• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
देवेन्द्र थुम्केली
२०७७ असोज १० शनिबार ०७:०२:००
समाज

कार्टुनको शक्ति

२०७७ असोज १० शनिबार ०७:०२:००
देवेन्द्र थुम्केली

कलाको ऐतिहासिकता
कलाको ऐतिहासिकतालाई नियाल्न गुफा युगसम्म पुग्नुपर्दछ । ती चित्र हेर्दा अतिरञ्जित रेखाजस्तो लाग्दछ, तर त्यतिवेलाको सापेक्षतामा ती उत्कृष्ट नै थिए । सिकारसम्बन्धी त्यस्ता चित्रले मानिसमा आत्मविश्वास बढाउँथ्यो । चित्र बनाउने परम्परा नवपाषाण युगपछि विकास भएका सबै सभ्यतामा जारी नै रह्यो, जुन अहिले पनि निरन्तर विभिन्न आकार, आकृति, रूप तथा शैलीमा आइरहेको छ । 

 

यस्तै, युरोपको पुनर्जागरण कालमा प्रसिद्ध कलाकार लियोनार्दो दा भिन्चीले पहिलोपटक मानिसको क्यारिकेचर बनाएको पाइन्छ । त्यसपछिका कतिपय कलाकारले मानिसको अनुहारलाई अतिरञ्जना गरी बनाउन थाले । क्यारिकेचर इटालियन भाषाबाट आएको हो । जसको भाव कुनै व्यक्ति अथवा वस्तुको रूपलाई रेखाद्वारा अतिरञ्जना गरी प्रस्तुत गर्नु भन्ने हुन्छ ।

 

कार्टुन आउनुअघि नै पुनर्जागरण (रेनेसाकाल)मा यसको प्रयोग कलाकारले गरिसकेका थिए । औद्योगिक क्रान्तिपछि विकास भएको प्रविधिले कलामा समेत नयाँ–नयाँ धार ल्याउन अभिप्रेरित गर्‍यो । क्यामेराको आविष्कारसँगै अनुहारचित्र बनाउने पेसा नै संकटमा पर्‍यो । कलाकारले क्यामेराका विरुद्ध सडकमै जुलुससम्म निकालेका थिए । पछि यसले कलामा नयाँ चिन्तनको विकास गर्न मद्दत गर्‍यो । यसैक्रममा छापाखाना र पत्रकारिताको विकाससँगै कार्टुनले स्थान पाउन थाल्यो । 

 

त्यस्तै, अमेरिकी कलाकार बेन्जामिन फ्रेङ्कलिनले सन् १७५४ मा बनाएको कार्टुनको पनि चर्चा व्यापक रूपमा भएको पाइन्छ । राजनीतिक सचेतनाका साथ कार्टुनचित्र बनाउने श्रेय फ्रान्सेली यथार्थवादी कलाकार अनरे दोमिएर (१८०८–१८७९) लाई जान्छ । हुन त उनीभन्दा अघि प्रसिद्ध फ्रान्सिस गोयाले पनि यस्ता चित्र बनाएका थिए ।

 

दोमिएरले असत्य, पाखण्ड र अन्यायलाई घृणा गर्दै बनाएका चित्रले फ्रान्समा मात्र नभई युरोपमै निकै तहल्का मच्चाएको थियो । उनले राजा, व्यापारी, राजनीतिज्ञ, न्यायाधीश, वकिल, चिकित्सक तथा समाजमा रहेका विविध विकृत पक्षमाथि व्यंग्य कसेको पाइन्छ । यही कारण उनी जेलसमेत जानुपरेको थियो । त्यसयता विश्वमा कार्टुनले व्यापकता पाउँदै गयो र अहिले पत्रकारिताको अभिन्न अंगको रूपमा रहन सकेको छ ।

 

नेपालमा कार्टुनचित्र
नेपालमा कार्टुनचित्र बनाउने क्रम कहिलेदेखि सुरु भयो, त्यसको यकिन इतिहास भने पाइएको छैन । नेपालमा धार्मिक तथा सामाजिक रूपमा कार्टुन बनाएको पाइन्छ । स्वस्थानी कथामा वर्णन गरिएअनुसार शिवजीले दक्ष प्रजापतिको टाउको बोकाको बनाएको प्रसंगसँग जोडेर बनाइएका चित्र पनि कार्टुन नै हुन् । यस्तै, गणेशको टाउको हात्तीको र शरीर मानिसको रहेको आकृतिलगायतका धार्मिक ग्रन्थमा वर्णन गरिएअनुसार कतिपय राक्षस गणको आकृति पनि वास्तविकभन्दा फरक कार्टुन रूपमै बनाएको पाइन्छ । 

