• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सलिना महर्जन
२०७७ भदौ २७ शनिबार ०६:४८:००
समाज

खानपिन : लकडाउनमा क्वाति-वार्ता

२०७७ भदौ २७ शनिबार ०६:४८:००
सलिना महर्जन

 

बिहान ८ बजे । ८५ वर्षको ढल्किँदो उमेरमा पनि हजुरआमा घरपछाडिको करेसाबारीमा व्यस्त हुनुहुन्थ्यो । व्यायाम गरी कालो चियाको पहिलो चुस्की लिन बारीमा पुगेँ ।


‘हजुरआमा !’ बोलाउँदै सोधेँ, ‘यति बिहानै के टिप्न लाग्नुभयो ?’ मुजा परेका गाला अझै खुम्च्याउँदै भन्नुभयो, ‘भोलि क्वाति पकाउन मटरको कोसा, मुलाको फल अनि छ्यापी टिपेकी । क्वाति (क्वाँटी) पकाउँदा नभई नहुने भएकाले नि । अब आजकालका युवायुवतीलाई के थाहा, क्वाति के हो, यसको महत्व के छ ? अचेल त खेतबारीतिर ढलेको उमेरका मान्छे मात्रै देख्न पाइन्छ । उमेर भएकालाई त विदेश उड्दैमा फुर्सद छैन ।’ 


भोलि नयाँ वर्षको दिन नेवार समुदायमा क्वाति खाने चलन रहेको मैले त झन्डै बिर्सेकी थिएँ । घरमा आमा बिरामी पर्न थालेदेखि र बाबाले सिलाइ गर्न थालेदेखि बारीको माटो हजुरआमाका सुक्दै गएका हातगोडामा भर भयो । म पनि चियाको अन्तिम चुस्कीपछि कापी–कलम लिएर हजुरआमा भएतिर गएँ । 


कृषि विषयमै स्नातक गरेकीले होला, मैले हजुरआमाको विश्वास जित्न सफल भएकी थिएँ । नभए त कोही बारीतिर लम्केको देख्नेबित्तिकै घरको जुनसुकै कुनाबाट भए पनि हजुरआमाको गाली सुनिनु कुनै नौलो कुरा थिएन । हजुरआमा बडो ध्यान दिएर कलिला मटरका कोसा टिप्दै हुनुहुन्थ्यो । मैले जिज्ञासु अनुहारले सोधेँ, ‘क्वाति बनाउँदा के–के हाल्नुपर्छ हजुरआमा ?’


क्वाति त अरू समयमा पनि खाएको याद छ, मलाई । त्यसैले सोधेँ, ‘कति थरीका क्वाति खाइन्छ, सालभरमा ? के ती सबै फरक हुन् ?’ 


हजुरआमाले ती मटरका कोसाबाट आफ्नो नजर हटाउन तयार नभएको तथ्य ठम्याइसकेकी थिएँ । तर पनि मतिर एक झलक्क हेर्दै भन्नुभयो, ‘नेवार समुदायमा क्वाति वर्षभरि नै विभिन्न दिनमा खाने चलन छ । नेपालीहरूको नयाँ वर्ष, वैशाख १ गतेका दिन बनाइने क्वाति घाँय्म्वः क्वातिको नामले चिनिन्छ ।’ ‘घाँय्म्वः क्वाति कसरी बनाइन्छ नि ?’ 


भुटेको चामल पिसेर बनाइने कनिका, मुलाका कलिला फल, मुलाको चाना, छ्यापी, बकुला र राम्ररी एक रातअगाडि भिजाएको गेडागुडी राखिन्छ । गेडागुडीमा चना, केराउ, भटमास, बोडी आदिका दाना राखेर राम्ररी पकाइन्छ । धेरै थोक मिसाएर बनाइने भएकाले नै यो क्वातिलाई घाँय्म्वः भनिएको हो ।’ 


‘नेपाल भाषामा घाँय्म्वः भन्नाले सुकेको घाँस र पराल हो । धेरै थरी सुकेका तरकारी र गेडागुडी मिसाएर बनाइने भएकाले नै घाँय्म्वः क्वाति भनिएको बुझिन्छ । असार महिनामा धान रोप्ने क्रममा किराफट्यांग्रा र सर्पले टोक्दा विष नलागोस् भनेर यो क्वातिमा छ्यापी मिसाइन्छ । छ्यापीको पातको टुप्पोलाई सर्पको जिब्रो मानिन्छ र यो खानाले सर्पको विष नलाग्ने विश्वास छ ।’ 


