• वि.सं २०७७ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2020
सागर चन्द काठमाडाैं
२०७७ कार्तिक १ शनिबार ०९:३८:००
समाज

एक खेप इँटा बोकेको पहिला ५ अहिले ३ रुपैयाँ

२०७७ कार्तिक १ शनिबार ०९:३८:००
सागर चन्द काठमाडाैं

दृश्य १

 

रानीपोखरीसँगै जोडिएको अशोकवाटिका किनारको फुटपाथमा हरेक बिहान मानिसहरूको भिड हुन्छ । थर्मसमा चिया बेच्नेदेखि पत्रिकाका हेडलाइन चिच्याउँदै पत्रिका बेच्नेहरू यहाँ जम्मा हुन्छन् । यो स्थानलाई कोही रत्नपार्क भन्छन्, कोही भोटाहिटी चोक भन्छन्, कोही रानीपोखरी पनि भन्छन् । 

 

तर, केही मानिसका लागि भने यो ‘मजदुर चोक’ हो । लेबर चोक हो । हरेक बिहान यो चोकमा मजदुरको बोली लाग्छ । ठेकेदारहरू आउँछन्, मजदुरको मोलमोलाइ गरी लिएर जान्छन् ।

 

                                                                                      ०००

 

क्याप टोपी, काँधमा सानो झोला र खुट्टामा गम बुट भिरेका सुमन लामा (३२) सडक किनारको बारमा बसेर आफ्नो बोली लाग्ने मौका कुरेर बसेका छन् । धादिङ झोर्लाङका लामा हरेक दिन यसरी नै मजदुर चोकमा आउँछन् । मोलमोलाइ मिल्यो भने काममा जान्छन् । ‘कहिले काम पाइन्छ, कहिले पाइँदैन,’ उनी सुनाउँछन् । काम पाइएन भने ? ‘कोठामै फर्किन्छु,’ विकल्पहीन जवाफ छ उनीसँग ।

 

झोँछेमा १५ सय रुपैयाँमा मासिक भाडा तिरेर बस्छन् उनी र उनको तीनजनाको परिवार । गाउँ छाडेर ४ वर्षअगाडि उनी विदेश जान भनेर काठमाडौं छिरेका हुन् । ‘खर्च जुटाउन सकिएन,’ अरू कसैले सुन्छ कि झैँ गरेर उनले बिस्तारै भने । विदेश जाँदा लाग्ने खर्च नभएपछि उनी निर्माण मजदुरको काम गर्न थाले । गाउँबाट श्रीमती र छोरा पनि बोलाए ।

 

परिवार पनि सहर आएपछि आर्थिक भार बढ्यो । तर, आम्दानी बढेन । आम्दानी बढाउन उनले श्रीमतीलाई अर्काको घर–घर गएर भाँडा, लुगा धुने काममा लगाए । कोरोना कहर सुरु भएसँगै लामाकी श्रीमतीको काम खोसियो । लकडाउन अवधिभर लामाको पनि काम रोकियो । राहत र स्वयंसेवीहरूले दिएको अन्नको भरमा लामाको परिवारले लकडाउन कटायो । ‘कति छाक त भोकै बसियो, भो कुरै नगरौँ,’ उनले प्रसंग बदल्न चाहे । लकडाउनले काम खोसिँदा भोकै परेको लामाको परिवारले घरबेटीबाट बारम्बार कोठाबाट निकालिने धम्की खेप्नुपर्‍यो । कोरोना कहरमाथि घरबेटीको कहर थपियो । 
‘यस्तै हो हजुर ! भोकै बस्ने, गाली, धम्की खाने बानी परिसक्यो,’ उनी सामान्यीकरण गर्दै भन्छन् । 

 

‘प्लास्टर गर्ने मिस्त्री छ कोही ?’ भिडमा कसैले सोध्यो ।

 

बसिरहेको बारबाट हतार–हतार ओर्लिंदै लामाले भने, ‘म छु हजुर !’

