• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राजेश केसी
२०७७ असोज १० शनिबार ०७:०८:००
समाज

क्याप्सन लेख्न साह्रै गाह्रो

२०७७ असोज १० शनिबार ०७:०८:००
राजेश केसी

मेडिकल कलेज माफियाकरण भइरहेको थियो । डा. गोविन्द केसी अनशनमा थिए । स्वास्थ्यमा सबैको पहुँच हुनुपर्छ भनेर आन्दोलनमा थिए । राजनीतिक शक्तिलाई हातमा लिएर मेडिकल कलेजहरू मनपर्दी काम गरिरहेका थिए । 

 

यसैवेला राजेश केसीले कार्टुन बनाए– शीर्षक छ, ताजा मेडिकल कलेज । टेबल छ । टेबलभरि छन्, एनाटोमी, डेन्टिस्ट्री, सर्जरी, मेन्टल डिपार्टमेन्ट । डिपार्टअनुसार खसी, कुखुरामा अंग छन् । टेबलमुनि डस्टबिनमा नाक, कान, घाँटी, हाडजोर्नी डिपार्ट छ । छेवैमा कुकुर छ । दाहिनेतिर फ्याकल्टी डिपार्ट छ । त्यही एकजना मानिस मासु काटिरहेका छन् । ‘चिकित्सक पैसाले होइन, मिहिनेत र लगनले हुने हो । पैसाका आधारमा डाक्टर बनेकाले कस्तो उपचार गर्छन् ?’ प्रश्न गर्दै केसी भन्छन्, ‘कमाउ धन्दा गरेर डाक्टर उत्पादन गर्नु मानिसको स्वास्थ्यमाथिको खेलबाड हो । यही परिवेशलाई कार्टुनमा समेटेको हुँ ।’

 

कार्टुन बनाउनुअघि केसी विषय फाइनल गर्छन् । राजनीतिक, सामाजिक समाचार, जनताको चासोको विषय, त्यसको जिम्मेवार पक्ष, चुनावी एजेन्डा बोकेर आउने राजनीतिक दल, ब्युरोक्रेसी र उनीहरूको कमजोरी पर्गेलिसकेपछि सन्दर्भ र विषयलाई जोडेर हेर्छन् । त्यसपछि एउटा विषय छनोट गरेर कार्टुन बनाउँछन् ।

 

‘कार्टुनको प्राविधिक पक्षलाई एकदेखि डेढ घन्टा लाग्छ,’ भन्छन्, ‘तर, क्याप्सन लेख्न साह्रै गाह्रो लाग्छ । सबैले बुझ्ने लेख्नुपर्छ । हास्य रस पनि हुनुपर्छ । त्यहाँ बढी घोत्लिन्छु ।’ आफूले बनाएको हरेक कार्टुनले अर्को कार्टुन अझै राम्रो बनाउन दबाब दिने अनुभव छ, केसीको ।