• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संगीता श्रेष्ठ
२०७७ असोज ३ शनिबार ०७:०६:००
समाज

अस्मिताको मोल ‘जनही २५ हजार !’

बलात्कारपीडितले न्याय पाउन आफूलाई आफैँले मार्नु नै पर्ने हो र ?

२०७७ असोज ३ शनिबार ०७:०६:००
संगीता श्रेष्ठ

 

हामी कुन समयमा छौँ ? 

 

‘पटमूर्खलाई यति पनि थाहा छैन, यो एक्काइसौँ शताब्दी हो’ धेरैले भन्लान् । सोच्लान् । त्यो मलाई पनि थाहा छ । 

 

तर, एक्काइसौँ शताब्दी भनेको यही हो त ?

 

जहाँ बलात्कारपीडित किशोरीले न्याय नपाएर आफूलाई आफैँ मार्नुपर्छ । आत्महत्याको बाटो रोज्नुपर्छ ।

 

उसको अस्मिताको बोली लाग्छ– ‘जनही २५ हजार ।’ (‘अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कारपीडित किशोरीद्वारा आत्महत्या,’ रातोपाटी डटकम)

 

सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीको २९ गते सामूहिक बलात्कार भयो । खेतमा काम गर्न गएका वेला चारजना पुरुष ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बबलु मण्डलले उनको अस्मिता लुटे ।

 

घटनापछि प्रहरीमा उजुरी दिन चाहेकी किशोरी र उनकी आमालाई गाउँको पञ्चायतीले रोकेको समाचार ‘अन्नपूर्ण पोस्ट’ मा प्रकाशित छ । मण्डल समुदायका १०–१२ जना ‘गन्यमान्य’ व्यक्तिले छलफल गरी उनीहरूलाई प्रहरी चौकी जान दिएनन् । ‘पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराइदिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने निर्णय सुनायो,’ ‘बलात्कारपछि मृत्युको सहारा’ शीर्षक दिइएको समाचारमा लेखिएको छ, ‘आमाछोरीले त्यसको विरोध गरे पनि ‘एकजनाको इज्जत ठूलो कि सिंगो गाउँको’ भन्दै पञ्चले धम्क्याए ।’ 

 

‘अन्नपूर्ण पोस्ट’को समाचारमा सप्तरीका गाउँ–गाउँमा ‘देशको कानुन’ होइन, ‘आफ्नै कानुन’ प्रयोग हुने जिकिर गरिएको छ । ‘कानुनभन्दा व्यवहार ठूलो’ भन्ने मान्यताले निर्णय गर्ने पञ्चायतीले बलात्कारजस्तो संवेदनशील घटनामा यस्तो ‘घटिया’ निर्णय गर्‍यो । पीडित किशोरीको अस्मिता, उसको स्वाभिमानको बोली लगायो । 

भारतीय कवि रमाशंकर यादव ‘विद्रोही’को कविता ‘औरतें’ का केही पंक्ति सम्झिरहेकी छु :
औरतें रोती जाती हैं, मरद मारते जाते हैं
औरतें रोती हैं, मरद और मारते हैं
औरतें खूब जोर से रोती हैं
मरद इतनी जोर से मारते हैं कि वे मर जाती हैं ।

 

पञ्चहरूको निर्णयबाट असन्तुष्ट किशोरीले घटनाको भोलिपल्ट आत्महत्या गरेको घटनास्थल पुगेका प्रहरीको ठहर छ । किशोरीको मृत्युपछि चारैजना आरोपी फरार छन् (यो लेख तयार गर्दासम्म) । तर, पीडितलाई प्रहरी चौकी जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।


०००
आरोपी : धर्म मण्डल, विष्णु मण्डल, रञ्जित मण्डल र बबलु मण्डल ।
पञ्च : जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल ।
आरोपी र पञ्चहरूमा एक समानता छ । 
समानता : ती सबै पुरुष हुन् । 

