• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १७ शनिबार १०:३५:००
फिल्म

मैले जुन गल्ती गरेँ नयाँ पुस्ताले त्यही दोहोर्‍याइरहेका छन् : नवीन सुब्बा

भारत ‘नेपोटिजम’को बहसमा लाग्दा हामी महानायकको वाहियात बहसतिर लाग्यौंँ

२०७७ असोज १७ शनिबार १०:३५:००

करिब दुई दशकअघि ‘नुमाफुङ’ सिनेमा बनाएका निर्देशक नवीन सुब्बा पछिल्लो समय मौलिक सिनेमा निर्माणमै व्यस्त छन् । सिनेमालाई समाजका बृहत् आयामसँग जोड्दै वैकल्पिक सौन्दर्यको निर्माणमा उनी निरन्तर अध्ययन र विमर्शरत छन् । चलचित्र विकास बोर्डले निर्माण गर्र्न खोजेको पाठ्यक्रमको वरिपरि रहेर नवीन प्यासीले उनीसँग संवाद गरेका छन् :

पछिल्लो समय चलचित्र विकास बोर्डले पाठ्यक्रम बनाएर विद्यालय तहबाटै सिनेमा पढाउन पहल गरिरहेको छ । सिनेमा विद्यालय र विश्वविद्यालयबाटै पढाउनु आवश्यक छ कि छैन ?

सिनेमालाई पाठ्यक्रममै समावेश गरेर पठनपाठन गर्ने कुरा आउनु सकारात्मक छ । विदेशतिर पनि लिबरल आर्टस् र एजुकेसनमा सिनेमा विधाको पढाइ हुन्छ । तर, कसरी पाठ्यक्रम बनाउने र के पढाउने भन्नेबारे जति छलफल हुनुपर्ने हो, त्यति भइरहेको देखिँदैन । विकास बोर्डको भनाइ सुन्दा सिनेमालाई बौद्धिक कर्म ठानिएको जस्तो लागिरहेको छैन । 

पाठ्यक्रम बनाएर खासमा सिनेमा निर्माणसम्बन्धी शिक्षा दिन खोजिएको हो कि, सिनेमालाई उपयोग गरेर शिक्षामा सहजता ल्याउन खोजिएको हो ? यसबारे तपाईंलार्ईं के लाग्छ ?

सिनेमा एक किसिमले समाजशास्त्र, मानवशास्त्र, संस्कृति, इतिहास र प्रविधि पनि हो । सिनेमालाई कुनै पनि विषयसँग सहकार्य गराउन सकिन्छ । जस्तै– पर्यटन विषयमा सिनेमाको उपयोग हुन सक्छ । त्यसो हुँदा पर्यटन विषय पढ्नेले पनि सिनेमा पढ्नुप¥यो । संस्कृतिको पठनपाठन हुँदा त्यहाँ पनि सिनेमालाई राख्न सकिन्छ ।

अहिलेको पाठ्यक्रममा पनि सानो–तिनो च्याप्टरमा सिनेमा पढाइ भइरहेकै छ । केही सिनेमा नै पढाउने कलेज पनि छन् । अब छुट्टै पाठ्यक्रम नै बनाउँदा सिनेमाको कुन–कुन आयामलाई समेटेर जाँदा राम्रो होला ?

सिनेमा अध्ययन ‘एप्रिसियसन’बाट सुरु गर्नुपर्छ । त्यो ‘एप्रिसियसन’ बच्चाबाट सुरु हुनुपर्छ । अहिले हामी अनलाइन कक्षाको अभ्यास गरिरहेका छौँ, त्यो पनि सिनेमाको एउटा माध्यम हो । सिनेमा कसरी बनाउनुपर्छ भनेर बच्चादेखि नै शिक्षित गर्न थाल्यौँ भने राम्रो हुन्छ । पछि उनीहरूको रुचि बढ्दै गएर सिनेमामै काम पनि गर्न सक्छन् ।

