• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. कुन्दन अर्याल काठमाडाैं
२०७७ असोज १० शनिबार ०७:५९:००
समाज

कार्टुनमा  छाएको कोरोना

२०७७ असोज १० शनिबार ०७:५९:००
डा. कुन्दन अर्याल काठमाडाैं

सवा सय वर्षअघि फ्रान्सिसी समाजशास्त्री ग्याव्रियल टार्डले जनअभिमतको बढोत्तरीमा वार्तालापको भूमिकासम्बन्धी अध्ययनलगत्तै भनेका थिए– यदि कसैलाई कुराकानीका लागि अभिप्रेरित गर्न सक्दैन भने त्यस्तो अखबारको कुनै अर्थ छैन । उनको विचारमा त्यस्तो अखबारले कसैको मस्तिष्कमा गतिलो छाप छाड्नै सक्दैन । 

 

प्रभावशाली अखबारमा मानिसलाई टीकाटिप्पणी गर्न वा चिया गफमा आकाश–पाताल जोडेर छलफल गर्न प्रोत्साहित गर्ने अनेक सामग्री आउँछन् । जुन अखबारमा त्यस्तो सामग्री आउँदैन, त्यसको बिक्री पुराना कागजका रूपमा किलोका भाउमा हुन्छ । तर, अखबारलाई कोरा कागजभन्दा पृथक् बनाउने सामग्रीहरूमा कार्टुनको अग्रणी भूमिका छ । जुन दिन अखबारको अग्रभागमा कार्टुन छापिएको हुन्छ, त्यस दिन मानिस सबैभन्दा पहिले त्यही हेर्छन्, पढ्छन् । 

 

कागजमा छापिएका हुन् अथवा कम्प्युटर, मोबाइल वा यस्तै कुनै उपकरणमा डिजिटल पर्दामा आउने हुन्, अखबार त अखबारै हुन् । गएको नेपाली वर्षको अन्तिम महिनादेखि त हामी नेपाली पनि अखबारका विषयवस्तु धेरैजसो स्क्रिनमा खोज्ने भएका छौँ । त्यसैले अखबार भन्नाले अब दुई हातले दुईतिर समातेर फिँजाएर पढ्ने खबरकागज मात्र होइन, निहुरिएर मोबाइलमा हेर्ने अनलाइन स्वरूप पनि हो भन्ने बुझ्नैपर्छ । 

 

हामीकहाँ लकडाउन सुरु हुनुभन्दा दश दिनअघि बेल्जियमको ‘पोलिटिको’मा प्रकाशित डाउक्यान्टासको कार्टुनले विश्वभरि चर्चा बटुलेको थियो । उनको कार्टुनमा कुनै संवाद छैन । इटलीको जर्सी लगाएको एउटा खेलाडी पेनाल्टी हान्दै छ, युरोपको जर्सी लगाएको गोलकिपर कोभिड–१९ लेखिएको बललाई रोक्न असमर्थ छ । दुवै खेलाडीको मुखमा मास्क छ, गोलपोस्ट, बलजस्ता सीमित वस्तु दर्साइएको कार्टुन साँच्चै एकछिनका लागि पीडा बिर्साउने खालको छ । त्यही समयको हाराहारीमा लाटभियाको ‘लाटभिजास एभिज’मा पहिलोपटक प्रकाशित स्लुकाको कार्टुनमा सारा पृथ्वीलाई काँडे तार र बारभित्र राखेर कोभिड–१९ लेखिएको ताल्चा मारिएको चित्रण गरिएको छ । यो कार्टुनले एकछिन गम्भीर भएर सोच्न बाध्य तुल्याउँछ । भनिन्छ, कुनै खास समयमा कार्टुनिस्ट पनि हास्यलाई स्थगित गर्छन् र दुर्दशाउपर व्यंग्य गर्न तम्सिन्छन् । यो कार्टुनले यही मनोभाव झल्काउँछ ।

 

