• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राबत
२०७७ कार्तिक १ शनिबार ०९:००:००
सम्झना

अझै डेरा सर्दै छु

२०७७ कार्तिक १ शनिबार ०९:००:००
राबत

लगभग अनिँदोजस्तै काठमाडौं खाल्टोमा पसेको म, २० वर्षपछि पनि अझै अनिँदोजस्तै छु

 

साउनको एक साँझ कपिलवस्तुको गोरुसिंगेबाट नाइट बस चढ्दा आकाश रोइरहेको थियो । मचाहिँ हाँसिरहेको थिएँ । 

 

साल : २०५७

 

गन्तव्य : राजाको गाउँ 

 

मिसन : उच्च शिक्षा 

 

त्यसैको प्रतिच्छाया अनुहारमा अवतरित थियो । तर के पढ्ने, काँ पढ्ने, के गरेर पढ्ने ? थापत्तो नाइँ । तैपनि टिन–एजरवाला सपनालाई खोपडीमा खाँदखुँद पारेर हिँडेको थिएँ । त्यसबाहेक ‘देखाजाएगा’ भन्ने टाइपको उमेरजन्य साहस छँदै थियो । बाँकी काठमाडौंमा धरहरा छ, पशुपतिनाथ छ, स्वयम्भू पनि छ र त्याँ दिनदिनै मान्छे हराउँछ भन्ने सामान्य जानकारीबाहेक अरू धेरै कुरा थाहा थिएन । मेरा लागि सबभन्दा ठूलो कुरा दिदीभेना काठमाडौंमा बस्थे । त्यै ठूलो कुराले गर्दा मेरो आधा ज्यान कपास भएको थियो । र, मैले काठमाडौंका लागि खुट्टा उचालेको थिएँ ।

 

रातिको यात्रा । त्यसमाथि एकनास परिरहेको झरी । यस्तो समय मेरा लागि निद्रा पर्ने अनुकूल समय हो । तर, काठमाडौंको सपनाले गाडीको सिटमा निदाउन दिएन । लगभग अनिँदो जस्तै काठमाडौं खाल्टोमा पसेको म, १९–२० वर्षपछि पनि अझै अनिँदो जस्तै छु । 

                                                                                        ०००

 

सिधै दिदी–भेनाको कोठामा झोला बिसाएँ । मेरो काठमाडौं आउनुको कारण कम ज्यादा उहाँहरूलाई थाहा थियो । दुइटा कोठामा दिदी–भेनाको पाँचजनाको परिवार सुखम–दुखम अटाइरहेको रहेछ । त्यसमा म पनि थपिएँ । गारोसारो के थियो, भेनाले नभने पनि मैले महसुस गरेँ । तर गर्नु के ! कुनै विकल्प मसामु उपस्थित थिएन । चुपचाप बसिदिएँ ।

 

जोरपाटी, आत्तरखेलमा थियो डेरा । सुन्दरीजलको नजिक भएर होला, पानीको समस्या थिएन, तर घरबेटीको अगाडि आफूखुसी पानी खर्च गर्न नहुने रहेछ । बत्तीको मामिला त झन् अर्कै रहेछ । ‘ए, बत्ती निभा’ वाला चलन रहेछ । बेलुकीको खाना खाइसकेपछि घरबेटीको नियमित राउन्ड–ड्युटी चल्थ्यो । कुनै कोठा, बरन्डा वा प्यासेज उज्यालो देख्नेबित्तिकै डाइलग दोहोरिन्थ्यो, ‘ए, बत्ती निभा ।’ त्यो पनि बिस्तारै बानी पर्‍यो ।

 

बानी पार्ने क्रममा थपियो, ट्वाइलेट । त्यतिवेला फ्ल्याटको चलन थिएन । वा मैले देखिनँ । एउटा तलामा ३–४ वा त्योभन्दा बढी परिवार बस्थे । र, ट्वाइलेट हुन्थ्यो, साझा । बिहान या बेलुकी, एकखेप ट्वाइलेटको मुद्दा उप्किहाल्थ्यो । कसले ट्वाइलेट बसेर पानी हालेन ? कुन–कुन कोठाको मान्छे फोहोरी छ ? कसकोमा धेरै पाहुना आउँछन् ? डेरावालले एकएक चुकुली घरबेटीलाई लाउँथ्यो । चुकुली लाउने डेरावाल सधैँ एउटै हुन्थेन । रोटेसनमा चल्थ्यो । घरबेटीको साक्खै बन्न प्रायः डेरावालहरू प्रयत्न गरिरहन्थे । डेरावालको यही फुटमाथि बसेर घरबेटीले शासन गथ्र्यो । धेरथोर काठमाडौंको रैथाने हुनुको रबैया पनि थियो, सायद ।