रुचि भएन भने पनि कम्तीमा सिनेमालाई बुझ्न सक्छन् । अर्को विषयचाहिँ पढाउने विषयलाई वर्गीकृत पनि गर्नुपर्छ । पाँच–सात वर्षसम्मका बालबालिकालाई पढाउने एउटा शिक्षा होला । १२–१५ वर्षकालाई अर्को, १८ वर्षसम्मका लाई अर्को र त्यसपछि करियरको रूपमा विकास गर्ने अर्को शिक्षा हुनुपर्छ होला । विद्यार्थीलाई सिनेमाले पर्यटन, खेलकुद, प्रविधिलगायतमा पुर्‍याउन सक्ने योगदानबारे अवगत पनि गराउनुपर्छ । राम्रो सिनेमा बनाउन प्रविधिबारे पनि अध्ययन गर्नुपर्छ । 

नेपाली सिनेमाले गलत कथ्य, भाष्य र मानकलाई बोकेर हिँडिरहेको छ भनिन्छ । नेपाली सिनेमा समाजभन्दा धेरै पर उभिएको छ पनि भनिन्छ । यो अभावलाई पाठ्यक्रमले परिपूर्ति गर्न सक्ला ?

हामीले यहाँ कस्ता सिनेमा बनाइरहेको छौंँ ? संसारभर कस्ता सिनेमा बनिरहेका छन् ? यसबारे तुलनात्मक अध्ययन हुनुपर्छ । हाम्रो र कोरियन सिनेमा उद्योग सँगसँगै सुुरु भएको हो । कोरियनहरूले श्रेष्ठ सिनेमा बनाएर अस्कर जित्न थाले । कोरियन र चिनियाँहरूले कस्ता सिनेमा बनाइरहेका छन्, हामीले के बनाइरहेका छौँ ? यो बुझ्नैपर्छ ।

हामीभन्दा धनी ती देशहरूले लगानीअनुरूपकै प्रतिफल पाए भनौँला । तर, अफ्रिकी मुलुकहरू नाइजेरिया, बुर्किना फासोलगायत देशमा पनि राम्रै फिल्म बनिरहेका छन् । ल्याटिन अमेरिकी देशहरू संसारभरकै बलियो सिनेमा बनाउने देश भएका छन् । कोलम्बिया, भेनेजुएला, पेरुलगायतले बनाएको सिनेमाको स्तर र हाम्रो सिनेमाको स्तर कहाँ छ ? त्यो त अध्ययन गर्नुपर्ने होला नि ! 

हामीले आलोचनात्मक रूपमा नेपाली सिनेमालाई हेरेनौँ । यही नै हाम्रो कमजोरी भयो । अहिले पनि हामी खोज–अनुसन्धान गर्दैनौँ । कुनै कुरालाई आलोचनात्मक भएर हेर्दैनौँ । अब पाठ्यक्रममा त आलोचनात्मक भएर हेर्न सक्छौँ नि ! जस्तो ‘राजेश हमालका सिनेमाहरू’ भनेर अध्ययन गरौँ । तर, हमालको सिनेमाको अध्ययन गर्दा समयलाई निर्देशित गर्‍यो कि गरेन, समयानुसार थियो कि थिएन, त्यसले नेपाली मौलिकता निर्माण गर्‍यो कि गरेन, अभिनयमा के थियो ? प्रविधिमा के आयो ? बजारीकरण गर्दा कहाँ समस्या भयो ? त्यो अध्ययन गर्न सक्छौँ । त्यो अध्ययनचाहिँ विश्वविद्यालय तहमा होला । विद्यालय तहमा सिनेमाको सामथ्र्य पढाउने, राम्रो सिनेमा भनेको के हो भनेर बुझाउनुपर्छ होला । त्यसले गर्दा भोलि आलोचनात्मक भएर हेर्ने जमात तयार हुन्छ । अघिल्लो पुस्तालाई प्रश्न गर्न नयाँ पुस्ता तयार भएन भने सिनेमाको विकास हुँदैन ।

हलिउड वा जापानको उद्योगलाई हेर्दा हरेक दश–दश वर्षमा विचारमा परिवर्तन आएको देखिन्छ । सिनेमालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिन्छ । जस्तो– ताइवानलाई लिने हो भने एक दशकपछि अर्को दशकमा पुग्दा अर्को पुस्ताले काम गरिरहेको हुन्छ । प्र्रत्येक दश वर्षमा नयाँ विचारले सिनेमालाई गाइड गरिरहेको हुन्छ । हाम्रोमा पचासको दशकमा पनि चालीसको दशकमा जस्तै सिनेमा बनाउने हो भने केको विकास ! 