‘काठमाडौंको वसन्तपुरतिर यस क्वातिलाई खै क्वाति पनि भनिन्छ । माघ महिनाको श्री पञ्चमीका दिन आएकी सरस्वती आफ्नो माइती फर्कंदा खुवाउन बनाइएको भनिन्छ क्यारे !’ सेतै फुलेका कपाल कन्याउँदै हजुरआमाले थप्नुभयो ।


हजुरआमाले बारीमा धेरै थरीका तरकारी लगाउनुभएको रहेछ । कहिलेकाहीँ मात्र बिदा पाउने हुँदा मैले हजुरआमाको मिहिनेतलाई नजिकैबाट नियाल्ने मौका पाएकी थिइनँ । देशमा लकडाउन भएको अवस्थामा भने हजुरआमाले हुर्काएका ती फूल र तरकारीका बोटबिरुवा अध्ययन गर्ने मौका पाएँ । 


बारीनजिकैको खेतमा दाना लागिसकेका गहुँका बालातिर हेर्दै हजुरआमा मेरो ध्यान आकर्षण गर्नुहुन्छ, ‘यसपालि गहुँमा राम्रो दाना लागेको छ । श्रावण महिनामा जनै पूर्णिमाको दिनमा छ्वगुलि क्वाति पकाउन यी दाना प्रयोग हुन्छन् । गहुँका दानालाई थिचेर, असार महिनामा लगाइएका विभिन्न खालका गेडागुडी, काय अष्टमीका दिन भिजाइएका टुसा पलाएका भटमासलाई पकाएर सो क्वाति बनाइन्छ । गहुँको दाना प्रयोग हुने भएकाले यस क्वातिको नाम छ्वगुली हुन गएको हो ।’ 
उहाँले थप्नुभयो, ‘नेपाल भाषामा छ्व भन्नाले गहुँ, गुलि भन्नाले गेडा बुझिन्छ । असारभरि काम गर्दा घामले डढेर कालो भएको अनुहार देख्ने गरी पातलो बनाएर खाने यो क्वाति सो दिन भ्यागुतालाई पनि खुवाउने चलन छ ।’ 


मैले आश्चर्य मान्दै सोधेँ, ‘भ्यागुतालाई किन नि हजुरआमा ?’ 


हजुरआमाले उत्तर दिनुभयो, ‘बूढापाकाहरूको भनाइअनुसार भ्यागुताले मनुष्यलाई दुईपटक संकटबाट बचाएको रहेछ । धर्तीमाता र इन्द्र भगवान्को द्वन्द्व पर्दा भ्यागुताले धर्तीमातालाई आफ्नो बुद्धिद्वारा जिताएर मानिसको जीवनलाई इन्द्रको अन्त्यहीन वर्षाबाट बचाएको थियो । अर्कोपटक नेवार समुदायमा मनाइने गथांमुगः (गठेमंगल)को दिन निस्केर आफ्नो भोक मेटाउन मान्छेलाई खाने गरेको घण्टासुरबाट मानिसलाई बचाएको थियो । चलाखीपूर्वक भ्यागुताले घण्टासुरलाई पोखरीमा डुबाएको थियो ।’


मनमा प्रश्न उठ्यो, ‘हराउन थालेका चालचलन अनि रीतिथिति बचाउन हामीले के गर्न सक्छौँ ?’ यस्ता रीतिथिति संस्कृति थोरै जनसमुदायमा मात्र सीमित भएका छन् । मेरै टोलमा पनि हजुरआमाको उमेरका वृद्धहरू औँलामा गन्न सकिन्छन् । उहाँहरूको जनसंख्या जति कम हुँदै जान्छ, हाम्रो समाजबाट यस्ता ज्ञानगुनका कुरा त्यत्ति नै पातलिँदै जान्छन् । समयमै उहाँहरूका उमेरका भोगाइ, ज्ञान, चालचलन, संस्कृतिलाई संकलन गरी भावी पुस्तामा हस्तान्तरण गर्न पाए संस्कृति संरक्षण गर्न सकिन्थ्यो । 


म टोलाएको दृश्य हजुरआमाले हेरिराख्नुभएको रहेछ । ‘किन टोलाएकी ? अरू दुई प्रकारका क्वातिबारे जान्न चाहन्नस् ?’ मैले भनेँ, ‘हजुरआमा, माघे संक्रान्तिका दिन पनि क्वाति बनाइन्छ नि हैन ? हजुरले त्यही क्वाति भन्न खोज्नुभएको हो ?’ 


