• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश धौलाकोटी काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०५:२३:००
समाज

हामी सधैँ जहाँको तहीँ

२०७७ कार्तिक १ शनिबार ०५:२३:००
प्रकाश धौलाकोटी काठमाडाैं

गाउँमा ‘दमाईं’ भनेर हेप्थे, सहरमा ‘टेलर’ भनेर हेप्छन्

‘घाउ पाकिरहन्छ, पोल्छ, चहर्‍याउँछ ।’ एउटा खुट्टा तेस्र्याएर बिछ्यौनामै हातेमेसिन चलाउँदै गरेका ६१ वर्षीय टिकाराम परियार भन्छन्, ‘डाक्टरले मलाई बचाउन मेरो दाहिने खुट्टो काटिदिए, त्यसयता बाँचे पनि मरेसरह छु ।’ उनले आफ्ना उम्दा उमेरका तीन दशक सडकमै लुगा सिएर बिताए । फाटेको लुगा सिएर धेरैको लाज ढाकिदिए । 

 

पसिना बगाएरै धानेका थिए, टिकारामले परिवार । तर, उनी अब गल्दै गएका छन् । तीन वर्ष भयो, उनी डेराको एउटा कुनामा साँघुरिएका छन् ।काठमाडौंको चावहिल चोकको गणेशथानभित्र छिरेपछि होचो एकतले टहराको साँघुरो कोठाको एकापट्टि एउटा खाट छ, त्यही हो उनको ओछ्यान र कार्यस्थल । सबै परिवार उनकै कमाइमा धानिएको छ । उनीमाथि परिवार भरथेक गर्ने जिम्मेवारी छ । तर, शरीरमा काम गर्ने तागत छैन । जोस, जाँगर र उत्साह सकिएको छ । सकिनसकी सियो र धागो उनिरहेका छन्, बिछ्यौनामै पल्टेर ।

                                                                                         ०००

 कुरा ०७४ को हो, दसैँ आउन थालेको थियो । उनको घर काभ्रेको चौंरीदेउराली गाउँपालिका–६, ज्यामिरे । गाउँमा १२ रोपनी पाखोबारी थियो, अनि एउटा घर । श्रीमती गोमादेवी, एउटा छोरा र दुई छोरी घरमा उनलाई पर्खिरहेका थिए । बारीमा फलेको अन्नपातले चार महिना मात्रै खान पुग्थ्यो । त्यसपछि घरको चुलो पनि उनकै हातखुट्टाको भरमा बल्थ्यो । दसैँको किनमेलका लागि अरू वेलाभन्दा अलि बढी कमाउनु थियो । हातले कपडाको सप्को मिलाउँथे, खुट्टाले आफैँ मेसिनको गति बढाउँथ्यो । एकैदिन दुई हजारसम्म कमाइ हुन्थ्यो त्यसवेला । तर, अचानक उनको खुट्टाको दुखाइ बढ्न थाल्यो । 

 

पुरानै समस्या हो भनेर तुरुन्तै अस्पताल पनि गएनन्, टिकाराम । बरु गाउँ गए । दसैँ, तिहार मनाए । काठमाडौं फर्किए । चिनेजानेकाले खट्टाले मेसिन चलाएकाले त्यसको असर परेको भनेर बिहान–बिहान हिँड्डुल गर्न सुझाब दिए । एक दिन हिँड्दा–हिँड्दै उनी सडकमै ढले । अस्पताल जाँदा निर्विकल्प भन्दै डाक्टरले उनको एउटा खुट्टा काटिदिए । त्यही वेलादेखि हो, उनको मेसिनको वेग घटेको । ‘पूरै जीवन लगाएर जोडेको जायजेथा सबै खुट्टो काट्नमै सकियो । बाँच्नका लागि यो हातेमेसिन चलाउँथँे, ‘टिकाराम भन्छन्, ‘लकडाउन भएपछि यो काम पनि रोकियो । अब कसरी बाँच्ने ?’

