ढालिएको छ चोकको बीचमा
टाउको नभएको एउटा सालिक
हुन सक्छ कुनै दम्भी शासकको सालिक ?
भेटिन्छन् टाउको नभएका धेरै भगवान्
चोक–चोकमा
चिन्दिनँ म ती कुन भगवान् हुन् ?
मुर्कटालाई भगवान् मान्नेहरू पनि छन्
काटिएको थियो बुद्ध सालिकको टाउको पनि
कुनै समय
देख्छु यत्रतत्र टाउको नभएका बुद्ध
आफ्नो मन्त्र पढिरहन सक्दैन सधैँ
कुनै एउटा सालिकले
देखेको छु
घोडा चढिरहेको सालिकलाई घोडाले नै तानेर ढालेको
देखेको छु
राजदण्ड बोकिरहेको सालिकको छातीमा
त्यही राजदण्ड घोपिएको
देखेको छु
कोलम्बसको टाउकोमा लात हान्ने काला दाजुभाइलाई
देखेको छु
भाषाको सालिकमा ढुंगा बर्साउने आदिवासीलाई
शासकहरू !
सुरक्षित गर आफ्नो टाउको
त्यही टाउको
जसले जालसाजीलाई
देश चलाउने सूत्र बनायो
त्यही टाउको
जसले मानिसको गिदीे भुटेर
आफ्नो भोक भेट्यो
सालिक त ठडिएला बीच चोकमा
एउटा जत्था पनि होला
जयजयकारमा हात उचाल्ने
तर, त्यो सालिकको टाउको काटेर
ढालिनेछ कुनै समय
कतिवटा टाउको
अलग गर्यौ तिमीले मानिसको उष्ण जिउबाट ?
कतिवटा आँखाको नानीमा झिर रोप्यौै तिमीले ?
कतिवटा प्रेमको पुष्पदल चुँडायौ तिमीले ?
आफ्नो सालिक ठडाउनुअगाडि
इतिहासमा अनुहार सजाउनुअगाडि
सोच,
कति केटाकेटी आमाबा खोज्दै
तिम्रो दरबारको मूलढोकामा टाउको ठोकेर मरे ?
सम्झ,
कति आमाबाले तिमीसँग
आफ्ना छोराछोरीको भिख माग्दै मसान बाँचे ?
अनि देख्नु,
एउटा त्रस्त सपना
टाउको काटिएको आफ्नै सालिक
ढालिएको छ चोकको बीचमा
टाउको नभएको एउटा सालिक
हुन सक्छ कुनै दम्भी शासकको सालिक ?
शासकहरू !
सुरक्षित गर आफ्नो टाउको ।