• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सृजना खड्का
२०७७ असोज १७ शनिबार ०७:०६:००
सम्झना

बेरोजगारको समाचार लेख्दालेख्दै आफैँ बेरोजगार भएँ

२०७७ असोज १७ शनिबार ०७:०६:००
सृजना खड्का

अहिले ‘द होमलेस एडिटर’ ब्लग चलाइरहेका रिच ज्याक्सन (५४) केही समयअघि अमेरिकी पत्रिका ‘द हेराइल्ड टाइम्स’का वरिष्ठ कार्यकारी सम्पादक थिए । मे महिनाको अन्तिमतिर उनी जागिरविहीन भए । अफिस जाँदै गर्दा पार्किङमै उनले आफू जागिरबाट निकालिएको खबर पाए । उनलाई अफिसले दिएको अपार्टमेन्ट तुरुन्तै खाली गर्न भनियो । जागिर खोसिएको दुई दिनमैै उनी बेघर पनि भए ।


दुःखद संयोग, घरबारविहीनका विषयमा कलम चलाइरहेका उनी आफैँ बेघर हुन पुगे । अमेरिका, इन्डियाना राज्यको ब्लुमिङ्टन सहरको एउटा मोटेलमा उनले शरण लिए । त्यहीँबाट ब्लग खोले, ‘द होमलेस एडिटर’ । उनको ब्लग एक लाखभन्दा बढी हेरिसकेका छन् । ब्लगमा उनले आफू मात्र आधा घन्टामा ‘समबडी’बाट ‘नोबडी’ भएको लेखेका छन् ।
०००
ज्याक्सनजस्तै म पनि ‘समबडी’बाट ‘नोबडी’ भएको डेढ महिना भयो । साउनको दोस्रो सातातिर हो, मैले जागिर गुमाएको । ज्याक्सनजस्तै पार्किङमा त होइन, तर रिपोर्टिङ गरेका कुरा ल्यापटपमा उतार्दै गर्दा जागिरविहीन भएको थाहा पाएँ । जसरी घरबारविहीनबारे समाचार लेखिरहेका ज्याक्सन जागिर गुमाउँदा आफैँ घरबारविहीन हुन पुगे, त्यसरी नै महामारीको मारमा परेर जागिरविहीन भएकाहरूमाथि कभर स्टोरी लेखिरहँदा म आफैँ जागिरविहीन हुन पुगेँ ।


कोराना संक्रमण बढ्न थालेपछि नेपाल सरकारले चैत ११ मा लकडाउन घोषणा गर्‍यो । त्यसपछि ‘वर्क फ्रम होम’ सुरु भयो । हरेक साता फेसबुकको म्यासेन्जरमा मिटिङ हुने गथ्र्यो । यो साता क–कसले के–के काम गर्ने टुंगो लगाइन्थ्यो । कभर स्टोरी प्रायः मेरै भागमा पथ्र्यो । त्यस साता कोरोनाका कारण जागिर गुमाएकाहरूबारे कभर स्टोरी गर्ने तय भएको थियो । स्टोरीका लागि होटल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा, पत्रकारितालगायत विभिन्न क्षेत्रमा रोजगारी गुमाएकाहरूसँग कुराकानी गरेकी थिएँ । उनीहरूको कथा–व्यथा उतार्न नपाउँदै आफैँ पनि त्यस कथाको पात्र बन्न पुगेँ ।


त्यसपछि कोरोनाकालमा जागिर गुमाएकी एकजना साथीलाई सम्झिएँ । जसलाई केही महिनाअघि मात्र सान्त्वना दिएकी थिएँ– ‘हिम्मत नहार, परिस्थिति सधैँ एकनास रहँदैन ।’ जागिर गुमाएपछि उनले फोन गरेकी थिइन्, ‘तिम्रोतिर कुनै ठाउँ खाली भए भन है ! जागिर त यस्तै हो, अब चटपटे बेचेर स्वरोजगार हुनुपर्ला ।’ 
पत्रकारितामा लामो समय बिताएकी उनी लकडाउन सुरु भएको महिना दिन नबित्दै बेरोजगार भइन् ।