रविन सायमीले पनि चैत १८ गते प्रकाशित एउटा कार्टुनमा यही शैली आत्मसात् गरेका छन् । स्वास्थ्य मन्त्रालयको बोर्ड देखिएको एउटा कम्पाउन्डबाट आवाज आइरहेको छ, पाहुना आइरा’छ । टाई सुट लगाएको उही चिरपरिचित विभत्स अनुहारको कोरोना ब्रिफकेस गुडाउँदै त्यतै लम्किँदै छ । यो कार्टुनको कलात्मक विशेषता के छ भने विभत्सतामा पनि रविनले मुस्कान दर्साएका छन् । 

 

कोरोना भाइरसको बिगबिगी बढेसँगै संसारभरका अखबारमा सुरु भएको यसैको चर्चा–परिचर्चा अझै कायम छ । यसबीच कोरोनाले जुनसुकै माध्यमबाट गरिने विश्वभरको पत्रकारितालाई अपहरण गरेको छ । समाचार, लेख, अन्तर्वार्ता, सम्पादकीय जति लेखे पनि कोरोनालाई पुगेको छैन । त्यसैगरी सबै भाषा, परिवेशका संसारभरका कार्टुनिस्ट यसप्रति चित्रात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन् । यस्तो प्रतिक्रिया रेखाचित्रमा देखिएको सम्पादकीय नै हो, चित्रमा अभिव्यक्त आलेख हो । केही प्रतिक्रिया कमजोर छन्, यस्ता कार्टुनको सामान्य परिचायक हास्य र व्यंग्य उत्सर्जन गर्न सक्षम देखिँदैनन्, अनि सोचमग्न तुल्याउने किसिमका पनि छैनन् । तर, यस्ता कार्टुन पनि समयका अभिलेख हुन् । दुःख, हैरानी, बेचैनी र पीडामा हास्य सहज हुँदैन । तर, यसबीच नेपाली कार्टुनिस्टहरूले पनि सामाजिक र व्यक्तिगत दुःख र पीडाकै बीच कार्टुन कला वा क्यारिकेचरको सीपलाई अघि बढाएका छन् । 

 

यस्तो असहज अवस्थामा मानिसले सरकारबाट बढी जवाफदेही व्यवहारको अपेक्षा गर्छन् । त्यसैले स्वाभाविक रूपमा कार्टुनमा सरकारहरूप्रतिको व्यंग्य ज्यादा देखिन्छ । आधा वर्षभन्दा बढी भइसक्यो, कोरोना भाइरसको चिरपरिचित काँडेफलजस्तो आकृतिलाई केन्द्रीय भागमा राखेर सरकारमाथि गरिएका व्यंग्यले नेपालमा पनि निकै ठाउँ पाएका छन् । नेपाली कार्टुनिस्टहरूले पनि कोरोना भाइरसको विभत्स आकृतिका अनेक भाव चित्रण गरेका छन् । सुरुदेखि नै प्रचलनमा ल्याइएको साझा सांकेतिक चित्र अब सर्वपरिचित भइसकेको छ । 

 

कोरोनासम्बन्धी कार्टुन नेपाली अखबारमा अझ बढी आउँथ्यो होला । कतिपय दिन कोरोनालाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालबीचको मनमुटावले पन्छायो । तर जति पन्छाए पनि कोरोनाको सर्वव्यापी स्वरूपका अगाडि आजको दुनियाँमा अरू कुनै विषयको महत्व छैन । आज सारा विश्व जसरी कोरोनाको कारण र परिणामकै वरिपरि घुमिरहेको छ । त्यसैगरी नयाँ वर्ष आउनुभन्दा एक महिनाअघिदेखि नेपाली अखबारमा छापिएका कार्टुनमा कोरोना छाएको छ । 

 