‘डाइलेक्ट कोच’को महत्व छ । पश्चिममा डाइलेक्ट कोच हुन्छ । हामी यसलाई त्यति गम्भीरतापूर्वक लिँदैनौँ । पूर्वको राई, लिम्बूको डाइलेक्ट फरक हुन्छ । भोजपुरको राईले बोल्ने र खोटाङको राईले बोल्ने डाइलेक्ट फरक हुन्छ । हाम्रो उद्योगमा डाइलेक्ट कोच छैन । ‘लोकेसन स्काउट’ भनेर अलग्गै विभाग छैन । प्रोडक्सन डिजाइनरै छैन । 


म नयाँ सिनेमा बनाउने कोसिस गरिरहेको छु । सिनेम्याटोग्राफरचाहिँ बाहिरबाट आउँदै छन् । सिनेम्याटोग्राफरले ‘स्क्रिप्ट पढेँ, चित्त बुझ्यो, यो स्क्रिप्टमा मिलेर काम गरौँ, मलाई लुक्सबारे छलफल गर्न तिम्रो प्रोडक्सन डिजाइनरसँग कनेक्ट गराऊ’ भन्यो । हामीसँग अब प्रोडक्सन डिजाइनरै छैन, कसरी कनेक्ट गराउने ? हामी ठूलो कुरा गर्छौं, तर यति ल्याकिङ छ, त्यो ल्याकिङ भर्ने कोर्सहरू डिजाइन गर्नुपर्छ । को छ कस्टुम डिजाइनर ? एउटा मात्र राम्रो डिजाइनर भनौँ, जसलाई रङहरूको राम्रो ज्ञान होस् अनि संस्कृतिको । संस्कृतिको माध्यमबाट व्यक्तिको डिजाइन यसरी हुन्छ भनेर आइडिया दिन सक्ने, स्क्रिप्टलाई विश्लेषण गरेर काम गरोस् । त्यो हामीसँग छैन ।

 


इतिहासमा हामीले जे–जस्तो काम गर्‍यौँ, गरिसक्यौँ । अहिले त्यही इतिहास नपढी पनि भएन । यस्तो अवस्थामा नेपाली सिनेमाको इतिहासलाई पाठ्यक्रममा कसरी समेट्दा उपयुक्त होला ?

इतिहासका विषयलाई आलोचनात्मक भएर कसरी हेर्ने भनेरै शिक्षा दिने हो । ती सिनेमाहरू महान् मात्रै थिए भनेर शिक्षा दिने होइन । के कमजोरी थियो, सफलता के थिए, कस्तो सीमाबीच हाम्रो उद्योगले काम गर्‍यो ? अथवा त्यो सीमाबीच पनि काम हुन सक्थे होलान्, त्यो किन भएन ? त्यसबारे आलोचनात्मक रूपले हेर्न सकिने जनशक्ति निर्माण गर्नुपर्छ ।

पाठ्यक्रमबाट सबै मेकर नबन्लान्, तर शिक्षित दर्शक त बन्छन् नि ! किनकि हाम्रो उद्योगमा दर्शकको रुचिको पनि समस्या छ । त्रिभुवन विश्वविद्यालयका एकजना प्राध्यापकले भन्नुभयो, ‘म त मद्रासी फिल्म हेर्छु ।’ टियुको प्रोफेसरलाई समेत मद्रासी फिल्म मनपर्छ भनेपछि हाम्रो सौन्दर्य चेतना कहाँ छ ? हाम्रो सौन्दर्य चेतनामा कति ठूलो क्राइसिस छ भन्ने यहीँबाट प्रस्ट हुन्छ ।