 

राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको श्रीपेचलाई हात्तीको सुँढबाट निस्किएको पानीको फोहोराले फ्याँकिरहेको र राजाको (त्रिभुवन) श्रीपेच सिंहले जोगाइरहेको कार्टुन नेपाली राजनीतिमै महत्व राख्ने खालको छ । कलाकार चन्द्रमानसिंह मास्केले बनाएको उक्त कार्टुनमा हात्तीलाई जनता र कुकुरलाई राणाको प्रतीकका रूपमा देखाइएको छ । मास्केका परिवारका अनुसार १९९५ सालमै बनाइएको यही कार्टुनका कारण १९९७ सालमा चन्द्रमानलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय तोकियो । 

 

नेपालमा कलाकारिताका कारण सत्ताद्वारा जेल भोग्ने कलाकार मास्केसँगै अर्का कलाकार तेजबहादुर चित्रकारले १९८० सालमा कलकत्तामा पहिलोपटक कलाको औपचारिक शिक्षा लिन पुगेका थिए । राणाकै सहयोगमा पढेर आएका मास्केले जहानियाँ राणाशासनकै विरुद्ध कला रचना गरेर प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेका थिए । त्यसवेला राणाविरुद्धका पर्चा पम्प्लेटमा कार्टुन छापेर जनचेतना जगाउने काम गरिन्थ्यो । जसमा मास्के, केशव दुवाडी (दुवाडीका परिवारले जनाएअनुसार)लगायतका कलाकार सहभागी रहेको पाइन्थ्यो ।

 

००७ सालपछिको खुकुलो परिवेशमा केही कार्टुन बनाउने वातावरण भए पनि त्यति बनेको पाइँदैन । अहिलेसम्म भेटिएका कार्टुनमा गोवर्धनविक्रम शाहले तुलसी गिरीको लेख पढेपछि ‘संयुक्त प्रयास’मा २०१४ सालको साउन अंकमा छपाएको कार्टुन नै पहिलो अखबारी कार्टुन मानिएको छ । 

 

अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ले विमर्श साप्ताहिकमा ०४९ साल कात्तिक २१ गते तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका बारेमा बनाएको कार्टुनका कारण सम्पादक हरिहर विरही सात दिन जेल बस्नुपरेको थियो । कार्टुनमा नरिवलको रुखमा चढेका बाँदररूपी उपाध्यायलाई सत्तापक्ष कांग्रेसका नेता र प्रतिपक्ष नेकपा एमालेका नेताले नरिवल आफूतिर छिटो खसाल्न भनेको विषय छ । सत्ता पक्षले खोकनालाई आइन्दा यस्तो कार्टुन नबनाउन चेतावनी दियो ।


०००
गोरखापत्रमा ०५० साल फागुन २९ गते दुर्गा बराल ‘वात्स्यायन’ले बनाएको कार्टुनका कारण संसद्मा होहल्लासँगै संसद् अवरुद्ध नै भएको थियो । नेकपा एमालेले नेपाली कांग्रेसको सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फेल भएपछि सोही सन्दर्भमा बनाइएको कार्टुनमा मनमोहन अधिकारीले हातमा भाँचिएको तरबार लिएर पार्टी कार्यालय गइरहेको दृश्यलाई देखाइएको छ । यसै विषयलाई लिएर तत्कालीन सञ्चारमन्त्रीले स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

 

ज्ञानेन्द्र शाहले लोकतन्त्रको चीरहरण गर्दै सत्ता हातमा लिएपछिको सन्दर्भमा रहेर वात्स्यायनको ०६१ भदौ ५ गते कान्तिपुर दैनिकमा छापिएको कार्टुनका कारण सम्पादक नारायण वाग्लेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा स्पष्टीकरण दिनुपरेको थियो । साथै, तत्कालीन सञ्चारमन्त्री टंक ढकालले कान्तिपुरलाई कारबाही गर्ने चेतावनी दिएका थिए । कार्टुनमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले फोहोरमैला फ्याँक्ने ठाउँबाट सिनोरूपी गधा काँधमा बोकेर हिँडिरहेको दृश्य छ ।