नेपालमा प्रकाशित कार्टुनहरूले आफ्नो उपयोगिता साबित गर्न सक्नुमा केही उल्लेखनीय कारण छन् । पहिलो, यी कार्टुनले आमजनतामा कुराकानीका विषय उपलब्ध गराएका छन् । जनतालाई सचेत गराएका छन्, व्यवहार परिवर्तनका लागि झकझक्याएका छन् । यिनीहरूले हल्का ढंगले ठट्टैठट्टामा आममानिसलाई यथार्थ अवस्था बताएका छन् । जनतालाई सजग तुल्याएका छन् । एउटा उदाहरण, पहिलो लकडाउनको तेस्रो दिन छापिएको अवीन श्रेष्ठको एक कोलमको ठट्यौली कार्टुनमा सुनसान सडकमा लठ्ठी उज्याइरहेको प्रहरीको चंगुलमा परेको एउटा व्यक्ति भन्दै छ, ‘ठोकुँ भन्या कि खोकुँ भन्या ? खोकुँ भन्या भे भाग्नुपरो ।’ कोरोनाको विषयमा यस प्रकृतिका कार्टुन नेपालका अन्य कार्टुनिस्टले पनि बनाएका छन् ।

 

०७६ चैत ११ गते सुरु भएको पहिलो लकडाउनको पहिलो दिन वासु क्षितिजले एक कोलमको ‘ग्याग’ कार्टुनमा सुनसान सडक र घरहरू देखाएका छन् । कार्टुनमा उल्लेखित सन्देश छ, घरभित्रै बसौँ, जिम्मेवार नागरिक हुनुको दायित्व पूरा गरौँ । तर, यसमा कुनै हास्य र व्यंग्य पनि छैन । सन्देश सपाट छ । 

 

दोस्रो, यी कार्टुनहरूले शक्तिमा रहेकाहरू, कोरोनाको भाइरससँगको विश्वयुद्धकै क्रममा पनि धन आर्जन गर्न खोज्नेहरूप्रति जनतालाई सजग गराएका छन् । यही वर्ष वैशाख ४ गते छापिएको रवि मिश्रको कार्टुन यस दृष्टिकोणले बेजोड छ । उनको किल्लामा झुन्ड्याइएको रेडियोबाट सन्देश आइरहेको छ, राहतको चामल छोएसी साबुनपानीले मिचिमिची हात धोऔँ ।

 

तेस्रो, कार्टुनहरूले हाम्रो यथार्थ अवस्थाको चित्रण गर्दै आएका छन् । संसारका अन्य भूभागमा झैँ नेपालमा प्रकाशित कार्टुनहरूमा पनि सरकारको कार्यशैली र महामारीसँग जुझ्न तयार गरिएका संरचनाको अवस्था दर्साइएका छन् । वासु क्षितिजले चैत २३ गते यस कोटीमा पर्ने उत्कृष्ट कार्टुन पस्किएका छन् । उनको कार्टुनमा कोरोना राहत वितरण समारोहमा कोरोना राहत लेखिएको बोरासँग सेल्फी खिच्नेहरूको भिड नै छ । वासु क्षितिजले नयाँ वर्ष ०७७ वैशाखको पहिलो साता महात्मा गान्धीको तीन बाँदरका रूपमा प्रधानमन्त्रीका तीन आकृति देखाएर सरकारप्रति कटाक्ष गरेका छन् । पहिलो बाँदरले आँखा छोपेको छ, जहाँ लेखिएको छ, बाटोमा अलपत्र परियो सरकार । दोस्रो बाँदरले कान थुनेको छ, तल लेखिएको छ, राहत पाइएन सरकार । तेस्रो बाँदरले मुख बन्द गरेको छ । तल लेखिएको छ, जनगुनासो सम्बोधन गर सरकार । यसै प्रकृतिको कार्टुनको अर्को उदाहरणका रूपमा राजेश केसीको एउटा सिर्जनाको उल्लेख गर्नुपर्छ । 

 

