• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हेमन्त विवश
२०७७ असोज ३ शनिबार ०७:४४:००
समाज

सुदूरपश्चिमको प्रश्न : नौलो संविधान आयो कि नाई

ठुलाबडाको हैकम चलेकोइ छ । संविधान भन्ना छन् । हामलाई के हो संविधान । सीप सिकाइदिए हुन्थ्यो । काम अरिबर खाने बनाइदिए हुन्थ्यो ।’

२०७७ असोज ३ शनिबार ०७:४४:००
हेमन्त विवश

 

सुदूरपश्चिम युगौँदेखि पीडामा छटपटाइरह्यो । विभिन्न माध्यमबाट हजारौँ प्रश्न तेस्र्याइरह्यो । तर अहँ ! सुनेन कहिल्यै नैपालले, सुनेन कहिल्यै नैपालको भँडार चलाउने भँडारीहरूले । राणाकालदेखि पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म जे–जति व्यवस्था आए, ती व्यवस्थाका तालुकदारदेखि व्यवस्थापकसम्मका सबै गोसाईहरूले मात्रै हैकम जमाए । जति जोगी आए कानै चिरेका भनेझैँ सबै उस्तै गरी देखापरे । 


विकासको आस–भरोसामा बसेका जनताका रात लम्बिँदै गए । बेरोजगारी बढ्दै गयो । खिन्न भएर पुनः हिँड्न थाले, बाउबाजेले झैँ भारततिर दरबानी गर्न । जिउ ढाक्न र पेट पाल्न देश जानु, देशीको कमौया बन्नु मध्य तथा सुदूरपश्चिमेलीको नियति नै बनिसकेको छ । 


पछिल्लो समय चैत–वैशाखमा देखापर्ने अलासिने बतास जस्तै गरी देखा पर्‍यो, कोरोना भाइरस । मरे पनि आफ्नै भूमिमा मरौँला बरु फर्किऊँ भन्ने भावना पलाउन थालेपछि फर्किए, गाउँतिर । गाउँमा दुई–तीन महिना नबस्दै आर्थिक समस्याले गाँजेपछि फेरि फर्किन थालेका छन् भारततिर । उनीहरूलाई संविधान दिवस के मतलब ! 


परदेश नगएका, जान नसकेका केहीले संविधान दिवसलाई यसरी सम्झिए :


९३ वर्षीया चेतराज ओझा सुनाउँछन्– ‘आब के–के दिवस मनाउना छन् । जे दिवस आएलै ठूला बडाखीलाई त आउन्या हुन्ना । गरिब गुरुवाखीलाई सदाइ उसाइ दिन । यै देशमी अचेल नेता नइ आथिन । नेता भनेका भीमदत्त जसा हुनु हो । हाम टनकपुर नुन ल्याउन जान्थे । एक वर्ष नुन नमिल्ले भयो । भीमदत्तले नुनका गोदाम फोडे । दुई–तीन सयजनाको लाइन थ्यो । सबैलाई दुई–दुई नाली (आठ–आठ माना) नुन दिलायो । भीमदत्त माद्दु थेइन । भीमदत्त मारेको पाप लाग्यो यै देश । भीमदत्त देशको माया भएको भगवान्सरीको मान्स हो ।’ 


जीवनमा असी घर बनाएका ओझा सम्झिन्छन् ती दिन । उनी राम्रा डकर्मी थिए, त्यो जमानामा । तर पनि सबैले दिएनन् उनको परिश्रमबापतको पूरै रकम । दुःखका दिनमै बिताएका हुन् लामो समय । अहिले सरकारले वृद्घभत्ता उपलब्ध गराएकोमा उनी खुसी छन् । तर, अहिलेको बेथितिको बारेमा सुन्दा गाउँघरतिरको राजनीति देख्दा र कोरोनाका कारण घर फर्किएकाहरूको आर्थिक अभावमा रुमल्लिएका दिनहरू देख्दा खिन्न भएर सुनाउँछन् पुरानो उखान– ‘त दिनै ढोग म छ चैत्रदेखि कि भोक’ (तिमी मेरो पाहुना बनेर मेरो आँगनमा आएर ढोग दिँदै छौ । तर, मेरो घरमा चैत्रदेखि नै भोकमारी छ ।) 

विकासको आस–भरोसामा बसेका जनताका रात लम्बिँदै गए । बेरोजगारी बढ्दै गयो । खिन्न भएर पुनः हिँड्न थाले, बाउबाजेले झैँ भारततिर दरबानी गर्न । जिउ ढाक्न र पेट पाल्न देश जानु, देशीको कमौया बन्नु मध्य तथा सुदूरपश्चिमेलीको नियति नै बनिसकेको छ ।


नेताहरू नयाँ संविधान ल्यायौँ भनेर गफ दिइरहेका छन् । जनताका दसा उस्तै छन् । हिजोआज सम्झिरहेका छन्, कतिपयले पुराना उखानहरू । प्रा.डा. हेमराज पन्त पनि पुरानो लोकोक्ति सम्झन्छन्, –हरि शाही राजा भए पातै टिप्नु, पर शाही राजा भए पातै टिप्नु । डा. पन्तका अनुसार राजा हरि शाही मरेको र अब परी शाही राजा हुने कुरा एउटा गाउँले पात टिपिरहेको अर्को गाउँलेलाई सुनाउँदा प्रत्युत्तर आउँछ : हरि शाही राजा हुन् या परी शाही हुन्, मेरो काम पात टिप्नु हो । उक्त भनाइले पनि राज्यप्रति जनता उदासीन भएको संकेत गर्छ । टाठाबाठाहरूकै हैकम चलिरहेको र गरिबगुरुवाको जीवनमा खासै परिवर्तन आउन सकेको देखिँदैन । 


