• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रवि मिश्र
२०७७ असोज २४ शनिबार ०६:५१:००
साहित्य

बेस्ट अफ अबिन : एक भिजुअल इतिहास

अबिनको भिजुअल सेन्स गज्जब लाग्छ । त्यसको प्रस्तुति कला अझै गज्जब । उनका कार्टुन पावरफुल त हुन्छन् नै । ‘बेस्ट अफ अबिन’ यस्तै सिर्जनाहरूको संग्रह हो ।

२०७७ असोज २४ शनिबार ०६:५१:००
रवि मिश्र

एउटा चेसबोर्ड, जहाँ ‘किङ’ आत्तिएका छन् । असिनपसिन छन् । भाग्ने कुनै ठाउँ छैन । बच्ने कुनै स्टेप छैन । के गरौँ, कसो गरौँ अन्योलमा छन् । जनआन्दोलनले उनलाई ‘चेक’ दिएको छ । यसलाई सामना गर्ने वा पर भाग्ने विकल्प उनीसँग छैन । यो स्टेपमा आइपुग्दा राजा हारेका छन् । जनआन्दोलनले जितेको छ । यो त्यही स्टेप हो, जहाँ निरंकुशताको अन्त्य र जनताको इतिहास सुरु हुन्छ । 


‘बेस्ट अफ अबिन, भाग–२’ मा उल्लेखित सुरुकै कार्टुन हेर्दा लाग्यो– अबिनले कार्टुनसंग्रह भनेर इतिहासको किताब पो ल्याएका रहेछन् । जनताको नेतृत्व लिएकाहरूमा अन्योल छ– गिरिजाप्रसादले विघटन भइसकेको प्रतिनिधिसभा छोड्न सकेका छैनन् । प्रचण्डले हतियार । दुवै यी ठूला भारी बोकेर जीर्ण पुलमा पुग्छन्, पुल छिन्न खोज्छ । तर, दुवै आफ्नो भारी बिसाउने मुडमा छैनन् । एक–अर्कालाई भन्दै छन्, ‘पुलले थेग्लाजस्तो छैन । तपाईंको भारी 
फ्याँकिदिनोस् ।’


मधेसमा आन्दोलन हुन्छ, अन्तरिम संविधान र संसद् बन्छ । अन्तिममा संविधानसभा चुनाव हुन्छ । तत्कालीन माओबादी सबैभन्दा ठूलो दल हुन्छ । प्रचण्ड प्रधानमन्त्री हुन्छन् । त्यतिवेलाको राजनीतिझैँ प्रचण्ड कार्टुनमा पनि एकछत्र छाउन थाल्छन् । त्यही एक मोडमा प्रचण्डले तत्कालीन प्रधानसेनापतिलाई बेस्सरी लात मारेर गुल्टाइदिन्छन् । त्यही तोडले आफ्नै खुट्टा मर्काएर ढल्छन् । 


प्रधानमन्त्रीको पदमा माधव नेपाल आसीन हुन्छन् । बीचमा झलनाथ देखा पर्छन्, अनि बाबुराम । पटक–पटक प्रधानमन्त्रीको चुनावमा हारेकोहा¥यै गरेका रामचन्द्र पौडेल र देउवा यदाकदा देखिन्छन् । दोस्रो संविधानसभापछि कार्टुनमा सुशील कोइराला देखिन थाल्छन् । बीचमा भुइँचालोका केही दृश्यपछि संविधान जारी हुन्छ । मधेसमा फेरि आगो बल्छ । प्रम केपी ओली फुर्सदमा इनार खनौँला भन्दै निदाउँछन् । नाकाबन्दी हुन्छ । जनजीवन संकटमा पुग्छ । प्रधानमन्त्री ओली जनतालाई बोली मात्रै डेलिभर गर्छन् । 


