• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रेणुका जिसी
२०७७ कार्तिक १ शनिबार ०८:५०:००
समाज

‘कथी कहूँ, कुछो निमन नहै’

२०७७ कार्तिक १ शनिबार ०८:५०:००
रेणुका जिसी

घाम डुब्न आँटेको थियो । दिनभरिको सरसफाइको कामले सीता मण्डल (५०) थकित देखिन्थिन् । सरफ, साबुन, कुचो र पोछोले भिजेका उनका औँलाका कापहरू ओभाना देखिन्थे । ‘दिदी के छ हालखबर ?’ मैले सोधेँ । ‘कथि कहूँ माइडम, कुछो निमन नहै ।’ बोल्दाबोल्दै उनको आवाज सानो भयो । सीताको स्थायी घर जलेश्वर नगरपालिका, महोत्तरी हो । ३० वर्षदेखि उनको सपरिवार रौतहटको चन्द्रनिगाहपुरमा बसोवास गर्दै आएको छ । ३ छोरी र २ छोरासहित पाँच सन्तानकी आमा उनीे भन्दै थिइन्, ‘जेठकी बेटीको सादी भैहालेको छ । अभी परिवारमे ६ जना ।’


३० वर्षदेखि नै अरूको घर र अफिसमा सरसफाइ गरेर जीविकोपार्जन गर्दै आइरहेकी छिन् उनले । घाम झुल्किनुअगाडि आफ्नो घरको काम सकेर सबैभन्दा पहिले मोटरसाइकल सोरुम पुग्छिन् । त्यहाँको सरसफाइपछि अरूको घरमा काम गर्न जान्छिन् । कसैकोमा दिनहुँ, कसैकोमा हप्ताको एकपटक, कसैकोमा हप्ताको दुईपटक उनी काम गर्न पुग्छिन् । केही घन्टा काम गरेबापत उनी केही पैसा लिन्छिन् । सबै ठाउँको जोडेर मासिक १८ देखि २० हजारसम्म कमाउने गरेको उनी बताउँछिन् । 


सीताका श्रीमान् रामकुमार मण्डल ६५ वर्षका भए । उनी मिठाई बनाउने मिस्त्री हुन् । उनले दैनिक ज्यालामा काम गर्थे । बन्दाबन्दी सुरु हुनुअगाडिसम्म श्रीमान्–श्रीमती दुवै काममा जान्थे । दुःखजिलो परिवार चलेको थियो । लकडाउनले होटेल बन्द भएपछि उनीहरूको कमाइ घटेको छ । अहिले होटेल त खुलेको छ, तर व्यापार छैन । सीता भन्छिन्, ‘बन्दीमा न काम छ, न ढेवा ।’ 


सीताले काम गर्ने सोरुम बन्द भयो । केही कार्यालय पनि बन्द भए । अफिसका मान्छेहरूले उनीलाई पछि बोलाउँछौँ भनेका छन्, तर कहिले बोलाउने केही ठेगान छैन । कतिपयले अब आफैँ काम गर्छौं भन्न थालेको सीता बताउँछिन् ।


जेठी छोरीको बिहेको ऋण तिर्न र माइली छोरीको बिहे गर्ने भनेर लघुवित्तबाट ऋण लिएका छन् सीताले । लघुवित्तको महिनाको १३ हजार किस्ता, ५ हजार मासिक घरभाडा, पसलमा चुलिएको उधारो र मंसिरमा तय भएको माइली छोरीको विवाह । एकसाथ यति धेरै समस्याहरू कसरी समाधान गर्ने ? सीताको परिवारसँग प्रश्न मात्रै छ, उत्तर छैन । 

राज्यले नचिनेका सीता र रामकुमारीजस्ता अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरू कति होलान् देशभरि ? यसको तथ्यांक कसैसँग छैन । उनीहरू वर्षौंदेखि अरूको घरको फोहोर सफा गरेर आफ्नो जीविका चलाइरहेका छन्


मधेसको बजार क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने सीताको परिवारले बन्दाबन्दीको समयमा राज्यद्वारा पाउने कुनै पनि राहत पाएनन् । डेरानजिकैका एकजना व्यक्तिले १५ केजी चामल दिएको सीता सम्झिन्छिन् । आफूहरूले भोट हाल्ने ठाउँ जलेश्वर भएकाले यहाँ राहत लिनेमा आफ्नो नाम नपरेको सीताको अनुमान छ । आँखैअगाडि घर भएका सम्पन्न मानिसले राहत लिएको उनले देखेकी छिन् ।

 

उनी भन्छिन्, ‘मान्छे सबका सब स्वार्थी भैहालेछन् । दयामाया कुछो बाँकी रहेन ।’ सीताले सोचेभन्दा फरक परिस्थिति आइलागेको छ, अहिले । माइली छोरीको बिहे गर्नु छ । छोराहरू साना छन् । जेठो १२ वर्षको, कान्छो १० वर्षको । ‘दोसरो काम कथी करूँ ? पढालेखा छैन । काम करेवाला दोसरो आद्मीभी न है ।’ श्रीमान् वृद्ध हुँदै गएकोमा सीता चिन्तित छिन् । अब उनी १६ वर्ष पुगेकी कान्छी छोरीलाई पनि काममा लगाउने योजनामा छिन् । 

 


अहिले बन्दाबन्दी खुलेपछि उनी जम्मा ३ ठाउँमा काममा जाँदै छिन् । ३ ठाउँको कमाइले उनको परिवार चल्न निकै मुस्किल भइरहेको उनी बताउँछिन् । सीताकै जस्तो परिस्थिति छ, उनकी बहिनी रामकुमारी मण्डलको पनि । रामकुमारी पनि सीताले जस्तै काम गर्छिन् । घर सरसफाइको काम गर्ने अरू ७ जना साथीहरू छन् सीताका । सबैको समस्या उही छ । 


राज्यले नचिनेका सीता र रामकुमारीजस्ता अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरू कति होलान् देशभरि ? यसको तथ्यांक कसैसँग छैन । उनीहरू वर्षौंदेखि अृको घरको फोहोर सफा गरेर आफ्नो जीविका चलाइरहेका छन् । उनीहरूको समस्याबारे बोलिदिने कोही छैन ।