• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रवीन सायमी
२०७७ असोज १० शनिबार ०८:५८:००
समाज

परिवेशको मिहिन मूल्यांकन गरिरहन्छु

२०७७ असोज १० शनिबार ०८:५८:००
रवीन सायमी

प्रचण्ड, केपी ओली र पछाडि दुईजनाले माला लगाइएको कफन बोकिरहेका छन् । कफनमा ‘माओवाद’ लेखिएको हँसिया, हथौडा अंकित झन्डा लगाइएको छ । बादलमाथिबाट माओले हेरिरहेका छन् र भनिरहेका छन्, ‘प्रचण्डपथ’ । रबिन सायमीको कार्टुन हो, यो । 

 

एक समय थियो, प्रचण्ड–बाबुरामले माओवादलाई बोकेर हिँडेका थिए । एमाले पार्टीलाई बुर्जुवा भन्थे । मुक्तिका लागि, परिवर्तनका लागि दश वर्षसम्म विद्रोही बनेर हिँडे । उनीहरूलाई नेपाली जनताले साथ दिए । तर, पछि प्रचण्ड नेतृत्वको माओवादी पार्टी एमालेमा विलय भयो ।

 

‘नितान्त स्वार्थका लागि आन्दोलन गर्ने र स्वार्थ पूरा भएपछि आन्दोलन विसर्जन गर्ने,’ सायमी भन्छन्, ‘अहिलेको नेकपालाई एकीकरण भन्दिनँ, माओवादी एमाले बन्न गएको हो । नेपाली जनतालाई धोका दिएको माओवादी विद्र्रोह अन्तिममा आएर स्खलित भयो । एमाले पनि पछि आएर स्खलित भयो । यही कुरालाई नेकपाको एकीकरणताका देखाउन खोजेको हुँ ।’


कार्टुनिस्ट बनेपछि हरेक परिवेश र घटनाक्रममा मिहिन तवरले मूल्यांकन गरिरहनुपर्ने सायमी बताउँछन् । यसका साथै ती घटनाको इतिहास के थियो, त्यो परिवेशको उठान कसरी भयो, घटनाहरू किन घटिरहेका छन् भन्ने विश्लेषण गरेपछि कार्टुनमा काम सुरु गर्छन्, सायमी ।

 

कहिले संवाद प्रयोग गर्छन्, कहिले गर्दैनन्, यो कार्टुनको प्रकृतिअनुसार हुने उनको मत छ । भन्छन्, ‘जनताले बुझेको विषयलाई इतिहासको फ्रेममा राखेर व्यंग्यमार्फत कसरी भन्न सकिन्छ भन्दै गर्दा यो कार्टुन तयार भएको हो ।’ सायमीलाई कार्टुनको विषय फाइनल भएपछि चित्र बनाउन बढीमा चार–पाँच घन्टा लाग्छ । तर, कहिलेकाहीँ संवाद चुुस्त राख्नुपर्ने, आइडियामा अझै काम गर्नुपर्ने अवस्था लाग्यो भनेचाहिँ अझै बढी समय लगाउँछन् ।