 

भौतिक तथा मानसिक रूपमै यस्ता कुराहरूको आदत बसाल्दै थिएँ, एक दिन फ्याट्टै भेनाले मेरो लागि जागिर भेट्टाइदिनुभो । आधा ज्यान कपास बनाएर आएको म, अब पूरै ज्यान कपासको भएँ । हावामा विचरण गर्न थालेँ– काठमाडौंमा आफ्नै कोठा भएको, मेरै कोठा खोज्दै साथीहरू आएको, तिनीहरूलाई मैले नै काठमाडौं सयर गराएको, काठमाडौंमा दुःख पर्दा मलाई नै सम्झेको, आदि–इत्यादि ।

 

 

तर छुट्टै कोठा लिएर बस्दा कोठालाई चाहिने सरदाम जुटाउन गाह्रो हुने, त्यसमाथि सिंगो कोठाको भाडा तिरेर एकजना मात्रै बस्दा घाटा पर्ने कुरा भेनाले सुझाउनुभो । सुझाब मनासिब थियो । तलब आउँदा स्वेच्छाले हल्काफुल्का दिदीभेनालाई सघाइदिएर उहाँहरूसँगै बसेँ ।

 

क्याम्पस भर्ना भइसकेको थिएँ । जागिरमा पनि लागिसकेको थिएँ । मैले जागिर पाएको हल्ला गाउँसम्म पुग्यो । साथीहरूको भरोसाका लागि यत्ति नै काफी थियो । अँध्यारोमा जूनकिरी पनि सहारा बन्छ भनेजस्तै साथीहरूको काठमाडौं आउजाउ बढ्न थाल्यो । त्यतिवेला खाडी मुलुक जाने लहर बढ्न सुरु गरेको थियो क्यारे ! काठमाडौंमै जागिर खान आएका वा विदेशका लागि आएका साथीहरू प्रक्रिया नमिलुन्जेल मैसँग आउन थाले ।

 

‘आफू त महादेव उत्तानो पर, कसले देला वर’ भनेझैँ दिदी–भेनाको साँघुरो कोठामा मेरा साथीहरूको वास बढ्न थालेपछि मैले साथीहरूसँग सल्लाह गरेँ, छुट्टै कोठा लिने र साथीहरूको काम नबनुन्जेल सँगै बस्ने । सबैले हो मा हो मिलाए ।

 

त्यहीअनुरूप चाबहिलको गोपीकृष्ण हलनजिकै मासिक पाँच सयमा एउटा कोठा भाडामा लियौँ । घरबेटीसँग डिल मैले नै गरेको थिएँ । ‘फलाना ठाउँमा जागिर छ, दुईजना मात्रै बस्ने हो’ भनेपछि घरबेटीले एक राउन्ड तलदेखि माथिसम्म आँखाले स्क्यान गरेर ओके गरेको थियो । ओढ्ने–ओछ्याउने, खाट र स्टोभ दिदीसँग मागेको थिएँ । बाँकी थाल, डेक्ची हामी आफैँले जुटाएका थियौँ । यसप्रकारले कोठा तयार भयो ।

 

कोठा त लियौँ तर कोठा बिस्तारै जिल्ला सम्पर्क कार्यालयमा परिणत भयो । एउटा गाछ, अर्को आछ । अर्को गाछ, एउटा आछ । दिउँसो त जसोतसो अटिन्थ्यो, राति सुत्दा गाह्रो पथ्र्यो । खाटबाट पोखिएर साथीहरू ढोकासम्म पुगेका हुन्थे । ढोका पनि बल्लबल्ल एउटा मान्छे छिर्ने गरी मात्रै खुल्थ्यो । बाहिर निस्किँदा र भित्र पस्दा एकले अर्कोलाई नाघ्नुपर्थ्यो । यस्तो अवस्था देख्दा मनमा चिसो पसिसकेको थियो कि यो शुभ संकेत होइन ।

 

दुईचार दिन घरबेटीले कौसीबाट हेरे मात्रै । कहिले कपाल कन्याउँदै हेरे । कहिले चिउँडो मुसार्दै हेरे । तर शृंखला लम्बिँदै गएपछि, घरबेटी कौसीबाट हेरेर मात्रै बसेनन्, ग्राउन्डमै ओर्लिए । र, मसँग कड्किए, ‘भाइ, दुईजना मात्रै भन्याथ्यौ । यो त दुई–तियाँ र दुई–चौका पो भयो त । यसरी त हुँदैन ।’

 