यदि पञ्चायतीमा कुनै महिला भइदिएको भए के उनले पनि पीडितलाई प्रहरीमा उजुरी दिनबाट रोक्थिन् होला त ? बजारमा सामानको लिलामी गरेझैँ किशोरीको पीडा, भावना, स्वाभिमान लिलाम हुन्थ्यो होला त ? यी र यस्ता धेरै प्रश्न दिमागमा घुमिरहेका छन् ।

 

हजारौँ वर्ष पुरानो पितृसत्ता एक्काइसौँ शताब्दीमा पनि उसैगरी हावी छ । ‘पोथी बासेको राम्रो होइन’ भन्ने सोच राख्नेहरूले नै कुनै पीडितलाई न्याय पाउन नदिन यस्ता ‘घटिया’ निर्णय गर्न सक्छन् । यस्ता षड्यन्त्र गर्न सक्छन् । यतिवेला अर्का कवि कुन्ता शर्माको चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ पनि सम्झिरहेकी छु :

 

आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनुपर्छ
आक्रोशका घुड्काहरू चुपचाप निल्नुपर्छ 
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

 

पितृसत्तात्मक सोच भएको समाजले महिलाको दमनमा आफ्नो पुरुषत्वलाई परिभाषित गर्छ । सप्तरीको पञ्चायतीले गरेको निर्णय त्यसकै उदाहरण हो । यस्ता कुराले पितृसत्तालाई झन् बल पुर्‍याउँछ । ‘केटा त केटा हो, केटाबाट यस्तो गल्ती भइहाल्छ’ भन्ने किसिमको सोचले बलात्कारजस्तो जघन्य अपराधलाई बढावा दिन्छ ।

०००

हालै सामाजिक सञ्जालमा ‘फेमिनिस्ट’ नामक फेसबुक पेजमा एकजना महिलाले ब्यानर समातेको तस्बिर देखेकी थिएँ । जसमा लेखिएको थियो– ‘अँध्यारोमा जब एक प्रतिबिम्ब देखिन्छ, पुरुष त्यो भूत हो भनेर डराउँछ । जबकि, महिला त्यो पुरुष हो भनेर डराउँछे ।’  देशका विभिन्न भागमा हुने बलात्कारका घटनाले यो भनाइलाई सार्थक बनाइरहेका छन् । 

 

– भदौ १७ मा सात वर्षीया छोरीको बलात्कार गरेको अभियोगमा प्रहरीले बुबालाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी वृत्त, बानेश्वर, काठमाडौंले पक्राउ गरेका उनी ४० वर्षीय पुरुष हुन् ।

 

– भदौ १९ मा ‘आमालाई जबर्जस्ती करणी गरेको आरोपमा छोरा पक्राउ’ शीर्षकको समाचार छापियो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ५८ वर्षीया आमाले छोराविरुद्ध जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् । 

 

– भदौ २८ मा ललितपुर, महालक्ष्मी नगरपालिका–६ मा बाबुबाट १७ वर्षीया किशोरी बलात्कृत भएको घटना बाहिरियो ।

 

यी भदौमा भएका केही घटना मात्र हुन् । परिवारका पुरुष सदस्यबाट, आफन्तबाट, साथीभाइबाट, टोलछिमेकका परिचितबाट अथवा अपरिचितबाट हरेक दिन कुनै न कुनै बालिका, किशोरी, महिला बलात्कृत भइरहेकी हुन्छे । यत्ति हो, घटनास्थल, ठाउँ र पीडितको उमेर फरक हुन्छ । एक निर्दोषको अस्मितामा प्रहार गर्ने सधैँ एक मनोरोगी पुरुष नै हुन्छ ।

‘कोही पनि
जन्मले महिला हुँदैन, महिलालाई महिला
हुन सिकाइन्छ,
महिला भइरहनका लागि उसलाई
अनुकूल बनाइन्छ’

 