उनी काम गर्ने मिडिया हाउसले धमाधम कर्मचारी कटौती गर्न थालेपछि ‘साहुको जागिर’ भन्दा स्वरोजगार हुने चाहना उनमा पलाएको थियो । त्यतिखेर नै हो, उनलाई हौसला दिएको । त्यसको केही महिनापछि सान्त्वनास्वरूप दिएका ती शब्द उनले मलाई नै फिर्ता गरिन्– ‘हिम्मत नहार, परिस्थिति सधैँ एकनास रहँदैन ।’


०००
‘वर्क फ्रम होम’मा काम तीन गुणाले थपियो । तीन गुणाले थपिएको कामको तलब भने आधा । सरसापटी गरी जेनतेन घरभाडा तिरेँ, घरखर्च चलाएँ । ‘काम ज्यादा, तलब आधा’ वर्क फ्रम होमलाई मैले यसरी बुझेँ । धेरैले ‘घरबाट काम गर्न त सजिलो हुन्छ नि !’ भन्थे । ‘घर बसी–बसी तलब’ भन्नेहरू पनि थिए । तर, ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ’ भनेजस्तै घरबाट काम गर्नुका दुःख मलाई नै थाहा थियो । 


सानो, कुचुक्क परेको कोठाको एउटा कुनामा बेडरुम, अर्को कुनामा किचन, तेस्रो कुना स्टडी रुम बनाएकी थिएँ । गाउँबाट पाहुना आउँदा त्यो कहिलेकाहीँ गेस्ट रुम पनि बन्ने गथ्र्यो । यति गर्दा पनि चौथो कुना खाली थियो । कोरोनाले त्यसलाई पनि भरिदियो । घरबाट काम गर्दा त्यो कुना मेरो अफिस बन्यो । भाइ, बहिनी र म । हामी तीनजनाको घर त्यही कोठा थियो । 


मैले अफिसमा काम गरिरहँदा बहिनीले भान्सामा खाना पकाउँथिन् । रिपोर्टिङका लागि फोनमा कुरा गरिरहँदा किचनमा कुकरमा सिठी बज्थ्यो...। अन्तर्वार्ता दिनेले ‘हेलो हेलो केही सुनिएन’ भन्दा अप्ठ्यारो महसुस हुन्थ्यो । लाजले भुतुक्कै हुन्थेँ । सिठी रोकिएपछि खिसिक्क हाँस्दै– ‘वर्क फ्रम होम, सर/म्याम’ भन्थेँ । 
घन्टौँ अन्तर्वार्ता गर्दा फोन तात्तिएर फुट्लाझैँ हुन्थ्यो । कान त्यसै रन्किन्थे ।


कोठामा नेट थिएन । आधा तलबमा डाटा लिने कि भाडा तिर्ने ? नेटका लागि छिमेकीको भर थियो । ढोका ढकढकाउँदै लुरुक्क छिमेकीको घरमा पस्नु सगरमाथा चढ्नुजस्तै थियो । त्यसमाथि रिपोर्टिङका लागि बाहिर हिँडिरहने मलाई छिमेकीले शंकाको दृष्टिले हेर्थे, ‘कोरोना पो ल्याई कि !’१० रुपैयाँको मास्कको भरमा फिल्डमा निस्किएको देख्ने छिमेकीको शंका पनि जायजै थियो । तर, वेला–वेलामा स्पष्ट पार्थें– ‘जोगिएर हिँड्छु, स्यानिटाइजर प्रयोग गर्छु, पन्जा लगाउँछु ।’ 