‘हैन हजुर, सबै विद्यार्थीहरू हुन् । कोठा खोजिराछन् । गाउँबाट आएकाले कोठा खोज्न अलि गाह्रो भाछ । पाउनेबित्तिकै जान्छन् ।’ यसो भनेर केही दिनलाई घरबेटीको मुख टालिदिन खोजेँ । घरबेटीले गह्रुंगो गरी टाउको हल्लाएर मान्यो ।

 

साथीहरूलाई घरबेटीसँगको वार्ता सुनाएँ । केही दिनपछि साथीहरू दुई–तियाँ र दुई–चौकोबाट दुई–दुनामा झ¥यो । चारजना साथीहरू बसेर एउटा नियम बनायौँ र पारित गर्यौं । बाहिर निस्किनुपर्दा, चारैजना हुल बाँधेर ननिस्किने, दुईजना मात्रै निस्किने । वल्लो कोठा, पल्लो कोठाले सुन्ने गरी नबोल्ने । पालैसँग भात पकाउने । र, रासनपानी र कोठाभाडा दामासाहीले व्यहोर्ने ।

 

केही दिन त नियम शतप्रतिशत पालना भयो । तर, नियम भनेको तोडिनकै लागि बन्दो रहेछ । साथीहरूले प्रमाणित गरेर देखाए । रासन सकियो, साथीहरू पैसा छैन भन्छन् । कोठाको महिना मर्‍यो, साथीहरू पैसा छैन भन्छन् । मेरो सत्र सयको तलबले मात्रै धान्न गाह्रो थियो । अवस्था यस्तो आयो कि हुँदा दुई छाक, कम हुँदा एक छाक र नहुँदा व्रत पनि बस्नुपर्ने भयो ।

 

जहाँ अभाव, त्यहाँ तनाव भनेझैँ एक दिन त साथीहरू झगडामै उत्रिए । भर्खर जागिरबाट आएको थिएँ । झगडाको कारण बुझिनँ । झगडा गर्ने दुईजनामध्ये एउटाले प्रस्ट्यायो, ‘हेर्न बे, भात पनि खान नपाउने यस्तो वेलामा यो मुला दुईचोटि लङ ट्वाइलेट गयो ।’ सुन्दा मजाक लाग्यो । तर, साथीहरू त्यो विषयलाई निहुँ बनाएर अरू–अरू विषयमा पनि बाझिरहेका रहेछन् ।

 

फलस्वरूप, दुई महिनाको भाडा तिर्न नसकेर दिदीले दिएको खाट, स्टोभ र भाँडावर्तन त्यहीँ माया मारेर हामी त्यो कोठामा फेरि कहिल्यै फर्केर गएनौँ । अर्थात् भाग्यौँ ।

                                                                                    ०००

 

अर्कोचोटि कोठा लिँदा, हल्काफुल्का कविता लेख्छु भन्ने भ्रममा थिएँ म । साथीहरू पनि त्यै खालका आउने नै भए । कोही देवकोटा बन्ने लहडमा औँलाहरू चुरोटले डढाउँदै आउँथे । कोही भूपि र हरिभक्त बन्ने लहडमा दिउँसै नागबेली चाल मार्दै आउँथे । कोठामा कविता वाचनदेखि गानाबजाना र नृत्यसम्म चल्थ्यो । यस्तो चाला डेरावाल र घरबेटीको स्वास्थ्यका लागि हानिकारक हुने भैहाल्यो । त्यसमाथि घरबेटी रैथाने थिएन, बाहिरिया थियो । छिट्टै कुरा बुझ्थ्यो । 
‘मेरो भतिजो अमेरिकाबाट आउँदै छ । त्यसैले कोठा खाली गर्नुपर्‍यो, बाबु ।’ घरबेटीबाट यसरी ससम्मान मर्जी भयो । मैले पनि ससम्मान सुरुक्क कोठा खाली गरिदिएँ ।

 

त्यसपछि पनि कोठा सर्ने क्रम जारी नै छ । डेरावाल र घरबेटीको सम्बन्धमा भने केही फेरबदल आएका छन् । दुवैको पीडाको रङ बदलिएको छ । काठमाडौंमा आएर नयाँ घरबेटी बन्नेहरू प्रायः लोनमा हुँदा रैछन् । त्यसैले होला, पहिला जस्तो उँचो स्वर सुन्नुपर्दैन । कहिलेकाहीँ त डेरावालको भन्दा घरबेटीको बढ्ता पीडा सुन्नुपर्छ । 

 

काठमाडौं खुला आँखाले देख्ने, सपनाको सहर । त्यसैले यहाँ निदाउन हैन, ब्युँझन आउँछन्, मान्छेहरू । झरीको संगीत होस् या जूनको शीतलता, बिहान उठ्दा अनिँदै देखिन्छन् तिनका आँखाहरू ।