एमाले माओवादी एकतापछि ओलीको नेतृत्वमा दुईतिहाइको सरकार बन्छ । उनमा दम्भ यति हुन्छ कि एक कार्टुनमा प्रम निकै होचो ढोकामा पुग्छन् । ढोकामा लेखिएको हुन्छ– कृपया झुकेर जानुहोला । ओली भन्छन्– दुईतिहाइ छ, दुईतिहाइ । झुक्ने त कुरै छैन ।


‘टु बी कन्टिन्यु’मा इतिहास गइरहन्छ । किताबको चाहिँ अन्तिम पेज आउँछ । यो आलोचनात्मक चेतसहित लेखिएको इतिहासको राम्रो किताब हो । यो त्यही इतिहास हो, जुन शासकको स्तुतिमा हैन, आलोचनामा लेखिएको छ । यहाँ विरक्तिलो महिमागान, शंखघण्टको कोलाहल र अगरबत्तीको नाथ्री फुटाउने गन्ध छैन । बरु हास्यव्यंग्य र कलाको बेजोड प्रस्तुति छ । 

 

अबिनको भिजुअल सेन्स गज्जब लाग्छ । त्यसको प्रस्तुति कला अझै गज्जब । उनका कार्टुन पावरफुल त हुन्छन् नै । ‘बेस्ट अफ अबिन’ यस्तै सिर्जनाहरूको संग्रह हो ।


यति हुँदाहुँदै पनि यस संग्रहका कार्टुनहरू प्रमुख राजनीतिक शक्तिकेन्द्रकै चरित्र चित्रणमा मात्रै बढी घुमिरहेका देखिन्छन् । तर, जनजीवनसँग प्रत्यक्ष जोडिएका विषय कार्टुनमा निकै कम भेटिन्छ । 


संग्रहका कार्टुनहरूले धेरैपटक खित्का छुटाउँछन् । तर, कार्टुनका व्यंग्यमा सधैँ हास्य मात्रै हुँदैन । कहिलेकाहीँ आँखै रसाउने भावुकता हुन्छ । कार्टुनमा गरिएको व्यंग्यले, आफैँले सिर्जना गरेका पात्रको ‘डाइलग’ कार्टुनिस्ट आफैँलाई चहर्‍याउँछ । पाठकको मन पनि अमिलो हुन्छ । जाजरकोटमा झाडापखालाको महामारी चलेको हुन्छ । जनता साधारण ओखती नपाएर मरेका हुन्छन् । तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग जनता गुनासो गरिरहेका हुन्छन्– तपाईंले त चुनाव हार्नुभो । हामीले त जिन्दगी हार्‍यौँ ।


कार्टुन बनाउनका लागि पहिलो र अनिवार्य सर्त हुन्छ– कार्टुन फुर्न पर्छ । तर, केही कार्टुन नफुर्दा पनि बनाइन्छ । पानी परेको वेला पिच गरेको कार्टुन नफुर्दा बनाइन्छ । कलेक्सनै बनाउने हो भने पिचवाला कार्टुनहरूको एउटा सानोतिनो किताबै बन्ला । यो पत्रिकाको ‘डेडलाइन’सँग कार्टुनिस्टले गरेको आत्मसमर्पण हो । यस पुस्तकमा पिचवाला कार्टुन नै दुईवटा पर्नु ‘रङ चोइस’ हो । 


अबिनको भिजुअल सेन्स गज्जब लाग्छ, प्रस्तुति कला अझै गज्जब । उनका कार्टुन पावरफुल त हुन्छन् नै, सामान्य कन्सेप्टमै पनि सानदार कार्टुन बनाउँदछन् । पात्रमा जीवन भर्छन् । विचारमा उस्तादी शिल्प दिएर भव्य सिर्जना गर्छन् । ‘बेस्ट अफ अबिन’ यस्तै सिर्जनाहरूको संग्रह हो । संग्रहभन्दा पनि बढी यो एक भिजुअल इतिहास हो ।