म अमेरिका पुग्दा त्यहाँ के देखेँ भने नेपालीहरू नेपाली हास्यव्यंग्य सिरियल हेरेर बस्दा रहेछन् । अमेरिकामा पढ्ने विद्यार्थीसमेत हास्य सिरियल हेरेर बस्छन् भने ‘प्यारासाइट’जस्ता सिनेमा निर्माण गर्ने कल्पना कहाँबाट आउँछ ? त्यसैले दर्शकलाई पनि सिनेमा कसरी हेर्ने ? कुन राम्रो, कुन नराम्रो भन्ने विषयमा दीक्षित गर्न सकेनौँँ भने सिनेमाको विकास हुँदैन । 

हामीलाई असन्तुलितजस्तो लाग्ला, तर मीन भामले सात वर्ष मिहिनेत गरेर सिनेमा बनाए । दीपक रौनियारले पनि सात वर्षमा सिनेमा बनाए । उनीहरूमध्ये एकजनाले सात वर्ष लगाएर १८ पटकसम्म स्क्रिप्टको डाफ्ट लेखे रे भन्ने पनि सुनियो । तर, हेर्ने दर्शक को भइदियो ? उही हास्य सिरियल मन पराउनेहरू ! यहाँ दर्शक–मेकरबीच ग्याप छ । सिनेमाको विकास गर्न त्यो ग्यापलाई पनि मेट्नुपर्छ । भोलिका दर्शक भनेकै आजका बच्चा हुन् । पाठ्यक्रमले त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । 


दशकौँअघि बनेको फर्मुला नै नेपाली सिनेमाले अझै पछ्याइरहेको देखिन्छ । एक किसिमले दर्शकको मनोविज्ञान त्यही पुरानो फर्मुलामा अल्झिएको छ । यस विषयलाई पाठ्यक्रमले कसरी सम्बोधन गर्न सक्ला ?

हिजो जस्तो सिनेमा निर्माण भयो, आजसम्म पनि हामी त्यस्तै सिनेमा बनाइरहेका छौँ । एकाध राम्रो प्रयास भएका होलान् । तर, त्यस्ता सिनेमाले हाम्रो समाजलाई सम्बोधन गर्न सक्दैन । अब हिजोको भन्दा आलोचनात्मक हुनुपर्छ । सूत्रबद्ध सिनेमाले समाजलाई केही दिँदैन । 

 त्रिभुवन विश्वविद्यालयका एकजना प्राध्यापकले भन्नुभयो, ‘म त मद्रासी फिल्म हेर्छु ।’ टियुको प्रोफेसरलाई समेत मद्रासी फिल्म मनपर्छ भनेपछि हाम्रो सौन्दर्य चेतना कहाँ छ ? हाम्रो सौन्दर्य चेतनामा कति ठूलो क्राइसिस छ भन्ने यहीँबाट प्रस्ट हुन्छ ।

उता भारत नेपोटिजमको बहसमा लाग्यो । अहिले ड्रग्स केसतिर लाग्दै छ । राम्रो सिनेमा किन बनेन भनेर भारतीय सिनेकर्मीहरू बहस गरिरहेका छन् । यताका मान्छेचाहिँ महानायकको वाहियात डिबेट गरेर बसे । हाम्रा सिनेकर्मी र दर्शक कस्ता भए भने सुशान्तसिंह राजपुतले न्याय पाउनुपर्छ पनि भन्छन्, यता फलाना महानायक हुन् पनि भन्छन् । सुशान्तको हत्या त्यही ‘स्टार सिस्टम’ले गरेको हो । नेपाली सिनेकर्मी र दर्शक जुन स्टार सिस्टमले सुशान्तको हत्या गर्‍यो, त्यही स्टार सिस्टमको गुनगान गाउँदै देवत्वकरण गरेर बस्छन् । योभन्दा पाखण्डपन अरू के हुन सक्छ ? 


भारतीय फिल्म विगत चार दशकदेखि क्यान्समा परेको छैन । अस्कर त परको कुरा । अहिले त्यहाँ किन त्यस्तो भयो भनेर कारण खोज्दै जाँदा स्टार सिस्टमको खराबीले गर्दा भएको रहेछ भन्नेमा उनीहरू पुगिरहेका छन् । खासमा स्टार सिस्टमले सिनेमालाई सूत्रकरण गर्छ । राजेश हमालले कपाल नकाट्नु सूत्रकरण हो । उनले कपाल काटे दर्शक हेर्नै आउँदैन भनेको हो नि त्यो । त्यस्तो भएपछि विषय एकैप्रकारको हुने भयो । विषयमा विविधता नै आएन । सिनेमामा सूत्र निर्माण भएर त्यसको वरिपरि घुमिरहने भयो । विविधता भएन भने सिनेमा अघि बढ्दैन ।