बलात्कारका कतिपय घटना प्रहरीसम्मै पुग्दैनन्, मिलेमतोमा सामसुम पार्ने, दबाउने, धम्काउने प्रयास गरिन्छ । (सप्तरी घटना त्यसकै उदाहरण हो ।) 
प्रहरीसम्म पुग्न सफल घटना नै समाचारका हेडिङ बन्ने गर्छन् । प्रहरी चौकीमा दर्ता भएका घटनामध्ये केहीमा आरोपी पक्राउ पर्छन् । केसको सुनवाइ हुन्छ । अपराधी प्रमाणित भए सजाय भोग्छन् । अनि, पीडितले न्याय पाउँछन् । तर, कोही–कोही पीडित भने ‘निर्मला पन्त’जस्तै न्यायको पर्खाइमा रहिरहन्छन् ।


०००
विश्वप्रसिद्ध लेखक सिमोन द बोउवारले आफ्नो पुस्तक ‘द सेकेन्ड सेक्स’मा लेखेकी छन्– ‘कोही पनि जन्मले महिला हुँदैन । महिलालाई महिला हुन सिकाइन्छ । महिला भइरहनका लागि उसलाई अनुकूल बनाइन्छ ।’

 

लेखकले भनेजस्तै महिलालाई महिला बनाउन कुनै एक व्यक्ति, कुनै एक समुदाय, एक राज्य वा देश मात्रै लागिपरेको छैन । पितृसत्तात्मक समाजको पालनपोषण गरिहेका संकीर्ण सोच भएका मानिस जताततै छन् । विश्वभरि नै छन् । ती सबैले पितृसत्तालाई मलजल गरिरहेका छन् । बलात्कार संसारभरिका बालिका, किशोरी र महिलाको साझा समस्या र पीडा बन्न पुगेको छ ।

 

छिमेकी भारतमा बलात्कारको डढेलो देशैभरि फैलिएको छ । हालै तीनजना साथीसँग मिलेर आफ्नी विक्षिप्त बहिनीको बलात्कार गरेको समाचार छापिएको थियो । देशको राजधानी नयाँदिल्लीमा समेत ८० वर्षीया वृद्धाको बलात्कार गरी कुटपिट गरिएको केस बाहिरिएको थियो ।

 

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले त्यहाँ नौ महिनाकी बालिकादेखि ९० वर्षकी वृद्धासम्म कोही पनि सुरक्षित नरहेको अभिव्यक्ति दिएकी थिइन् । ‘यस्ता घटना गर्नेहरू मान्छे होइनन्, जनावर हुन्,’ भारतीय मिडियासँग कुराकानी गर्दा उनले भनेकी थिइन् ।

 

केही दिनअघि पाकिस्तान, लाहोरमा भएको सामूहिक बलात्कारको घटना अहिले चर्चामा छ । हाइवेमा बन्दुक देखाएर दुईजना पुरुषले एक महिलाको बलात्कार गरेका थिए । घटनापछि पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलाविरुद्ध हुने यौनहिंसाबारे बहस चर्किएको छ ।

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई चोकमा सार्वजनिक रूपमा झुन्ड्याउनुपर्ने अभिव्यक्ति दिएका छन् । ‘बलात्कार गर्नेलाई सार्वजनिक रूपमा चोकमा झुन्ड्याइदिनुपर्छ,’ उनले भनेका छन्, ‘तर, यो अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य नहोला । म चाहन्छु, बलात्कारीको यस्तो ‘सर्जरी’ होस्, जसले उसलाई ‘नकारा’ बनाइदियोस् । त्यसपछि ऊ कुनै यौन अपराध गर्नलायक रहनेछैन ।’


०००
घटनाबारे पढेदेखि ‘राष्ट्रप्रमुख महिला रहेको नेपालमा बलात्कारपीडितले न्याय पाउन आफूलाई आफैँले मार्नु नै पर्ने हो र ?’ भन्ने प्रश्नले मथिंगल रिंग्याइरहेको छ ।