सरको जोखिम, स्कुलमा असफलता, पारपाचुकेदेखि एकाएक सडकमा गोली चल्न सक्ने डरदेखि कुल गार्हस्थ उत्पादन र सेयर बजारको घटबढ, रोजगारी गुम्न सक्ने र दैनिक चाहिने सामान महँगो हुने डरसम्म हुन्छ । कुनै वस्तुतिर केन्द्रित नभई विकेन्द्रित र वस्तुविहीन डर र निराशालाई परास्त गर्न उत्तिकै गाह्रो हुन्छ । अहिलेको सहरिया समाजमा एन्जाइटी र डिप्रेसनबाट बच्न मानिसलाई धेरै प्रेसर हुन्छ, र उनीहरू तोकिएका काम र व्यायाम गरेर ती रोगबाट बच्ने प्रयास गर्छन् । तर, जब यी डर र निराशाबाट आक्रान्त भई व्यक्तिलाई परिस्थितिबाट उम्कन सहयोग गर्ने भौतिक र मानसिक शक्ति निस्तेज हुन्छ, तब मानिसले आत्महत्या गर्न पुग्छ ।

 

नवउदारवादी अर्थ-राजनीतिले मानसिक स्वास्थ्यको चरम चिकित्सीकरण गरी त्यसबाट मुनाफा कमाउने औषधि-कम्पनीहरूलाई सहयोग पुर्‍याउँछ

पछिल्लो समय नेपालमा आत्महत्याको संख्या बढेसँगै पश्चिमी अवधारणा र विधिबाटै यसको विचार–विमर्श भइरहेको छ । नेपाली समाजशास्त्रमा पनि विनाकुनै आलोचना दुर्खिमकै टेक्स्टको पठनपाठन गराइन्छ । हुन त नेपालमा पश्चिमी परिवेश र चिन्तनशैली बिस्तारै विकसित हुँदै गएपछि युरो–सेन्ट्रिक र याङ्लो–सेक्सन सिद्धान्त र विधिहरू काम लाग्ने तर्कलाई पनि यत्तिकै खारेज गर्न सकिँदैन । भनिन्छ, कुनै समस्याको समाधान खोज्नुभन्दा पहिले समस्याको व्याख्या पूर्ण हुनुपर्छ । नेपालमा आत्महत्या र मानसिक स्वास्थ्यबारे विशिष्ट र मौलिक पुस्तक त्यति पाइँदैन ।

 

सन् २०१०मा प्रकाशित चिनियाँ प्राध्यापक यु फेईको ‘सुसाइड एन्ड जस्टिस’भन्ने पुस्तकमा पश्चिमी समाजशास्त्रीय र मनोचिकित्सकीय अवधारणालाई चीनमा अलग ढंगले बुझ्नुपर्ने कुरा व्यक्त गरिएको छ । उनले चिनियाँ परिवेशमा आत्महत्यालाई स्थानीय मनोविज्ञान, जुन युरोसेन्ट्रिक मनोविज्ञानभन्दा फरक हुन सक्छ, अनि पारिवारिक र सार्वजनिक राजनीतिको कोणबाट हेर्नुपर्ने कुरा व्यक्त गरेका छन् । उनका अनुसार चीनमा मानसिक स्वास्थ्य र आत्महत्याबीचको सम्बन्ध पश्चिमा मुलुकहरूको भन्दा धेरै फरक छ, र पारिवारिक र सार्वजनिक अन्यायले मानसिक रोगलाई भन्दा पहिले आत्महत्यालाई निम्त्याउँछ । उनका अनुसार आत्महत्या सामाजिक शक्ति र दिन–प्रतिदिनको अन्तर–व्यक्ति शक्तिसंघर्षलाई रेजिस्ट गर्ने औजार हो ।


रिपोर्टहरूमा आएअनुसार नेपालमा पनि आत्महत्याको कारण पारिवारिक र सार्वजनिक वृत्तमा हुने सूक्ष्म तर घातक शक्ति–संघर्ष नै देखिन्छ, र बृहत्तर रूपमा हेर्दा घरायसी कलह र सार्वजनिक बहिष्करणको कारक मुलुकको विद्यमान असमान अर्थ–राजनीतिक संरचनामा पुगेर रोकिन्छ । अहिलेको नव–उदारवादी अर्थतन्त्रले मानसिक रोगलाई निम्त्याउन सहयोग त गर्छ नै, यसको उपचारमा पनि न्यूनकारी विधिलाई ग्राह्यता दिन्छ । नवउदारवादी अर्थ–राजनीतिले मानसिक स्वास्थ्यको चरम चिकित्सीकरण गरेर त्यसबाट मुनाफा कमाउने औषधि–कम्पनीहरूलाई सहयोग पु¥याउँछ, र मानसिक स्वास्थ्यलाई दीर्घकालीन सहयोग पुर्‍याउन सक्ने संरचनागत परिवर्तन र सामाजिक न्यायतिर जाने दिशामा अवरोध सिर्जना गर्छ । 