 

सिनोमा संवैधानिक राजतन्त्र लेखिएको छ । कोइराला गणतन्त्रको पक्षमा नउभिई राजतन्त्रलाई बोकेको प्रसंगलाई कार्टुनमा प्रस्तुत गरिएको छ ।  कार्टुनिस्ट वासु क्षितिजले ज्ञानेन्द्रतन्त्रकै वेला ०६२ चैत १७ गते ‘बुधबार’ साप्ताहिकमा बनाएको कार्टुनका कारण प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौंले सम्पादक सूर्य थापासँग स्पष्टीकरण सोधेको थियो । भुटान र नेपालको राजतन्त्रको तुलना गर्दै बनाइएको उक्त कार्टुन प्रकाशनपछि पत्रिका नै बन्द गर्ने नियतले स्पष्टीकरण सोधिएको थियो ।

 

इन्डियन आइडल जितेपछि ‘प्रशान्त तामाङ काठमाडौंमा’ भन्ने विषयमा रही कार्टुनिस्ट रविन सायमीले ‘हिमाल’ पाक्षिक खबर पत्रिकामा बनाएको कार्टुनका कारण सम्पादकले क्षमा नै माग्नुपरेको थियो । कार्टुनमा एकातिर प्रशान्त तामाङका प्रशंसक खुसीको मुद्रामा रहेको देखाइएको छ भने अर्कोतिर मुम्बईको कोठीमा फूलमाया तामाङ रोइरहेको दृश्य छ । यस कार्टुनलाई लिएर तामाङ समुदायका अगुवाले विरोध गरेका थिए ।

 

माथि चर्चा गरिएका केही घटनाबाट कार्टुनको शक्ति र सत्ताको मनोवृत्तिलाई बुझ्न सकिन्छ । काटुनिस्टहरूमाथि सत्ताको प्रहार निरन्तर देखिन्छ । यसबाट बुझिन्छ, नेपाली कार्टुनको विकासक्रम राजनीतिक आन्दोलनसँग प्रत्यक्ष जोडिएको छ । राजा महेन्द्रको ०१७ सालको कदमपछि कार्टुन विधाले फस्टाउने अवसर नै पाएन । पञ्चायत कालभरि नै कार्टुनको सामथ्र्य र शक्तिले समाजलाई सचेत बनाउने सहज वातावरण नै पाएन । ००७ सालअघिको चरणदेखि ०६२/६३ को जनआन्दोलन र अहिलेसम्म आइपुग्दा कार्टुन जनस्तरमा निकै लोकप्रिय बनेको छ । गणतन्त्रकालमा चुनौतीसँगै नेपाली कार्टुनले फस्टाउने अवसर पाएको छ ।

 

कार्टुन : विसंगतिलाई कटाक्ष 
कार्टुन भनेकै विकृति, विसंगति तथा समाजका नकारात्मक पक्षमाथिको कटाक्ष पनि हो । सटिक रेखा वा रङद्वारा हास्यचेतसहित गरिएको प्रस्तुति नै कार्टुन अर्थात् ‘व्यंग्यचित्र’ हो । सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत मानव समाजमा सरोकार राख्ने हरविषय कार्टुनका आधार हुन् । शासन होस् या प्रशासन, शक्ति वा आशक्ति, विकृति होस् या कुरीति, अर्थात् यो संसारका लागि नकार मानिएका विषय कार्टुनका मुख्य खुराक हुन् ।

 

मानिस, समाज र राजनीति राम्रो होस्, मानिसको आचरण असल होस्, सबैमा सहिष्णु र समानताको भाव होस्, तर कार्टुनिस्टका लागि खुराक भने विकृत समाज, राजनीति, नेता र चरित्रले उत्पादन गरिरहेको हुन्छ । यस्तो अवस्था नआओस् भन्ने कामना गरौँ ! 