 

मनमोहन स्मृति अस्पतालमा उनको खुट्टाको अप्रेसन भएको थियो । उनलाई १७ दिन आइसियुमा राखियो, एकचोटि हैन, तीनपटकमा बल्ल उनको खुट्टा काटियो । डाक्टरले क्यान्सर हैन, सुगरका कारण उनको खुट्टा काट्नुपरेको भने । 

 

अस्पतालमै १४ लाख सकियो । गाउँको घरबारी बैंकमा राखेका छन् । ‘कमाउने खुट्टो काटिएपछि ऋणको किस्ता कसरी तिरूँ ? छोराले गर्छ कि भन्ने थियो, उसको पनि उस्तै हालत छ,’ उनी भन्छन् । केही महिनादेखि छोरा पनि बिरामी भएर ओछ्यान परेका छन् ।

 

खुट्टा काटिए पनि उनले दैनिक कम्तीमा ५ सय रुपैयाँ त ओछ्यानबाटै पनि कमाउँथे । ११ चैतबाट लकडाउन भएपछि साहुको पसल नै बन्द भयो, उनको काम पनि बन्द भयो । राहत र अरूको सहयोगले टिकाराम दम्पतीको चुलो धिपधिप बलिरहेको छ । अहिले पनि घाउ निको भएको छैन । औषधी खाइरहनुपर्छ । औषधी किन्नकै लागि मात्रै मासिक तीन हजार रुपैयाँ लाग्छ । कोठाभाडा पनि तीनै हजार छ । श्रीमती गोमादेवीलाई पनि धम्की रोग छ । श्रीमतीको उपचार पनि अब उनकै हातमा छ । ‘लकडाउन भएपछि भाडा तिर्न सकेको छैन, अस्पताल जानलाई पनि खर्च छैन, परीक्षण गराउन पनि गएको छैन,’ नमिठो यथार्थ टिकारामले सुनाए ।

 

०४५ सालतिरै हो उनी काठमाडौं आएको । त्यसवेला उनी बाबुको सल्लाहमै ७ रुपैयाँ भाडा तिरेर काठमाडौं आएका थिए । चावहिलमा मुख्य सडकमै परालका छाप्रा थिए । सिउने उनीहरूको पुर्ख्यौली काम हो, उनले पनि १४–१५ वर्षको हुँदा त्यही काम सिकिसकेका थिए । काठमाडौं आएर त्यही सीप तिखारे । 

 

गाउँमा थोरै जग्गा जोडेका थिए । झन्डै पाँच लाख रुपैयाँ खर्चिएर नयाँ घर बनाएका थिए । दौरा–सुरुवाल, ढाकाटोपी, चौबन्दी सिलाउन उनी माहिर छन् । काठमाडौं आउनेबित्तिकै उनी चावहिलका श्रीहरि श्रेष्ठको ‘अलंकार कपडा पसल’मा काम गर्न थाले, पसलको सटरछेउ बसेर । मेसिन साहुले दिन्थे, धागो, सियो र कपडा पनि साहुकै । सीप मात्रै उनको । सिलाएबापत आउने पैसो भने आधा–आधा गर्नुपथ्र्यो । अलंकारमा सिएका कपडा नेपाली फिल्मको सुटिङमा प्रयोग हुन्थे । अलंकार त्यस्तै वेशभूषाका लागि चर्चित थियो । 

 

टिकारामले तामाङ, शेर्पा, गुरुङ र मगरका सबै वेशभूषा सिलाए । धेरै लेखपढ नगरेका भए पनि देशी–विदेशी नयाँ पहिरनका नमुना हेरेर दुरुस्तै उतार्थे । त्यसवेला मासिक २५ हजार रुपैयाँ कमाइ हुन्थ्यो । 

 

टिकारामलाई पछुतो छ, उनले ३ कक्षा मात्रै पढे । स्कुल जाने बाटोमा खोला थियो । खोलाले स्कुलसँगको सम्बन्ध तोडिदियो । ‘सीप त छ नि, तर पढेको छैन, पुँजी पनि छैन, व्यवसाय कसरी गर्ने थाहै भएन,’ टिकाराम भन्छन् । 

 