लकडाउनको समयमा भारतका विभिन्न ठाउँबाट सयौँ किलोमिटर हिँडेर आफ्नो गाउँ आएका कत्तिले क्वारेन्टाइन र आइसोलेसन वार्डमै आत्महत्या गरे । यी आत्महत्याका कारक तात्कालिक क्वारेन्टाइन सुविधामा पाएको अन्याय–अनुभूतिको प्रतिक्रिया थियो कि ‘पर्सनल हिस्ट्री’ र भविष्यतर्फको अनिश्चित यात्राको आकलन, यसै भन्न सकिँदैन । रोजगारी गुमिसकेका वा गुम्न सक्ने स्थितिले व्यक्ति र परिवारमा ठूलो तनाव दिन्छ, किनभने रोजगारी प्राप्त गर्न धेरै गाह्रो छ । आफ्नो घरभन्दा सयौँ किलोमिटर टाढा मात्र यो प्राप्त हुन्छ ।

 

आफ्नो देशले रोजगारी दिन नसकेपछि बाहिर गएकाहरू अनायासै रित्तो हात फर्किनेहरूको अनुभूति र मनोवाद कस्तो हुन्छ ? यौनिक हिंसा र सर्पदंस जोखिमले आक्रान्त क्वारेन्टाइन र आइसोलेसनबाट घर फर्किंदा परिवार, समाज र राज्यबाट उपेक्षा र भेदभाव सहँदा मानिसको मनभित्र कस्ता कुरा खेल्छन् ? विनाकाम ५–६ महिना आधापेट खाएर बस्दा, ऋण, सापट गर्ने ठाउँ नहुँदा र सरकारबाट ढाडससमेत नपाउँदा मानिसले के अनुभूति गर्छ ? बिरामी भएर अस्पताल–अस्पताल चहार्दा कसैले पनि उपचार गर्न नमानेर आफन्त मर्नुपरेको परिवारमा कस्तो अनुभूति हुन्छ ? यी प्रश्न समाजको पिँधमा रहेका दैनिक मजदुरी गर्ने र भारतलगायत विदेशमा श्रम गर्नेहरूको हो । मनभित्र निकै ठूलो तनाव बोकेर बसेकाहरूलाई छिनछिनमा साबुन, स्यानिटाइजर, मास्कको प्रयोग आदि स्वास्थ्यसम्बन्धी अनुशासनमूलक कार्य गर्न उत्प्रेरित गर्दा उनीहरूमा ‘अब्सेसिभ कम्पलसिभ डिसअर्डर’ हुन सक्छ, जुन डिप्रेसनजत्तिकै खतरनाक साबित हुन सक्छ । अझ अहिले सल्लाह र नियमित उपचार पाउनुपर्ने मानसिक रोगका बिरामीले अस्पतालहरू बन्द हुँदा आफ्नो परिस्थिति झनै खराब भएको महसुस गरिरहेका छन् ।


महामारीबीच धेरै मानिसले आत्महत्या गर्नुपर्ने कारण दुई किसिमका हुन सक्छन्, पहिलो– तत्कालको पारिवारिक समस्या र समाज अनि राज्यबाट भइरहेको अन्याय र उपेक्षा । दोस्रो– पहिले नै भएका व्यक्तिगत र संरचनागत समस्याहरूको प्रस्फुटन । नेपालजस्तो देश, यसको असमान सामाजिक बनोट र यसले अँगालेको नवउदारवादी अर्थतन्त्र महामारीका वेला प्रस्ट देखिने गरी नै उदांगिएको छ ।

 

जसरी महामारीले ‘प्रिएक्जिस्टिङ कन्डिसन’भएका बिरामीलाई मृत्युको मुखसम्म पुर्‍याउँछ, जुन देशमा मौजुदा स्वास्थ्य प्रणाली पहिलेदेखि कमजोर छ, त्यहाँ छिट्टै महामारी फैलिन्छ र धेरै व्यक्तिहरूको ज्यान जान्छ, त्यसैगरी आत्महत्याका पनि गहिरा र पुराना कारणको अध्ययन हुन जरुरी छ । ती कारण पश्चिमी अध्येताहरूले भनेकाभन्दा फरक र विशिष्ट स्थानीय मनोविज्ञान र स्थानीय अर्थ–राजनीतिमा हुन सक्छ । सतहमा आएको तथ्यांकबाट हेर्दा मानसिक स्वास्थ्यको महामारी फैलिने संकेतहरू प्रस्ट देखिन्छ, र यो कोरोना महामारीभन्दा ठूलो, जटिल र दर्दनाक हुन सक्छ । त्यो महामारी रोक्न तात्कालिक उपचारको प्रबन्ध गर्नुपर्ने त छँदै छ, रोकथामका लागि संरचनामा रहेको अन्याय र असमानताको अध्ययन र त्यसअनुरूपको परिवर्तन आवश्यक पर्छ ।