शिखर नगरपालिका–११ डोटीकी परु कामी सुनाउँछिन्– बिरामी छु । अर्काका जमिनमी बन्या नानो (सानो) कुडो (झुपडी) छ । श्रीमान् मरेको १५ वर्ष भयो । दुई चेली थिन् । ब्या भयो । ज्वाइँले भारत लैगे आफूसँगै । मेरा बैकानले(लोग्ने)ले आफर चलायो । अरूको हलेटी लायो । हलिय बने । सबैको काम अ¥यो । अइल म एकली हुँदा हलिया मुक्तिको रकम पाएइन । धेरैले पायो, मेरो नाउँ चढाइदिएइन अड्डामी । हाम गरिबको को छरे ? सरकार पनि ठूलाबडालाई हेद्दे त हो हजुर । जति परिवर्तन भयो भणेलगई हामरा दिन उसाइ । जे–जे दिवस आउन्छ क्याद्दु छ रे हामले । 


शिखर नपा डोटीका ५४ वर्षीया लोक भुल सुनाउँछन्– हुनु पड्डे विकास भया छैन । आएको रकम पूरै लगानी हुनैन । भ्रष्टाचार बढ्यो । खेती–किसानी अद्द तालिम दिएर बढ्ता फलाउन सिकाएको छैन । समयमा मल मिल्लैन । पहिले ठूलाबडाले धम्की दिन्थे । डरले खानु पड्डयो । हलो जोतेरै हलिया बनेरै जिन्दगी बिताउनु पड्डयो । अइल त्यसोई त छैन । तर, ठूलाबडाको हैकम चलेकोइ छ । संविधान भन्ना छन् । हामलाई के हो संविधान । सीप सिकाइदिए हुन्थ्यो । काम अरिबर खाने बनाइदिए हुन्थ्यो । नेता भोट माग्द आउना छन् । तइपछि हारे लै जिते लै मुख देखिनैन तिनरो दोसरो चुनाव नआउनासम्म । उनरी भिट टाठाबाठा पहुँच पुगेका सित मात्तर हुन्छे । हाम त मुख धेक्द पाए लै खुसी हुन्थे । 


बजेट आउन्छ गाउँमा । काम एक हिस्सालइ हुँनैन । खानाखिलाई सबै पार्टीका मिलजाना हजुर । माओवादीले पनि विकास अद्दाउ । छुवाछुत हटाउनाउ भन्यो । उनरा अभियानमा बोगटानसम्म पुग्यौँ । देशमी भउतै विकास भइजाला भन्ने आशा थियो । तिन पनि काम नलाग्दे भए । 


म डकर्मीको काम गरन्छु । मिस्त्री हुँ । तर, काम पाउनैन । मेरा गाउँमा स्कुलको भवन बनाउन बजेट आयो । मैले काम गर्छु भन्दा साढे दुई लाख कमिसन माग्यो । काम कस्तो र कति गर्नु पन्र्या हो भनेर सोधेँ । त्यो कुरा आभरसेर आएपछि थाहा हुन्या हो भने । सायद ओभरसेरलाई पनि टक्र्याउनु पड्डे थियो कि । जम्मा आठ लाखको बजेटमा त्यति छोड्नुपरे पछि के काम अद्दु । अचेल गाउँ–गाउँमा भ्रष्टाचार छ । यै देश के दिवस आइबर के हुने हो रे । 


त्यस्तै डोटीको राधाकृष्ण मावि तिजालीको क्वारेन्टाइनमा बसिरहेका ३७ वर्षीया सरना भूल सुनाउँछन्– मेरा बाआमा भारतमा दरबानी गर्थे । मरिसके । म भारतमै जन्मेको हुँ । भारतमै बस्छु । आधार कार्ड बनेको छ । छोरीलाई पढ्नका लागि भारत सरकारले वार्षिक १५ हजार दिन्छ । यहाँ उद्योगधन्दा छैन । रोजगारी पाइँदैन । परिवार पाल्न केटाकेटी पढाउन गाह्रो छ । तैपनि बुबाबाजेको ठाउँ । पुर्खौली थलोको मया लागन्छ । मैले मेरो परिवार यतै गाउँमै राख्या छु । आफ्नै देशमी रोजगारी पाए त फर्किने थिएइन । के गद्दु, याँ त केही छैन । के के तन्त्र आयो भन्ना छन् । सियो लगइ बनाउन सक्दाइन । यइ देशमी के आए को आए के छ रे हाम जसा कामदारका लगि जानु पड्डे अझ भारततिरै ।’


जेलनेल बसेको फुर्ती लगाउँदै सम्राट् बन्ने ध्याउन्नमा लागेका गोसाईहरूको प्राथमिकतामा परेन विकास, इमानदारिता र निष्पक्षता । कहिल्यै पर्न सकेन देश तिनको प्राथमिकतामा । गोसाईका भाषणले मात्रै देश बन्ने भए उहिल्यै बनिसक्थ्यो । कागजका पानामा संविधान लेखिँदैमा जनताले हक–अधिकार न्याय स्वतन्त्रता पाउने भए गुमाउनु पर्दैनथ्यो मलर सादा, राजु सदा, सूर्यबहादुर तामाङ, अंगिरा पासी र सिद्धार्थ आउजीहरूले ज्यान । 


वेलाबखत सम्झिरहन्छु, ०४६ र ०६२/०६३ को आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न आन्दोलनमा वीर गति पाएका सहिदहरूलाई । अनि सम्झिरहन्छु, दुई वर्षअघि मेरो सामु तेर्सिएको देउसराको प्रश्नलाई । उनले भनेकी थिइन्, ‘गोसाई चुनावका बखत सबैले नौलो संविधान आउने हो भण्याथे आयो कि नाई ?’