टिकारामले हेर्दाहेर्दा चावहिल चोकमा महलहरू ठडिए । उनी भन्छन्, ‘हामी सधैँ जहाँको त्यहीँ ।’ अहिले उनीसँग सम्पत्तिको नाममा एउटा हातेमेसिन मात्रै छ । सीप र श्रमलाई सम्मान गरेको टिकारामले आजसम्म देख्न पाएनन् । उनले सिएर धेरैको लाज ढाके, तर उनको इज्जत कहिल्यै बढेन । उनको हैसियत कहिल्यै बढेन । गाउँमा ‘दमाईं’ भनेर हेप्थे, सहरमा ‘टेलर’ भनेर हेप्छन् उनलाई । उनी भन्छन्, ‘विभेद र अभावमै जीवन गुजारियो ।’ 

                                                                                        ०००

 नयाँ बानेश्वर संसद् भवनदेखि दुई सय मिटर टाढा । सडकको एउटा किनारामा बोरा ओछ्याइएको छ । त्यहीँ बसेका छन्, उमेरले ५० नाघेका रामदयाल महरा (राम) । बाँकी ठाउँमा केही थान पालिसका बट्टा, ब्रस, कैंची, सुपरग्लुका बट्टा, लेस, सियो र धागो राखिएको छ । छेउमा बिग्रिएका छाताका करङ मुठो पारेर राखेका छन् । अगाडि एउटा होचो मुडा पनि छ, आउने ग्राहकका लागि । यो उनको पसल हो । उनको जीवन हो । परिवारको भरोसा हो । उनको पसलमा पुग्दा उनी कालो जुत्ता टल्काउँदै थिए । उनले यसैगरी सडकमा जुत्ता टल्काउन थालेको २७ वर्ष भएछ । 

 

उनले टल्काएका जुत्ता संसद् छिर्छन्, सिंहदरबार डुल्छन् । तिनै जुत्तामाथि उभिएका पैतालाले देशको कानुन बनाउँछन् । उनले टालेका जुत्ताले जनयुद्ध लडे, दोस्रो जनआन्दोलन भोगे । बानेश्वरका कैयौँ सभा, सम्मेलनमा टाँसिएको धुलो उनले पुछेका छन्, आफ्नै खाली हातले । तर परिवर्तनको प्रभाव उनको जीवनमा परेको छैन । 

 

बरु ती पैतालाले अहिले छाला टेक्न छाडेकामा चिन्ता थपिएको छ, उनको मनमा । छेउमा आकर्षक डिजाइनका देशी–विदेशी जुत्ता सजाइएको सोरुम छ । मान्छेहरू जुत्ता फाट्न नपाउँदै नयाँ जुत्ता किन्न आउँछन्, तर टाल्न आउँदैनन् । नयाँ जुत्ता–चप्पल किन्दा डिजाइन मन नपरेर परिवर्तन गर्न परे वा सानो बनाउन परे मात्रै उनीकहाँ आउँछन् । ‘यस्तै हो भने अब कामै नपाइएला कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘मान्छेले छालाका जुत्ता लगाउनै छाडे, सिलाउने कामै पर्दैन ।’ 

 

वर्षामा खेतीपाती गरेपछि बाँकी महिना गाउँका युवा सबै पन्जाब जान्थे । विदेश जाने चलन थिएन त्यसवेला, ४–५ महिना पन्जाब बसेपछि १२–१५ हजार लिएर गाउँ फर्किन्थे । सुरुमा उनले पनि त्यसै गरे । जुत्ता सिउने, टाल्ने, पालिस गर्ने त बाबुबाजेको पालादेखि गर्दै आएको काम, उनले घरैमा सिके । तर, त्यसबाट परिवार चल्ने अवस्था थिएन । गाउँका केही साथी काठमाडौं बस्थे, त्यहीँ काम गर्थे । त्यो थाहा पाएपछि श्रीमती र कलिलो छोरो घरमा (सिराहा) छाडेर उनी काठमाडौं आए । अहिले पनि उनी यहाँ एक्लै बस्छन् । ‘साँघुरो बाटो, खुला चौर थियो, ठूला घरहरू थिएनन्,’ पहिलोपटक आउँदा देखेको बानेश्वरको दृश्य सम्झिँदै उनी भन्छन्, ‘हामी त्यही चौरमा बसेर काम गर्न थाल्यौँ, पालिस गरेको ५ रुपैयाँ दिन्थे, सोल फेरेको ४० रुपैयाँ । महिनाभर गर्दा १० हजारसम्म कमाइ हुन्थ्यो ।’ 