कोरियन सिनेमा किन कोरियन सिनेमा भयो भने उनीहरूले विषयमा विविधीकरण गरे । त्यसमा आफ्नो जेनर निर्माण गरे ‘रोमान्टिसिजम’ । थाइल्यान्डतिर हेर्ने हो भने उनीहरू एउटै बेल्ट प्यासिफिक रिजनमा छन् । उनीहरूले कोरियनजस्तो सिनेमा बनायो भने आफ्नो चिनारी भेटिँदैन भनेर फरक जेनर लिए ‘हरर’ । अहिले हररमा संसारभरि राम्रो सिनेमा बनाउनेहरू सायद थाईहरू हुन् ।

उनीहरू सूत्रबद्ध सिनेमा बनाउँदा पनि त्यसरी हेर्छन् । तर, हामीले त्यो विश्लेषण नै गरेनौँ । हामी मसिना डिबेटमा अल्झियाैँ । एउटाले ब्रान्ड भन्यो, अर्कोले नायक भन्यो । कुरा एउटै हो । ब्रान्डले पनि उद्योगलाई उठाउँदैन, नायकले पनि । ब्रान्डवालाहरूलाई लाग्दो हो, ‘यो आकाश त मैले थामेको छु ।’ तर, यो सत्य होइन । पञ्चायती व्यवस्था मन पराउनेहरूले पनि भन्दो हो ‘हामीले सिनेमा सुरु नगरेको भए सिनेमा बन्थ्यो र ?’ तर, त्यसले केही अर्थ राख्छ ? यत्रो वर्षको उद्योगबाट हाम्रो उपलब्धिचाहिँ के हो त ? मात्रै जिरो । अन्तर्राष्ट्रियस्तरमा गएर ‘हामीले यस्तो सिनेमा बनाइरहेका छौँ’ भनेर गर्वले भन्न सक्छौँ ? सक्दैनौँ ।

वरुण धवनको तीन–चारवटा सिनेमा लगातार हिट भएपछि एक अन्तर्वार्तामा सोधियो, ‘तिमी त स्टार भयौ । यो न्यु फर्म स्टारडम कस्तो महसुस भइरहेको छ ?’ धवनको उत्तर थियो, ‘यो स्टारडमले त मान्छेमा एरोगेन्सी, इगो, अनि घमन्ड ल्याउँ दोरहेछ । अनि अर्कोचाहिँ सेफ प्ले अर्थात् आफूलाई सुरक्षित राख्ने काम गर्दो रहेछ । तर, म यो चारै चिजबाट टाढा रहेर असल कलाकार हुने कोसिसमा छु ।’ उनको कुरा स्टारडमले काम गर्दैन, उद्योगलाई कतै पनि पुर्‍याएन भन्ने हो ।

भारतको छुट्टै अनुहार स्थापित गर्ने काममा कहीँ न कहीँ चुकिरहेका छौँ भन्ने बोध उनीहरूले गरिरहेका छन् । वरुण धवनजस्तो नयाँ पुस्ताले जसरी बोलिरहेको छ, त्यसबाट काम भइरहेको छ । हामी त्यसरी किन सोचिरहेका छैनौँ भने समस्या हाम्रो सोचाइ पद्धतिमा छ । जबसम्म शिक्षा दिने र सिनेमा बनाउने मामलामा त्यो सुधार गर्न सक्दैनौँ, समस्या उही रहन्छ । 


अहिले पाठ्यक्रमको सर्वत्र चासो छ । पाठ्यक्रमले क्रिटिकल मास तयार गर्न सघाउला कि सत्ताको भक्तिगान गाउने जत्था तयार पार्ला ? 