 

‘मिटरको सय रुपैयाँ । काम राति गर्नुपर्छ ।’ ठेकेदारले काम सम्झायो ।

 

‘हुन्छ हजुर !’ लामाले काम पाए । ठेकेदारको फोन नम्बर लिएर उनी कोठा जान भनेर हिँडे । जाँदा, जाँदै उनले भने, ‘यसरी नै चल्छ गुजारा ।’

 

दृश्य २ 

 

भक्तपुर, जगातीको गणेश इँटाभट्टामा काँचो इँटा ओसारिरहेकी छिन्, कामना बुढा । इँटाभट्टामा काम गरेको यो उनको पहिलो अनुभव हो । ‘अन्न सकिएपछि काम गर्न आएको,’ निधारको पसिना पुछ्दै उनले सुनाइन् ।

 

२१ वर्षीय कामना आफ्ना श्रीमान्सँग बस्थिन् । श्रीमान् ज्यामी काम गर्थे । कामना घरमै बच्चा स्यहार्थिन् । लकडाउन भएपछि श्रीमान्को काम खोसियो । कोठाको अन्न सकिन थाल्यो । पसलेले उधारो दिन छाडे । घरबेटीले भाडा माग्न थालेपछि कामना ५ वर्षे बच्चा कोठामा छाडेर इँटा बोक्न आइन् । 

 

रोल्पा थवाङकी कामनालाई इँटा बोकेर कति रुपैयाँ आम्दानी हुन्छ भन्ने पनि थाहा छैन । ‘खाना सक्केर आको, कति दिन्छन् थाहा छैन । खाना पुग्ने पैसा त दिन्छन् होला नि !’

 

दोलखाकी लक्ष्मी ढुंगेल पनि कोठामा खाना सकिन थालेपछि इँटा बोक्न आएकी छिन् । दुई बच्चाकी आमा उनी एकल आमा हुन् । घरमा भाँडा माझ्ने, लुगा धुने काम गर्ने लक्ष्मीले काम पाउन छाडेपछि इँटा बोक्न सुरु गरेकी हुन् ।

 

‘महिनौँ भइसक्यो काम नभएको, बच्चा पाल्नैपर्‍यो,’ चर्को घाम, मान्छे नै ढाक्ने गरी उडेको धुलो अनि कोरोना कहरमा काम गरिरहेकी लक्ष्मीले मास्कसमेत लगाएकी छैनन् । चार हजार रुपैयाँ कोठाभाडा तिर्न नसकेको सुनाउँदै लक्ष्मी भन्छिन्, ‘खाने माना छैन, कोठाभाडा मागेकामाग्यै छन् । भात खानु कि भाडा तिर्नु ?’

 

इँटाको चाङले घेरिएको सानो छाप्रो अगाडि उभिएकी पुनिकला इँटाको धुलो टकटक्याउँदै छिन् । भर्खरै मात्र हो, उनको काम सुरु भएको । यसअघिको लकडाउनमा उनले इँटा बोक्ने कामबाट फुर्सद पाइन् । त्यो फुर्सदले उनलाई आराम होइन, सास्ती दियो । लकडाउनले काम रोक्यो । आम्दानी पनि रोकियो । पुनिकलाजस्ता मजदुरका लागि आम्दानी रोकिनु गाँस रोकिनु हो ।

 

रोल्पा घर्ती गाउँकी पुनिकला मगर दुई वर्षअघि श्रीमान्को मृत्यु भएपछि काठमाडौं आइन् । ‘बड्डाको उपचार गर्दा लागेको रिन पखालौँ भनेर आको,’ पुनिकलाले भनिन् । ४२ वर्षीया पुनिकलाले श्रीमान्को उपचार गर्दा लागेको रिन अझै तिर्न सकेकी छैनन् । 

 

अहिले काम सुरु भए पनि पहिलेभन्दा कम ज्याला पाइन्छ । पहिला एक खेप इँटा बोकेको ५ रुपैयाँ पाइन्थ्यो । अहिले तीन रुपैयाँ । यति थोरै ज्यालामा पेट पाल्ने कि ऋण तिर्ने उनले निक्र्योल गर्न सकेकी छैनन् । ‘खाने माना त पुग्दैन, यो रुप्पेले । घाममा सुकाएजस्तो हुने भो मान्छे त,’ पुनिकला सुनाउँछिन् । रिन तिर्ने पैसा कमाउन आएकी पुनिकलाले आफ्नो सानो छोरा गाउँमै छाडेर आएकी छिन् । ‘बुढी आमाको भरोसामा बच्चा छाडेर आको,’ चुरोटको धुवाँ उडाउँदै पुनिकला भन्छिन्, ‘फुनमा बच्चाको स्वर सुनेर डाँको हालेर रुन मन लाग्छ ।’

 

एकातिर ऋण, अर्कोतिर बच्चाको माया त्यसैमाथि भोको पेटसँग संघर्ष गरिरहेकी पुनिकला सुनाउँछिन्, ‘खुराकै नपुगेर मर्ने भो, रिन त क्यारी तिर्न सकिएला र यो जुनीमा ?,’ रोल्पाली लवजमा पुनिकला भन्छिन्, ‘रिन तिर्न पनि त बाँच्नुपर्‍यो ।’