 

कार्टुन समाजलाई सचेत गराउने कलात्मक खुराक हो । अझ पत्रकारितामा यसलाई ‘चटनी/अचार’का रूपमा लिँदा पनि हुन्छ । कार्टुन रेखा वा रङद्वारा आमजनतामा सूचना र भावना पस्कने दृश्य भाषा हो । हुन त दृश्य भाषाको शक्ति निकै तेज हुन्छ । न त यसलाई बुझ्न भाषाको आवश्यकता पर्दछ, न त विश्वविद्यालयको कुनै पनि डिग्री । यसलाई बुझ्न मानिस, समाज, राजनीति, शक्ति या सत्ता आदिको रङ र चरित्र बुझे मात्रै हुन्छ । शब्दद्वारा थापिएका च्याँखे भकारीमा पनि घोत्लिरहनु पर्दैन । बस्, परख गर्ने भावना भए पुग्छ । हेर्‍यो, बुझ्यो, हाँस्यो रमायो, कार्टुनको शक्ति नै यही हो ।

 

कार्टुनको सामाथ्र्य भनेको सामाजिक तथा राजनीतिक कुरीति र बेथितिप्रति हदैसम्मको कठोर हुन सक्नु हो । अखबारमा आउने कार्टुन, जसमा आममानिसको सरोकारको विषय प्रतिबिम्बित हुन्छ, त्यो निकै ओजिलो र ग्रहणीय हुनुपर्छ । कुनै आग्रह वा पूर्वाग्रहविना गलत विषयमाथि न्यायोचित ढंगले हास्यसँगै व्यंग्यचेतसहित आएको कार्टुन नै मानिसको मन तथा हृदयलाई छुन सक्दछ । 

 

शिष्ट उद्देश्यद्वारा बनाइएका कार्टुन लोकतन्त्रका लागि सौन्दर्य र सचेतताको दियो हुन् । लोकतन्त्रलाई साँच्चिकै बलियो बनाउने हो भने पूर्वाग्रहरहित कार्टुनको विशिष्ट भूमिका छ ।

नेपालका कार्टुनिस्टहरू 
नेपाली कार्टुनमा शशिविक्रम शाह, टेकवीर मुखिया (उदय), दुर्गा बराल ‘वात्सायन’, कुलमानसिंह भण्डारी, बलराम थापा, मोहनश्याम महर्जन, उज्ज्वलकुन्दन ज्यापू, रामकुमार पाँडे, शरद रञ्जित (जुँगेमुठे), रमेशनाथ पाण्डे, मोहनश्याम महर्जन (खोकना)लगायतको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

 

त्यस्तै, मनुजबाबु मिश्र, मोदनाथ प्रश्रित, उत्तम खरेल, बैकुण्ठ श्रेष्ठ, शिवहरसिंह प्रधान, गेहेन्द्रमान अमात्य, अशोकमान सिं, मदन चित्रकार, राधेश्याम मुल्मी, जीवन राजोपाध्याय, सुरेन्द्रराज भट्टराई, धीरेशकुमार दहाल डिकेड, श्यामलाल श्रेष्ठ, जीवन आचार्य, गौतम मानन्धर, मोहन खड्का, मिलन शाक्य, शारदामान श्रेष्ठ, श्यामलाल श्रेष्ठ, नवीन्द्रमान राजभण्डारी, नारदमणि हार्तम्छाली, राजुबाबु शाक्य सारब, अविन श्रेष्ठ, रविन सायमी, राजेश केसी, योगेशकुमार खपाङ्गी, राजेश मानन्धर, देवेन्द्र पौडेल ‘देवेन’, कीर्तिकिशोर जोशी, सुनिल रञ्जित, सुवास क्षितिज, राजेश मानन्धर, वासु क्षितिज (वासुदेव श्रेष्ठ), रवि मिश्र, रविन्द्र मानन्धर, दिपक गौतम, रमेश विष्ट, रत्नसागर श्रेष्ठ, उत्तम नेपाल, विन्दु पौडेल, केशवराज खनाल, उमेशचन्द्र अधिकारी, भानु भट्टराई, अकृन अधिकारी, आरके थापा, पवन राजवंशी, कृष्णगोपाल श्रेष्ठ, रोहन कपाली, सागर शाह, सानुराज डंगोल, रामहरी रिमाल, पदम घलेलगायतको भूमिका विशेष रहेको छ । यस्तै, ‘भाँडभैलो’ (२०४२), ‘कामना’लगायतका पत्रिकाले समेत कार्टुनको सामथ्र्य बुझेर विशेषांक निकालेको पाइन्छ ।