०७६ चैत २१ गते उनको स्तम्भ ‘फलानो’मा छापिएको यस कार्टुनमा कुनै बटुवालाई बेस्कन लाठीले कुटेपछि एउटा प्रहरी भन्छ, पाँच करोड कोरोना भाइरस मार्दिएँ उहाँको ढाडमा । त्यही समयको हाराहारीतिर चैत २९ गते रविन सायमीले सिंहदरबारको मूलद्वारमा तीनजना साहु–महाजनजस्ता देखिने व्यक्तिहरूलाई सामाजिक दूरी कायम गर्दै सुटकेस लिएर भित्र जान लामबद्ध भएको देखाएका छन् । जहाँ लेखिएको छ, सामाजिक दूरी । त्यही दिन छापिएको यस्तै किसिमको रविन्द्र मानन्धरको एक कार्टुनमा भारतीय मिडियाप्रति गरिएको व्यंग्य उल्लेखनीय छ । त्यहाँका टेलिभिजनहरूबाट नेपालका मुस्लिम समुदाय भारतमा कोरोना भाइरस फैलाउन संलग्न भएको अफवाह फैलाइएको समय सन्दर्भमा प्रकाशित उनको कार्टुनमा एउटा मानिसले बोकेको टिभी क्यामेरा पानीको डिलबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

 

प्रसारणमा ‘फेक इन्डियन मिडिया’ लेखिएको छ र भेडाको बथान क्रमशः पानीमा हाम फाल्दै छ । वैशाख २ गते छापिएको अविनको कार्टुनमा त्यो समयको सकस प्रतिबिम्बित छ । ठूलो हलमा बालबालिका, वयस्क महिला पुरुष र वृद्धहरू यत्रतत्र लडेका छन्, आक्रान्त भएर चिच्याइरहेका छन्, सरकार, सरकार । बन्द गरिएको विशाल ढोकाबाहिरबाट भनिँदै छ, लकडाउन छ, बाहिर निस्किन मिल्दैन । असार ९ गते प्रकाशित रवि मिश्रको द्रव्यज्ञान स्कुल प्रालि–ठट्यौली कार्टुनले पनि त्यस समयमा चलेको चर्चाको अभिलेख गरेको छ । कोरोनाको प्रभाव देखाउने क्रममा उनको पात्र टेलिफोनमा भन्दै छ, ‘अनलाइन मात्र होइन अभिभावकज्यू सीधै नोटलाइन क्लास दिने हो । त्यसको नोट चैं दिइहाल्नोस् ।’ 

 

चौथो, तर सबैभन्दा महत्वपूर्ण पक्ष, यी कार्टुनमार्फत तनाव र बेचैनीबीच पनि कुशल कार्टुनिस्टहरूले मानिसको मुहारमा केही हाँसोका धर्सा उत्पन्न गराएका छन् । संसारका विभिन्न देशमा यसबीच सिर्जना गरिएका कार्टुनहरूमा काँडैकाँडाको डल्लाजस्तो देखिने यो भाइरसले कतै मान्छेलाई लखेटिरहेको छ, कतै सृष्टिको सर्वश्रेष्ठ प्राणीको सातो खाइरहेको छ । कोरोनाको संक्रमणमा पर्दा पनि मानिसको मनबाट त्रास धपाउने वा मनोबल गिर्न नदिने शक्ति भएका यस्ता कार्टुन र कमिक्स यसबीच मानिसलाई तनावमुक्त गराउने प्रभावकारी औषधि साबित भएका छन् । यिनीहरूले हामीलाई हरेक क्षणको त्रासबाट एकैछिन भए पनि मुक्त हुन सघाएका छन्, हाम्रो मनलाई शान्त पार्न मद्दत गरेका छन् । भदौ १६ गतेको यही दैनिकमा रवि मिश्रले ‘कर्नर किक’मा बेसारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीलाई कोरोनो भाइरसले अनौठोसँग हेरेर जिस्काइरहेको देखाएका छन् । पीडामा पनि हास्यरसको उदाहरण यो कार्टुनले प्रस्तुत गरेको छ ।

 