‘हो, तर त्योभन्दा अगाडि जुगःचा क्वाति खाने गरिन्छ, जुगःचाको दिन । भदौ महिनाको कुशेऔँसीका दिन बुबाको मुख हेर्ने चलन छ, सो पर्वभन्दा तीन दिनअगाडि विभिन्न गेडागुडीलाई पकाएर यो क्वाति खाइन्छ,’ हजुरआमाले जवाफ दिनुभयो । 

हजुरआमा बकुलाको ड्याङतिर लाग्नुभयो, म पनि पछि लागेँ । ‘माघे संक्रान्तिका दिन भिना मचा पूजा गरिन्छ ।’ उहाँले बकुलाका कोसा टिप्दै थप्नुभयो, ‘भान्जाभान्जीको पूजा । मुलाको चाना, चामललाई भुटेर पिसेर बनाइएको कनिकालाई पकाएर चाकु, घ्यू, अदुवा, तरुलसँगै यो क्वाति संक्रान्तिको दिन खाइन्छ । माघे संक्रान्तिलाई नेपाल भाषामा घ्यःचाकु सँलु भनिन्छ । त्यसैले यो क्वातिलाई घ्यःचाकु सँलु क्वाति पनि भनिन्छ ।’


‘नेवार समुदायमा नयाँ शिशुको जन्म भएको चौथो दिनमा मचाःबू ब्यङ्केगु चलन छ । नेपाल भाषामा मचाःबू भनेको नयाँ शिशु बुझिन्छ भने ब्यङ्केगु भन्नाले चोख्याउनु भन्ने बुझिन्छ । सो दिन यो क्वाति बनाएर शिशुको आमाका साथै छरछिमेकी तथा आफन्तलाई पनि खुवाउने गरिन्छ । त्यसकारण यसको नाम मचाःबू क्वाति रहन गयो ।’


उहाँले कुरा जोड्दै भन्नुभयो, ‘नेवार समुदायका ससाना केटीलाई गुफा राखिन्छ । गुफा राख्दा÷सूर्य दर्शन गराउँदा गुफा निकाल्ने दिन पनि क्वाति बनाउने चलन छ । नयाँ शिशु जन्माउने अवसर नपाएका महिलाले पनि यो क्वातिको स्वाद लिन पाऊन् भनेर यो क्वाति माघे संक्रान्तिको दिन बनाउने चलन चलाइएको हो । यसलाई इदाइचा क्वाति पनि भनिन्छ ।’


विश्वभरि नै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण भएको लकडाउनको समय बिताउन हामी धेरैजसो कम्प्युटर, ल्यापटप र मोबाइलमै झुन्डिएका छौँ । यसले हामीलाई अल्छी बनाउने मात्र नभई विभिन्न शारीरिक समस्या पनि निम्त्याउँछ । घरमा हजुरआमा हजुरबुबा र आमाबुबाहरू हुनुहुन्छ भने उहाँहरूसँग समय बिताउन सकिन्छ । उहाँहरूसँगै बसेर हाम्रा हराउन थालेका रीतिथिति, संस्कृतिबारे ज्ञान पाउन सकिन्छ ।


मेरो अनुभवले भन्छ, उहाँहरू त ज्ञानको भण्डार हुनुहुँदो रहेछ, जतिसुकै प्यास मेटाए पनि पानी नसुक्ने मुहानजस्तो । यही वेला आफ्नो घरको बारी, कौसीको सदुपयोग गर्दै तरकारी लगाउँदा पनि गज्जब हुन्छ । लकडाउनका वेला धेरैजसोको आम्दानी हुँदैन, तर दिनहुँ खान त खर्चबर्च भने भइरहन्छ । यसको पनि निकास हो, विभिन्न थरी तरकारी उब्जाउने । हजुरआमा हजुरबुबाहरूलाई सोधेर आफ्नै घरमा परिवारसँग मिलेर समयको सदुपयोग पनि हुने, पैसाको बचत पनि हुने फेरि घरबाट निस्किन नपरेर रोग पनि नसर्ने ।


‘जनैपूर्णिमापछिको चौथौ दिनमा गाईजात्रा मनाई बाँकी रहेका गेडागुडीलाई पकाएर बनाइएको बुसुबासु क्वाति खाएर खेतबारीमा जाने चलन पहिल्यैदेखि चलिआएको रीति हो । तर, समयसँगै यो क्वाति खाने चलन हराइसकेको छ ।’ हजुरआमाले दुःखी हुँदै भन्नुभयो, ‘तर पनि पुस–माघको जाडोमा क्वाति खाने चलन भने अझै बचेको छ । त्यसवेला खाइने क्वातिलाई अष्टमण्डल क्वाति भनिन्छ ।’


घरकै बारीमा हजुरआमाले उब्जाउनुभएको मुलाको कलिला फल, मुलाको चाना, छ्यापी, बकुलाको क्वाति सम्झिँदै मुख रसायो । त्यत्तिकैमा भान्छाबाट आमाको आवाज सुनियो, ‘खाना पस्किसकेँ, सेलाउँछ, झट्टै आउनुहोस्, आमा !’