संसारमा के भइरहेको छ भन्ने शिक्षा दिइएन भने अर्थ छैन । एउटा बच्चालाई योचाहिँ सही हो, यसरी हेर्नुपर्छ भनेर सिकाइयो भने त्यसले आलोचनात्मक हुन सिकाउँदैन । पाठ्यक्रम बनाउँदा हामीले तुलनात्मक अध्ययन पनि राख्नुपर्छ होला । त्यो राखियो भने भविष्यमा काम लाग्छ, नत्र ‘आउटडेटेड’ हुन्छ । ‘आउटडेटेड’ शिक्षाको त के मतलब रह्यो र ! 

नयाँ पुस्ता हिँडिरहेको बाटोमा समस्या देखिन्छ हाम्रो उद्योगमा दर्शकको रुचिको पनि समस्या छब्रान्ड र स्टारले उद्योग उठाउँदैन, बरु डुबाउँछ नेपाली सिनेमा उद्योग समावेशी छैन, अनुहार मात्रैले समावेशी हुँदैन

नेपाली सिनेमा उद्योगमा नयाँ पुस्ताको आगमनलाई कसरी हेरिरहनुभएको छ ?
नयाँ पुस्ता तयार भइरहेको छ भित्रभित्रै । अहिले नदेखिएको मात्र हो । पाँच–सात वर्षको अवधिमा नयाँ पुस्ताको एउटा ठूलो जमात देखिनेछ । अहिले भर्खरै ‘बुसान’मा हाम्रो तीनवटा सिनेमा छन् । तर, उनीहरू हिँडिरहेको बाटोमा चाहिँ अलि समस्या देखिन्छ । समस्या कहाँनेर हो भने हिजो सूत्रबद्ध सिनेमालाई फालेर ‘लुट’, ‘कबड्डी’ बनाउनेहरू फेरि उही सूत्रकै भुमरीमा फसे ।

उनीहरूले जे सोचेर सिनेमा निर्माण गरिरहेका थिए, त्यसलाई अगाडि बढाउनुपथ्र्यो । तर, फेरि अर्को सूत्रबद्धताकै वरिपरि घुम्न थाले । त्यसले गर्दा अहिले क्राएसिस भयो । उनीहरूले त बारम्बार आफूलाई प्रश्न गरिरहनुपथ्र्यो, त्यो गरेनन् । अर्को कुरा मैले जे गल्ती गरेँ, त्यही गल्ती अहिले साथीहरूले गरिरहनुभएको छ । मैले ‘नुमाफुङ’ बनाएपछि अर्को सिनेमा बनाउन नौ–दश वर्ष लगाएँ । मीन भाम र दीपक रौनियारलाई पाँच–सात वर्ष लागिरहेको छ । 


बढी गम्भीर र उत्तरदायी महसुस भएर सिनेमा बनाउन ढिलो भएको हो कि ? 
त्यस्तोभन्दा पनि हामीसँग निर्माणको एउटा तरिका छ, त्यही तरिकाका कारण ढिलो भइरहेको छ । त्यो तरिका भनेको विदेशी फन्डिङबाट सिनेमा बनाउने हो । मीन अथवा दीपकहरूले त्यही गरिरहेका छन् । सबै विदेशी फन्डको पछि कुदिरहेका छन् । त्यसले स्वाभाविक रूपमा ढिलाइ गरिदिन्छ । अर्को के हुँदो रहेछ भने मान्छेको ऊर्जाचाहिँ एकदमै छोटो समयसम्म हुँदो रहेछ, १० देखि १५ वर्ष । ३० वर्षदेखि ५० वर्षसम्ममा ऊर्जा जुन रहन्छ, त्यसपछि रहँदैन । ७० वर्षमा त्यो हुँदैन ।

मार्टिन स्कोर्सिसकै कुरा गर्दा या टेरेन्टिनोकै कुरा गर्दा पनि त्यो देखिन्छ । किम कि दुकलाई हेर्दा दुई वर्षमा एउटा या वर्षमा एउटा बनाएका छन् । छिरिङरिता या मैले चाहिँ त्यो गल्ती गर्‍यौँ । हामीले रेगुलर सिनेमा निर्माण गर्नुपथ्र्यो, त्यो समस्या अहिलेको पुस्तामा पनि देखिरहेको छु । त्यो उनीहरूको ऊर्जाको क्षतिजस्तो लागिरहेको छ ।