काम गर्न निकै गाह्रो भएपछि फराकिलो कोठामा सर्ने सोच बनाएँ । सरेँ पनि । कोठा भाडा दोब्बर तिर्नुपर्ने भयो । जसोतसो नेटको व्यवस्था पनि गरियो । तर, बित्यास ! डेरा सरेको हप्ता दिन नबित्दै जागिर गयो । ‘पत्रकारितामा लागेर के–के न गर्छु भन्थी, यसको जागिर नि देखियो’ भनेर आफन्तले जिस्काइरहेका वेला, ती दुई फराकिला कोठाले पनि आफूलाई गिज्याएजस्तो लाग्छ । टाट पल्टिएका वेला घरबेटीले पनि भाडा मागेर गिज्याउने दिन नजिकिँदै छ ।


०००
ख्यालठट्टामा साथीभाइमाझ हामी किबोर्डमा टाइपिङ गर्नुलाई ‘गिट्टी कुट्नु’ भन्छौँ । कसैले ‘के गरिरहेको’ भनी सोध्दा (समाचार लेखिरहेको वेला पर्‍यो भने) ‘गिट्टी कुट्दै छु’ भन्ने गर्छौं । ठुल्ठूला मिडिया हाउस ठड्याउन श्रमजीवी पत्रकारहरूले टनका टन गिट्टी कुटेका छन् । तर, विडम्बना गिट्टी कुट्दा उनीहरूको हातमा उठेका ठेला मिडिया मालिकले देखेनन् । महामारीको समयमा पत्रकारलाई गलहत्याएर निकाले । कतिपय पत्रकार अहिले पनि आधी तलबमा चित्त बुझाइरहेका छन् । बेतलबी बिदामा नाममा घरमा बस्न बाध्य बनाइएका पत्रकारको संख्या पनि कम छैन । 


पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार अहिले महासंघमा देशभरिका १३ हजार पत्रकार सदस्य छन् । तीमध्ये हालसम्म लगभग २० प्रतिशत पत्रकार बेराजगार भएका छन् । ‘महासंघमा आबद्ध १३ हजार पत्रकारमध्ये २६ सयजति कोरोनाको मारमा परेका छन्,’ अध्यक्ष आचार्यले भने, ‘कतिले रोजगारी गुमाएका छन् भने कतिले तलब नै पाएका छैनन् । त्यस्तै कतिपयलाई बेतलबी बिदामा राखिएको छ ।’ 

 

पत्रकारलाई ‘आवाजविहीनहरूको आवाज’ भनिन्छ । तर, महामारीले पत्रकारको आवाज नै खोसिदिएको छ । अरूका लागि बोल्ने, लेख्ने पत्रकार आफ्नै लागि बोल्न सकिरहेका छैनन् । लेख्न सकिरहेका छैनन् । ‘तैँ चुप, मै चुप’ छन् । ‘कोही जागिर जाने पिरले चुप छन्,’ आचार्यले भने, ‘कोही भविष्यमा जागिर नपाइएला भन्ने चिन्ताले चुप छन् ।’ 


श्रमजीवी पत्रकार ऐनको दफा २१ (२) र दफा २३ मा ‘सञ्चार संस्था बन्द हुँदा वा सम्बन्धित सञ्चार संस्थाले पत्रकार वा कर्मचारीको जागिर छुटाउँदा सम्बन्धित पत्रकारलाई तीन महिनाअघि नै सूचना दिनुपर्ने, पत्रकारलाई बिदा गर्दा दिनुपर्ने पारिश्रमिक, सेवासुविधाको हिसाबकिताब सबै चुक्ता गर्नुपर्ने’ व्यवस्था छ । तर, के कति मिडियाले यो नियम पालना गरेका छन् ?  सबैभन्दा बढी आवश्यकता रहेका वेलामै जागिरबाट निकालिँदा सोच्न बाध्य भएकी छु– ‘पत्रकारितामा भविष्य सुनिश्चित छ त ?’