लकडाउनको घोषणासँगै नेपाल कोरोना भाइरसको चपेटामा परेको प्रस्ट भएपछिका दिनदेखि अहिलेसम्म छापिएका कार्टुनहरूलाई ससर्ती केलाउने हो भने समाजको मनोविज्ञानको अन्दाज गर्न सकिन्छ । गएको नयाँ वर्ष खल्लो भयो । त्यस दिन मात्र होइन, त्यसको धेरै दिनपछिसम्म नेपालीहरू बन्दाबन्दीमै परे । वैशाख १ गते वासु क्षितिजले यही मनोभावलाई कार्टुनमा उतारेका छन् । उनको शब्दविहीन सम्पादकीय कार्टुनमा नेपालको हराभरा सुन्दर परिधिमा बाहिरबाट डरलाग्दो कोरोना आउन खोजिरहेको देखाइएको छ । त्यस दिन अविनले पनि नयाँ वर्षलाई विषयवस्तु बनाएका छन् । उनले ०७६ शुभकामना भन्दै भाग्दै गरेको देखाएका छन् । उनको हास्य उत्सर्जन गर्न सफल कार्टुनमा ०७७ भीमकाय र खलनायक अनुहारको कोरोना भाइरसरूपी चुनौतीसँग हातमा सानो तरवार लिएर सामना गर्न अग्रसर भएको छ । 
                                                                                   ०००

 

पढ्ने श्रेणीमा पर्ने आमसञ्चार माध्यम अर्थात् आजका छापा वा इन्टरनेटमा आधारित डिजिटल माध्यम मक्लुहानको सिद्धान्तका आधारमा ‘हाई डेफिनेसन मिडिया’को वर्गमा पर्छन् । उनले यसप्रकारको मिडियाका तस्बिर र कार्टुनको पनि तुलना गरेका छन् । उनको विचारमा तस्बिर र कार्टुन दुवैका सन्दर्भमा एकल इन्द्रिय आँखाको प्रयोग हुन्छ । तर, अखबारभित्र पनि तस्बिरको तुलनामा कार्टुन ‘लो डेफिनेसन’ अर्थात् कम तथ्यांक भएको हुन्छ । कार्टुन पढ्ने प्रसंग यहीँनेर आउँछ । कार्टुनमा छानिएका वस्तुहरूको अर्थपूर्ण ढंगले चित्रण गरिएको हुन्छ । तस्बिरमा जस्तो क्यामेराको अगाडि पर्ने सबथोक कार्टुनमा समावेश भएको हुँदैन । कार्टुनमा व्यक्तिले खाली ठाउँ भर्ने मौका पाउँछ । त्यही कारण तस्बिरलाई मक्लुहान हट मान्छन् र कार्टुनलाई कुल । कार्टुन अर्थात् लो डेफिनेसनको यही कुल मिडियामा मानिस बढी डुब्छन्, तन्मयताका साथ खाली ठाउँ भर्दै, अर्थ लगाउँदै रमाउँछन् ।

 

समाजका यावत् विषयवस्तुका सम्बन्धमा कार्टुनले बडो कलात्मक ढंगले सहमति कायम गर्छ, घटना वा परिस्थितिका सम्बन्धमा ‘एडिटोरियलाइज्ड’ गर्दै अवधारणा पस्किन्छ । अखबारका पानामा घटना वा स्थितिले प्रायः समाचारका रूपमा प्रवेश पाउँछन् । समाचारका विषयवस्तुले गम्भीरता र प्रभाव वा विशिष्टताका आधारमा सम्पादकीय, टिप्पणी वा आलेखको खुड्किला चढ्न पाउँछन् । घटना, परिवेश वा परिस्थितिले कार्टुनमा पनि त्यही रीतमा ठाउँ पाउने गर्छन् । त्यसैले कार्टुनमा ठाउँ पाउने भन्नु नै कुनै पनि विषयवस्तुले महत्व पाउनु हो । कुनै पनि समाचारमा आएको विषयवस्तु कार्टुनमा समेटिएपछि आममानिसलाई त्यसले अझ बढी चियागफतर्फ उन्मुख गर्छ । नेपालमा कोरोनाको प्रभावका सम्बन्धमा अभिमत निर्माणको प्रक्रिया त्यस्तै विमर्शबाट अघि बढिरहेको छ । 

 

(डा. अर्यालले दुई दशकदेखि कार्टुनकलाको समीक्षा गर्दै आएका छन् । ‘नेपालमा कार्टुनकलाको इतिहास’ नामक उनको पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ ।)