अहिले पनि आठ–दशजना पाइपलाइनमा राम्रा सिनेमा निर्देशक छन् । जसले साँच्चै नै काम गरिरहेका छन् । यो जनशक्तिलाई कसरी अगाडि बढाएर लाने भन्ने कुरा महत्वपूर्ण छ । उनीहरूलाई जुन प्ल्याटफर्म चाहिने हो, त्यो राज्यले बनाइदिएको छैन । साथीहरूले पनि व्यक्तिगत तवरले मात्र मिहिनेत गरिरहेका छन्, सामूहिक गरेका छैनन् । हाम्रो पनि त्यही कमजोरी थियो । हामीले गर्न सकेनौँ । 


सिनेमाहरू धेरै बनिरहेका छन् । तर, राजनीतिक, सामाजिक विषयमा गम्भीर सिनेमा बनिरहेका छैनन् भनिन्छ । यसलाई कसरी लिने ? गम्भीर सिनेकर्मीको खडेरी भएर हो ?

नेपाली सिनेमा उद्योग समावेशी छैन । अनुहार मात्रैले समावेशी हुँदैन । सिनेमा निर्माण गर्नेहरूको उमेर हेर्ने हो भने कति ? २५–२७ देखि ४० वरिपरि ? तिनीहरूले के सिनेमा बनाउँछन् ? त्यही प्रेमकथा । खै त सिनेमा मेकिङमा टिनएजहरूलाई, बूढापाकाहरूलाई, बालबालिकाहरूलाई ल्याएको ? सिनेमा बनाउन कहाँ उत्रियौँ त ?

कर्णाली, कैलाली, ताप्लेजुङ, जनकपुरको लाई कहाँ समेट्यौँ ? छैन नि ! अनि कसरी विविधता आउँछ ? जसले नीति–निर्माण गरिरहेको छ, सिनेमाको भिजनचाहिँ मैले बोकेको छु भन्छ, तर काम गर्दैन । समावेशी भनेको उमेरको, लिंगको कुरा पनि हो । यौनिक अल्पसंख्यक कहाँ ल्याएका छौँ ? गे सिनेमा मेकर कहाँ छ त ? यसरी आउँदा विषयको विविधता हुन्छ । त्यो हिसाबले मान्छेको खडेरी नै हो । 

सिनेक्षेत्रमा कोही कलाकारलाई स्टार भनेर ब्रान्डिङ गर्ने चलन छ । यो त दर्शकको मनोविज्ञानमाथि अन्याय भएन र ? 
सिनेमा भन्नाले दुईघन्टे सिनेमा मात्र सोच्नुभएन । हामीले हामीभित्रैबाट उद्योगको विकास गर्नुपर्‍यो । सिनेमा भनेको हाम्रा लागि के हो त ? हाम्रो सिनेमा अनुकरणबाट आयो । महेन्द्रले लिएर आए । निजी तवरबाट सिनेमा बन्न थाले । त्यतिन्जेल हामीलाई यसरी प्रशिक्षित गरियो कि सिनेमा भनेकै हिन्दी हो । यदि हामीलाई हिन्दीभन्दा अरू सिनेमाबाट अभ्यस्त गराइएको भए अर्कै अवस्था हुन्थ्यो ।

हामीले सिनेमालाई क्रिटिकल्ली हेर्न थालेको कति नै भयो र ? पत्रपत्रिकाले क्यान्स, अस्करबारे लेख्न थालेको कति नै भयो र ? मनोविज्ञानको कुरा गर्दा पचासको दशकपछि हलिउडमा स्टारभन्दा कलाकारको रूपमा आफूलाई प्रस्तुत गरे कलाकारले । अहिले हामीले स्टार बनाउने, ब्रान्ड बनाउने कुरा गरिरहँदा यसले उद्योगलाई डुबाउँछ । तर, सिनेमा भनेको आर्टको फर्म हो, कला हो, विचार निर्माणको ठाउँ हो भनियो भने यो दीर्घजीवी हुन्छ । होइन, स्टारले उद्योग चलाउँछ भन्ने ठानियो भने उद्योग डुब्छ । हामीले पाठ्यक्रम निर्माण गर्दा यस्ता विषय ख्याल गर्नुपर्छ ।