 

अहिले पनि रामदयाल काठमाडौंको सडकमा संघर्ष गरिरहेका छन् । दुई छोरामध्ये एउटाले ११ कक्षासम्म पढे । अर्कोले १० मात्रै । गरिबीकै कारण धेरै पढाउन नसकेको उनी बताउँछन् ।

 

कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुम्ने अवस्था आयो । कोठाभाडा मात्रै चार हजार तिर्नुपर्छ । लकडाउन भएपछि उनले साइकलमा फलफूल बेच्ने काम गरे, कति छाक राम्रो खानसमेत पाएनन्, तर डेराभाडा तिरे ।

 

अहिले जुत्ता पालिस गर्दा ५० रुपैयाँ मिल्छ । सामान्य अवस्थामा दिनमा पन्ध्र सयसम्म कमाउँछन् । तर, कहिलेकाहीँ पाँच सय मात्रै पनि हुन्छ । उनी भन्दै थिए, ‘आज त बोनी पनि भएको छैन ।’

 

मधेसमा दलितमाथि हुने अन्यायको कुनै सीमा छैन । उनी भन्छन्, ‘पहिले त बस्ने घर पनि थिएन, अहिले कमसेकम घर छ ।’ काठमाडौं आएपछि पनि उनलाई विभेदले भने पछ्याइरह्यो । सडकमा जुत्ता सिलाउने भनेर हेप्ने गरेका अनगिन्ती क्षणहरू उनको स्मृतिमा ताजै छन् । 

                                                                                               ०००

 सहरका सडकमा, सडकपेटीमा टिकाराम र रामदयालहरू चोकैपिच्छे छन् । तर, अनौपचारिक क्षेत्रमा काम गर्ने यी श्रमिकहरूलाई देशले चिन्दैन । अझ कोरोनाले उनीहरूको गाँस खोसेको छ । संघीय राजधानी काठमाडौंमा मात्रै यस्ता श्रमिकको संख्या कति होला ? कसैसँग पनि आधिकारिक तथ्यांक छैन । सरकार यस्ता श्रमिकलाई प्रोत्साहन हैन, उनीहरूको विवरणसमेत राख्दैन । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अनुसार देशभर एक लाख २५ हजार सिलाइ व्यवसाय गर्ने मानिस छन् । 

 

महासंघका उपाध्यक्ष ईश्वर नेपाली भन्छन्, ‘तीमध्ये २० हजारजति महासंघमा आबद्ध छन्, जो आफैँ व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन्, बाँकी एक लाखभन्दा बढी त यसैगरी घर, सडक र सार्वजनिक स्थलमा पुख्र्यौली पेसा गरेर जीविकोपार्जन गरिरहेका छन् ।’ छाला र जुत्ताका काम गर्नेहरूको पनि महासंघ त छ, तर त्यहाँ पुर्ख्यौली पेसा गर्नेहरू छैनन् ।

 

कुनै वेला जुत्ता सिलाउने, कपडा सिलाउने र फलामको काम गर्नेहरू सार्की, दमाईं र कामी मात्रै हुन्थे । त्यसवेला उनीहरूको पारिश्रमिक हुन्थेन । तर, समय क्रममा तिनै पेसा व्यावसायिक बने । औद्योगिकीकरण भयो । अहिले गैरदलितले तिनै पेसा गरेर मनग्ये आम्दानी गरिरहेका छन् । उपाध्यक्ष नेपाली भन्छन्, ‘दलितसँग लगानी गर्ने पुँजी नै छैन, सरकार दलितलाई उद्यमी बन्न प्रोत्साहन गर्दैन, त्यसैले यी पेसामा दलितभन्दा गैरदलित हाबी भइसके ।’ पेसा जसले पनि गर्न पाउँछ, पाउनुपर्छ । तर, पुस्तौँदेखि यिनै काम गरेर जीविकोपार्जन गर्दै आएका दलितहरू भने यो पेसाबाट किन विमुख भइरहेका छन् त ? यो प्रश्न पेचिलो बनेको छ ।